
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता सम्पन्न भएको छ । ललितपुर च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयमा उहाँहरुबीच ‘वान टू वान’ भेटवार्ता भएको हो ।
भेटवार्तापछि पूर्वराष्ट्रपति भण्डारीले पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीसँग राष्ट्रिय राजनीतिक विषयवस्तुमाथि छलफल भएको जानकारी दिनुभयो । “उहाँसँग राष्ट्रिय राजनीतिका विषयमा मात्र कुराकानी भयो”, उहाँले सञ्चारकर्मीलाई भन्नुभयो, “अरू विषय आधिकारिक च्यानलबाट थाहा पाउनुहुने छ ।”
पूर्वराष्ट्रपति भण्डारीले आफ्नो पार्टी सदस्यता पहिले नै नवीकरण भइसकेको जानकारी दिनुभयो । उहाँहरूबीच करिब डेढ घण्टा कुराकानी भएको हो । पूर्वराष्ट्रपति भण्डारी जिम्मेवारीबाट बाहिरिएपछि पहिलोपटक एमाले मुख्यालय च्यासल पुग्नुभएको हो । उहाँलाई एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे र केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले स्वागत गर्नुभएको थियो ।
उहाँले यसअघि नै पार्टी राजनीतिमा आउने सार्वजनिक घोषणा गरिसक्नुभएको छ । यस विषयले एमालेको सचिवालय र पोलिटब्यूरो बैठकमा प्रवेश पाएपछि आज नेतृत्वसँग औपचारिक छलफल भएको हो । एमालेको शनिबार सम्पन्न पोलिटब्यूरो बैठकमा अधिकांश पोलिटब्यूरो सदस्यले पूर्वराष्ट्रपतिजस्तो गरिमामय पदमा रहिसकेका व्यक्तिले पार्टीको सक्रिय राजनीतिमा आउन नहुने विचार व्यक्त गर्नुभएको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij