Logo

Apr 29 2024 | २०८१, वैशाख १७गते

images

गैरआवासीय नेपालीको मताधिकारका लागि पहल भइरहेको छ : प्रधानमन्त्री


नया सडक

२०८०, असोज २८ आइतबार (From Archieve)

  • 936
    Shares

  • गैरआवासीय नेपालीको मताधिकारका लागि पहल भइरहेको छ : प्रधानमन्त्री

     

    images

    चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीहरूको मताधिकारका लागि पहल अघि बढाएको बताउनुभएको छ । 

     

    पश्चिम चितवनको शारदानगरमा आज तीनवटा खानेपानी आयोजनाको एकैसाथ उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले गैरआवासीय नेपालीहरुको नागरिकताको समस्या समाधान गर्न सरकार लागिपरेको बताउनुभयो ।

     

    प्रधानमन्त्री दाहालले भन्नुभयो, “देश बाहिर रहनुहुने नेपालीको हितमा सामाजिक सुरक्षा कोषको मात्रै होइन, नागरिकता र मताधिकारसम्बन्धी समस्या समाधानका लागि सरकारले पहल अगाडि बढाएको छ ।” 

     

    प्रधानमन्त्री दाहालले सरकार सुशासन समाजिक न्याय आर्थिक समृद्धिको पक्षमा प्रतिबद्धता रहेको उल्लेख गर्नुभयो । “अहिले धेरै क्षेत्रमा सुधार देखिएको छ । तराईमा मिटरब्याजीको समस्या समाधान गर्नका निम्ति सरकारले लिएको पहल सार्थक भएको छ, त्यसबाहेक सुशासन र आर्थिक समृद्धिका क्षेत्रमा पनि काम भएका छन्”, उहाँले भन्नुभयो । 

     

     

    वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरी उनीहरूको भविष्य सुन्दर बनाउने सरकारले पहल गरेको उहाँको भनाइ छ । उहाँले थप्नुभयो, “अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने प्रयास सामाजिक न्यायको काम हो । यसैबाट सरकारले समाजवादको आधार तयार गर्ने काम सुरु गरेको छ ।”

     

    प्रधानमन्त्री दाहालले देशको स्वाधिनता, स्वतन्त्रता र आत्मसम्मानलाई अभिवृद्धि गर्नका लागि आफ्नो विदेश भ्रमण फलदायी भएको बताउनुभयो । “म प्रधानमन्त्री भएपछि भएका भारत, इटली, संयुक्त राष्ट्रसङ्घको महासभा र चीन भ्रमणका क्रम जे सहमति र समझदारी भएका छन्, त्यसले नेपालको प्रतिष्ठा, राष्ट्रिय स्वाधिनता, असंलग्न र स्वतन्त्र परराष्ट्रनीतिलाई नयाँ उचाइमा पु¥याएको छ”, उहाँले भन्नुभयो । 

     

     

    वर्तमान गठबन्धन सरकार सुशासन, सामाजिक न्याय, समृद्धि र राष्ट्रिय स्वाधिनतालाई अझै बलियो बनाउने पक्षमा लागिरहेको उहाँको भनाइ छ । उहाँले मुलुकको राजनीतिक स्थायित्वका लागि भारत, अमेरिका र चीनँगको सम्बन्ध बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । संविधानको व्यवस्थाअनुसार सम्पूर्ण नेपालीहरूलाई स्वच्छ, गुणस्तरीय खानेपानीको व्यवस्था मिलाउने जिम्मेवारी राज्यको भएको उहाँको भनाइ थियो । 

     

    सो अवसरमा खानेपानीमन्त्री महिन्द्र राय यादवले नेपाल धेरै प्रदूषण हुने मुलुकको सूचीमा विश्वको दशौँ नम्बरमा रहेको उल्लेख गर्दै यसलाई घटाउन सरकार लागिपरेको बताउनुभयो । उहाँले गठबन्धनको सरकार पाँच वर्ष टिक्ने र राजनीतिक स्थिरता कायम रहने उहाँको भनाइ थियो । 

     

    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरभित्र ९२ प्रतिशत नागरिकले स्वच्छ खानेपानी उपभोग गर्न पाएको भन्दै दुई वर्षभित्र शतप्रतिशत नागरिकलाई खानेपानीको पहुँचमा पुर्याउने बताउनुभयो । खानेपानी मन्त्रालयका सचिव रामआधार साहले सन् २०३० सम्ममा शतप्रतिशत नागरिकलाई स्वच्छ खानेपानी पुर्याउने गरी काम भइरहेको बताउनुभयो । 

     

    सो अवसरमा भरतपुर महानगरपालिका वडा नं १९ का पूर्ववडाअध्यक्ष कर्णबहादुर गुरुङ, खानेपानी तथा ढल व्यवस्थापन बिभागका महानिर्देशक कमलराज श्रेष्ठ, सहरी खानेपानी तथा सरसफाइ ९क्षेत्रगत० आयोजना निर्देशक रत्न सापकोटालगायतले धारणा राख्नुभएको थियो । 

     

    कार्यक्रममा शारदानगर जागृति सहरी खानेपानी तथा सरसफाइ आयोजना, जखडीमाई सहलगानी खानेपानी आयोजना र दिव्यनगर खानेपानी आयोजनाको संयुक्तरूपमा उद्घाटन गरिएको हो ।

     

    शारदानगर खानेपानी तथा सरसफाइ आयोजनाबाट भरतपुर महानगरपालिका वडा नं १७, १९ र २० का तीन हजार पाँच सय ६४ घरधुरीका १९ हजार चार सय ४२ जना लाभान्वित हुनेछन् । उक्त आयोजना रु ३७ करोड ९९ लाख ४७ हजार तीन सय १६ को लागतमा निर्माण गरिएको हो । 

     

    जखडीमाई सहलगानी खानेपानी आयोजनाबाट भरतपुर महानगरपालिकाको वडा नं १० र ११ का तीन हजार तीन सय ६८ घरपरिवारका १३ हजार पाँच सय ५२ जना लाभान्वित हुनेछन् । विसं २०७७ असार ८ गते निर्माण सुरु भई विसं २०८० साउन ३० गते सम्पन्न भएको सो आयोजना निर्माणका लागि रु २७ करोड १७ लाख २४ हजार पाँच सयमा ठेक्का सम्झौता भएको थियो ।

     

    दिव्यनगर खानेपानी आयोजनाबाट भरतपुर महानगरपालिका-२६ ले साबिकको दिव्यनगर गाउँ विकास समितिका एक हजार आठ सय ५५ घरधुरीका नौ हजार दुई सय ७१ जना लाभान्वित हुनेछन् । विसं २०७८ असार ७ गते निर्माणको सम्झौता गरी विसं २०८० असोज ३ गते सम्पन्न गरेको हो । आयोजना निर्माणमा रु १० करोड ४४ लाख १७ हजार एक सय ९२ खर्च भएको छ । 

     

    कार्यक्रममा खानेपानी आयोजना निर्माणमा सहयोग पुर्याउने भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, सहरी खानेपानी तथा सरसफाइ ९क्षेत्रगत० आयोजना निर्देशक रत्न सापकोटा र समयमा काम सम्पन्न गरेकामा निर्माण व्यवसायी सहदेव खड्कालाई सम्मान गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस