काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गांग नेतृत्वको प्रतिनिधिमण्डलले आज आइतबार भेट गरेको छ ।प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देश र दुई पार्टीबीचको आपसी सम्बन्धलाई अझ बलियो बनाउने विषयमा छलफल भएको हो ।
भेटमा प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव सी जिनपिङको नेतृत्वमा चीनमा गरिबीको अन्त्यसहित भएको चौतर्फी विकास असाधारण रहेको जनाएका थिए ।प्रधानमन्त्री ओलीले राजनीतिक स्थिरताका लागि दुई ठूला दल एमाले र नेपाली कांग्रेसबीचको सहकार्यमा नयाँ सरकार गठन भएको पनि जनाए ।
साथै प्रधामन्त्री ओलीले नेपालको आर्थिक विकासमा चीनको निरन्तर सहयोगको अपेक्षा राखेको जनाउँदै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र चीनविरुद्धका कुनै पनि गतिविधिका लागि नेपाली भूमि प्रयोग गर्न नदिनेमा स्पष्ट रहेको बताए ।चिनियाँ नेता छेन्ले नेपालका राजनीतिक दलले गरेका निर्णयमा आफूहरुको सम्मान रहने र भ्रमणका क्रममा आएका विषयवस्तु महासचिव सीलाई जानकारी गराउने बताएका थिए ।