Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

हवाई दुर्घटनाबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति बन्ने


नया सडक

२०८१, भदौ ३१ सोमबार

  • 147
    Shares

  • हवाई दुर्घटनाबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति बन्ने

     

    काठमाडौँ । सरकारले हवाई दुर्घटना जाँचका लागि अधिकारसम्पन्न उच्चस्तरीय समिति बनाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अहिलेसम्म भएका हवाई दुर्घटनामा बनेका जाँच आयोगका प्रतिवेदनले उठाएका सवालबारे अध्ययन गर्न उचचस्तरीय समिति बनाउने जानकारी दिनुभयो ।

         

    मन्त्रालयमा आज सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले न्यायिक क्षेत्रका व्यक्तिको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति बनाउने र समितिले उठाएका विषयलाई सरकारले कार्यान्वयन गर्ने बताउनुभयो । उक्त प्रयोजनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस भइसकेको र चाँडै सार्वजनिक गरिने जानकारी दिनुभयो ।

         

    मन्त्री पाण्डेले पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय समिति गठन हुने जानकारी दिनुभयो । “नागरिक उड्डयन क्षेत्रमा उच्चस्तरीय समिति बनाउनेगरी अहिले प्रक्रिया अगाडि बढेको छ, उक्त समितिले अहिलेसम्म भएका अध्ययनको पुनरावलोकन गर्छ, प्रणालीगत रुपमै समस्या छ की भनेर समीक्षा गरेर सरकारलाई आवश्यक सिफारिस दिनेछ, त्यसको प्रभावकारी कार्यान्वयन गरिनेछ ।”

         

    उहाँले अबको अध्ययन पुराना अध्ययनलाई समेत आधार मानेर अहिलेको अध्ययनलाई निष्कर्षमा निकाल्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पुराना अध्ययनलाई समेत ‘रिफ्रेन्स’ दिएर कार्यदलले प्रतिवेदन ल्याउनेछ, व्यक्ति, मन्त्री, सचिव बदलिन सक्छन् तर अध्ययनको प्रतिवेदनले दिएको कार्यभार बदलिँदैन, सरकार र मन्त्रालयको कार्यभार बदलिँदैन, त्यसैले एउटा अविछिन्न उत्तराधिकारी संस्थाका रुपमा कार्यान्वयन गर्ने गरी अधिकार सम्पन्न समिति बनाउँछौँ ।”

     

    ‘अब परिणाम आउनेगरी काम गर्छु’

         

    पर्यटनमन्त्री पाण्डेले मन्त्रालय र मातहत निकायबारे विस्तृत रुपमा बुझ्ने काम भएकाले अब परिणाम र प्रतिफल आउनेगरी काम गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मन्त्रालयको जिम्मेवारी सम्हालेको दुई महिनाको अवधिमा मानसिक रुपमा, नीतिगत र संरचनागत रुपमा अध्ययन र तयारी भएको अवस्था छ, अब, परिणाम र प्रतिफल आउनेगरी काम गर्छु, कानुनलाई सर्वोपरि ठानेर नीतिगत निर्णयमा अगाडि बढ्छु ।”

         

    पर्यटनमन्त्री पाण्डेले कतिपय क्षेत्रमा तत्कालै सुधार गर्नुपर्ने र केही निकायमा रणनीतिक सुधारको विषय भएकाले कानुनी र नीतिगत व्यवस्था गरी संरचनागत र व्यवस्थापकीय सुधार गरेर लैजाने बताउनुभयो । मन्त्री पाण्डेले मन्त्रालय मातहतका निकायलाई गतिशील र प्रभाकारी बनाउन लागिपरेको बताउनुभयो

     

    दुई अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रुपमा सञ्चालन गरिने

         

    पर्यटनमन्त्री पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तराष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका  लागि विस्तृत कार्ययोजना अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “मन्त्रिपरिषद्ले दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको निम्ति पारित गरेको कार्ययोजनाबारे सम्बन्धित गृह, अर्थ, परराष्ट्र, श्रमलगायत मन्त्रालयले गर्र्नुपर्ने सबै कामबारे अन्तरमन्त्रालय छलफल भई कार्ययोजनालाई अन्तिम रुप दिन लागिएको छ”, उहाँले भन्नुभयो ।

     

    निगमको समस्या समाधानका लागि मन्त्रालयले सकेसम्म पहलकदमी गर्दै व्यवस्थापकीय सुधारमा प्रयासरत रहेको र विमान अभावले उडान व्यवस्थापनमा देखिएको समस्यालाई हल गर्ने गरी काम गरिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

     

    नागरिक उड्डयन प्राधिकरण विभाजनसम्बन्धी विधेयक मन्त्रिपरिषद्मा

         

    मन्त्री पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियमनकारी निकाय र सेवाप्रदायक निकाय बनाउनेगरी विभाजनसम्बन्धी विधेयक मन्त्रिपरिषद्मा पुगेको र यसको चाँडै प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पर्यटन नीति बनिरहेको र पर्यटन ऐनको मस्यौदा रायका लागि अर्थमन्त्रालयमा पुगेको जानकारी दिनुभयो ।

         

    पर्यटनराज्यमन्त्री अरुणकुमार चौधरीले नीतिगत र संरचनागत सुधार गरी मन्त्रालय र मातहतको कामलाई परिणाममुखी बनाउन मन्त्रालयले भगिरथ प्रयास गरिरहेको बताउनुभयो । उहाँले गुणस्तरीय र दिगो पर्यटनको विकासका लागि मुलुकको हवाई सेवालाई बलियो बनाई पर्यटकीय पूर्वाधार विस्तार गरिनुपर्ने धारणा राख्नुभयो ।

         

    पर्यटन मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयले नेपाल वायुसेवा निगमको संस्थागत र संरचनागत सुधार नगरी सानोतिनो सुधारले नहुने बताउनुभयो । उहाँले निगमसँग विमान अभाव भएकाले उडान सेवा प्रभावकारी हुन नसकेको भन्दै समग्र विषयमा सुधार गर्न मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी दिनुभयो ।

     

    प्रतिक्रिया दिनुहोस