Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

खोटाङमा पहिरोले ३३ घर पुरिए, तराईसँग सिधा सम्पर्क विच्छेद


नया सडक

२०८१, असोज १४ सोमबार

  • 261
    Shares

  • खोटाङमा पहिरोले ३३ घर पुरिए, तराईसँग सिधा सम्पर्क विच्छेद

     

    खोटाङ ।अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले जिल्लामा ३३ घर पुरिएका छन्भने दुई घाइते तथा ३८  घरमा आंशिक क्षति पुगेको छ । 

     

    मानवीय क्षति नभए पनि करोडौँ मूल्य बराबरको क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो । “बाढी तथा पहिरोले जिल्लामा ठूलो क्षति पुगेको छ । क्षतिको पूर्ण विवरण अझै आइसकेको छैन”, उहाँले भन्नुभयो, “दश स्थानीय तह रहेको खोटाङमा बाढी तथा पहिरोबाट दुईजना घाइते भएका छन्भने १८ वटा पशुचौपाया मरेका छन् । विस्थापितहरुको उद्धारमा तीनै सुरक्षा निकायका टोली परिचालन गरेका छौँ ।”

     

    बाढी तथा पहिरोपीडितलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनःस्थापनाका लागि आइतबार साँझ जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेको छ । प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’सहितको उपस्थितिमा आयोजित बैठकमा क्षतिको विवरण तत्काल सङ्कलन गरी चाँडोभन्दा चाँडो राहत उपलब्ध गराउने निर्णय भएको छ । 

     

    बाढी तथा पहिरोले घर बगाएर विस्थापित बनेका एक सय ३५ स्थानीयवासीलाई नजिकको विद्यालय तथा आफन्तकामा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो । “बाढी तथा पहिरोले एउटा पक्की बगाउनाका साथै पाँचवटा झोलुङ्गे पुलमा क्षति गरेको जानकारी प्राप्त भएको छ । उद्धारमा खटिएका प्रहरीहरु अझै फिल्डमै छन्”, उहाँले भन्नुभयो, “जिल्लामा भएको क्षतिको विवरण यो नै पूर्ण होइन । अहिलेसम्म विकासे योजनाबाहेक मानिसका घरमा मात्र रु ७९ लाख ९९ हजार बढीको क्षति भएको जानकारी प्राप्त भएको छ । थप विवरण आउन बाँकी छ ।” 

     

    बाढीका कारण खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पक्की पुल बगाएको छ । खोटाङ र उदयपुर जोड्ने बङ्शिलाघाट, ऐँसेलुखर्क  गाउँपालिका–४ जलेश्वरीस्थित कम्फुघाट, खोटाङ र उदयपुरकै धाप्लाङघाट, जन्तेढुङ्गा गाउँपालिका–१ रमिते र उदयपुर जोड्ने मैनाटार तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित भण्डारेघाटको झोलुङ्गे पुल बगाएको छ । विसं २०७९ मा निर्माण सम्पन्न गरेर सञ्चालन गरिएको फोक्सिङटारको पक्की पुल तथा अन्य पाँच झोलुङ्गे पुलहरु शनिबार दिउँसोको बाढीले बगाएको हो । 

     

    फोक्सिङटारको पुल बगाएपछि पूर्वी तराईसँगको सिधा यातायात सम्पर्क विच्छेद भएको छ । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क डिजाइन’को  उक्त पुल बगाएपछि सिधा यातायात सम्पर्क विच्छेद भएको हो । 

     

     

    प्रतिक्रिया दिनुहोस