काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असोज १३ आइतबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....
घरबास गुमाएका नागरिकको पुनर्स्थापना प्रक्रिया अघि बढाउने सर्वदलीय बैठकको निर्णय
काठमाडौं । सर्वदलीय बैठकले बाढी पहिरोबाट घरबास गुमाएका नागरिकको पुनर्स्थापना प्रक्रियालाई अघि बढाउने निर्णय गरेको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आज बसेको बैठकले बाढी पहिरो पीडितहरूको तत्काल उद्धार गरी सुरक्षित बासस्थान, खानपिन र अन्य राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको हो ।
शहरी विकास मन्त्रालयले राष्ट्रिय जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन प्राधिकरणसँग समन्वय गर्दै पीडितहरूका लागि उचित आवासको प्रबन्ध गर्न तत्काल आवश्यक कदम चाल्ने बताएको छ ।
बैठकले बाढी पहिरोले अवरुद्ध राजमार्गमा अलपत्र यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्याउन जिल्ला विपद् व्यवस्थापन समिति, यातायात व्यवसायी सङ्घ र सुरक्षाकर्मीको संयुक्त प्रयासमा उद्धार कार्यलाई तीव्र बनाउन निर्देशन दिएको छ ।
यसैगरी सङ्घीय राजधानी काठमाण्डौ जोड्ने राजमार्गहरूलाई तत्काल सञ्चालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल गर्नेछ । ऊर्जा मन्त्रालयले क्षतिग्रस्त प्रसारण लाइन र विद्युत् गृहहरूको मर्मत गरी बिजुली आपूर्ति सुनिश्चित गर्नेछ भने सञ्चार मन्त्रालयले अवरुद्ध इन्टरनेट र टेलिफोन सेवा पुनर्स्थापना गर्ने निर्णय भएको छ ।
सिटिजन्स क्यापिटलका ३ वटा म्युचुअल फन्डको लाभांश घोषणा
काठमाडौं । सिटिजन्स क्यापिटलको व्यवस्थापनमा सञ्चालित ३ वटा म्युचुअल फन्डको लाभांश घोषणा भएको छ । क्यापिटलको आइतबार बसेको सञ्चालक समिति बैठकले सिटिजन्स म्युचुअल फन्ड १, सिटिजन्स म्युचुअल फन्ड २ र सिटिजन्स सुपर ३० म्युचुअल फन्डको लाभांश घोषणा गरेको हो ।जसमा सिटिजन्स म्युचुअल फन्ड १ का इकाइधनीहरुलाई गत वर्षको नाफाबाट करसहित ९ प्रतिशत, सिटिजन्स म्युचुअल फन्ड १ को करसहित ६।५ प्रतिशत र सिटिजन्स सुपर ३० को करसहित १० प्रतिशत नगद लाभांश रहेको छ ।
शेयर बजार : नेप्से परिसूचकमा २२.३६ अंकले घटेर २४६४.४० बिन्दुमा, ४ अर्बभन्दा बढीको कारोबार
काठमाडौँ । आज नेप्से परिसूचकमा २२.३६ अंकले घटेर २४६४.४० बिन्दुमा आएको छ । आज ४ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । उत्पादनमूलकबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् ।
यस दिन ३२७ कम्पनीको १ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १५ करोड ९२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनएलजी इन्सुरेन्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी हाइड्रोपावर र अपि पावर परेका छन् ।
एनएलजी इन्स्योरेन्सलाई ९६ लाखभन्दा बढी कित्ता हकप्रद शेयर निष्कासन गर्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्ड ९सेबोन०ले लामो समयपछि सार्वजनिक निष्कासन स्वीकृति प्रक्रियालाई अघि बढाएको छ । बोर्डले पछिल्लो समय एनएलजी इन्स्योरेन्सलाई हकप्रद शेयर निष्कासनको लागि अनुमति दिँदै निष्कासन स्वीकृति प्रक्रिया अघि बढाएको हो ।
यसअघि गत असार १९ गते आँखुखोला जलविद्युत कम्पनीलाई हकप्रद शेयर निष्कासनको लागि स्वीकृति दिएपछि कुनै पनि कम्पनीले सार्वजनिक निष्कासनका लागि अनुमति पाएका थिएनन् ।बोर्डबाट स्वीकृति नहुँदै २०८० फागुन ३ गते सम्पन्न १८औं वार्षिक साधारण सभाबाट १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँको आधारमा ५ दशमलव ५० प्रतिशत बोनस शेयर पारित भई उक्त बोनस शेयर वितरणपछि १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९५८ रुपैयाँ चुक्तापूँजी कायम भएको छ ।
लाइफ इन्स्योरेन्स कर्पोरेशनले ८८.४५% हकप्रद शेयर निष्कासन गर्न , सेबोनबाट पायो स्वीकृती
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएको छ ।
बोर्डको गत शुक्रवार बसेको सञ्चालक समितिको बैठकले कम्पनीलाई ८८ दशमलव ४५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न स्वीकृती दिएको हो ।
विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
स्वीकृती पाएसँगै अव कम्पनीले २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।
सरकारले सबै सामर्थ्यका साथ परिस्थितिको सामना गर्छः अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाढीपहिरोका कारण ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गर्दै सरकारले सबै सामर्थ्यका साथ उत्पन्न विषम् परिस्थितिको सामना गर्ने बताउनुभएको छ ।
चीन भ्रमण पूरा गरी आज दिउँसो स्वदेश फर्कनुभएका उहाँले समस्या समाधानका लागि सबैलाई आफ्नो ठाउँबाट सहयोग गर्न र धैर्य रहन सबैलाई आग्रह गर्नुभयो । उहाँ विमानस्थलमा ओर्लिएपछि सिधै मन्त्रालय पुगी छलफलमा जुट्नुभएको थियो ।
अर्थमन्त्री पौडेल चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा यही असोज ७ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।
नेपाल लाइफ इन्स्योरेन्सको १९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा
काठमाडौं । नेपाल लाइप् इन्स्योरेन्स कम्पनी लिमिटेडले १९ हजार ९४५ कित्ता संस्थापक शेयर असोज १३ गतेदेखि लिलामीमा विक्री खुला गरेको छ । यस अघि विद्यमान संस्थापक शेयरधनीहरुका लागि मात्र विक्री खुला गर्दा वितरण हुन नसकेको यी शेयर अन्य व्यक्ति तथा संस्थाहरुका लागि लिलामीमा ल्याइएको होे ।
स्वदेशी सेक्युरिटिज् एण्ड इन्भेष्टमेन्ट प्रालिको स्वामित्वमा रहेको यी शेयर प्रतिकित्ता १८५ रुपैयाँ मूल्य तोकेर विक्रीमा ल्याइएको हो । इच्छुक खरीदकर्ताहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी असोज २० गते कार्यलय समयभित्र आवेदन पेश गर्नुपर्नेछ ।
बजारमा अधिक तरलताको व्यवस्थापन गर्न ५० खर्ब रुपियाँ निक्षेप तान्दै नेपाल राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । आइतबार उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न ७ दिनका लागि ५० अर्ब रुपैयाँ तान्ने भएको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले असोज १३ गते दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।
सुनको मूल्य तोलामा ६००ले घट्यो , प्रतितोला १ लाख ६० हजार ६०० रुपैयाँ
काठमाडौ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला ६०० रुपैयाँले घटेर १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १९ सय ४५ रुपैयाँ कायम भएको छ ।
कालिका लघुवित्तको २१ हजार ५०० कित्ता संस्थापक सेयर बिक्री खुला
काठमाडौं । कालिका लघुवित्तले आजदेखि संस्थापक सेयरधनीको नाममा रहेको २१ हजार ५०० कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।
स्वावलम्बन लघुवित्तले १५% लाभांश वितरण गर्ने घोषणा
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट १५५ लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको शनिबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई १४.२५% बोनस सेयर र कर प्रयोजनका लागि ०.७५% नगद लाभांश पनि वितरण गर्ने घोषणा गरेको छ ।
स्वावलम्बनले प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि वार्षिक साधारण सभामा पेश गर्नेछ । सभाले पारित गरेपछि मात्र सेयरधनीहरुलाई वितरण हुनेछ ।
रु रु जलविद्युत परियोजना लिमिटेडको १५.७८ प्रतिशत लाभांश घोषणा
काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडले १५.७८ प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीको असोज १२ गते बसेको सञ्चालक समिति बैठकले १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले बोनस सेयर जारी गरे पश्चात कायम हुने पुँजीमा ८० प्रतिशत हकप्रद सेयर पनि जारी गर्ने घोषणा गरेको छ ।
उक्त प्रस्ताव पारित गर्न रु रुले कात्तिक ११ गते साधारण सभा बोलाएको छ ।
प्रि ओपन सेसन : नेप्से सूचक २.८५ अंकले घट्यो
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.८५ विन्दुले घटेको छ । यससँगै सूचक २४८३.९१ विन्दुमा आएको छ । ७४ लाख ६५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४७ कम्पनीको १८ हजार ११ कित्ता सेयर कारोबार भएको छ ।
१६ कम्पनीको भाउ बढेको छ भने २४ वटाको मूल्य घटेको छ ।
नेपाल राष्ट्र बैंकले दशैंको लागि आजदेखि सुकिला नोट वितरण गर्ने
काठमाडौं ।नेपाल राष्ट्र बैंकले दशैंको लागि आज असोज १३ गतेदेखि सुकिला नोट वितरण गर्ने भएको छ। केन्द्रीय बैंकले विगतमा दशैंअघि नयाँ नोट वितरण गर्दै आएको भए पनि यसपटक नयाँ नोटको साट्टो सुकिला नोट वितरण गर्ने भएको हो।
आजदेखि सर्वसाधारणले नेपाल राष्ट्र बैंकको कार्यलय र वाणिज्य बैंकका तोकिएका शाखा कार्यलयबाट सुकिला नोट साट्न सक्नेछन्। विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि केन्द्रीय बैंकले साना दरको १र१ सेटको दरले १८ हजार ५०० रुपैयाँको नयाँ नोट सटही गर्न सक्ने जनाएको छ।
दशैंमा नयाँ नोट वितरण गर्दा चाँडै पुरानो हुने भएकोले पनि केन्द्रीय बैंकले नयाँ नोटको सट्टामा पुरानै नोट वितरण गर्न लागेको हो।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २३ पैसा कायम छ । युरोपियन यूरो एकको खरिददर एक सय ४९ रुपैयाँ १४ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ८१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ७४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ ९९ पैसा कायम गरिएको छ ।
काठमाडौँ उपत्यकामा बाढीपहिराबाट ३४ जनाको मृत्यु, दुई हजार घर डुबानमा
काठमाडौँ ।बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरामा परी काठमाडाँै उपत्यकामा ३४ जनाको मृत्यु भएको छ । हालसम्म ललितपुरमा १८, काठमाडौँमा ११ र भक्तपुरमा पाँच जनाको मृत्यु भएको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार विपद्का घटनामा परी १७ जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन् । बाढीपहिरा तथा डुबानमा परेका एक हजार तीन सय १५ जनाको उद्धार गरिएको उहाँले बताउनुभयो । बाढीपहिरोबाट काठमाडौँमा चार घर भत्केका छन् भने भक्तपुरमा एउटा घरमा क्षति पुगेको छ ।
काठमाडौँमा एक हजार तीन सय २४, ललितपुरमा पाँच सय र भक्तपुरमा चार सय १७ गरी उपत्यकामा दुई हजार दुई सय ४१ घर डुबानमा परेका छन् ।
प्राकृतिक विपद् : ऊर्जातर्फ दुई अर्ब ४५ करोडको क्षति
काठमाडौँ । सरकारले अविरल वर्षाका कारण देशभरका २६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक निष्कर्ष निकालेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री दीपक खड्काले हालसम्मको विवरणअनुसार रु दुई अर्ब ४५ करोड बराबरको क्षति भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हामीले प्रारम्भिक विवरणका आधारमा यो तथ्याङ्क उल्लेख गरेका हौँ । थप क्षति भएको हुन सक्छ । बाढीका कारण झण्डै एक हजार एक सय मेगावाट विद्युत् उत्पादन रोकिएको छ । कूल एक हजार १० मेगावाट जडित क्षमताको १५ वटा निर्माणाधीन आयोजनामा क्षति पुगेको छ ।”
तामाकोसी नदीको कटानका कारण खिम्ती लामोसाँघु प्रसारण लाइनको टावर बगाउँदा दुई सय मेगावाट बराबरको बिजुली प्रणालीमा जोड्न समस्या भएको त्यस अवसरमा जानकारी दिइयो । सोही प्रसारण लाइन भएर काठमाडौँका लागि बिजुली ल्याउनेगरिएको छ । यस्तै दोलखा, रामेछापका विभिन्न आयोजनाको आठ सय मेगावाट बराबरको बिजुली प्रवाह गर्ने टावरसमेत जोखिममा परेका छन् ।
माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना
काठमाडौँ । यही असोज ११ गते शुक्रबार साँझदेखि नै देशभर भीषण वर्षा भयो । यसले सडकमा गुडिरहेका सवारीसाधन राम्ररी चल्न पाएका थिएनन् । अवरोध छिचोल्दै काठमाडौँतर्फ आउँदै गरेका सवारीसाधन नागढुङ्गाको ओरालोको जाममा फसे । सानातिना पहिरा त्यसअघि नै खसिसकेका कारण सवारीसाधन अघि बढ्न सकेनन् ।
काठमाडौँ र धादिङको सीमाना झ्याप्ले खोलामा अन्य क्षेत्रमा जस्तै सवारीसाधन लामबद्ध थिए । सकड सवारीसाधनले भरिभराउ थिए । रातिमा सवारीसाधन अघि बढ्न सकेनन् । त्यही बेला शनिवार बिहान ४ः०० बजे नागढुङ्गाभन्दा केही सय मिटर परबाट खसेको पहिरो तल्लो सडक ९झ्याप्ले खोलामा अड्किएका सवारीसाधनमा० बजारियो । ठाडो भीर भएकाले सिधा तल एकैचोटी पहिरो खस्यो । माथिल्लो सडकको सीमेन्ट पर्खाल नै भत्काएर पहिरो खस्यो । उक्त ठाउँ नागढुङ्गा सुरुङमार्गभन्दा केही वर पिप्लामोटपट्टी पर्छ ।
पर्सा प्रहरीद्वारा बिलबीजक भन्दा बढी लाखौँको मालवस्तुसहितको ट्रक नियन्त्रणमा लिई राजस्व अनुसन्धानमा बुझाइयो
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका वडान २५मा बिलबीजक भन्दा बढी लाखौँको मालवस्तुसहितका ट्रक नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले बिलबीजक भन्दा बढी अन्दाजी ५८ लाख८६ लाख ३० हजार बराबरको कस्मेटिकलगायतको मालवस्तुहरू लोडरहेकोबा ३ ख ९८४५ नम्बरको ट्रकसमेत थप अनुसन्धानका लागि बुझाएको हो ।
पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान
भोजपुर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले ‘हेर्ने कथा’का पात्र प्रकाश तामाङलाई जग्गा उपलब्ध गराउनुभएको छ । उहाँले भोजपुरस्थित षडानन्द नगरपालिकामा तामाङलाई पाँच रोपनी तीन आना जग्गा, एकहल गोरु र हाते ट्याक्टर उपलब्ध गराउनुभएको हो ।
प्रकाशले आफ्नै पुख्र्यौली गाउँमा कृषि पेसामा आबद्ध हुने इच्छा व्यक्त गरेपछि नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का स्थायी कमिटी सदस्यसमेत रहनुभएका पूर्वमुख्यमन्त्री राईले कृषि गर्न आवश्यकपर्ने जग्गासहति गोरु र हाते ट्र्याक्टर उपलब्ध गराएको बताउनुभयो । उहाँले हजारौँ युवा विदेश गइरहेको वर्तमान अवस्थामा प्रकाशले आफ्नै ठाउँमा खेतीकिसानी गर्ने इच्छा गरेकाले आवश्यक सहयोग गरेको उल्लेख गर्नुभयो ।
हवाई टिकटको अधिकतम मूल्य नलिने वायुसेवा सञ्चालक सङ्घको निर्णय
काठमाडौँ । विमान कम्पनीहरुले आगामी तीन दिनसम्म अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने भएका छन् । विपत्तिको समयमा महङ्गो शुल्कमा हवाई टिकट बिक्री गरेको भन्दै नागरिकस्तरबाट चर्को आलोचना भएपछि वायुसेवा सञ्चालक सङ्घको आजको बैठकले उक्त निर्णय गरेको हो ।
सङ्घका अध्यक्ष मनोज कार्कीले सोमबार, मङ्गलबार र बुधबारसम्म यात्रुलाई टिकट बिक्री गर्दा अधिकतम मूल्य नलिने निर्णय भएको जानकारी दिनभयो ।
उहाँले यसका लागि सरकारसँग पनि इन्धन, विमानस्थल शुल्क, ल्याण्डिङ र पार्किङलगायतको शुल्कमा छुट गर्न आग्रह गरिएको बताउनुभयो । यसो भएको अवस्थामा हवाई भाडादर अझै घटाएर यात्रुलाई सहुलियत दिन सकिने उहाँको भनाइ छ ।
सहकारी ठगीको कसुरमा फरार अभियुक्त बाग्लुङका मेयर देवकुमारी नेपाली नयाँ दिल्लीबाट काठमाडौँ ल्याइए
काठमाडौँ । बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपालीलाई भारतको राजधानी नयाँ दिल्लीबाट पक्राउ गरी काठमाडौं ल्याइएको छ ।५१ वर्षीय नेपालीसँगै सोही सहकारी ठगीमा संलग्न ५८ वर्षीय ओमबहादुर नेपाली भन्ने ओमप्रसाद दर्जीलाई पनि शनिबार काठमाडौँ ल्याइएको हो ।
उनीहरु दुवै जना सहकारी ठगीको कसुरमा फरार अभियुक्त रहेकाले उनीहरू विरुद्ध १० माघ २०८० मा रेड नोटिस जारी भएको थियो । यो सहकारीमा नेपालीसँगै ८ जना प्रतिवादी थिए ।नेपालीविरुद्ध २४ जेठ २०८० मा पक्राउ पुर्जी जारी भएको थियो ।पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाग्लुङ पठाइने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले जानकारी सार्वजनिक गरेका हुन् ।
सिटिजन्स बैंकद्वारा प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा २५ लाखको चेक हस्तान्तरण
काठमाडौँ । सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेडले अविरल वर्षाले प्रभावित भई ठूलो जनधनको क्षति पुगेकाहरुको राहतको उदेश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत पीडितहरूको राहत र पुनर्स्थापनाको लागि सहयोग प्रदान गरेको छ ।
शहरी विकास मन्त्रालयमा आज आयोजित एक कार्यक्रम बीच सम्माननीय कार्यवाहक प्रधानमन्त्री एंवम उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह ज्यूलाई बैंकका अध्यक्ष श्री प्रबल जंग पाण्डे ज्यूले रु २५ लाखको चेक हस्तान्तरण गर्नुभएको सिटिजन्स बैँकले जनाएको छ । समाहरोमा सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरुङज्यू ,बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलज्यू र प्रमुख प्रशासकीय अधिकृत नारायण राज अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
चालु आवमा सुरुका दुई महिनामा जीवन बीमा कम्पनीहरूको बीमा शुल्क आर्जन ३० अर्ब बढी , ९ कम्पनीको बीमा शुल्क आर्जन अर्ब बढी
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१÷८२ को सुरुका दुई महिनामा जीवन बीमा कम्पनीहरूको बीमाशुल्क आर्जन ३० अर्ब बढीको भएको छ । १४ जीवन बीमा कम्पनीले साउन र भदौमा ३० अर्ब ८ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।दुई महिनाको अवधिमा १४ मध्ये ९वटा बीमा कम्पनी अर्ब क्लबमा प्रवेश गरेका छन् । अर्थात ९ कम्पनीले एक अर्ब बढी बीमाशुल्क संकलन गरेका हुन् ।
बीमाशुल्क संकलन गर्ने कम्पनीहरूको शीर्षतम् स्थानामा नेपाल लाइफ रहेको छ भने निम्नतम् स्थानमा सनलाइफ रहेको छ । नेपाल लाइफले दुई महिनाको अविधमा ९ अर्ब ३ करोड ७३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सन लाइफले ७७ करोड ९४ लाखको बीमा शुल्क संकलन गरेको छ ।अर्ब बढी बीमा शुल्क संकलन गर्ने समूहको पुछारमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनी १ अर्ब ६ करोड ४७ लाख बढी रहेको छ ।