काठमाडौँ । बैंकको ब्याजदर सस्तिएयता उपभोग क्षेत्रमा कर्जा बढेको देखिएको छ ।पछिल्लो ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट यस क्षेत्रमा ४३ अर्ब ३५ करोड ५ लाख रुपैयाँ कर्जा थपिएको देखिएको हो ।२०८० फागुनमा बैंक तथा वित्तीय संस्थाहरुबाट उपभोग क्षेत्रमा कुल ९ खर्ब ८६ अर्ब कर्जा गएकोमा भदौ मसान्तसम्म आइपुग्दा १० खर्ब २५ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । यो रकम कुल कर्जाको १९.६१ प्रतिशत हो।
राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाबाट भदौ मसान्तसम्म कुल ५२ खर्ब २६ अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।बैंक तथा वित्तीय संस्थाहरुबाट ६ महिनामा १ खर्ब ३९ अर्ब २ करोड रुपैयाँ भएको कर्जा प्रवाहमा ३१ प्रतिशत हिस्सा अर्थात ४३ अर्ब ३५ करोड ५ लाख रुपैयाँ उपभोग क्षेत्रमा गएको छ । त्यसमध्ये ११ अर्ब ३९ करोड रुपैयाँ चालु वर्ष साउन र भदौमा थपिएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले खासगरी सुनचाँदी धितो, मुद्दती निक्षेप धितो, ग्यारेन्टी बन्ड, क्रेडिट कार्डलगायत शीर्षकमा प्रवाह भएको कर्जालाई उपभोगमा गएको भनेर वर्गीकरण गर्ने गरेका छन् ।बैंकहरुले ८ प्रतिशत आसपासमा कर्जा दिन थालेपछि उपभोग क्षेत्रमा लगानी बढेको हो। वाणिज्य बैंकहरुको औसत बेसरेट अहिले ७ प्रतिशतमा हाराहारीमा छ । बैंकहरुले बेसरेटमा न्यूनतम ०.२५ प्रतिशत प्रिमियम थपेर कर्जा दिँदै आएका छन् ।
विज्ञहरूले यस्तो कर्जालाई राम्रो मान्ने गरेका छैनन् । उपभोग कर्जाले अर्थतन्त्रलाई फाइदा नपुग्ने भएकाले यसलाई नराम्रो मान्ने गरेका छन् ।सानो संख्यामा रहेका उद्योगहरु प्नि पूर्ण क्षमतामा चलेका छैनन् । उपभोग्य वस्तुका लागि ठूलो पैसा विदेश जाने गरेको छ ।उपभोग कर्जाको नाममा शेयरमा लगानी हुँदा शेयरको मूल्य बढाउने रियल स्टेटमा जाँदा जग्गाको मूल्य बढने भएकाले नराम्रो मान्ने गरिएको छ ।