वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयमा अनियमितता र भ्रष्टाचारमा संलग्न प्रमुख भन्सार प्रशासक अरुण पोखरेल र प्रमुख भन्सार अधिकृत हरिहर पौडेलको अन्ततः सरुवा भएको छ । प्रमुख भन्सार प्रशासक पोखरेलको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा सरुवा भएको छ भने पौडेलको भन्सार विभागमा सरुवा भएको छ ।
नयाँसडकले ‘वीरगञ्ज भन्सार कार्यालयमा व्यापक अनियमितता र भ्रष्टाचार, प्रशासक पोखरेल विवादमा, अर्थमन्त्रीलाई समेत विवादमा तान्ने दुष्प्रयास’ शीर्षकमा केही दिनअगाडि स्थलगत रिर्पोटिङ गरी समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशन भएको केही दिनमा नै प्रशासक पोखरेल र पौडेलको सरुवा भएको हो ।
अर्थमन्त्रालयले वीरगञ्ज भन्सार कार्यालयमा नवराज ढुंगानालाई प्रमुख भन्सार प्रशासकमा र धनबहादुर बरुवाललाई प्रमुख भन्सार अधिकृतमा पठाएको छ ।
प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालय तस्करहरुको पञ्जामा रहेको पाइएको छ । भन्सारका कर्मचारीहरुकै मिलेमतोमा खुलेआम तस्करहरुको बोलबाला चल्ने गरेको स्थलगत रिर्पोटिङका क्रममा भेटिएको छ । भन्सारका उच्च पदस्त कर्मचारीकै सेटिङमा करोडौं मूल्य बराबरका चोरीका माल–वस्तु भन्सार पास हुने गरेको पाइएको छ । यस्तो भूमिकामा प्रमुख भन्सार अधिकृत हरिहर पौडेलकै संलग्नता रहेको वीरगञ्ज भन्सार कार्यालयका एक क्लियरिङ एजेण्टले नयाँसडकलाई बताए ।
‘भन्सारका प्रमुख प्रशासक र अधिकृत नै सेटिङमा लागेका थिए । बाहिर राजस्वसँगै केही चोरी निकासीलाई नियन्त्रण गरेजस्तो गरेर प्रशासक अरुण पोखरेल र अधिकृत हरिहर पौडेल ठूलै कमाउधन्दामा लागेका थिए । यस्तो कार्यमा भन्सारका अन्य कर्मचारी रामराज चौरासिया, रामकैलाश राय, नरहरि घिमिरे र शशिधर भट्टराईलगायतले सघाएका थिए,’ स्रोतले नयाँसडकलाई भन्यो, ‘प्रमुखहरु सरुवा भएर गए पनि चोरी–निकासी रोकिएको छैन ।’
स्रोतका अनुसार भन्सार विभागका डिजी कमलप्रसाद भट्टराईकै साथ र सर्पोटमा वीरगञ्ज भन्सार कार्यालयमा अनियमितता र व्यापक चोरी–तस्करी भइरहेको प्रमाण दुई दिनअघि चितवन प्रहरीले नियन्त्रणमा लिएको गाडीलाई राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाइएको र राजस्व अनुसन्धान कार्यालयले अण्डर मूल्याङ्कनमा भन्सार छुटाएको भन्दै थप मूल्याङ्कन गरी सामान छोड्नुले दिएको छ ।
पछिल्लो समय वीरगञ्ज नाका तथा आसपासबाट तस्करीमा खाद्यान्न, लत्तकपडादेखि राँगा–भैसीं, खसी, कुखुराहरुको समेत चोरी निकासी हुने गरेको छ । सेटिङमा यस्ता सामानहरु निर्वाधरुपमा पास गराउने र तस्करहरुसँग मोटो रकम असुल्ने धन्दा डिजी भट्टराईको संरक्षणमा भइरहेको स्थलगत रिर्पोटिङका क्रममा एक ट्रान्सपोर्ट कम्पनीका कर्मचारीले नयाँसडकलाई बताए ।
राजस्वको लक्ष्य गुम्यो
यसले भन्सारबाट उठ्न सक्ने करोडौं राजस्व गुमिरहेको छ । पौडेलले आफू प्रमुख रहँदा भन्सारको राजस्व संकलन ५० प्रतिशतले बढेको र चोरी निकासीलाई समेत भन्सारको दायरमा ल्याएको दाबी गरे पनि यस्तै अनियमितता र भ्रष्टाचारका कारण वीरगञ्ज भन्सारले पछिल्लो समय राजस्वको लक्ष्य भेट्टाउन सकेको छैन ।
देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी स्वदेश तथा विदेशतर्फ हुने कारोबारमा सङ्कुचन नै देखिएको छ । वीरगञ्ज नाका प्रयोग गरी हुने मालवस्तुको आयात निर्यात २८ प्रतिशतले घटेपछि त्यसको नकारात्मक प्रभाव भन्सार कार्यालयको राजस्व सङ्कलनमा परेको छ ।
गत आर्थिक वर्षको साउनमा वीरगञ्ज नाकाबाट कुल १६ हजार चार सय ३७ प्रज्ञापनपत्रमार्फत कारोबार भएको तुलनामा चालु आवको सोही अवधिमा चार हजार पाँच सय ८९ कम आर्थिक ११ हजार आठ सय ४८ प्रज्ञापन पत्रमात्र कारोवारका लागि प्रयोग भएका छन् । यो समीक्षा अवधिको तुलनामा २७.९१ प्रतिशत कम हो । वीरगञ्ज भन्सारबाट ग्रिन च्यानलमार्फत हुने कारोबारमा ३९ प्रतिशत, एलो च्यानलबाट हुने कारोबारमा २० प्रतिशत र रेड च्यानलमार्फत हुने कारोवार २७ प्रतिशतले कमी आएको भन्सार कार्यालयले जनाएको छ ।
गत आवको साउनमा ग्रिन च्यानलबाट चार हजार ६६, एलो च्यानलबाट चार हजार तीन सय ६० र रेड च्यानलबाट आठ हजार ११ वटा प्रज्ञापनपत्रमार्फत कारोबार भएकोमा चालु आवको सोही अवधिमा ग्रिन च्यानलबाट एक हजार पाँच सय ८०, एलो च्यानलबाट तीन हजार पाँच सय १२ र रेड च्यानलबाट पाँच हजार आठ सय ५० प्रज्ञापनमार्फत कारोबार भएको भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए । उनले आर्थिक वर्षको पहिलो महिनामा राजस्व सङ्कलन तथा कारोबारमा केही गिरावट देखिए पनि आउने दिनमा राजस्व सङ्कलनमा सुधार हँुदै जाने बताए ।
कारोबारमा देखिएको सङ्कुचनकै कारण वीरगञ्ज भन्सारले राजस्व सङ्कलनको मासिक लक्ष्य हासिल गर्न सकेको छैन । साउन महिनाका लागि भन्सार विभागले रु १५ अर्ब २० करोड सात लाख राजस्व सङ्कलनको लक्ष्य दिएको तुलनामा कार्यालयले रु दुई अर्ब २१ करोड आठ लाख कम अर्थात् रु १२ अर्ब ९८ करोड ९९ लाख मात्र राजस्व हासिल गरेको अधिकृत गुप्ताले जानकारी दिए ।
यो पनि पढनुहोस ......