Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् असोज ८ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू...........


नया सडक

२०८१, असोज ८ मंगलबार

  • 105
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् असोज ८ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू...........

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असोज ८ मंगलबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    दशैं-तिहारका लागि असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ

    काठमाडौं । दशैं-तिहारका लागि असोज १२ गतेदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिवार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

     

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले व्यवसायीका मागका सम्बन्धमा सातबुँदे निर्णय गरेको छ ।

    शेयर बजार : नेप्से परिसूचकमा ५८.९३ अंकले घटेर  २४७०.३९ बिन्दुमा, ५ अर्ब ६८ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा ५८.९३ अंकले घटेर  २४७०.३९ बिन्दुमा आएको छ । आज ५ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आज  सबै समूहका सूचक घटेका छन् । 

     

    यस दिन १८ करोड ४१ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनएलजी इन्सुरेन्स अग्रस्थानमा आएको छ । आज दोस्रोमा सानिमा रिलायन्स लाइफ इन्सुरेन्स र हिमालयन रिइन्सुरेन्स परेका छन् । 

     रुरु जलविद्युत परियोजनाले सुम्निमा हाइड्रोपावरमा लगानी गर्ने

    काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले सुम्निमा हाइड्रो पावर कम्पनी प्रालिको शेयरमा ५१ प्रतिशत स्वामित्व कायम हुने गरी लगानी गर्ने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज ७ गतेको बैठकमा उक्त निर्णय लिएको हो ।

     

    सुम्निमा हाइड्रो पावर कम्पनीले भोजपुरमा प्रर्वद्धन गरिरहेको दुई जलविद्युत आयोजनाहरू – अपर पिखुवा खोला (४.९ मेगावाट) र पिखुवा पशुपति (४.१ मेगावाट)परियोजनामा रुरु जलविद्युत परियोजनाको बहुमत स्वामित्वमा लगानी हुने भएको छ ।

    कुमारी बैंकको १ लाख ९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौ । कुमारी बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ९ हजार ८६५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । 

    सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनु पर्नेछ ।

    कामना सेवा विकास बैंकको साधारण सभा असोज ३० गते , १२ प्रतिशत लाभांश प्रस्ताव गर्ने

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले असोज ३० गते १८औं वार्षिक साधारण सभा बोलाएको छ । असोज ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लिसारा रिसारा रिसेप्शन , भगवती बाहाल, नक्साल , काठमाडौंमा विहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।

     

    सभाले गत आर्थिक वर्ष ०८०र८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँको आधारमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि गरेको छ ।

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख ९० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीको नाममा १ लाख ९० हजार ६५९ कित्ता सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

    गरिमा विकास बैंकको ५ लाख ३३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । गरिमा विकास बैंकले आफ्ना संस्थापक सेयरधनीहरुको नाममा रहेको ५ लाख ३३ हजार २८६.९९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
    लाख ८ हजार १३०.३२ कित्ता सेयरमा भने बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले यसमा आजबाट ३५ दिनभित्र बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई आवेदन दिनु पर्नेछ ।

    आज नेपाल पुनर्बिमा कम्पनीको ७ लाख कित्ता संस्थापक सेयरमा लिलामी आवेदन दिने अन्तिम दिन

    काठमाडौं ।  विशाल ग्रुपको स्वामित्वमा रहेको नेपाल पुनर्बिमा कम्पनीको ७ लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो ।

     

    यसमा न्यूनतम ४५० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।यसमा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, थापाथली काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ३९ पैसा र बिक्री दर एक सय ३३ रुपैयाँ ९९ पैसा कायम भएको छ ।

     

    युरोपियन युरो एकको खरिद दर एक सय ४८ रुपैयाँ ३५ पैसा र बिक्री दर एक सय ४९ रुपैयाँ २ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर एक सय ७७ रुपैयाँ ५९ पैसा र बिक्री दर एक सय ७८ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर एक सय ५७ रुपैयाँ ०३ पैसा र बिक्री दर एक सय ५७ रुपैयाँ ७४ पैसा कायम गरिएको छ ।

    मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण

    काठमाडौ । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण गरेको छ ।

     

    अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले दोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण गरेको हो ।

    अदालतले गत भदौ २५ उक्त खानेपानी आयोजनाको भ्रष्टाचार गरेको प्रकरणमा पूर्वसचिव गजेन्द्रकुमार ठाकुरसहित चार जनालाई दोषी ठहर गरेको थियो  । आज सो फैसलाको सजाय निर्धारण गर्दै पूर्वसचिव ठाकुरसहित चार जनालाई जनही आठ वर्ष कैद ठहर गरेको हो ।

    सुनको भाउ नयाँ रेकर्ड कायम,  प्रतितोला १ लाख ५९ हजार ७०० रुपैयाँ

    काठमाडौं ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज  सोमबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले घटेर १९ सय १५ रुपैयाँ कायम भएको छ ।

     

     सोमबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ५९ हजार २०० रुपैयाँ कायम भएको थियो ।

    घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरका लागि रुट परमिट खुला

    काठमाडौँ।  असोज १७ गते घटस्थापनादेखि पूर्णिमाको दिनसम्म रुट परमिट खुला गर्ने निर्णय भएको छ। यातायात व्यवस्था विभागका निर्देशक एवम् प्रवक्ता ईश्वरी दत्त पनेरुका अनुसार दसैँ, तिहार र छठ पर्वमा काठमाडौँ उपत्यका बाहिर जाने र बाहिरका जिल्लाबाट काठमाडौँ प्रवेश गर्ने यात्रुहरूको यात्रालाई सहज र सुरक्षित बनाउनका लागि मंगलबार बसेको बैठकले सो निर्णय गरेको हो।

    चार लाखमा नागरिकता बनाउने तिब्बती जुवा खेल्दै गर्दा पक्राउ,नागरिकता बनाउन सहयोग गर्ने चारसमेतमाथि अनुसन्धान हुँदै

    काठमाडौं । प्रहरीले  तिब्बतीलाई नेपाली नागरिकता दिलाएको आरोपमा  चार जनालाई पक्राउ गरेको छ ।उपत्यका अपराध अनुसन्धान कार्यालयले  धादिङको नेत्रावती डबजोङ गाउँपालिका–१ का ३१ वर्षीय मदनबहादुर तामाङ, खनियाबास गाउँपालिका–५ का ५६ वर्षीय रामेश्वर रिजाल, तिब्बत घर भई काठमाडौं महानगरपालिका–६ महांकाल बस्ने ५३ वर्षीय छिरिङ ढुन्डुप र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–४ का ४६ वर्षीय छिरिङ वाङ्दिन शेर्पालाई पक्राउ गरेको हो ।

     

    प्रहरीले  बौद्धको तीनचुलीस्थित एक घरमा ४ असोजमा छापा मारेर जुवा खेलिरहेका बेला  पक्राउ गरेका  ७ जनामध्ये चार तिब्बती, दुई नेपाली र एक भारतीय नागरिक थिए ।

    चीनबाट आयात हुने घिउको मल्य भदौमा झन घट्यो , भारतबाट आयात हुने घिउको आयात मूल्य १० गुणा बढी, चिनियाँ घिउ आयात मूल्य ५० रुपैयाँ

    काठमाडौं । भदौमा चीनबाट करिब दुई हजार किलो घिउ आयात हुँदा भारतबाट दुई किलो मात्र आयात भएको छ ।चीनबाट आयात भएको घिउको मूल्य भन्दा भारतबाट आयात भएको घिउको मूल्य १० गुणाले बढी रहेको हो ।

     

    भन्सार विभागले सार्वजनिक गरेको प्रतिवेदन अनुसार भदौमा चीनबाट १९९० किलो घिउ आयात भएको छ । भन्सार विभागका अनुसार चीनबाट आयात भएको घिउको आयात मूल्य प्रतिकिलो ४९ रुपैया ७४ पैसा रहेको छ । सोही एचएसकोड अन्तर्गत भारतबाट आयात भएको घिउको मूल्य ५सय रुपैयाँ आयात मूल्य तोकिएको छ ।

    सर्वोच्‍च अदालतद्वारा मेडिकल व्यवसायी  दुर्गा प्रसाईंलाई छाड्न अस्वीकार,विपक्षीका नाममा कारण देखाउ आदेश जारी

    काठमाडौं ।  सर्वोच्‍च अदालतले मेडिकल व्यवसायी  दुर्गा प्रसाईंलाई छाड्न अस्वीकार गरेको छ। न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले मंगलबार उनलाई छाड्न अस्वीकार गरेको   हो । 

     

    प्रसाईंका छोरा निराजनले सर्वोच्चमा सोमबार बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेको रिटमा सर्वोच्चले प्रसाईँलाई छाडन् आदेश नदिएको  र्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी सार्वजनिक गरेका हुन्।प्रसाईंका छोरा निराजनले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय र साइबर ब्युरोलाई विपक्षी बनाएर रिट दायर गरेको  रिटमाथि सुनुवाई गर्दै मंगलबार १५ दिनभित्र विपक्षीका नाममा जबाफ पेश गर्न  कारण देखाउ आदेशमा भनिएको छ ।

    बाँसबारी–बूढानीलकण्ठ सडकको काम चाँडो सक्न ध्यानाकर्षण

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले खानेपानी तथा विद्युत् विस्तारका कारण भत्काइएको बाँसबारी–बूढानीलकण्ठ सडकको अवस्थाबारे जानकारी लिनुभएको छ । 

     

    काठमाडौँ महानगरपालिका–५ का निर्वाचित सांसदसमेत रहनुभएका मन्त्री पौडेलले तीन साताअघि मेलम्ची खानेपानी तथा नेपाल विद्युत् प्राधिकरणले समयमै मर्मत नगरेपछि धुलो र धुवाँबाट नागरिकले सास्ती पाएको भन्दै कालोपत्र तत्काल अघि बढाउने व्यवस्था मिलाउन निर्देशन दिनुभएको थियो । एक वर्षअघि नै काम थालिए पनि तीन निकायबीचको समन्वय नहुँदा ढिलाइ भएपछि नागरिकलाई परेको सास्ती कम गर्न मन्त्री पौडेलले पटक–पटक पहल थाल्नुभएको थियो । सडक डिभिजन, मेलम्ची खानेपानी आयोजना तथा नेपाल विद्युत् प्राधिकरणका अधिकारीसँग स्थलगत निरीक्षण गरेर काममा ढिलाइ नगर्न उहाँले आग्रह गर्नुभएको थियो ।

    चालु आवको पहिलो दुई महिनमा व्यापार घाटा दुई खर्ब ३७ अर्ब ४४ करोड ९५ दाख २३ हजार बराबर आयात , आयात वृद्धि १.०८ प्रतिशत

    काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा व्यापार घाटा २ खर्ब ३७ अर्ब४४ करोड ९५लाख२३ हजार घाटा भएको छ । गत आवको तुलनामा यो १. ७८ प्रतिशतले बढी छ । गत आवको पहिलो दुई महिना भाद्र सम्मको व्यापार घाटा २ खर्ब ३३ अर्ब ३० करोड २८ लाख ६५ हजार रहेको भन्सार विभागले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

     

    यसै गरी चालु आवको पहिलो दुई महिनामा आयात १. ०८ प्रतिशतले बढेको छ । चालु आवमा २ खर्ब ६२अर्ब ५४ करोड २६ लाख २६ हजारको आयात भएको छ भने सोही अवधिमा निर्यात २३ अर्ब ९ करोड ३१ लाख ३ हजार बराबरको भएको छ । गत आवको तुलनामा निर्यात ५.१२ प्रतिशतले घटेको छ । गत आवमा पहिलो दुई महिनामा २६ अर्ब ४४ करोड ७० लाख ३३ हजार बराबरको निर्यात भएको थियो ।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस