काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज कात्तिक २८ शुक्रबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....
बजारको स्वतन्त्रता कुण्ठित नगरी अर्थतन्त्र अगाडि बढाउनु अहिलेको आवश्यकताः अर्थमन्त्री खनाल
काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपालको अर्थतन्त्रको चरित्र क्रमशः परिवर्तन भइरहेका भए पनि बजारमुखी उदार आर्थिक प्रणालीलाई नै अवलम्बन गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
नेपाल राष्ट्र बैंकले आज यहाँ आयोजना गरेको ‘डा यादवप्रसाद पन्तको बहुआयामिक व्यक्तित्व र नेपालको अर्थतन्त्रमा उहाँको योगदान’ विषयक विचारगोष्ठीमा बोल्दै मन्त्री खनालले राजनीतिक तथा नीतिगत अस्थिरता नेपालका लागि दीर्घकालीन चुनौती बनेको उल्लेख गर्नुभयो ।
जेनजीहरूले बुझाए प्रधानमन्त्रीलाई प्रस्तावित सम्झौताको मस्यौदा, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्राध्याक्ष वा गणतन्त्रात्मक शासन व्यवस्थाबारे वृहत छलफल चलाउने
काठमाडौँ ।आज जेनजी मुभमेन्ट अलायन्स, काउन्सिल अफ जेनजी, सात प्रदेशका संयोजकहरू र जेनजी फ्रन्टले प्रधानमन्त्रीसमक्ष सम्झौतापत्रको मस्यौदा बुझाएका छन् । उहाँहरूले आज प्रधानमन्त्री कार्कीसँग भेट गरी एकीकृत जेनजीको नेतृत्वमा भएको जेनजी आन्दोलनको जनादेश सम्बन्धमा आन्दोलनकारी र राज्यपक्षबीचको प्रस्तावित सम्झौतापत्रको सस्यौदा हस्तान्तरण गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नेप्सेमा सूचीकृत, दोस्रो बजारमा कारोबार सुरु
काठमाडौं: नबिल बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नेप्सेमा औपचारिक रूपमा सूचीकृत भएसँगै यसको दोस्रो बजारमा कारोबार सुरु भएको छ। आठ वर्ष अवधिको यो ऋणपत्रले वार्षिक ७ प्रतिशत स्थिर ब्याज प्रदान गर्नेछ। १,००० रुपैयाँ अंकित मूल्यका दरले ३० लाख कित्ता जारी गरी कुल ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बजारमा ल्याइएको हो। ऋणपत्र सम्बन्धी रजिष्ट्रार सेवा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले व्यवस्थापन गर्नेछ। सूचीकरण सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईंले हस्ताक्षर गरेका छन्। देशभर २६८ शाखा र ३२१ एटिएममार्फत २५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको नबिल बैंकका लागि यो कदम पूँजी बजारमा थप विश्वसनीयता र पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ।
वीरगञ्ज भन्सारमा छ वर्षदेखि १८५ मालवाहक कन्टेनर अलपत्र
वीरगञ्ज (पर्सा)। वीरगञ्ज भन्सार कार्यालयमा छ वर्षदेखि १८५ भन्दा धेरै मालवाहक कन्टेनर अलपत्र अवस्थामा रहेका छन् । कोभिड महामारीअघि तेस्रो मुलुकबाट आयात गरिएका ती मालवाहक कन्टेनर अहिले पनि वीरगञ्ज भन्सार कार्यालय मातहतको सुक्खा बन्दरगाहमा बेवारिसे अवस्थामा रहेका छन् । आयातकर्ताले तेस्रो मुलुकबाट आयात गरेर सुक्खा बन्दरगाहमा मालवाहक कन्टेनर भित्र्याए पनि भन्सार जाँचपासको प्रक्रिया अघि नबढाउँदा ती मालवस्तुसहितका कन्टेनर अहिले पनि बन्दरगाहमा थुप्रिरहेका छन् । भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले २०७६ सालमा आयात गरिएका मालवाहक कन्टेनरमध्ये अहिले पनि १८५ वटा अलपत्र हुँदै आइरहेको जानकारी दिनुभयो ।
नाढीमन ताल घोषणामै सीमित, पर्यटक नआउँदा सुनसान
बरहथवा (सर्लाही। सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं ६ र ७ मा अवस्थित ऐतिहासिक, प्राकृतिक तथा धार्मिक पर्यटकीयस्थल नाढीमन ताल अहिले सुनसान बनेको छ । पर्यटनको ठूलो सम्भावना बोकेको यस ताल अलपत्र पर्दा पर्यटकको आगमन शून्य बनेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको देशका उत्कृष्ट १०० भ्रमण स्थलमा पर्न सफल यस क्षेत्रमा पर्यटक नआउँदा स्थानीय व्यवसायीसमेत पलायन भएका छन् । चन्द्रनगर गाउँपालिका–७, निवासी ४५ वर्षीया ललिता भगतले नाढीमन ताल नजिकै कस्मेटिक पसल सञ्चालन गर्नुभएको छ । ताल घुम्न आउने पर्यटकलाई लक्षित गरेर उहाँले सञ्चालन गर्नु भएको पसल नचलेपछि उहाँ चिन्तामा हुनुहुन्छ । उहाँले यस ठाउँमा पसल चलाउनुभएको १० वर्ष हुन लाग्यो । उहाँका अनुसार सुरुमा पसल राम्रो चलेको थियो । दैनिक पाँच हजार रुपैयाँसम्मको व्यापार हुने गरेको थियो । यस तालमा नेपालसहित भारतको विभिन्न स्थानबाट पर्यटकसमेत आउने गरेका थिए ।
महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव
दोधारा चाँदनी (कञ्चनपुर। महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सुरु भएपछि बिरामीको चाप बढेको छ । अस्पतालले विशेषज्ञ सेवासँगै सिटी स्क्यानलगायतका उपकरणबाट सेवा दिन थालेपछि बिरामीको चाप बढेको हो । रिफर सेन्टरका रुपमा परिचित महाकाली अस्पतालले पछिल्लो समय २३ विशेषज्ञ चिकित्सकसहितको सेवा दिन थालेको छ । अस्पतालमा मेडिसिन विभाग, हाडजोर्नी विभाग, सर्जरी विभाग, स्त्री तथा प्रसूति रोग विभाग, रेडियोलोजी, एनेस्थेसियोलोजी र मानसिक रोग विशेषज्ञ सेवा सञ्चालन भएपछि दैनिक आउने बिरामीको चाप बढेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट अर्जुन भट्टले जानकारी दिनुभयो । एक महिनाअघि मात्रै अस्पतालले सिटी स्क्यान सेवा सुरु गरेको थियो । यसले यहाँ उपचार गर्न आउने बिरामीको चाप बढेपछि शय्या अभाव हुन थालेको उहाँले बताउनुभयो ।
प्रतिनिधिसभा चुनावका लागि ५ अर्ब बजेट स्वीकृत
काठमाडौं । सरकारले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत गरेको छ ।
आयोगले साढे सात अर्ब माग गरेकोमा अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रूपैयाँ स्वीकृत गरेको निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिएका हुन् ।
गृहमन्त्री अर्याल र नेपालका लागि बेलायती राजदूतबीच शिष्टाचार भेट
काठमाडौँ।गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि बेलायती राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृह मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच पछिल्लो परिवर्तित राजनीतिक परिस्थितिबारे विमर्श भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
सबै मन्त्रीहरूको सम्पत्ति विवरण आएपछि सार्वजनिक गरिने, सात जनाको आयो तीनको बाँकी
काठमाडौँ । काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सबैको आएपछि सार्वजनिक गरिने भएको छ । १० सदस्यीय मन्त्रिपरिषद्का ७ जना मन्त्रीले सम्पत्ति विवरण बुझाएका छन् । अझै तीन जना मन्त्रीहरूले बुझाउन बाँकी रहेको जनाइएको छ ।
ग्रेलिस्टबाट निकाल्न सरकारले बहुमूल्य धातु वा वस्तुको कारोबारमा कडाइ गर्ने , १० लाख बढीको कारोबार बैंकबाट गर्नैपर्ने
काठमाडौँ । सम्पत्ति शुद्धीकरणको मामिलामा ग्रेलिस्टमा परेको देशलाई सो ग्रेलिस्टबाट निकाल्न सरकारले बहुमूल्य धातु वा वस्तुको कारोबारमा कडाइ गर्ने नीति अपनाएको छ । मुलुक सम्पत्ति शुद्धीकरणको मामिलामा ग्रेलिस्टबाट गुज्रिरहेका बेला त्यसबाट छिट्टै बाहिर निकाल्न सरकारले त्यस्ता बहुमूल्य धातु वा वस्तुको कारोबारमा कडाइ गर्ने नीति अपनाएको हो ।
आन्तरिक राजस्व विभागले हालै त्यस्ता वस्तुहरूको कारोबारमाथि कडा नियमन बढाउन निर्देशन जारी गरेको छ । सम्पत्ति शुद्धीकरण, आतङ्ककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारण गर्ने सम्बन्धमा बहुमूल्य धातु वा वस्तुको कारोबारमा स्वच्छता एवं पारदर्शिता कायम गर्न निर्देशन जारी गरिएको हो ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावमा भाग लिन चाहने दललाई दर्ताका लागि आह्वान
काठमाडौँ। निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज सूचना जारी गरी प्रतिनिधिसभाका लागि मङ्सिर १—१० र राष्ट्रियसभाका लागि मङ्सिर १—७ गतेसम्म दल दर्ता खुला गरेको जनाएको छ ।
नेपालीलाई हङकङका लागि ट्रान्जिट भिसा नोभेम्बर १५ देखि आवश्यक नपर्ने
काठमाडौँ । नेपाली राहदानी बाहक यात्रुका लागि ट्रान्जिट भिसा आवश्यक नपर्ने हङकङले व्यवस्था गरेको छ। हङकङ सरकारले निरन्तरको कूटनीतिक पहलपछि सन् २०२५ नोभेम्बर १५ देखि लागू हुने गरी यो व्यवस्था गरेको हो । हङकङस्थित नेपाली महावाणिज्यदूतावासले जानकारी दिए अनुसार अब नेपाली यात्रुले नेपालबाट अन्य मुलुक वा अन्य मुलुकबाट नेपाल आउने जाने क्रममा हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको ट्रान्जिट क्षेत्रभित्र रहने सर्तमा ट्रान्जिट भिसा लिनु नपर्ने भएको छ ।
काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष उपेन्द्र पौड्यालले कर्जाका नीतिगत व्यवस्था र सेवा शुल्कमा पुनरावलोकन हुनुपर्ने माग गरेका छन् । शुक्रबार आयोजित सिबिफिनको छैठौं साधारणसभामा अध्यक्ष पौड्यालले मौजुदा परिस्थितिबारे जानकारी दिँदै यस्तो बताएका हुन् ।
काठमाडौँ। गिरावटसँगै सुनको मूल्य अढाई लाख मुनि गएको छ । शुक्रबार सुनको मूल्य तोलाको रु दुई लाख ४९ हजार ७०० कायम भएको छ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । एक तोला सुनको मोल रु ५०० ले र त्यति नै परिमाणको चाँदीमा रु ६० ले कमी आएको छ ।
काठमाडौं । विगत २६ वर्षदेखि निरन्तर सत्य, निष्पक्ष र जनमुखी पत्रकारितामा समर्पित जनसवाल राष्ट्रिय दैनिकका अध्यक्ष तथा सम्पादक रामजी बगालेलाई ‘जिनियस कम्युनिकेशन अवार्ड २०८२’ बाट सम्मानित गरिएको छ।
नेपाल प्रहरी क्लबको सभाहलमा बुधबार सम्पन्न विशेष समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाले बगालेलाई सम्मानपत्र र स्मृतिचिन्ह प्रदान गर्नुभयो।मुख्यमन्त्री बानियाले बगालेको दीर्घ पत्रकारिता योगदानको प्रशंसा गर्दै भन्नुभयो, “समाजमा सत्य उजागर गर्ने, जनताको आवाज बन्ने र प्रवासी नेपाली समुदायलाई मातृभूमिसँग जोड्ने कार्यमा बगालेजस्तो पत्रकारका कारण नेपाली सञ्चारको स्तर विश्वभर पहिचान बनिरहेको छ।” सम्मान ग्रहणपछि बगालेले भावुक हुँदै भन्नुभयो, “पत्रकारिता केवल पेशा होइन, यो समाज परिवर्तनको अभियान हो। म अझै जिम्मेवार र निष्ठावान् भएर देश र प्रवासका नेपालीको आवाज बन्ने प्रयत्नलाई निरन्तरता दिन्छु।”
आन्दोलनका क्रममा नष्ट भएका मिसिल कागजात पुनः संकलनका लागि काठमाडौं प्रहरीले सार्वजनिक आग्रह
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान प्रक्रियामा रहेका मिसिल कागजातहरू उपलब्ध गराइदिन सम्बद्ध सबैमा आग्रह गरेको छ ।
गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण काठमाडौँका विभिन्न प्रहरी कार्यालयमा रहेका कागजात तथा अनुसन्धानका फाइल जलेका कारण पीडित तथा निवेदकसँग रहेका विवरण उपलब्ध गराइदिन आग्रह गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij