काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज कात्तिक ४ आइतबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू..
बलेफी हाइड्रोलाई शतप्रतिशत हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले बलेफी हाइड्रोपावर लिमिटेडलाई १ बराबर १ अर्थात शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ । कम्पनीको गत वर्षकोअसोजमा सम्पन्न दशौं र एघारौं वार्षिक साधारण सभाले हाल कायम चुक्तापुँजी बराबर हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो।
धितोपत्र बोर्डले बलेफी हाइड्रोलाई १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो ।
यस्ता छन् मन्त्रीपरिषद् बैठकका २३ निर्णय (सूचीसहित)
काठमाडौँ ।मन्त्रिपरिषद्को कात्तिक २ गते बसेको बैठकले विभिन्न २३ वटा निर्णयहरु गरेको छ ।
बैठकले नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकार्य निर्देशक पदमा पुनः नियुक्ति गर्ने, विश्व बैंकबाट हरित, उत्पादनशील र समावेशी विकास लागि प्रस्ताव गरिएको १ सय ३५ मिलियन डलर ऋण सहायक स्वीकार गर्न वार्ता टोली गठन गर्ने, विश्व बैंककै प्राकृतिक प्रकोप न्युनिकरणको लागि प्रदान गरिएको १ सय ५० मिलियन डलर ऋण स्वीकार गर्ने, विपद्जन्य घटनामा प्राप्त राहत तथा पुनःनिर्माण सामाग्रीमा भन्सार महसुल छुट दिने निर्णय गरेको छ ।
\शेयर बजार : नेप्से परिसूचकमा ४७.४४ अंकले घटेर २६९७.९१ बिन्दुमा, ८ अर्ब १८ करोडभन्दा बढीको कारोबार
काठमाडौँ ।आज नेप्से परिसूचकमा ४७.४४ अंकले घटेर २६९७.९१ बिन्दुमा आएको छ । आज ८ अर्ब १८ करोड रुपैयाँभ्न्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।
म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक घटेको छ ।
यस दिन ३ सय १५ कम्पनीको २ करोड ८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४५ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा गुडविल फाइनान्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः कुमारी बैंक र हिमालयन रिइन्सुरेन्स परेका छन् ।
आज अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौँ । अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक ५ गते बुकक्लोज गर्दैछ।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।कम्पनीले कात्तिक १४ गते, बुधबार, होटल क्रिस्टल पशुपती, गौशाला, काठमाडौँमा २७ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्री खुला , सर्वसाधारणले आवेदन दिन मिल्ने
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा जो कोही व्यक्ति वा संघ संस्थाले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुकले आज आइतबारबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ, घरान १२, सुनसरी वा यस कम्पनीको सेयर रजिष्ट्रार प्रभु क्यापिटल कमलादी, काठमाडौंमा आफूले के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन पर्नेछ ।
जीवन विकास लघुवित्तको ३ लाख ३४ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला
काठमाडौं । जीवन विकास लघुवित्तले आजदेखि ३ लाख ३४ हजार ५०० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामी सेयरमा कम्पनीकै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ६०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
आवेदकले बिक्री प्रबन्धक एनएमबि क्यापिटल बालुवाटार काठमाडौं तथा जीवन विकास लघुवित्तको केन्द्रीय कार्यालय, कटहरी - २ मोरङमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।
समता घरेलु लघुवित्तले कात्तिक १२ गतेदेखि एफपीओ निष्काशन गर्ने
काठमाडौँ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक १२ गतेदेखि थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन गर्ने भएको छ।
लघुवित्तले साविकको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपश्चात प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर पूँजी संरचना अनुपात संस्थापकको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत कायम हुने गर्न नपुग शेयर सर्वसाधारणमा एफपीओ जारी गर्न लागेको हो।
लघुवित्तले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ५० हजार ९०४.२५ कित्ता शेयर निष्काशन गर्न लागेको हो।लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने
काठमाडौँ । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जनाएको छ ।
कोशी, मधेश, बागमती र कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने छ । कोशी, मधेश, बागमती प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ ।नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८१ पैसा कायम भएको छ ।
युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ १९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ०७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ८५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ९७ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ६६ पैसा कायम गरिएका े छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०५ पैसा र बिक्रीदर ९० रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिदद र ९७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुर्ई रुपैयाँ २७ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ ।
बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा श्रेष्ठ
हेटौँडा । बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त हुनुभएको छ ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज श्रेष्ठलाई प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (१) बमोजिम गठित सिफारिस समितिको सिफारिसमा दफा ४ को उपदफा (४) बमोजिम अध्यक्ष पदमा नियुक्त गर्नुभएको हो ।
सङ्क्रमणकालीन न्यायनिरुपणका लागि समिति पुनर्गठन गर्ने सरकारको निर्णय
काठमाडौँ ।सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु¥याउनका लागि सरकारले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सिफारिस समिति पुनर्गठन गर्ने निर्णय गरेको छ ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिका लागि सिफारिस गर्न मन्त्रिपरिषद्को २०८० साल चैत ३० को निर्णयानुसार गठित सिफारिस समिति पुनर्गठन गर्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश मिश्रको अध्यक्षतामा राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्ष वा निजले तोकेको सो आयोगको सदस्य सदस्य, मानवअधिकारवादी, मनोविज्ञानवेत्ता, कानुनविद् विधि विज्ञानवेत्ता, द्वन्द्वविद्, समाजशास्त्री, महिला अधिकारकर्मी वा शान्ति प्रक्रियामा संलग्न व्यक्तिमध्येबाट सदस्यहरू पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, डा अर्जुनकुमार कार्की र स्टेला तामाङ रहनुभएको छ ।
रास्वपा सभापति लामिछानेलाई ६ दिनको म्याद थप
गण्डकी,। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा थप अनुसन्धान गर्न ६ दिनका लागि म्याद थप गरिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको एकल इजलासले अनुसन्धानका लागि ६ दिन म्याद थप गर्ने निर्णय गरेको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुुभयो । शुक्रबार काठमाडौँमा पक्राउ पर्नुभएका सभापति लामिछानेलाई सोही दिन राति नै पोखरा ल्याई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएकामा आज अदालत समक्ष प्रस्तुत गरिएको थियो । इजलासमा सरकारी वकिलका तर्फबाट कमला काफ्लेले बहस गर्नुुभएको थियो भने सभापति लामिछानेका तर्फबाट अधिवक्ताहरू सुशिल पन्त, डा नारायण घिमिरेलगायतले बहस गर्नुुभएको थियो । सभापति लामिछानेलाई अदालतमा उपस्थित गराइरहँदा बाहिर भने उहाँका समर्थकले नाराबाजी गरेका थिए ।
सरकारले लगाएको अग्रिम करका कारण खाद्यान्नजन्य वस्तुको मूल्यमा वृद्धि,व्यापारी र उपभोक्ता मर्कामा
काठमाडौँ । सरकारले खाद्यान्नमा अग्रिम कर लगाएपछि खाद्यान्नजन्य वस्तुको मूल्यमा वृद्धि भएको छ ।एकातर्फ गहुँ कच्चा पदार्थ भएर सञ्चालन हुने मैदा मिलहरू गहुँको अभावमा बन्द हुने भएका छन् भने अर्कोतर अग्रिम करका कारण गहुबाट बन्ने वस्तुहरूको मूल्य बढेको सरोकारवालाहरूले बताएका छन् ।मैदा उद्यमीहरूका अनुसार नेपालमा हुने गहुँ उत्पादनबाट मैदा मिलको मागलाई चालीस प्रतिशत मात्र पूरा गर्दछ । मैदा मिलको कच्चा पदार्थको आपूर्ति आयातमा निर्भर रहने गरेको छ ।यसको आयात भारतबाट हुने गरेको छ ।सरकारले अग्रिम कर लगायतका कर गहुँमा थपिएपछि उत्पादित वस्तुको मूल्य बढ्ने गएको छ । विराटनगरस्थित अनन्त खाद्य उद्योगका कृष्णकुमार अग्रवालले मैदा मिलहरू समस्यामा रहेको बताए ।
सर्वोच्चका पूर्व न्यायाधीश सिन्हाको संयोजकत्वमा उड्डयन क्षेत्र अध्ययन गर्न उच्चस्तरीय समिति गठन
काठमाडौँ । सरकारले नागरिक उड्डयन क्षेत्रको अध्ययनका लागि उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले पाँच सदस्यीय समिति गठन गरेको जानकारी दिएका हुन् ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिमा हवाई व्यवस्थापन विज्ञ राजेन्द्रबहादुर सिंह, हवाई सुरक्षा विज्ञ भेषराज सुवेदी, हवाई सेवा सञ्चालन तथा गुणस्तर व्यवस्थापन विज्ञ रिवाजप्रसाद प्रधान र पर्यटन मन्त्रालयका सहसचिव सदस्य रहेका छन् ।
ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रक बीच Building Energy Efficiency in Nepal (BEEN) प्रोजेक्टमा सहकार्य समझदारी सम्पन्न
काठमाडौं । ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच स्वीच एसिया ग्रान्ट प्रोग्राम अन्तर्गत युरोपियन युनियनको आर्थिक सहयोगमा Building Energy Efficiency in Nepal (BEEN) प्रोजेक्ट अन्तर्गत दिगो आवास भवन निर्माणका लागी ऊर्जा कुशल प्रविधी तथा अभ्यासहरु प्रवर्धनको लागि समझदारी सम्पन्न भएको छ । उक्त समझदारीमा बैंकका ग्रीन एण्ड सस्टेनेबल बैंकिङ्ग प्रमुख असिम कर्माचार्य र युनिभर्सिटी अफ इन्ज्ब्रक, अष्ट्रियाको प्रतिनिधी तथा द्यभ्भ्ल् प्रोजेक्ट प्रमुख डा. ड्यानियल नेयरले हस्ताक्षर गर्नुभएको छ ।
ग्लोबल आइमई बैंकले दिगो आवास प्रवद्र्धन गर्न “ग्रीन होम लोन” विशेष कर्जा योजना लागु गर्दै आएको छ । बैंकका अनुसार, यस समझदारीले प्राविधिक क्षमताको अभिवृद्धि गर्न र दिगो तथा ऊर्जा कुशल भवनहरूको प्रवर्धन गर्न सहयोग पुर्याउनेछ ।
क्रान्तिपछिका विरोधहरूले बङ्गलादेशको पोशाक उद्योगलाई ४० करोड डलर घाटा
ढाका ।उद्योग नेताहरूले आइतबार भने कि मुलुकको निरङ्कुश प्रधानमन्त्रीलाई हटाएको विद्यार्थी नेतृत्वको क्रान्तिपछिको अशान्तिका कारण बङ्गलादेशको महत्त्वपूर्ण पोशाक उद्योगले ४४० करोड डलर गुमाएको उद्योग नेताहरूले आइतबार बताएका छन् । उनीहरूले अहिले स्थिति ‘स्थिर’ भएकोमा जोड दिए ।
मुलुकका तीन हजार पाँच सय पोशाक कारखानाले वार्षिक ५५ अरब डलर निर्यातको लगभग ८५ प्रतिशत हिस्सा ओगट्छन् तर अशान्तिले यस मुख्य उद्योगमा उल्लेखनीय अवरोध पु¥यायो ।
महिनौँको घातक विरोधपछि पूर्वप्रधानमन्त्री शेख हसिना अगस्ट ५ मा हेलिकोप्टरबाट छिमेकी भारततर्फ भाग्नुभयो ।
सहरी विकास मन्त्रालयका एक सय दिनको प्रगति विवरण सार्वजनिक
काठमाडौँ ।उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफूले मन्त्रालय सम्हालेको एकसय दिनको काम र आगामी योजना सार्वजनिक गर्नुभएको छ ।
आज मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी उहाँले सार्वजनिक गर्नुभएको विवरणमा एक सय दिनमा धरहरा सञ्चालनदेखि मन्त्री आवास र २५ वटा स्थानीय तहको प्रशासकीय भवन निर्माण गरिएको उल्लेख छ । मन्त्रालयले उक्त अवधिमा लिइएका ११ वटामध्ये आठ लक्ष्य हासिल भइसकेको र तीन वटा योजना चालु अवस्थामा रहेको जनाएको छ ।
पोखरामा प्रदर्शनकारीले निषेधाज्ञा तोड्न खोज्दा तनाव
गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले निषेधाज्ञा तोडेर विरोध प्रदर्शन गर्न थालेपछि पोखराको सहिदचोकमा तनावको अवस्था सिर्जना भएको छ ।
जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखरा शहिदचोक र ग्रैहापाटन आसपासका क्षेत्रमा आज बिहानदेखि निषेधाज्ञा जारी गरेको थियो । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ पर्नुभएका रास्वपाका सभापति लामिछानेलाई अदालत उपस्थित गराउने क्रममा कार्यकर्ताले निषेधित क्षेत्र तोडेर प्रर्दशन गर्न थालेपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रहार गरेको छ ।
परराष्ट्रले गैरआवासीय नेपाली संघको एकता महाधिवेशन गराउन पूर्व अध्यक्ष शेष घलेलाई पत्र पठायो
काठमाडौँ । परारष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गराउने पत्राचार गरेको छ । परराष्ट्रले सर्वोच्च अदालतले गत चैत २१ गतेको फैसला कार्यान्वयनका लागि भन्दै पूर्वअध्यक्ष शेष घले र गैरआवासीय नेपाली संघको सचिवालयलाई आइतबार पत्राचार गरेको हो । उक्त पत्रमा फैसलाअनुसार घलेलाई एकताको महाधिवेशन गराउनेसहितको कार्यादेश दिइएको मन्त्रालय स्रोतले जनाएको छ ।‘फैसलाको कपी राखेर फैसलामा उल्लेखित बुँदा नम्बर यतिसम्म कार्यान्वयन गर्नु भनेर भनेर आज पत्राचार गरिएको स्रोतले जनायो ।
न्यायाधीशद्वय सपना मल्ल प्रधान र नहकुल सुवेदीको संयुक्त इजलासले गत चैत २१ गते एनआरएनएको आधिकारिकता विवादमा फैसला गर्दै २०७८ माघ १ को बिन्दुबाट गतिविधि सुरु गरेर संघका पूर्वअध्यक्ष घलेको नेतृत्वमा ६ महिनाभित्र एकताको महाधिवेशन गर्न फैसला गरेको थियो । फैसला भएको साढे ६ महिना बितिसेकेको भएपनि सर्वोच्चको फैसला कार्यान्वयनमा नभएपछि मन्त्रालयले परराष्ट्रलाई पत्राचार गरेको छ । उक्त फैसलाको पूर्णपाठ समेत गत साउन १५ मै सार्वजनिक भइसकेको थियो ।
असोज महिनामा सरकारले तिर्नुपर्ने ऋण साढे पाँच अर्ब बढीले घट्यो
काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले असोज महिनामा सार्वजनिक ऋण घटेको जनाएको छ । भदौ महिनाको तुलनामा असोजमा ५ अर्ब ५८ करोड रुपैयाँ ऋण घटेको ऋण व्यवस्थापन कार्यालयले जनाएको हो ।भदौ मसान्तसम्म नेपालले तिर्न बाँकी सार्वजनिक ऋण २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँ थियो । असोज मसान्तसम्म आइपुग्दा तिर्न बाँकी सार्वजनिक ऋण २५ खर्ब २३ अर्ब ३ करोड रुपैयाँमा झरेको छ । यो ऋणमा १२ खर्ब ३६ अर्ब ३० करोड आन्तरिक र १२ खर्ब ८६ अर्ब ७३ करोड बाह्य ऋण सरकारले तिर्न बाँकी छ ।कुल ग्रार्हस्थ उत्पादनको ४४.२३ प्रतिशत सार्वजनिक ऋण रहेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार असोजमा खास गरी विदेशी मुद्रा विनिमयमा आएको उताढचढावले गर्दा ऋण घटेको हो ।
चिनियाँ कम्युनिष्ट पार्टीका नेता छेन गांग नेतृत्वको प्रतिनिधिमण्डल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गांग नेतृत्वको प्रतिनिधिमण्डलले आज आइतबार भेट गरेको छ ।प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देश र दुई पार्टीबीचको आपसी सम्बन्धलाई अझ बलियो बनाउने विषयमा छलफल भएको हो ।
भेटमा प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव सी जिनपिङको नेतृत्वमा चीनमा गरिबीको अन्त्यसहित भएको चौतर्फी विकास असाधारण रहेको जनाएका थिए ।प्रधानमन्त्री ओलीले राजनीतिक स्थिरताका लागि दुई ठूला दल एमाले र नेपाली कांग्रेसबीचको सहकार्यमा नयाँ सरकार गठन भएको पनि जनाए ।
रास्वपाका सभापति लामिछानेलाई पक्राउ गरी लगिएको पोखराका केही स्थानमा कर्फ्यू जारी
पोखरा । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पक्राउ गरी कास्की लगेपछि त्यहाँका केही क्षेत्रमा कर्फ्यू लगाइएको छ । जिल्ला प्रशासन कास्कीले कास्कीको शहिदचोक र गैह्रापाटन क्षेत्र निषेधित क्षेत्र घोषणा गरिएको सूचना जारी गरी जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले जारी गरेको उक्त सूचनामा प्रदर्शन, जुलुस, हुलदंगा तथा झडप आदिका कारण प्रतिकुल अवस्था सिर्जना हुन सक्ने भएकाले निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।यसअघि मुख्यमन्त्री कार्यालय तथा मन्त्रिपरिषद् अगाडि मात्र निषेधित क्षेत्र तोकिएकोमा स्थितिको गम्भीरतालाई ध्यान दिई थप क्षेत्रमा कर्फ्यू घोषणा गरिएको हो ।
कर्णालीमा एक हजार सात सय बढी नयाँ उद्योग दर्ता
काँक्रेविहार । चालु आर्थिक वर्षमा कर्णालीका १० जिल्लामा एक हजार सात सय ९५ वटा साना उद्योग दर्ता भएका छन्भने त्यस्ता चार सय १० उद्योग खारेज भएका छन् ।
कर्णाली प्रदेशको उद्योग तथा उपभोक्ता संरक्षण निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा दर्ता र नवीकरणको तुलनामा करिब एक चौथाइ हाराहारीमा उद्योग खारेज भएका छन् । सुर्खेतका एक सय ६६, जुम्लाका ८१, कालीकोटका ३७, सल्यानका ३५, दैलेख र जाजरकोटमा समान २८, रुकुमपश्चिमका २२, हुम्लाका सात र मुगुका छवटा उद्योग खारेज भएका छन् ।
प्रचण्ड र एनआरएनएबिच भेटवार्ता एकताबद्ध एनआरएनएमा जोड, गैरआवासीय नागरिकताबारे ध्यानाकर्षण
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवाद समाधान गरेर संस्थालाई एकताबद्ध बनाउन सुझाव दिएका छन् । आफ्नै निवास खुमलटारमा शनिबार एनआरएनए अभियन्ताहरूको एक टोलीसँगको छलफलमा प्रचण्डले विवादकै कारण एनआरएनए तितरबितरको अवस्थामा पुगेको प्रति चिन्ता व्यक्त गरे। फुटेर नभई एकताबद्ध भएको खण्डमामात्रै समृद्ध नेपाल निर्माणका लागि एनआरएनएको भूमिका प्रभावकारी हुन सक्ने उनको भनाइ छ । विगतदेखि नै आफूले एकताबद्ध एनआरएनएका लागि भूमिका खेलेकोसमेत प्रचण्डले भेटका क्रममा स्मरण गरे। २०८० असारमा प्रचण्डकै मध्यस्थतामा विभाजित अवस्थामा रहेका तत्कालीन दुई एनआरएनए (अध्यक्ष बद्री केसी, कुल आचार्य र रविना थापा पक्ष तथा विनोद कुँवर पक्ष)बिच एकता गर्ने सहमति जुटेको थियो । तर, त्यतिबेलाका तीन अध्यक्षमध्ये बद्री केसीले नचाहेसँगै एकता भाँडिएको थियो भने पछि विवाद थप बढेर विभिन्न समूहमा एनआरएनए रहेका छन् ।
ट्राफिक प्रहरीले कागजी चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
काठमाडौँ . ट्राफिक नियम उल्लङ्घन गरेबापत सवारी चालकले ठाउँकाठाउँ नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने व्यवस्था गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारदेखि सवारी नियम उल्लङ्घन गर्ने चालकलाई ‘ई–चलान’ (डिजिटल चिट) दिने र तत्कालै नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने प्रणाली कार्यान्वयनमा ल्याउन लागेको प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिनुभयो ।
सवारी नियम उल्लङ्घनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै ‘डिजिटल पेमेन्ट’ गर्ने व्यवस्था गरिएसँगै सवारी नियम उल्लङ्घनमा जरिवाना तिर्दा हुँदै आएको झन्झट अब अन्त्य हुने विश्वास गरिएको छ । सवारी चालक अनुमतिका लागि ‘ट्रायल’ पास गरेपछि लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको छ । यसबाट सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ ।