काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज कात्तिक २६ बुधबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
उद्योगी सक्रिय: डेडिकेटेड–ट्रंकलाइन विद्युत बक्यौताको पहिलो किस्ता भुक्तानी सुरु
काठमाडौं । डेडिकेटेड फिडर तथा ट्रंकलाइन विद्युतको बक्यौता रहेका उद्योगहरुले धमाधम बक्यौता तिर्न सुरु गरेका छन्। सबैभन्दा बढी बक्यौता रहेको जगदम्बाले बुधबार पहिलो किस्ता ५ करोड ७२ लाख रुपैयाँ तिरेको छ। कम्पनीको कुल बक्यौता १ अर्ब ६० करोड रुपैयाँ रहेको छ।
घोराही सिमेन्ट र कसमस सिमेन्टले पनि पहिलो किस्ता तिरेका छन्। घोराहीले १ करोड ८१ लाख, र कसमसले ३५ लाख रुपैयाँ बुझाएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। दाङमा सञ्चालित सोनापुर मिनरल एण्ड आयल प्रालिले २४ करोड २९ लाख ९९ हजार रुपैयाँको बक्यौतालाई २८ किस्तामा विभाजन गरी ८६ लाख ३० हजार रुपैयाँ पहिलो किस्ता बुझाएको छ। जसपछि सो कम्पनीको विद्युत लाइन पुनः जडान गरिएको छ।
ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि ८% नगद लाभांश स्वीकृत
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा बुधबार काठमाडौँमा सम्पन्न भयो। साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई प्रस्तावित चुँक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) सर्वसम्मतिबाट स्वीकृत गर्यो।
साधारणसभाले सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई पनि अनुमोदन गर्यो। बैंकले उक्त आर्थिक वर्षमा रु ७ अर्ब २३ करोड सञ्चालन मुनाफा र रु ५ अर्ब ७ करोड करपछिको मुनाफा आर्जन गरेको थियो। अध्यक्ष ढकालले शेयरधनीलाई उचित लाभांश उपलब्ध गराउने प्रतिबद्धता र नयाँ व्यावसायिक क्षेत्रहरूको सन्तुलित विस्तार गर्ने रणनीतिक योजना रहेको बताए।
नेपाल राष्ट्र बैंकले नयाँ ५० रुपैयाँ नोट छाप्न चिनियाँ कम्पनीसँग सम्झौता
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट छपाइका लागि चीनको कम्पनी ‘चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन’सँग सम्झौता गरेको छ। सम्झौताअनुसार बैंकले ४२ करोड थान नयाँ नोटको डिजाइन, छपाइ र आपूर्ति कार्य सो कम्पनीमार्फत सम्पन्न गर्नेछ। राष्ट्र बैंकका अनुसार, नोट छाप्नको लागि उक्त कम्पनीलाई बोलकबोल प्रक्रिया मार्फत छनोट गरिएको हो र सोमबार करारसम्झौता पनि सम्पन्न भएको छ। नोटको डिजाइन र छपाइका लागि राष्ट्र बैंकले उक्त कम्पनीलाई कुल एक अर्ब ४७ करोड ७७ लाख रुपैयाँ भुक्तानी गर्ने जनाएको छ।
जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो: संयोजक दाहाल
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन गर्ने माग राख्ने जेनजी युवाको अभिभावक नै नेकपा भएको बताउनुभएको छ ।
नेकपा र मातृभूमि जागरण अभियान नेपालबीचको एकता घोषणा सभालाई आज सम्बोधन गर्दै उहाँले आसन्न महाविशेन र निर्वाचनमा
“जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो । जेनजी पुस्ताले उठाएको भ्रष्टाचारको अन्त्य र सुशासनको मागलाई हामीले नै पहिलो पटक समर्थन ग¥र्यो”, संयोजक दाहालले भन्नुभयो, “जेनजीको भावना बुझ्ने पार्टी र अर्को पार्टी एकै हुन सक्दैन, महाधिवेशन जाँदा सम्पूर्ण कमिटीमा जेनजी युवाको प्रतिनिधित्व गराउछौँ, बढीभन्दा बढी युवालाई निर्वाचनमा उम्मेदवार बनाउछौँ ।”
बदलिँदो सुरक्षा चुनौती र राजस्व छली रोक्न सशस्त्रका एसएसपीहरूलाई सीमा क्षेत्रमा खटाइयो
काठमाडौँ।सशस्त्र प्रहरी बल नेपालले बदलिँदो सुरक्षा चुनौती र राजस्व अभिवृृद्धि गर्ने उद्देश्यले सशस्त्रका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई मुख्य सीमा नाकामा खटाएको छ । सीमा नाकामा खटाइएका वरिष्ठ उपरीक्षकहरूले सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयसँगको आवश्यक समन्वयमा तोकिएको एकाइमा बसी दैनिक तथा साप्ताहिक रूपमा आफूले सम्पादन गरेका कार्य सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा प्रतिवेदन गर्नेछन् ।
ग्लोबल आइसिटी लिडरसिप फोरम’ नेपालका लागि उपलब्धिमूलक भयो : सञ्चारमन्त्री खरेल
काठमाडौँ।सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ नेपालका लागि उपलब्धिमूलक रहेको बताउनुभएको छ । गणतन्त्र कोरियाको सिओलमा आज आयोजित ११ औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ लाई सम्बोधन गर्दै उहाँले डिजिटल नेपाल र डिजिटल ट्रान्सफरमेसनका लागि लिडर्सिप फोरम उपलब्धिपूर्ण र फलदायी भएको उल्लेख गनुभयो । उहाँले भन्नुभयो, “डिजिलट लिडर्सिप फोरम एकदमै उपलब्धिपूर्ण र सफल भएको छ, यसले आगामी दिनमा डिजिटल नेपालको अवधारणामा आधारित भएर डिजिटल नेपालको रूपमा अगाडि बढाउन तथा एआईमैत्री नेपाल बनाउन फोरम फलदायी भएको छ ।” सञ्चारमन्त्री खरेलले नेपालले डिजिटल तथा एआई ट्रान्सफरमेसनसम्बन्धी नीति बनाएर संरचनागतरूपमा काम अगाडि बढाएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालले विशेषगरी डिजिटल तथा एआई ट्रान्सफरमेसनको सन्दर्भमा एआई नीति बनाएको छ । राष्ट्रिय एआई केन्द्र सञ्चालनमा आएको तथा एआई काउन्सिल पनि गठन गरिरहेको छ ।
प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंकको अनुरोध
काठमाडौँ । लाखौं ग्राहकहरूमाझ गतिशील बैंकिङ्गको अभ्यास गरिरहेको एनआईसी एशिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले ग्राहकहरूले बैंकको पोर्टल वा मोबाइल बैंकिङ्ग एपमा रहेको विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सक्ने जनाइएको छ । साथै, ग्राहकहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको जनाइएको छ ।
अर्थ मन्त्रालय अन्तर्गत आएपछि यस्तो बन्दै छ राजस्व अनुसन्धान विभागको संरचना ,दुई सहसचिव,१३ उपसचिव र ४१ अफिसरहरू रहने
काठमाडौँ । अर्थ मन्त्रालय अन्तर्गत आएपछि राजस्व अनुसन्धान विभागको संरचनामा केही फेरबदल भएको छ । राजस्व अनुसन्धान विभागमा दुई सहसचिव मध्ये एक महानिर्देशक र अर्को उपमहानिर्देश हुनेछन् । यस्तै १३ जना उपसचिव र ४१ जना अफिसर(शाखा अधिकृत)हरू रहने गरी नयाँ दरबन्दीसहितको संरचना बनाइएको हो ।
राजस्व अनुसन्धान विभागका प्रशासन प्रमुख एवं सूचना अधिकारी प्रकाश पोखरेलका अनुसार महानिर्देशक र उपमहानिर्देशकबाहेक ११ जना उपसचिवहरू राजस्व समूहका रहनेछन् भने दुई जना उपसचिवहरू प्रशासन समूहका रहने छन् । यस्तै चार जना अफिसरहरू प्रशासन समूहका ३७ जना अफिसरहरू राजस्व समूहका रहनेछन् । सुब्बा र तलका कर्मचारीसमेत सोही अनुसार राजस्व समूहका धेरै र प्रशासन समूहका थोरै रहने छन् ।
शेयर बजार : नेप्से सूचक २०.५६ अंकले घट्यो, ३ अर्ब ८४ करोडभन्दा बढी रुपैयाँको कारोबार
काठमाडौँ ।आजको कारोबारमा नेपाल स्टक एक्सचेञ्ज (NEPSE) सूचक २०.५६ अंकले घटेर २,५४४.५९ विन्दुमा पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा ०.८० प्रतिशतले कम हो। आज कुल कारोबार रकम करिब रु ३ अर्ब ८४ करोड ८५ लाख ८६ हजार पुगेको छ भने करिब ८४ लाख कित्ता सेयर खरिदबिक्री भएका छन्। बजारमा ४९ कम्पनीका सेयर मूल्य बढेका, १९८ कम्पनीका घटेका र ७ कम्पनीका सेयर स्थिर रहेका छन्।
जर्जियामा टर्कीको सैन्य विमान दुर्घटना, २० जनाको दुःखद मृत्यु
इस्तानबुल ।टर्कीको एक सैन्य कार्गो विमान जर्जियाको पूर्वी क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चालकदलका सदस्यसहित विमानमा सवार सबै २० जनाको मृत्यु भएको टर्की सरकारले पुष्टि गरेको छ ।
टर्कीको रक्षा मन्त्रालयका अनुसार उक्त सी–१३० हर्कुलस विमानले मङ्गलबार दिउँसो अजरबैजानको पश्चिमी सहर गन्जाबाट उडान भरेको थियो र केही समयपछि जर्जियाको आकाशीय क्षेत्र पार गर्दै गर्दा दुर्घटनामा परेको हो ।
सूर्योदय वोमी लघुवित्त नोक्सानीबाट नाफामा, पहिलो त्रैमासमै ६ करोड २४ लाख रुपैयाँ कमाइ
काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार, गत वर्षको सोही अवधिमा नोक्सानीमा रहेको संस्था यस वर्ष नाफामा पुगेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लघुवित्तले ६ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको हो, जबकि गत वर्षको सोही अवधिमा ४ करोड ७१ लाख रुपैयाँ नोक्सानी भएको थियो।
विजय लघुवित्त नोक्सानीबाट नाफामा, पहिलो त्रैमासमै ३ करोड २० लाख कमाइ
काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेड ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार, गत वर्षको सोही अवधिमा नोक्सानीमा रहेको लघुवित्तले यस वर्ष ३ करोड २० लाख रुपैयाँ खुद नाफा कमाउँदै नाफामा फर्किएको हो। गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ४५ लाख रुपैयाँ नोक्सानी बेहोरेको थियो।
एनआरएन इन्फ्रास्ट्रक्चरले ४० प्रतिशत बोनस र २.१०५ प्रतिशत नगद लाभांश घोषणा
काठमाडौँ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई ४० प्रतिशत बोनस शेयर र २।१०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको कात्तिक २५ गते बसेको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
अस्तित्वको संकटमा रहेको नेपाल वायुसेवा निगम उपायको खोजी गर्दै
काठमाडौँ । सरकारी हवाई सेवा कम्पनी घाटाको संकट समाधानको उपायको खोजीमा लागि रहेको बेला आम्दानी घट्दै गएको चिन्तामा फसेको छ । राष्ट्रिय ध्वजावाहक हवाई सेवा कम्पनी नेपाल वायुसेवा निगम (नेवानि) गहिरो आर्थिक संकटबाट उकासिने उपायको खोजी गरिरहेको हो । कुनै बेला जागिर खानेहरूका लागि आकर्षक सरकारी सेवाको रूपमा स्थापिन नेपाल वायुसेवा निगम हाल घाटाको दलदलमा फसेको पर्यवेक्षकहरू बताउँछन् ।
मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र जाने सडकको स्तरोन्नति गर्न टेण्डर आह्वान
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र जाने सडकको स्तरोन्नति गर्न बुधबार टेण्डर आह्वान गरिएको छ ।मंगलबार भएको सहमति पछि सो टेण्डर आह्वान गरिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङको उपस्थितिमा मंगलबार खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाका सरोकार समितिहरूबीच भएको समझदारी बनेको थियो ।
नेपालको पहिलो फुड डेलिभरी कम्पनीको १५औँ वार्षिकोत्सव सम्पन्न
काठमाडौं। सन् २०१० नोभेम्बर ११ मा स्थापना भएको नेपालको पहिलो अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्नो १५औँ वार्षिकोत्सव मनाएको छ । सुरुआतमा सानो स्टार्टअपका रूपमा सुरु भएको फुडमाण्डुले आज १५ वर्षको यात्रामा उल्लेखनीय सफलता हासिल गरेको छ । कम्पनीले नेपालभरका थुप्रै ग्राहक र रेस्टुरेन्टहरूलाई जोड्दै एक परिचित ब्रान्डको रूपमा आफूलाई स्थापित गराइसकेको छ । हाल फुडमाण्डुले काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, चितवन र बुटवलका हजारौँरेस्टुरेन्टसँग साझेदारी गरीधेरैडेलिभरी राइडरहरूका लागि रोजगारीको अवसर समेत सिर्जना गरेको छ ।
जेनजी आन्दोलनले होटल हायात रिजेन्सीका सबै कर्मचारीको रोजगारी गुम्यो
काठमाडौँ । हायात रिजेन्सीले सबै कर्मचारीलाई हटाएको छ । गत भदौ २३ र २४ गतेको भएको जेनजी आन्दोलन हिंसात्मक भई भएको आगजनी तथा तोडफोडले होटललाई ठूलो आर्थिक क्षति भएको र तत्काल सञ्चालनमा आउने अवस्था नभएकोले कर्मचारीलाई विदा गरेको होटलको जनाएको हो ।
होटलका महाप्रबन्धक आशीष कुमारले मानव संशाधन विभागलाई पत्र लेख्दै श्रमिकको व्यवस्थापन सम्बन्धी विकल्पमा प्रतिष्ठानमा क्रियाशील ट्रेड युनियनसँग छलफल गर्दा कुनै निष्कर्ष नआएकाले सम्पूर्ण श्रमिकलाई कटौती गर्नुपर्ने भएकाले ३० दिन अर्थात् मंसिर २२ गतेदेखि लागू हुने गरी श्रम ऐन २०७४ को दफा १४५ बमोजिम सम्पूर्ण श्रमिक कटौती गरिएको बताएका छन् ।
आज सुनको मूल्य घट्यो, तोलाको दुई लाख ४४ हजार ३०० कायम
काठमाडौँ । मङ्गलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छभने चाँदी तोलामा रु ५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४४ हजार ३०० कायम भएको छभने त्यति नै परिमाणको चाँदी रु तीन हजार १७५ मा कारोबार भइरहेको छ ।मङ्गलबार एक तोला सुन रु दुई लाख ४६ हजार ४०० र चाँदी रु तीन हजार १७० मा खरिदबिक्री भएको थियो ।
यस वर्षको मनसुनः औसतभन्दा बढी बर्षा, गत वर्षभन्दा जनधनको क्षति कम
काठमाडौँ । गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, वर्ष २०८१ मा दुई हजार एक ३९ घटना भएकामा यस वर्ष एक हजार चार सय ५४ वटा घटना भएका छन् । प्राधिकरणका अनुसार, विपद्मा परेर गत वर्ष चार सय ९५ जनाको निधन भएकामा यस वर्ष एक सय ४० जनाको ज्यान भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij