काठमाडौं । सर्वदलीय बैठकले बाढी पहिरोबाट घरबास गुमाएका नागरिकको पुनर्स्थापना प्रक्रियालाई अघि बढाउने निर्णय गरेको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आज बसेको बैठकले बाढी पहिरो पीडितहरूको तत्काल उद्धार गरी सुरक्षित बासस्थान, खानपिन र अन्य राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको हो ।
शहरी विकास मन्त्रालयले राष्ट्रिय जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन प्राधिकरणसँग समन्वय गर्दै पीडितहरूका लागि उचित आवासको प्रबन्ध गर्न तत्काल आवश्यक कदम चाल्ने बताएको छ ।
बैठकले बाढी पहिरोले अवरुद्ध राजमार्गमा अलपत्र यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्याउन जिल्ला विपद् व्यवस्थापन समिति, यातायात व्यवसायी सङ्घ र सुरक्षाकर्मीको संयुक्त प्रयासमा उद्धार कार्यलाई तीव्र बनाउन निर्देशन दिएको छ ।
यसैगरी सङ्घीय राजधानी काठमाण्डौ जोड्ने राजमार्गहरूलाई तत्काल सञ्चालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल गर्नेछ । ऊर्जा मन्त्रालयले क्षतिग्रस्त प्रसारण लाइन र विद्युत् गृहहरूको मर्मत गरी बिजुली आपूर्ति सुनिश्चित गर्नेछ भने सञ्चार मन्त्रालयले अवरुद्ध इन्टरनेट र टेलिफोन सेवा पुनर्स्थापना गर्ने निर्णय भएको छ ।