काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा भर्ना गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिएकी छन् ।पर्यटनमन्त्रीका हैसियतमा प्रधानमन्त्री कार्कीले आइतबार निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर नातागोताका आधारमा भर्ना गरिएका करारका कर्मचारीलाई हटाउन निर्देशन दिएकी हुन् ।
कुनै समय गर्व गर्न लायकको संस्थाको दुरावस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले भनिन् ‘जेनजीहरूले यत्रो रगत बगाएको केका लागि हो यस्तै नातावाद, कृपावाद, विभेद अन्त्यका लागि होइन? यता यत्रो आन्दोलन भइरहेको छ, उता भटाभट आफ्ना मान्छे भर्ती गरेको छ। अवकाश पाएर घर जान लाग्दा पनि मनपरी गर्न छाडिएको छैन। कतिसम्मको बेथिति हो यो?’सो कार्यक्रममा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले १७ अर्ब रुपैयाँभन्दा बढीको सञ्चित नोक्सानीमा रहेको विवरण प्रस्तुत गरेका थिए।
निगमको आफ्नो जहाजको इन्जिन मर्मत गर्न पठाएर नल्याउने, भाडाको इन्जिन चलाएर ठूलो खर्च लेख्ने प्रवृत्तिमाथि पनि उठाउँदै उनले भनिन् ‘यो घाटा त जनताले बेहोरेको घाटा हो नि ?अब यो संस्था सुधार्न कठोर कदम चाल्नुपर्छ। अप्रिय निर्णय गर्न पनि तयार हुनुपर्छ।’
अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्याल लगायत अधिकारीको उपस्थितिमा भएको सो कार्यक्रममा निगम सञ्चालक समितिका कार्यवाहक अध्यक्ष विक्रम राईले केही दिनमै देखिने गरी सुधारका कदम चाल्ने प्रतिबद्धता जनाए ।उनले भने, ‘निगममा बोल्ड निर्णय गर्नुपर्ने आवश्यकता छ। धेरै नै अप्रिय निर्णय गर्न पनि म तयार छु। यसका लागि सरकारको साथको अपेक्षा गरेको छु।’
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij