वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयमा अनियमितता र भ्रष्टाचारमा संलग्न प्रमुख भन्सार प्रशासक अरुण पोखरेल र प्रमुख भन्सार अधिकृत हरिहर पौडेलको अन्ततः सरुवा भएको छ । प्रमुख भन्सार प्रशासक पोखरेलको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा सरुवा भएको छ भने पौडेलको भन्सार विभागमा सरुवा भएको छ ।
नयाँसडकले ‘वीरगञ्ज भन्सार कार्यालयमा व्यापक अनियमितता र भ्रष्टाचार, प्रशासक पोखरेल विवादमा, अर्थमन्त्रीलाई समेत विवादमा तान्ने दुष्प्रयास’ शीर्षकमा केही दिनअगाडि स्थलगत रिर्पोटिङ गरी समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशन भएको केही दिनमा नै प्रशासक पोखरेल र पौडेलको सरुवा भएको हो ।
अर्थमन्त्रालयले वीरगञ्ज भन्सार कार्यालयमा नवराज ढुंगानालाई प्रमुख भन्सार प्रशासकमा र धनबहादुर बरुवाललाई प्रमुख भन्सार अधिकृतमा पठाएको छ ।
प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालय तस्करहरुको पञ्जामा रहेको पाइएको छ । भन्सारका कर्मचारीहरुकै मिलेमतोमा खुलेआम तस्करहरुको बोलबाला चल्ने गरेको स्थलगत रिर्पोटिङका क्रममा भेटिएको छ । भन्सारका उच्च पदस्त कर्मचारीकै सेटिङमा करोडौं मूल्य बराबरका चोरीका माल–वस्तु भन्सार पास हुने गरेको पाइएको छ । यस्तो भूमिकामा प्रमुख भन्सार अधिकृत हरिहर पौडेलकै संलग्नता रहेको वीरगञ्ज भन्सार कार्यालयका एक क्लियरिङ एजेण्टले नयाँसडकलाई बताए ।
‘भन्सारका प्रमुख प्रशासक र अधिकृत नै सेटिङमा लागेका थिए । बाहिर राजस्वसँगै केही चोरी निकासीलाई नियन्त्रण गरेजस्तो गरेर प्रशासक अरुण पोखरेल र अधिकृत हरिहर पौडेल ठूलै कमाउधन्दामा लागेका थिए । यस्तो कार्यमा भन्सारका अन्य कर्मचारी रामराज चौरासिया, रामकैलाश राय, नरहरि घिमिरे र शशिधर भट्टराईलगायतले सघाएका थिए,’ स्रोतले नयाँसडकलाई भन्यो, ‘प्रमुखहरु सरुवा भएर गए पनि चोरी–निकासी रोकिएको छैन ।’
विश्व बैंकले नेपाललाई १३ अर्ब ऋण दिने
विश्व बैंकले नेपाललाई १३ अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको छ । बैंकले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड), नयाँ विकास नीति ऋण (डीपीसी) परियोजनका लागि १० करोड अमेरिकी डलर (करिब १३ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण दिने भएको हो ।
सोमबार एक कार्यक्रमकाबीच नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालय अन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव ईश्वरी प्रसाद अर्याल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका संचालन प्रबन्धक लाडा स्ट्रेलकोभाले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् ।
नेपाललाई हरियाली, जलवायु–उत्थानशील र समावेशी विकासतर्फ अग्रसर हुन सहयोग गर्ने यस प्रस्तावित बजेट सहयोग कार्यक्रमको लक्ष्य रहेको छ । ग्रिड अन्तर्गत तीन सहिलयतपूर्ण ऋण डीपीसीहरूको श्रृंखला मध्येको यो पहिलो हो ।
यस परियोजनामार्फत जल, भूमि प्रयोग, जलवायु स्मार्ट कृषि, दीगो वन व्यवस्थापन, शहरी फोहोर र प्रदूषण लगायतका क्षेत्रहरूमा सरकारको प्राथमिकतामा रहेका नीतिगत कार्यहरूलाई सहयोग गर्नेछ छ ।
ग्रिड डीपीसीको यस पहिलो चरणको अपरेसनमा प्राकृतिक पूँजीको दीगो र उत्पादक प्रयोगस शहरी तथा ग्रामीण पूर्वाधार, मानव पुँजी र जिविकोपार्जनको क्षेत्रलाई जलवायु तथा वातावरणीय जोखिम विरूद्ध उत्थानशीलतास र थप छरितो र स्वच्छ उत्पादन, खपत तथा आवागमनलाई बढावा दिने कार्यक्रम लागायत यस चरणमा समावेश गरिएका छन् । यस कार्यक्रमले ग्रिड अन्तर्गतका रणनीतिक परिवर्तन लागि नेपाल सरकारकाले अवलम्बन गरेका नीतिगत कार्यहरूमा समर्थन गर्दछ जसले सबैको लागि समृद्धि निर्माण गर्नुका साथै कायम राख्न मद्दत गर्नेछ ।
यस कार्यक्रमले नेपालको अर्थतन्त्राई हरितकरण गर्नका साथै सामुदायिक वन, कृषि, स्वच्छ हावा, र ठोस फोहोर व्यवस्थापन जस्ता क्षेत्रहरूमा रोजगारी सिर्जना गर्नुका साथै कार्यक्रमले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने समेत सरकारले अपेक्षा गरेको छ ।
तरलता अभावकाबीच पनि बैंकहरुले कर्जा लगानी बढाए
निरन्तर घट्दो दरमा रहेको तरलता (लगानी योग्य पुँजी) को अभावकाबीच पनि बैंकहरु लगानी बढाएका छन् । भदौ लागेसँगै बैंकहरुले तीन अर्ब रुपैयाँले कर्जा लगानीलाई बढाएका हुन् ।
नेपाल बैंकर्स संघले दिएको पछिल्लो रिपोर्ट अनुसार भदौ १ गतेदेखि भदौ १० गतेसम्म निक्षेप संकलनमा खासै प्रगति नहुँदा नहुँदैपनि बैंकहरुले तीन अर्ब रुपैयाँले कर्जा लगानी बढाएका हुन् ।
संघको रिपोर्ट अनुसार समीक्षा अवधिमा साउन मसान्तको भन्दा ७ अर्ब रुपैयाँले निक्षेप घट्दै बैंकहरुको कुल निक्षेप ४४ खर्ब २६ अर्ब रुपैयाँमा झरेको छ । तर, सोही अबधिमा यता बैंकहरुले तीन अर्बले कर्जा लगानी बढाउँदै कुल ४१ खर्ब ८० अर्ब लगानी गरेका छन् ।
साउन मसान्तसम्म बैंकहरुले ४४ खर्ब ३३ अर्ब निक्षेप संकलन गर्दै ४१ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।
३ अर्ब १३ करोड ट्रेजरी रिन्यू गर्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले मंगलबार ३ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी रिन्यू (नवीकरण) गर्ने भएको छ । बैंकले ९१ दिनका लागि ट्रेजरी जारी गर्दै यसअघिको ट्रेजरी बिलको नवीकरण गर्ने भएको हो ।
सोमबार दिउँसो ३ बजे ट्रेजरीको बोलकबोल हुनेछ ।
यसअघि बैंकले भदौ ६ गते चार किसिमका ट्रेजरी गरी कुल १२ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी जारी गरेको थियो । जसमध्ये २० प्रतिशत मात्र ट्रेजरी रिन्यू गरी बाँकी ट्रेजरी बैंकले आफैले खरिद गरेको थियो ।
चालु पुँजी कर्जा गरिएको कडाईप्रति उद्योगी व्यवसायीको आपत्ति
नेपाल राष्ट्र बैंकले गत हप्ता एक निर्देशन जारी गर्दै चालु पुँजी कर्जामा कडाई गरेसँगै निजी उद्योग व्यवसायीहरु रुष्ट भएका छन् । उत्पादनमुलक र व्यवसायिक क्षेत्रलाई एउटै डालोमा हाल्दै राष्ट्र बैंकले एकै प्रकृति सरह कर्जाको सीमा निर्धारण गरेपछि व्यवसायीहरु राष्ट्र बैंकसँग रुष्ट भएका हुन् ।
थप कोभिड–१९ बाट भर्खरभर्खर उठ्दै गरेको उद्योग व्यवसायको क्षेत्रमा यस्तो नीतिले गम्भीर समस्या पार्ने व्यवसायीहरुको भनाइ छ । तीनवटै निजी व्यवसायिक क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चम्बर अफ कर्मर र नेपाल उद्योग परिसंघले यस्तो व्यवस्थाप्रति आपत्ति जनाएका हुन् । संघहरुले एकपछि अर्को गर्दै विरोधका आवाजहरु उठाइरहेका छन् ।
सोमबार मात्र नेपाल चेम्बर अफ कमर्सले बैंकको चालु पुँजी कर्जाको सीमा विरुद्ध आपत्ति जनाउदै सो नीति सच्याउन माग गरेको छ । चालु पुँजी सम्बन्धी प्रावधानले समग्र उद्योग व्यवसाय र बैंक वित्तिय संस्थाबीचको क्रम भंगता हुनसम्मको चेम्बरको चेतावनी छ ।
राष्ट्र बैंकले गत हप्ता एक निर्देशन जारी गर्दै चालु पुँजी कर्जाको सीमा निर्धारण गर्दै वार्षिक कारोबारको आधारमा अधिकतम ४० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरेको थियो ।
नेप्सेमा ३.७६ अंकको वृद्धि, कारोबार १ अर्ब २६ करोडमा सीमित
सोमबार सेयर बजार परिसूच नेप्सेमा सामान्य वृद्धि भएको छ । अघिल्लो दिन ३४ अंकले घटेर १९८८ अंकमा झरेको सूचकमा सोमबार ३.७६ अंकले वृद्धि हुँदै १९९३.०२ अंकमा उक्लिएको हो ।
तर, कारोबार रकम भने आज १ अर्ब २६ करोड ६६ लाख रुपैयाँ बराबरको मात्र भएको छ । अघिल्लो दिन ३४ अंकले घटेको बजारमा २ अर्ब ५ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
आज बैंकिङ, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र इन्भेष्टमेन्ट समूहको उपसूचक ऋणात्मक भएका छन् भने ट्रेडिङ, होटल तथा पर्यटन, डेभलपमेन्ट बैंक, हाइड्रोपावर, फाइनान्स, निर्जीबन बीमा, म्यानु एण्ड प्रो र जीवन बीमा समूहको उपसूचक धनात्मक भएका छन् ।
आज सबैभन्दा बढी विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले ७.४८ प्रतिशतले कमाएका छन् भने गुमाउनेमा रुरु जलविद्युत कम्पनीका सेयरधनीहरुले ५.७० प्रतिशतले गुमाएका छन् ।