काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२को पहिलो तीन महिनामा ५ अर्ब १५ करोडको धितोपत्र सूचीकृत गरिएको छ ।३ अर्ब ४३ करोड बराबरको बोनस शेयर, १ अर्ब ७२ करोड बराबरको हकप्रद शेयर र ४७ लाख बराबरको एफपीओ गरी कूल रु ५ अर्ब १५ करोड बराबरको धितोपत्र सूचीकृत गरिएको नेपाल राष्ट्र बैंकले जनाएको हो ।समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ४ अर्ब ६ करोड बराबरको हकप्रद शेयर र ७० करोड बराबरको म्युचुअल फण्ड गरी कुल ४ अर्ब ७६ करोड बराबरको धितोपत्र निष्काशनका लागि अनुमति दिएको छ ।
गत आवको पहिलो तीन महिनाको तुलनामा चालु आवको पहिलो तीन महिनामा ९सय बिन्दुले बढी रहेको थियो । २०८०को असोज मसान्तमा नेप्से सूचकांक १८६४.६२ रहेकोमा २०८१को असोज मसान्तमा नेप्से सूचकांक २७४२.८९ बिन्दुमा रहेको राष्ट्र बैंकले पुँजी बजार परिदृश्यमा जनाएको छ ।२०८१को असोज मसान्त सम्म धितोपत्र बजार पुँजीकरण दोब्बरले बढेको छ । २०८१को असोज मसान्तमा ४३ खर्ब ६१ अर्ब ४५ करोड कायम भएको छ भने २०८०को असोज मसान्तमा बजार पुँजीकरण २८खर्ब ६१ अर्ब ५२ करोड मात्र रहेको थियो ।
चालु आवको असोज मसान्तसम्म नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २६७ थियो । जसमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूको संख्या १२९, जलविद्युत कम्पनी ९१, उत्पादन तथा प्रशोधन उद्योग २२, होटल ७ , लगानी कम्पनी ७, व्यापारिक संस्था ४ र अन्य समूहका गरी ७ रहेका छन् । २०८० असोज मसान्तमा यो संख्या २६३ थियो ।
यसैगरी सूचीकृत कम्पनीहरू मध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरू गरी धितोपत्र बजार पुँजीकरण हिस्सा ५९.२ प्रतिशत , जलविद्युत कम्पनीको हिस्सा १४.७ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.९ प्रतिशत, उत्पादन तथा प्रशोधनको हिस्सा ५.६ प्रतिशत , होटलको हिस्सा २.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ९.३ प्रतिशत रहेको राष्ट्र बैंकले आफ्नो पुँजी बजार परिदृश्यमा उल्लेख गरेको छ ।यसैगरी नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा २०८१को असोज मसान्तमा सूचीकृत ८ अर्ब ३९ करोड शेयरको चुक्ता मूल्य ८ खर्ब ३२ अर्ब ९ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।