Nepali Paisa
नेपाली पैसा
काठमाडौं : नेपाल बिमा प्राधिकरणले राष्ट्रिय बिमा नीति २०८० सार्वजनिक गरेको छ । बिमा नीतिमा बिमाको पहुँच विस्तार, बिमामा अनुदान, बिमाको दीर्घकालीन उद्देश्य, गरिबी निवारणमा बिमाको उपयोगलगायतका विषय समेटिएका छन् । बिमा प्राधिकरणले बिमा क्षेत्रको विकास, विस्तार र प्रवद्धनका लागि यो नीति मागर्दशक रहने जनाएको छ ।
नीति कार्यान्वयन प्रारम्भ भएको ५ वर्षभित्र यसको सम्रग मूल्यांकन गर्ने कुरा उक्त नीतिमा उल्लेख छ । बिमा प्राधिकरणले मूल्यांकनबाट प्राप्त नतिजा, निति कार्यान्यनको सन्दर्भमा प्राप्त अनुभव र नितिको सान्दर्भिकता, उपयुक्तता र सम्रग प्रभावकारीताको आधारमा नीतिमा समसामयिक सुधार तथा पुनरावलोकन गर्ने जनाएको छ ।
हाल नेपालमा १४ वटा जीवन बिमा, १४ वटा निर्जीवन बिमा, २ वटा पुनर्बिमा र ७ वटा लघुबिमा कम्पनी सञ्चालनमा छन् । स्वामित्व संरचनाका आधारमा मुलुकमा सरकारी, निजी, विदेशी शाखा संयुक्त लगानी गरी ४ प्रकारका बिमा कम्पनी सञ्चालनमा छन् । वैदेशिक लगानी रहेको बिमा कम्पनीको संख्या ५ वटा रहेका छन् । हाल करिब ४४ प्रतिशत जनसंख्यामा बिमाको दायरा विस्तार भएको प्राधिकरणले जनाएको छ ।