Logo

Nov 03 2025 | २०८२, कात्तिक १७गते

Nov 03 2025 | २०८२, कात्तिक १७गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् कात्तिक १६ आइतबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन् कात्तिक १६ आइतबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज कात्तिक १६ आइतबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू...

    विदेशमा रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल

    काठमाडौँ । गृह मन्त्रालय र नेपाल नीति अध्ययन प्रतिष्ठानबीच विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल भएको छ ।

     

     

    आज यहाँ भएको बैठकमा गृह मन्त्रालयका तर्फबाट ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दङ्गाल, मन्त्रालयअन्तर्गतका कानुन महाशाखाका सहसचिव र प्रतिष्ठानका तर्फबाट कार्यकारी अध्यक्ष प्रा डा लेखनाथ शर्मा, डा दीपक खड्कासहितको टोली सहभागी भएको थियो ।

    सङ्घीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने मुख्यमन्त्रीहरूको प्रतिबद्धता

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको वातावरण निर्माणका लागि  आह्वान गर्नुभएको सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठक सम्पन्न भएको छ ।

     

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरूले निर्वाचनको वातावरण निर्माणका लागि सङ्घ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको  बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री कार्कीले राजनीतिक दलसहित सबै पक्षसँग संवाद र छलफल अघि बढाएकामा सराहना गर्दै उहाँहरूले निर्वाचनका पक्षमा वातावरण बनाउन यो कदम फलदायी हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

    एक दिनअघि गरिएको सहमतिमा नर्सहरूको विरोध, फेरि आन्दोलन थाल्ने चेतावनी

    काठमाडौँ । शनिबार मात्रै सरकारसँग सहमति गरी आन्दोलन स्थगित गर्ने घोषणा गरेको नेपाल नर्सिङ सङ्घले आफूले उठाएका सबै माग सम्बोधन नभएको भन्दै पुनः आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ ।

     

    आज एक विज्ञप्ति जारी गर्दै सङ्घले नर्सका माग सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयमा शनिबार भएको छलफलमा सरकारी पाँचौँ तह बराबरको तलब दिनेलगायत सहमति भएको पनि यसबाहेकका बुँदामा आन्दोलनरत पक्षको आपत्ति रहेको जनाएको छ ।

    आठ वामपन्थी पार्टीबीच कात्तिक १९ गते एकता घोषणा हुँदै, संयुक्त सम्मेलनमार्फत नयाँ केन्द्रीय समिति गठन र समाजवादको मार्गनिर्देशन तय गरिने

    काठमाडौँ ।यही कात्तिक १९ गते विभिन्न आठ पार्टीबीच एकता हुने भएको छ । ती पार्टीले आज ‘पार्टी एकता सहमति पत्र’ जारी गरी १९ गते एकता घोषणा गर्ने जनाएका हुन् । 

     

     

    सहमति पत्रमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पाटी नेकपा ९माओवादी–समाजवादी०, नेपाल कम्युनिष्ट पार्टी ९चिरन पुन० र नेकपा ९साम्यवादी० का नेताहरूले हस्ताक्षर गर्नुभएको छ ।

    नेपाल वायु सेवा निगमका करारका कर्मचारी हटाउन प्रधानमन्त्री कार्कीको निर्देशन

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा भर्ना गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिएकी छन् ।पर्यटनमन्त्रीका हैसियतमा प्रधानमन्त्री कार्कीले आइतबार निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर नातागोताका आधारमा भर्ना गरिएका करारका कर्मचारीलाई हटाउन  निर्देशन दिएकी हुन् ।

    सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासनसम्बन्धी प्रविधिआधारित योजना

    काठमाडौँ ।  अर्थ मन्त्रालयले सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन सेवा प्रवाहलाई प्रविधिमा अधारित बनाउने योजना अघि सारेको छ । मन्त्रालयले सार्वजनिक संस्थाका लागि नीति व्यवस्था गरी यस्तो योजना अगाडि सारेको हो ।

     

    नीतिगत व्यवस्था अन्तर्गत हरेक सार्वजनिक संस्थानद्वारा उपलब्ध हुने वस्तु तथा सेवाको विस्तृत जानकारी विद्युतीय माध्यमबाट सार्वजनिक रूपमा उपलब्ध गराइने , संस्थानको आर्थिक कारोबारलाई पूर्णतः विद्युतीय बनाइने, संस्थानको डिजिटल प्रणालीको नियमित परीक्षण गर्ने र सुधार गर्ने व्यवस्था अनिवार्य गरिनेछ । विद्युतीय मध्यमबाट हुने बैंकिङ तथा वित्तीय कारोबारलाई सुरक्षित बनाउने, सार्वजनिक संस्थानमा नेपाल सरकारको शेयर स्वामित्वलाई सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको नाममा अभौतिकीकरण गर्ने अख्तियारी दिने नीतिगत व्यवस्था गरिएको छ ।

    अनलाइन भन्सार ‘डेटाबेस’ प्रणालीको प्रयोग वीरगञ्ज भन्सारमा

    काठमाडौं । अनलाइन भन्सार ‘डेटाबेस’ प्रणालीको प्रयोग  वीरगञ्ज भन्सारमा सुरु भएको छ ।  बजेटमा गरिएको प्रतिबद्धता अनुसार अनलाइन भन्सार ‘डेटाबेस’ प्रणालीको प्रयोग सुरु गरिएको हो ।चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा प्रचलित सन्दर्भ मूल्यसूची विस्थापन हुने गरी अनलाइन भन्सार डाटाबेस प्रणाली सञ्चालनमा ल्याउने जनाइएको थियो ।

    आइतबार पनि नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि , नेप्से २६३१.१४मा , कारोबार ९ अर्ब बढी

    काठमाडौँ । आइतबार साताको पहिलो दिन शेयर बजारमा दोहोरो अंकको वृद्धिले निरन्तरता पाएको छ । ३०.७५ बिन्दुको वृद्धि भई आइतबार नेप्से परिसूचक २६३१.१४मा पुगेको हो ।२ करोड ९७ लाख ३८ हजार १३९ कित्ता शेयरको खरिदबिक्रीबाट कुल कारोबार ९ अर्ब २० करोड ३१ लख ४६ हजार ४सय २९ रुपैया ५१ पैसा  बराबर भएको नेप्सेले जनाएको छ ।

    बेमौसमी वर्षाले सुनसरीमा दुई अर्ब बढीको कृषिउपज नष्ट

    धरान (सुनसरी)।यही कात्तिक १३ र १४ गते परेको बेमौसमी वर्षाले सुनसरीका किसानको पाक्न लागेको धान तथा तरकारीबाली क्षति पुर्‍याएको छ । जिल्लामा लगाइएको धान, तरकारीबालीमा क्षति पुग्दा करिब रु दुई अर्ब बराबरको नोक्सान भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएकोछ । केन्द्रका प्रमुख नीलकमल सिंहले जिल्लामा ४८ हजार ९०० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेकामा वर्षाले करिब १४ हजार ४०० हेक्टरमा क्षति पुर्‍याएको जानकारी दिनुभयो । उहाँका अनुसार धानमध्ये राधाबार, बास्मतीलगायत जातका बालीमा बढी क्षति पुगेको छ ।

    कात्तिक २१ र २२ गते नास आईटी एक्सपो २०२५ हुँदै

    काठमाडौँ ।  नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनिज (नास आईटी) ले आउँदो कात्तिक २१ र २२ गते 'नास आईटी एक्सपो २०२५' आयोजना गर्ने भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने एक्सपोमा विभिन्न आईटी सफ्टवेयर, प्रडक्ट र सेवाहरू प्रदर्शनीमा रहने जनाइएको छ । स्थानीय प्रविधि र डिजिटल उ‌द्यमशीतालाई प्रवर्धन गर्नका लागि पहिलो पटक नास आईटी एक्सपो गर्न लागेको नास आईटीका अध्यक्ष गौरव पाण्डेले बताए ।
     
    'एक्सपोले नेपालको आईटी कम्पनी, नेतृत्व र लगानीकर्तालाई एउटै प्लेटफर्ममा ल्याएर सहकार्य अवसर र नवीनतम प्रविधिका सम्भावनाहरूमा केन्द्रित हुन सहयोग गर्नेछ,' आईतबार काठमाडौंमा आयोजित प्रेस मिटमा पाण्डेले भने । यस्तै नास आईटीका उपाध्यक्ष दिपेन चापागाईले एस्पोका लागि आईटी र व्यवसायिक समुदायबाट आएको प्रतिक्रियाबाट निकै उत्साहित भएको बताए । सहकार्य, नवप्रवर्तन र विश्वासको बलमा नेपालको डिजिटल भविष्य निर्माण गर्ने एक्सपो एक ऐतिहासिक माइलस्टोन हुने उनको भनाइ छ । नास आईटी एक्सपोको शीर्ष प्रायोजकमा अकाउन्टिङ सफ्टवेयर टिग रहेको छ, जस अनुसार टिग‌द्वारा प्रस्तुत नास आईटी एक्सपो २०२५ (Tigg presents NAS-IT Expo 2025) को नामबाट एक्सपो सञ्चालन हुनेछ ।
     

    १ अर्ब ६६ करोडमा हिमालयन बैंकको १ करोड ४० लाख कित्ता संस्थापक सेयर किनबेच

    काठमाडौँ । १ अर्ब ६६ करोडमा हिमालयन बैंकको १ करोड ४० लाख कित्ता संस्थापक सेयर किनबेच भएको छ ।हिमालयन बैंकमा रहेको हबिब बैंकको संस्थापक सेयर नेसनल लाइफ इन्स्योरेन्सले खरिद गरेसँगै कारोबारमा आएको हो ।आइतबार बैंकको १ करोड ४० लाख ६ हजार २१७ कित्ता सेयर १ अर्ब ६६ करोड ५० लाख ५९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो।

    आइतबार सुनको मूल्यमा वृद्धि भएर तोलाको २ लाख ३९ हजार ७०० रुपैयाँ कायम

    काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा वृद्धि भएर तोलाको २ लाख ३९ हजार ७०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ७०० रुपैयाँ वृद्धि भएको हो । 

     

    यससँगै आइतबार सुनको मूल्य तोलामा २ लाख ३९ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार सुनको मूल्य २ लाख ३९ हजार रुपैयाँ कायम भएको थियो ।

    शरद् ऋतुमा हिमाल आरोहणबाट तीन गुणा बढी राजस्व संकलन

    काठमाडौँ । सरकारले नयाँ शुल्क कार्यान्वयनमा ल्याएपछि शरद् ऋतुमा हिमाल आरोहणबाट तीन गुणा बढी राजस्व सङ्कलन भएको छ । सरकारले १० वर्षपछि पर्वतारोहणमा नयाँ शुल्क लागु गरेपछि यो वर्ष आरोहण शुल्क  तीन गुणाले बढेको हो ।

    नागढुङ्गा—सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोट गर्न अन्तर्राष्ट्रिय बोलपत्र टेण्डर आह्वान

    काठमाडौँ । नागढुङ्गा—सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र टेण्डर आह्वान भरिएको छ । नागढुंगा सुरुङ निर्माण आयोजनाले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट अनुभवी तथा सक्षम सेवा प्रदायक छनोटका लागि आइतबार   टेण्डर आह्वान गरेको हो ।

    आजका लागि नयाँ विनिमयदर सार्वजनिक, अमेरिकी डलर १ को बिक्रीदर रु १४२.३३ कायम

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ ।

     

     

    यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ र बिक्रीदर १६४ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।

     

     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij