Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् असोज ३० बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू..


नया सडक

२०८१, असोज ३० बुधबार

  • 441
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् असोज ३० बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू..

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असोज ३० बुधबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    नेपाल राष्ट्र बैंकले ५ अर्ब ३१ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ अर्ब ३१ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपका रुपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेकोे उक्त रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको हो।

     

    राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा ४ अर्ब २४ करोड ८० लाख, राष्ट्रियस्तरका विकास बैंकहरुमा ७९ करोड ६५ लाख तथा राष्ट्रियस्तरका वित्तीय संस्थाहरुमा २६ करोड ५५ लाख रुपैयाँ निक्षेप जम्मा गर्ने जनाएको छ।

    समता घरेलु लघुवित्तले एफपीओ बिक्री गर्न , धितोपत्र बोर्डबाट पायो अनुमति

    काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । यस संस्थाले १०० रुपैयाँ अंकित दरमा ३ लाख ५० हजार ९०४.२५ कित्ता सेयर बिक्री गर्न अनुमति पाएको हो । यसको बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।

    प्रहरी सङ्गठन सुदृढ गर्न नयाँ ऐनको मस्यौदा तयार गरिँदै : गृहमन्त्री लेखक

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी सङ्गठन सुदृढीकरण गर्न विद्यमान कानुनी व्यवस्थालाई प्रतिस्थापन गरी नयाँ ऐनको मस्यौदा तर्जुमा गरी आवश्यक प्रकृया अगाडी बढाएको बताउनुभएको छ । 

     

    ६९औँ प्रहरी दिवसका अवसरमा आज यहाँ आयोजित  समारोहमा गृहमन्त्री लेखकले उक्त विधेयकले कानुनी मान्यता प्राप्त गरेपश्चात नेपाल प्रहरीको वृहत्तर हित, प्रहरी कर्मचारीको वृत्ति विकास र सङ्गठनको जिम्मेवारी तथा कर्तव्यका नयाँ आयामहरू पहिचान हुनेविश्वास व्यक्त गर्नुभयो ।

     

    नेपाल प्रहरी एउटा जीवन्त सङ्गठन भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता तथा स्वाधीनतालाई अक्षुण्ण राख्दै नागरिकको सार्वभौम अधिकारको रक्षाका लागि नेपाल प्रहरीले निष्ठापूर्ण योगदान गरेको बताउनुभयो । राष्ट्रसेवामा नेपाल प्रहरीका पदचापहरूले बाटो नबिराउने र कहीँ कतै नसुस्ताउनेमा आफू विश्वस्त रहेको उहाँको भनाइ थियो ।

    शेयर बजार : नेप्से परिसूचकमा ४३.२२ अंकले बढेर २७४२.८८ बिन्दुमा, ५ अर्ब ६६ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ ।आज नेप्से परिसूचकमा ४३।२२ अंकले बढेर २७४२।८८ बिन्दुमा भएको छ । आज न ५ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो । सबै समूहका सूचक बढेका छन् । 

     


    यस दिन ३२० कम्पनीको १ करोड ३२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १५ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रिइन्सुरेन्स र एनआइसी एसिया बैंक परेका छन् ।

    एनएमबि क्यापिटल लिमिटेडको साधारण सभा कात्तिक ३० गते , लाभांश वितरण गर्ने प्रस्ताव

    काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले कात्तिक ३० गते १४औं वार्षिक साधारणसभा बोलाएको छ । क्यापिटलको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको नक्सालस्थित होलिडे इन एक्सप्रेसमा दिउँसो ४ बजेदेखि सभा बस्ने निर्णय गरेको हो ।

     

    सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १७ प्रतिशत नगद लाभांश ९कर समेत० वितरणको प्रस्ताव पारित गर्नेछ ।

    दाउन्ने एग्रो फार्मले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा  सिटिजन्स क्यापिटल

    काठमाडौं । दाउन्ने एग्रो फार्म लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनका लागि कम्पनी विक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको छ । 

     

    बिक्री प्रबन्ध नियुक्ति सम्बन्धी सम्झौतामा आज सिटिजन्स क्यापिटल र दाउन्ने एग्रो फार्मबीच हस्ताक्षर भएको हो। सम्झौतापत्रमा दाउन्ने एग्रो फार्मका तर्फबाट कार्यकारी निर्देशक विनोद पोखरेल तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन । 

    दाउन्ने एग्रो फार्म वि।स। २०७४ सालमा स्थापना भएको नेपालकै सबैभन्दा ठुलो अण्डा उत्पादन गर्ने कम्पनीे हो । यस कम्पनीले ४,००,००० लेयर्स कुखुराबाट प्रतिदिन १७०० कार्टुन “एन्टिबायोटिक फ्री”एवम् गुणस्तरीय अन्डा उत्पादन गरी देशको अधिकांश शहरी,अर्ध शहरी, एवम् पर्यट्कीय क्षेत्रमा बिक्री वितरण गर्दै आईरहेको छ ।

    छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्रीमा

    काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी प्रकाश चन्द्र खनालको नाममा रहेको २ हजार ९७७ कित्ता शेयर बिक्रीमा राखेको हो । अहिले धितोपत्रको दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू.१ हजारमा कारोबार भइरहेको छ । 

     

    उक्त शेयरको न्यूनतम बिक्री मूल्य प्रतिकित्ता ४३० रुपैयाँ तोकिएको छ । यो शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउछन् ।

    हिमालयन ८०–२० को प्रतिफल वितरण प्रयोजनको लागि बुक क्लोज मिति तय

    काठमाडौं । हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० याजनाको लाभांश वितरणका लागि कात्तिक ९ गते एक दिन बुक क्लोज गर्ने निर्णय भएको छ ।

     

    यस बुक क्लोज मितिका आधारमा योजनाले वितरण गर्ने प्रतिफल प्राप्त गर्नका लागि कात्तिक ८ गतेभित्र शेयरधनी भइसक्नु पर्नेछ ।

    रु रु जलविद्युतको बोनस शेयरमूल्य नेप्सेमा समायोजन

    काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रु रु जलविद्युत परियोजना लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।यस दिन नेप्सेले कम्पनीको १५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ७६४ रुपैयाँ ३५ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ८७९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।

     

    युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ८९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ २९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ ३२ पैसा कायम गरिएको छ ।

    स्रोत नखुलेको रु आठ लाख पाँच हजार पाँच सय नगदसहित एक पक्राउ

    जलेश्वर । यहाँको जलेश्वर–सम्सी सडकखण्डको भोल्ही चोकमा आज दिउँसो प्रहरीले स्रोत नखुलेको रु आठ लाख पाँच हजार पाँच सय नगदसहित एक जनालाई पक्राऊ गरेको छ ।

     

    पक्राऊ पर्नेमा सम्सी गाउँपालिका–७ बस्ने २८ वर्षीय रामस्नेही साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता सन्तुलालप्रसाद जैसवारले बताउनुभयो ।

     

    बीआर ३० एएफ ३८७६ भारतीय नम्बरको मोटरसाईकलमा चढेर मनरासिश्वा नगरपालिका–२ स्थित भोल्ही चोक जाँदै गरेका साहलाई प्रहरी टोलीले शङ्का लागि चेक जाँच गर्दा निजले लुकाएर बोकेको अवस्थामा स्रोत नखुलेको उक्त नगद बरामद गरेको प्रहरीले जनाएको छ ।

    दसैँमा दुई लाख ३७ हजारले गरे हवाई यात्रा

     

    काठमाडौँ।  बडादसैँको पाँच दिनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल दुई लाख ३७ हजारभन्दा बढीले हवाई यात्रा गरेका छन् । विमानस्थल कार्यालयको तथ्याङ्क अनुसार दसैँको फुलपाती देखि पूर्णिमाको अघिल्लो दिनसम्म अर्थात् असोज २४ गतेदेखि २८ गतेसम्म आन्तरिकतर्फ एक लाख ६० हजार नौ सय १० र अन्तर्राष्ट्रियतर्फ ७८ हजार पाँच सय १२ जनाले हवाई यात्रा गरेका हुन् । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दसैँको सात दिन अर्थात् असोज २४ गते फुलपातीदेखि पूर्णिमाको अघिल्लो दिन (असोज ३० गते) सम्म आन्तरिकतर्फ दुई हजार एक सय ५९ र अन्तर्राष्ट्रियतर्फ सात सय ८१ गरी कुल दुई हजार नौ सय ४० उडान भएका छन् । यो दुईतर्फी उडानको सङ्ख्या हो । दसैँको दुुई दिन अर्थात् असोज २४ गते फूलपाती र असोज २६ गते (महाअष्टमी÷महानवमी) मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै गरी ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका थिए । असोज १३ गतेदेखि असोज २८ गतेसम्म कुल चार लाख २७ हजार नौ सय ४६ जनाले हवाई यात्रा गरेको विमानस्थलले जनाएको छ । यसमा आन्तरिकतर्फ दुई लाख २३ हजार आठ सय ४७ र अन्तर्राष्ट्रियतर्फ दुई लाख ४० हजार ९९ यात्रुले आवत जावत गरेका छन् । यसैगरी असोज १३ गतेदेखि असोज २८ गतेसम्म आन्तरिकतर्फ पाँच हजार एक सय आठ र अन्तर्राष्ट्रियतर्फ एक हजार सात सय ४४ गरी कुल ६ हजार आठ सय ५२ उडान सञ्चालन भएको विमानस्थलको तथ्याङ्कमा उल्लेख छ ।

    वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिक परिवारले अब राहत १० लाख पाउने

    काठमाडौँ । वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिक परिवारले अब राहत १० लाख रुपैयाँ पाउने भएका छन् ।सरकारले मृतक श्रमिकको परिवारलाई दिँदै आएको राहत बढाएर १० लाख रुपैयाँ पु¥याइएको हो ।

     

    यसअघि वैदेशिक रोजगारीमा पुगेर मृत्यु भएका श्रमिकका परिवारले ७ लाख पाउँदै आएकोमा असोज १८ गतेको मन्त्रिपरिषद् बैठकबाट यस्तो निर्णय गरिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी सार्वजनिक गरे अनुसार  मृतक परिवारले पाउँदै आएको राहत बढाएर अब १० लाख दिइनेछ । वैदेशिक रोजगार नियमावली २०६४ को छैटौँ संशोधन गर्दै आर्थिक सहायता रकम वृद्धि गरिएको हो ।

    नागढुंगा सुरुङ मार्ग आयोजनाको भौतिक प्रगति पूरा हुन अब २० प्रतिशत भन्दा कम बाँकी , पूरा नहुँदै बाढी पहिरोको बेलादेखि आयोजनाको महत्व बढ्यो

    काठमाडौँ ।  निर्माणाधीन नागढुंगा सुरुङ आयोजनाको भौतिक प्रगति ८० प्रतिशत पूरा भएको छ ।आयोजनाले सार्वजनिक गरेको नयाँ  विवरण अनुसार भौतिक प्रगति ८०.५० प्रतिशत पुगेको हो  । साथै आयोजनाको वित्तीय प्रगति ७४.७० प्रतिशत छ ।आयोजना अन्तर्गत गर्नुपर्ने  सुरुङतर्फको काम पूरा भएको छ । सुरुङतर्फका काम अन्तर्गत सुरुङ खन्ने र कंक्रिट लाइनिङको काम समेत सकिएको छ । यहाँ २ हजार ६ सय ८८ मिटर लामो मुख्य सुरुङ र २ हजार ५ सय ५७ मिटर लामो उद्धार सुरुङ छ ।यो आयोजनाको काठमाडौँतर्फको भागमा अन्डरपास, बक्स कल्भर्ट, पुल, ओभरपास र फ्लाइओभरको काम जारी छ । यो बाँकी काम भौतिक प्रगति अन्तर्गतको २० प्रतिशत रहेको देखिएको छ ।
    असोज दोस्रो साता आएको बाढी र पहिरोले काठमाडौँ–मुग्लिन सडक खण्ड बन्द भएको बेला सुरुङ मार्ग प्रयोग गरी यातायात र यात्रु उद्धार गरिएको थियो । सो बाढी पहिरोले बाटो अवरुद्ध हुँदा  गरिएको उद्धार कार्यका कारण  यो आयोजनाको महत्व झन  बढेर गएको छ ।यो आयोजनाको सन् २०१४ मा  अध्ययन भएर  २०१६ मा स्रोत सुनिश्चित भई २०१७ मा डिजाइनको काम सुरु भएको थियो । जापानी ठेकेदार कम्पनी हाजमा–आन्दो जेभीले यो आयोजनामा काम पाएको थियो । यो कम्पनी कोटेश्वर–सूर्यविनायक खण्ड विस्तार तथा बीपी राजमार्ग निर्माणमा समेत सफल भएको कम्पनी मानिएको छ ।

    सरकारले तदारुकता नदेखाउँदा तातोपानी नाकाको क्षतिग्रस्त बाटो अझै बनेन, बाटो अवरुद्ध हुँदा व्यापारीहरू मर्कामा

    काठमाडौँ । सरकारले तदारुकता नदेखाउँदा तातोपानी नाकाको क्षतिग्रस्त बाटो अझै बन्न सकेको छैन् । तीन दिन असोज ११ ,१२ र १३ गते परेको अविरल वर्षा पछि आएको बाढी पहिरोले अरनिको राजमार्ग अन्तर्गत तातोपानीसम्म पुग्ने बाटो र पुल बगाउँदा काठमाडौँ जोड्ने तातोपानी तर्फको बाटो अझै सुचारु हुन नसकेको हो । सरकारले देखाउन पर्ने तदारुकता नदेखाएकोले अवरुद्ध भएको बाटो खुलाउन नसकिएको स्थानीय सरोकारवालाहरूले बताएका छन् ।

     

    अरनिको राजमार्गको सीमासँग जोड्ने कोदारी क्षेत्रको बाटोलाई गएको बाढी पहिरोले धेरै क्षति पु¥याएको छ । यो क्षेत्रका दुईटा पुललाई बगाइ दिएको छ भने दुई ठाउँमा पहिरोले बाटो बन्द गरिदिएको छ । यस क्षेत्रमा पर्ने लिपिङ खोलामा दुईटा घर पन्छाउनुपर्ने काम पूरा गर्न सकिए यो बाटो अस्थायीरूपमा सञ्चालनमा ल्याउन सकिने स्थानीयहरूको भनाइ छ ।

    सुनको मूल्य बुधबार  अहिलेसम्मकै उच्च

    काठमाडौँ । सुनको मूल्यले आज बुधबार  अहिलेसम्मकै उच्च रेकर्ड बनाएको छ । बुधबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको हो । 

     

    यसअघि उच्चतम मूल्य असोज १८ गते १ लाख ६१ हजार ३ सय रुपैयाँ थियो । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १३०० रुपैयाँ बढेको हो । अघिल्लो दिन १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १९२५ रुपैयाँ रहेको चाँदी यस दिन १९५० कायम भएको छ । असोज २० गते चाँदी १९८५ रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

    अधिकांश वाणिज्य बैंकहरूले कातिकमा पनि निक्षेप ब्याजदर घटाए

    काठमाडौँ । अधिकांश वाणिज्य बैंकहरूले कात्तिक महिनाका लागि पनि निक्षेपमा दिने ब्याजदर घटाएका छन् । २० वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर असोज महिनाको तुलनामा कात्तिकमा औसत ०.२१ प्रतिशत विन्दुले घटाएका हुन् ।यी बैंकहरूको अधिकतम व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ६.३९ प्रतिशत असोजमा रहेको थियो ।  कात्तिकमा यो ६.१८ प्रतिशतमा झरेको छ । यसअघि भदौमा अधिकतम व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ६.५० प्रतिशत थियो ।

     

    सार्वजनिक सूचनाअनुसार कात्तिकमा सानिमाले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर असोजको तुलनामा बढाएको छ । यसैगरी  १० बैंकले यस्तो ब्याजदर घटाएका छन् । ९ बैंकले स्थिर राखेका छन् ।व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाउनेहरूमा कृषि विकास, राष्ट्रिय वाणिज्य, लक्ष्मी सनराइज, प्राइम, सिटिजन्स, नबिल, सिद्धार्थ, स्टान्डर्ड चार्टर्ड, एनआईसी एसिया र हिमालयन बैंक छन् ।

     

    प्रतिक्रिया दिनुहोस