Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् भदौ २५ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू....


नया सडक

२०८१, भदौ २५ मंगलबार

  • 237
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् भदौ २५ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज भदौ २५ मंगलबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू.......

    साल्ट ट्रेडिङ र खाद्यलाई ५० प्रतिशत भन्सार महसुल छुट दिई ३० हजार मेट्रिकटन चिनी आयात गर्न स्वीकृति

    काठमाडौँ सरकारले चाडपर्वका अवसरमा चिनीको अभाव हुन नदिन साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई ५० प्रतिशत भन्सार महसुल छुट दिई ३० हजार मेट्रिकटन चिनी आयात गर्न स्वीकृति दिएको छ । 
     
    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साल्ट ट्रेडिङ र खाद्यलाई १५/१५ हजार मेट्रिकटन चिनी आयात गर्दा लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । 
     
    मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गुरुङले दसैँ, तिहार तथा छट पर्वमा चिनीको अभाव हुन नदिने उद्देश्यका साथ सरकारी स्वामित्वका दुई कम्पनीलाई भन्सार छुटमा चिनी आयात गर्न स्वीकृति दिइएको स्पष्ट पार्नुभयो । 
     
    बैठकले सिराहा निवासी चित्रलेखा यादवलाई अष्ट्रेलियाका लागि आवासीय नेपाली राजदूत पद र फिजी, न्युजिल्याण्ड, पपुआ न्यु गिनी, भानुआटु टुभालु, सोलोमन आइल्याण्ड्स, सामोआ, पलाउ, नाउरु, मार्शल आइल्याण्ड्स र टोङ्गा अधिराज्यका लागि गैरआवासीय राजदूतका पदमा नियुक्तिका लागि सिफरिस गरेको छ । 
     
    मन्त्रिपरिषद्ले नेपाल विद्युत् प्राधिकरण र एसजेभिएन लिमिटेडबीच संयुक्त उपक्रममार्फत अरुण–४ जलविद्युत् आयोजनाको विकासका लागि हस्ताक्षर भएको समझदारीको म्याद एक वर्ष थप गरेको सरकारका प्रवक्ता गुरुङले जानकारी दिनुभयो । 
     
    बैठकले आर्थिक वर्ष २०८१र८२ का लागि युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत राष्ट्रिय युवा परिषद्मा १२ र फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिमा चार राजपत्राङ्कित पदको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । सरकारले अर्थ मन्त्रालय र मातहत कार्यालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति दिएको छ । 
     
    मन्त्रिपरिषद्ले भू–उपयोग ९दोस्रो संशोधन० नियमावली, २०८१ स्वीकृत गर्ने तथा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि कार्यान्वयनसम्बन्धी राष्ट्रिय प्रतिवेदन स्वीकृतगरी संयुक्त राष्ट्रसङ्घीय समितिमा पेस गर्ने निर्णय गरेको छ ।
    यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु (सुचिसहित)

     

    काठमाडौं ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङले अर्थ मन्त्रालय र मातहत कार्यालयहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति प्रदान गर्र्ने निर्णय भएको जानकारी दिएका हुन् । 

     


    यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु:

    १.२०६१ असोज २१ गते थाइल्याण्डमा आयोजना हुन बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा। प्रकाशकुमार श्रेष्ठलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।२.अर्थ मन्त्रालय र मातहत कार्यालयहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति प्रदान गर्ने ।३.साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि।लाई १५/१५ हजार मेट्रिक टन गरी कुल ३० हजार मेट्रिक टन चिनीको आयातमा लाग्ने भन्सार महशुलमा ५० प्रतिशत छुट दिई आयात गर्न स्वीकृति दिने।४.नेपाल विद्युत प्राधिकरण र एस.जे.भि.एन।. लिमिटेडविच संयुक्त उपक्रममार्फत अरुण–४ जलविद्युत आयोजनाको विकासको लागि हस्ताक्षर भएको समझदारीपत्रको म्याद एक वर्ष थप गर्ने।

     

    कोइकाद्वारा बर्दियाको समावेशी ग्रामीण विकासका लागि १ अर्ब बढीको सहयोग

    काठमाडौं । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका० ले बर्दिया जिल्लाको समावेशी ग्रामीण विकासका लागि ८ मिलियन अमेरिकी डलर ९ १ अर्ब ७ करोड ० सहयोग गरेको छ। कोइका र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार समावेशी ग्रामीण विकास परियोजना (आइआरडीपी) मा  कोरिया गणतन्त्र सरकारको तर्फबाट देशीय निर्देशक मोह्युन कोङ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तर्फबाट सहसचिव कालीप्रसाद पराजुलीले हस्ताक्षर गरेका हुन् ।

    कोरिया सरकारले कोइकामार्फत परियोजनाका लागि ८ मिलियन अमेरिकी डलर अर्थात १ अर्ब ७ करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ । परियोजनाको कार्यक्षेत्र बर्दिया जिल्लाका ८ स्थानीय तह हुनेछन् ।

    यस परियोजनाको मुख्य उद्देश्य बर्दिया जिल्लाका समुदायको कृषि उत्पादनको लागि क्षमता अभिवृद्धि, बजार सम्बन्ध स्थापना गरी मूल्य अभिवृद्धिको एकीकरण मार्फत मूल्य शृङ्खलाको स्तरोन्नति गर्ने र पर्यावरणीय पर्यटन पहललाई बढावा दिई दिगो र लचिलो जीविकोपार्जन र स्थानीय अर्थतन्त्रको प्रवद्धन गर्नु हो ।

    अर्थ समितिको ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ प्रतिनिधिसभामा पेस

    काठमाडौँ।  प्रतिनिधिसभाको आजको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्नुभएको छ ।

     

    उक्त विधेयकलाई अर्थ समितिको सोमबारको बैठकले संशोधनसहित पारित गरेको थियो । चेक अनादर (चेक बाउन्स)सम्बन्धी मुद्दामा रु १५ लाखसम्मको बिगो भए एक महिना कैद, रु १५ लाखदेखि रु ५० लाखसम्मको बिगो भए एक महिनादेखि तीन महिनासम्म कैद, रु ५० लाखदेखि रु एक करोडसम्म बिगो भएमा तीन महिनादेखि एक वर्षसम्म कैद, रु एक करोडदेखि रु १० करोडसम्मको बिगो भए दुई वर्षसम्म कैद र रु १० करोडभन्दा माथिको बिगो भएमा दुई वर्षदेखि चार वर्षसम्म कैद सजाय हुने व्यवस्था राखिएको छ । त्यस्तै चेकअनादरसम्बन्धी मुद्दा सरकारवादी हुने व्यवस्था पनि विधेयकमा राखिएको छ ।

    शेयर कारोबार गर्ने प्रणाली टीएमएस सरकारी कार्यालयमा नचल्ने बनाउन सरकारको निर्देशन

    काठमाडौँ । सरकारले सरकारी कार्यालयमा शेयर कारोबार गर्ने प्रणाली टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयलाई पत्र  पठाइ देशभरिका सबै सरकारी कार्यालयमा शेयर कारोबार गर्ने प्रणाली टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिइसकेको छ ।

     

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र पठाउँदै टीएमएस नचल्ने व्यवस्था गर्न भने अनुसार सरकारले यस्तो निर्देशन दिएको हो ।

    आज नेप्से १३.०९ अंकले घटेर २६३२.९४ बिन्दुमा ,सोमबारको भन्दा मंगलबार २ अर्ब बढीले कारोबार घट्यो

    काठमाडौँ । साताको तेस्रो दिन पनि शेयर बजार ओरालो लागेको छ। आज मंगलबार नेप्से १३.०९ अंकले घटेर २६३२.९४ बिन्दुमा झरेको छ।

     

    नेप्से यसअघि आइतबार २५.४६ र सोमबार ५५.८६ अंकले घटेको थियो। यसैगरी गत साता बुधबार ९०.७२ र बिहीबार १२.१० अंकले घटेको थियो। मंगलबार ट्रेडिङ बाहेकका सबै समूह घट्दा बजार सूचक झरेको हो ।

    ९ कम्पनीको शेयर  मूल्यमा स्थिर रहेको बेला १६९ कम्पनीको शेयर  मूल्य घटेको छ भने ६७ कम्पनीको शेयर  मूल्य बढेको छ। सोमबारको तुलनामा शेयर कारोबार पनि घटेर गएको  छ । सोमबार ९ अर्ब ४३ करोड ९१ लाख रुपैयाँको शेयर किनबेच भएको थियो । मंगलबार कारोबार ७ अर्ब २४ करोड ५५ लाख रुपैयाँको मात्र कारोबार भयो ।

    एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर संशोधन , ६२.५६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले ६२ दशमलव ५६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । यस अघि कम्पनीले ६६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । र्डबाट स्वीकृति प्राप्त नहुँदै २०८० साल फागुन ३ गते सम्पन्न १८औं वार्षिक साधारण सभाबाट १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँको आधारमा ५ दशमलव ५० प्रतिशत बोनस शेयर पारित भई उक्त बोनस शेयर वितरणपछि १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९५८ रुपैयाँ चुक्तापूँजी कायम भएको छ ।

     

    भदौ २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पूर्व निर्णय पुनारावलोकन गरी हाल कायम चुक्तापूँजीको आधारमा ६२ दशमलव ५६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

    गुराँस लघुवित्तले १५ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

    काठमाडौं ।  गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश घोषणा गरेको छ । यस संस्थाको सोमबार बसेको सञ्चालक समिति बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ प्रतिशत नगद दिने निर्णय गरेको हो ।

    कामना सेवाको १६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले समेत खरिद गर्न मिल्ने

    काठमाडौं स्। कामना सेवा विकास बैंकले १६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
    सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आजबाट १५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

    मितेरी डेभलपमेन्ट बैंकको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं ।  मितेरी डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । 

    सेयर खरिद गर्न इच्छुक संस्थापकले आजबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ, घरान १२, सुनसरी वा यस कम्पनीको सेयर रजिष्ट्रार प्रभु क्यापिटल कमलादी, काठमाडौंमा आफूले के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन पर्नेछ ।

    सुनको मूल्य दुई सयले बढ्यो , प्रतितोला १ लाख ५२ हजार ४०० रुपैयाँ

    काठमाडौँ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेर १ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको छ ।आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १७ सय ६५ रुपैयाँ कायम भएको छ ।
    आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ५०१.७८ डलरमा र चाँदी प्रतिऔंस २८.२६ डलरमा कारोबार भइरहेको छ ।

    सानिमा इक्विटी फन्ड, सानिमा लार्ज क्याप फन्ड र सानिमा ग्रोथ फन्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    काठमाडौं । आज सानिमा इक्विटी फन्ड, सानिमा लार्ज क्याप फन्ड र सानिमा ग्रोथ फन्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ  ।फन्डहरुले नगद लाभांश वितरण गर्न भोली भदौ २६ गते बुधबार बुक क्लोज गर्दैछन् ।  आज भदौ २५ गतेसम्म कायम रहने इकाईले मात्र लाभांश दाबी गर्न पाउनेछन् । 

    सानिमा इक्विटी फन्डका इकाईधनीहरुलाई करसहित १५ प्रतिशत, सानिमा लार्ज क्याप फन्डका इकाईधनीहरुलाई करसहित १० प्रतिशत र सानिमा ग्रोथ फन्डका इकाईधनीलाई कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

    जापानिज येनको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार सोमबारको तुलनामा मङ्गलबार जापानिज येनको भाउ घटेको छ । सोमबार जापानिज येन १० को खरिददर ९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसा रहेकामा आजका लागि खरिददर ९ रुपैयाँ ३२ र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा रहेको छ । 

     

    आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६४ पैसा, युरोपियन यूरो एकको खरिददर १४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६२ पैसा र युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ ३६ पैसा र बिक्रीदर १७६ रुपैयाँ १४ पैसा कायम छ । 

    स्वीस फ्रयाङ्क एकको खरिददर १५७ रुपैयाँ ८७ पैसा र बिक्रीदर १५८ रुपैयाँ ५८ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २२ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६२ पैसा निर्धारण गरिएको छ । क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९९ रुपैयाँ २९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ५४ र बिक्रीदर १०३ रुपैयाँ ०० पैसा कायम भएको छ ।

    सवारी लाइसेन्सको छपाइ नहुँदासम्म कर तिरेको रसिदमै क्यूआर कोड र फोटो राख्न लगाउने निर्णय

    काठमाडौँ । सवारी लाइसेन्सको छपाइ नहुँदासम्म कर तिरेको रसिदमै क्यूआर कोड र फोटो राख्न लगाउने निर्णय गरिएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन २०७७ अनुसार डाकेको विषयगत समितिको बैठकबाट  यस्तो निर्णय गरिएको हो ।

     

    यातायात व्यवस्था विभागका निर्देशक तथा प्रवक्ता ईश्वरीदत्त पनेरुले यस्तो जानकारी सार्वजनिक गरेका छन् ।उनका अनुसार २० साउनमा सबै प्रदेशका यातायात मामिला हेर्ने मन्त्रीहरु सहभागी बैठकले लाइसेन्स जारी गर्दा वा नवीकरण गर्दा उपलब्ध गराइने राजस्व तिरेको रसिदमै क्युआर कोड र लाइसेन्सबाहकको फोटो राख्ने निर्णय गरेको थियो ।
    अहिले लाइसेन्स परीक्षा पास गरिसकेका २० लाख जनाको लाइसेन्स छाप्न बाँकी रहेको छ । अहिले दैनिक औसत ५ हजार वटा नयाँ लाइसेन्स जारी वा नवीकरण हुन्छन् ।

    बिपीबारे अझै धेरै खोज, अनुसन्धान हुन जरुरी छ : सभापति देउवा

    काठमाडौँ ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामानव बिपी कोइरालाको सन्दर्भमा अहिले पनि व्यापक अध्ययन र अनुसन्धान हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । 

     

    बिपी कोइरालाको एक सय ११औँ जन्मजयन्तीका अवसरमा पेसागत तथा बुद्धिजीवी विभाग, नेपाली कांगे्रसले आज आयोजना गरेको ‘बिपीको समाजवाद स् आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठीमा पूर्वप्रधानमन्त्री देउवाले बिपी कोइरालाले कुनै समयमा बोलेको विषय समयानुकूल परिवर्तन हुँदै जाने बताउँदै बिपीका बारेमा समयअनुसार खोजरअनुसन्धान गरी त्यसलाई विश्वसामु पु¥याउनुपर्ने बताउनुभयो । 

     

    बिपी कोइरालाले छोडेको प्रजातान्त्रिक पद्धति र प्रजातान्त्रिक समाजवादलगायत विषयलाई आत्मसात् गर्दै अबका युवा पुस्ताहरु अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो । सभापति देउवाले भन्नुभयो, “समाजवाद मात्र होइन, प्रजातन्त्रसहितको समाजवाद हो, जसमा मानवीय मूल्य, मान्यता, मानवअधिकार सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।” प्रजातन्त्रविहीन समाजवाद हुन नसक्ने उहाँको भनाइ थियो ।

    स्तरोन्नतिको काम सकिएपछि असोज १ गतेदेखि मनकामना केबल कार फेरि सञ्चालनमा आउने

    काठमाडौँ । असोज १ गतेदेखि मनकामना केबलकार फेरि सञ्चालनमा आउन लागेको छ ।केबलकारको डिजिटल डी–कनेक्ट प्रणालीको स्तरोन्नति गर्ने  काम सम्पन्न भएपछि असोज १ गतेदेखि फेरि सञ्चालनमा आउन लागेको हो ।

    अस्ट्रियाको विश्व प्रसिद्ध केबलकार निर्माता कम्पनी डोपलमेयरका इन्जिनियर र प्राविधिकको सुपरिवेक्षणमा मनकामना केबलकारको स्तरोन्नति गर्न दुई महिनाको समय लागेको छ ।

     

    करिब ५० करोड रुपैयाँ लगानी गरी यसको स्तरोन्नति गरिएको र असोज १ गतेदेखि सञ्चालनमा आउने कम्पनीका अधिकारीहरूले जनाएका छन् ।गत असार ३१ देखि केबुलकार सेवा बन्द गरी स्तरोन्नतिको काम शुरु गरिएको थियो ।

    अन्तर्राष्ट्रिय वित्त निगमले लगानी विस्तार गर्ने

    काठमाडौँ।  अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपालमा लगानी विस्तार गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा आइएफसीका दक्षिण एसिया निर्देशक इमाद फाखौरीले आइएफसी नेपालमा लगानी विस्तार गर्न तयार रहेको जानकारी दिनुभएको अर्थमन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ ।

     

    आइएफसीले गत वर्ष नेपालमा एक सय मिलियन अमेरिकी डलर लगानी गरेको थियो । क्षेत्रीय निर्देशक फाखौरीले हरित ऊर्जा, रोगजारी वृद्धि र आर्थिक सहभागिता आइएफसीको प्राथमिकता हुन्भन्दै नेपालमा लगानी फराकिलो पार्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

    असोज ७ गतेदेखि दशैँ तिहार छठका लागि सहुलियत पसल सञ्चालन हुँदै

    काठमाडौँ । दशैँ सुरु हुन १० दिन अघिदेखि  सरकारले यो वर्षको सहुलियतपूर्ण पसल सञ्चालन गर्न लागेको छ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विगत झैँ असोज ७ गतेदेखि दशैँ , तिहार र छठ पर्वमा जनताका लागि  सहुलियतपूर्ण सुपथ मूल्यको  पसल सञ्चालन गर्न लागेको हो ।

     

    उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयको मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालन हुने  भएको छ ।

    अस्ट्रेलियाले सामाजिक सञ्जाल प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन बनाउँने

    क्यानबेरा । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बालबालिकालाई सुरक्षित राख्नका लागि सामाजिक सञ्जालको प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन बनाउने बताउनुभएको छ ।

     

    आमाबाबुको बालबालिकाप्रतिको चिन्तालाई समर्थन गर्ने र बच्चालाई सुरक्षित राख्ने उदेश्यले यस्तो कानुन बनाउन खोजिएको प्रधानमन्त्री अल्बानिजले भन्नुभयो । 

     
    सामाजिक सञ्जाल एक्सको एक पोस्टमा उहाँले भन्नुभयो “हामी बालबालिकाको सुरक्षालाई मध्यनजर गर्दै सामाजिक सञ्जालको प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन बनाउने छौं ।”

    उहाँले भन्नुभयो “अधिकांश आमाबाबुले मलाई सामाजिक सञ्जाल प्रयोग गर्न आफ्ना बच्चाहरूको उमेर कति हुनुपर्छ भन्ने प्रश्न गर्दछन् । हामी संसदमा सामाजिक सञ्जाल र अन्य डिजिटल प्लेटफर्महरूका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानून पेश गर्नेछौँ ।

    उपसभामुख हटाउने राजनीतिक प्रक्रिया शुरु, नैतिकताका आधारमा राजीनामा दिन दबाब बढाउँदै सत्ताधारी राजनीतिक दलका नेताहरू

    काठमाडौँ । सत्ताधारी राजनीतिक दल गठबन्धनले उपसभामुख इन्दिरा रानालाई हटाउने निर्णय गरेको छ ।सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ताधारी  गठबन्धनको बैठकबाट यस्तो निर्णय गरिएपछि राजनीति त्यस अनुरुप शुरु भएको हो ।

     

    नेकपा एमालेले आफ्ना सांसदहरूलाई असोज ३ गतेसम्म काठमाडौँ नछाड्न सर्कुलर जारी गरेको छ । उपसभामुखलाई हटाउने तयारी भएसँगै एमालेले आन्तरिक सर्कुलर गरेको पार्टी स्रोतबाट जनाइएको छ । एमाले पार्टीका नेताहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू र उपसभामुख रानामाथि नैतिक दबाब सिर्जना गर्न थालेका छन् ।

    ‘ललितपुर महानगर स्वास्थ्य क्षेत्रमा मुलुककै अग्रणी बन्न सक्ने’ : ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन

    पाटन ।  ललितपुर महानगर स्वास्थ्य क्षेत्रमा मुलुककै अग्रणी महानगर बन्न सक्ने महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताउनुभएको छ ।

     

    ललितपुर महानगर– १४ स्थित ताल्चिखेलमा आज स्वस्तिक अस्पतालको उद्घाटन गर्दै प्रमुख महर्जनले दुई वर्ष अगाडि स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै नेपाल नगरपालिका सङ्घले पुरस्कृत गरेको स्मरण गराउनुभयो । उहाँले उक्त पुरस्कारको गरिमा राख्दै स्वास्थ्य क्षेत्रमा मुलुककै अग्रणी महानगर बन्न सक्ने बताउनुभएको हो ।

    “ललितपुर महानगर स्वास्थ्य क्षेत्रमा कमजोर छैन, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत वर्ष लिजा ९स्थानीय तह संस्थागत स्वमूल्याङ्कन० मा देशभरकै उत्कृष्ट स्थानीय तहका रुपमा घोषित गरेको छ । धेरै क्षेत्रमा देशभरका महानगरमध्ये उत्कृष्ट बन्न सफल भएको छ,” उहाँले भन्नुभयो, “मलाई विश्वास छ, अस्पतालले यस भेगमा उत्कृष्ट सेवा प्रदान गर्ने छ ।”

    आजको मौसम : तीन प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा मंगलबार पनि सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको  छ।

     

    मनसुनी वायुको प्रभावले हाल देशका पहाडी भू-भाग लगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ।

    बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको महाशाखाले बुलेटिन जारी गरी जानकारी दिएको छ। आज दिउँसो  देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ।

    मेलम्ची खानेपानी आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा  चार जना दोषी ठहर, दश जनालाई सफाइ

    काठमाडौँ । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा चार जनालाई दोषी ठहर गरेको छ भने दश जनालाई सफाइ दिएको छ ।

     

         विशेष अदालतका न्यायाधीश टेकनारायण कुँबर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आज मेलम्ची आयोजनासम्बन्धीे भ्रष्टाचार मुद्दामा तत्कालीन सचिव गजेन्द्र ठाकुर, तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेल तथा परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मा दोषी ठहर गरेको हो ।

         अदालतले उक्त प्रकरणमा जोडिएका पूर्वसचिव भीम उपाध्यायसहित १० जनालाई सफाइ दिएको छ ।

     

    डेङ्गु सङ्क्रमण तीव्र, जोगिने कसरी ?

    गण्डकी ।  गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमण तीव्र भइरहेका बेला उक्त रोगको सङ्क्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सकले सुझाएका छन् । सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले उक्त रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गुबाट बच्ने उत्तम उपाय भएको उनीहरुको भनाइ छ । 

     

    धौलागिरि उपप्रादेशिक अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले डेङ्गु सङ्क्रमण हुँदैमा आत्तिहाल्नु नपर्ने बताउनुभयो । डेङ्गु सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकानजस्ता लक्षण देखिए चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने उहाँको भनाइ छ । डेङ्गु भएमा आराम गर्ने, पानीलगायत झोलिलो प्रशस्त पदार्थ पिउने र जथाभावी औषधि सेवन गर्न नहुने प्रमुख चिकित्सक प्रधानले बताउनुभयो । 

    गर्भवती र बालबालिकामा डेङ्गुको सङ्क्रमण भएमा स्वास्थ्यमा जटिलता निम्तनसक्ने उहाँको भनाइ छ । “अधिकांश सङ्क्रमित सामान्य उपचारपछि निको हुन्छन्, कतिपयमा डेङ्गुले जटिलता ल्याउन सक्छ, सामान्य रोग हो भन्ने सोचेर लापरबाही गरेमा ज्यानै जोखिममा पर्न सक्छ”, उहाँले भन्नुभयो । 

     

     

    प्रतिक्रिया दिनुहोस