Logo

Nov 02 2025 | २०८२, कात्तिक १६गते

Nov 02 2025 | २०८२, कात्तिक १६गते

images

शरद् ऋतुमा हिमाल आरोहणबाट तीन गुणा बढी राजस्व संकलन

शरद् ऋतुमा हिमाल आरोहणबाट तीन गुणा बढी राजस्व संकलन

  • काठमाडौँ । सरकारले नयाँ शुल्क कार्यान्वयनमा ल्याएपछि शरद् ऋतुमा हिमाल आरोहणबाट तीन गुणा बढी राजस्व सङ्कलन भएको छ । सरकारले १० वर्षपछि पर्वतारोहणमा नयाँ शुल्क लागु गरेपछि यो वर्ष आरोहण शुल्क  तीन गुणाले बढेको हो ।
    सरकारले २०७१ पुस १७ गतेदेखि कायम गरेको हिमाल आरोहण अनुमति शुल्क चालु आवको साउन २६ गतेदेखि नयाँ शुल्क कायम गरेको थियो । यो याममा विगतभन्दा आरोहीको सङ्ख्या बढेकाले पनि राजस्व सङ्कलन बढेको हो ।

    पर्यटन विभागका निर्देशक हिमाल गौतमले जनाए अनुसार विगतका शरद् ऋतुमा साढे सात करोडको हाराहारीमा राजस्व सङ्कलन हुँदै आएकोमा यस वर्ष भने साढे २५ करोडभन्दा बढी रुपियाँ संकलन भएको हो । जेनजी आन्दोलनका कारण अन्य पर्यटन क्षेत्रमा असर परे पनि आरोहण क्षेत्रमा भने विगतभन्दा सुधार भएको छ । यस वर्ष हालसम्म आरोहण हुन नसकेका हिमालमा समेत आरोहण भएको छ ।

    अमेरिकी पर्वतारोही जिम मोरिसनले सगरमाथाको उत्तरी मोहडाबाट स्की गरेर कीर्तिमान कायम गरेका छन् । यसअघि सन् २०२३ को शरद् ऋतुमा सात करोड ८१ लाख र सन् २०२४ को सोही अवधिमा सात करोड ६३ लाख रुपियाँ सङ्कलन भएको थियो । यो वर्ष २५ करोड ५१ लाख ६५ हजार ४३६ रुपैयाँ राजस्व उठेको जनाइएको छ ।सन् २०२३ को शरद् याममा १७० समूहका एक हजार ३२६ र सन् २०२४ को सोही याममा १५८ समूहका एक हजार २८० आरोहीले अनुमति लिएकोमा अहिले १७५ समूहका एक हजार ४५० जनाले आरोहण अनुमति लिएको जनाइएको छ ।

    अनुमति लिनेमा नेपालसहित ८३ देशका ३४५ महिला र एक हजार १०५ जना पुरुष रहेका छन् । यो याममा विभागले जारी गरेको ५४ हिमालको आरोहण अनुमतिमध्ये सबैभन्दा धेरै मनासलु आरोहण गर्न ३७४ जनाले अनुमति लिएका छन् । मनासलु आरोहणबाट मात्रै १५ करोड ७६ लाख ४० हजार १९५ रुपियाँ राजस्व उठेको जनाइएको छ । 

     हाल नेपालमा आरोहणका लागि खुला गरिएका ४६१ हिमालमध्ये आरोहण हुन नसकेका १०२ हिमालमध्ये यो याममा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–१ मा रहेको नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij