काठमाडौँ । सत्तारुढ दलको बैठकमा सहभागी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको १०० दिन सन्तोषजनक रहेकोमा सहमति जनाएका छन् । सत्तागठबन्धनका सबै भन्दा ठुलो दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री ओल नेतृत्वको सरकारको काम कारबाही ठिक रहेको बताएपछि अन्य दलले पनि सही थपेका हुन् ।
बुधबार बिहान बालुवाटारमा बसेको सत्तारुढ दलहरुमा प्रधानमन्त्री ओलीले १०० दिनको मूल्यांकन सुनाए । शेयर बजारमा आएको सुधारका साथै अरु सूचकलाई देखाएर ओलीले अर्थतन्त्र लयमा आउन थालेको बताए ।बाढी पहिरो लगायतका जनसरोकारका सवालमा पनि सरकारले काम गरिरहेको ओलीले जनाए ।बैठकमा सहभागी सहभागी एक नेताका अनुसार सुशासनमा पनि केही काम भएको बताउँदै प्रधानमन्त्री ओलीले त्यही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेको जनाए ।
सहकारी ठगीमा संलग्न जो कोहीमाथि पनि कारबाही हुने बताउँदै उनले रास्वपाले भीड जम्मा गरेर छानबिन र न्याय निरुपण प्रक्रियालाई नै प्रभावित गर्न खोजेको बताए । बैठकमा गृहमन्त्री रमेश लेखकले संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन मात्र गरेको बताएका थिए । हिजो कांग्रेसका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ गर्दा आफूहरुले विरोध नगरेको भन्दै प्रधानमन्त्री ओलीले यसबारे बोल्न सत्तारुढ दलहरुलाई आग्रह गरे ।एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिका विषयमा सत्तारुढ दलहरुको साझा धारणा बनाउनु पर्नेमा समेत जोड दिए ।
सोही बैठकमा सत्तारुढ कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलाई साथ दिए । शुरुको १०० दिन सरकारका ‘हनिमुन पिरियड’ भएको भन्दै उनले विपक्षीहरुले विरोध गरेर अनावश्यक भ्रम सिर्जना गर्न खोजेको भने । प्रधानमन्त्रीले १०० दिन सन्तोषजनक भनी कांग्रेस सभापति देउवाले एकदम ठीक छ भनेर सही थपे पछि कोही नबोलेको ती नेताले बताए ।प्रधानमन्त्री ओलीले आजै देशबासीलाई सम्बोधन गर्ने भएका छन् ।
बैठकमा नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री लेखक, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव पोखरेल, जनता समाजवादी पार्टीका सहअध्यक्ष रेणुकुमारी यादव, जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा सिके राउतलगायत सहभागी थिए ।