Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  माघ १० बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू....


नया सडक

२०८०, माघ १० बुधबार

  • 1.0k
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  माघ १० बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज माघ १० बुधबार ।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    नयाँ स्टक एक्सचेञ्जबारे अध्ययनका लागि ३ सदस्यीय समिति गठन

    काठमाडौं । नयाँ स्टक एक्सचेन्जबारे अध्ययनका लागि समिति गठन भएको छ । गत मंगलवार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको हो । उक्त अध्ययन समितिमा चार्टर्ड एकाउन्टेन्ट सुजन कुमार आचार्य र अधिवक्ता सिजन गुरागाई सदस्य छन् ।
    समितिले आगामी ४५ दिनभित्र पूँजीबजारका लागि थप नयाँ स्टक आवश्यक छ कि छैन भन्ने विषयमा अध्ययन गरी प्रतिवेदन तयार गर्नुपर्ने समयसीमा समेत तोकिएको अर्थमन्त्रालयले जानकारी दिएको छ ।

    ‘अनुत्पादक क्षेत्रमा बढी लगानी गर्दा वित्तीय क्षेत्रमा समस्या देखियो’ : डा प्रकाशशरण महत

    काठमाडौँ ।  अर्थमन्त्री डा प्रकाशशरण महतले बैङ्क तथा वित्तीय संस्थाबाट घरजग्गा र शेयर बजारजस्ता अनुत्पादक क्षेत्रमा बढी कर्जा विस्तार हुँदा त्यसले समस्या सृजना गरेको बताउनुभएको छ ।

     

    राष्ट्रिय वाणिज्य बैङ्कको ५९ औँ वार्षिकोत्सवमा अर्थमन्त्री महतले विगतमा अनुत्पादक क्षेत्रमा ठूलो लगानी हुँदा समस्या देखिएको उल्लेख गर्नुहुँदै अबका दिनमा उत्पादनमूलक र राम्रो प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो ।

     

    “हिजोका दिनमा बैङ्कबाट भएको लगानी ठीक ठाउँमा गएन । शेयर बजार र जग्गामा धेरै कर्जा विस्तार भयो । त्यो बेला ऋण लिएका ऋणीहरु अहिले समस्यामा परेका हुन् । ब्याजदर बढ्यो तर प्रतिफल छैन”, अर्थमन्त्रीले भन्नुभयो, “हाम्रा आवश्कता धेरै छन् । स्रोत साधन निकै कम छ । खर्चको प्राथमिकिकरण गर्न आवश्यक छ । राज्यको स्रोत साधनलाई बढीभन्दा बढी प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्छ ।”

    शेयर बजार : १०.२५ अंकले घटेर नेप्से २०८८.०४ विन्दुमा , ३ अर्ब ८९ करोडको कारोबार

    काठमाडौं । आज नेप्से १०.२५ अंकले घटेर  २०८८.०४ विन्दुमा आएको छ । आज  ३ अर्ब ८९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये २ वटा समूहमाात्र बढेको छ । यस दिन २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।
    यस दिन ३११ कम्पनीको १ करोड १० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २५ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र अरुण काबेली हाइड्रोपावर छन् ।

    अमेरिकी स्टक एक्सचेञ्जमा नेपालीको कम्पनीले पनि कारोबार गर्ने

    वाशिङ्गटन डिसी । नेपाली उद्यमी डा समीर मास्केले स्थापना गरेको  कम्पनी ‘फ्युजमेसिन्स’ अमेरिकाको प्रतिष्ठित स्टक एक्सचेञ्ज ‘नास्डक’मा सूचीकृत हुने भएको छ । 

    आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सँग सम्बन्धित काम गर्दै आएको कम्पनी फ्युजमेसिन्स र सिएसएलएम एक्विजिसन कर्पबीच नास्डकमा सूचीकृत हुने गरी मर्जर सम्झौता भएको कम्पनीको भनाइ छ । मर्जरपछि कम्पनीको दुई सय मिलियन डलर बराबरको हुने अपेक्षा गरिएको छ ।

    कम्पनीका संस्थापकसमेत रहनुभएका प्रमुख कार्यकारी अधिकृत डा मास्केका अनुसार उक्त कम्पनीसँगको सहकार्यपछि कम्पनी ‘फ्युज’ नामबाट नास्डाकमा सूचीकृत हुनेछ । यो प्रक्रिया सन् २०२४ को दोस्रो त्रैमाससम्म पूरा हुनेछ । हाल उक्त सम्झौतालाई दुवै कम्पनीको सञ्चालक समितिले सर्वसम्मतीले पारित गरिसकेको छ भने अब शेयरधनीहरुको स्वीकृति र आवश्यक कानूनी प्रक्रिया पूरा गरेपछि कम्पनी नास्डाकमा सूचीकृत हुनेछ ।

    बुक बिल्डिङ्ग प्रक्रियामार्फत रिलायन्स स्पिनिङ्ग मिल्सको शेयर निष्काशन खुला

    काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले बुक बिल्डिङ्ग प्रक्रिया मार्फत आज (माघ १० गते) देखि शेयर निष्काशन खुला गर्दैछ। कम्पनीले योग्य संस्थागत लगानीकर्ताहरुका लागि शेयर निष्काशन गर्न लागेको हो।

    कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १९ लाख २६ हजार ६०० कित्ता शेयर बुक बिल्डिङ्ग प्रक्रियामार्फत निष्काशन गर्न अनुमति पाएको थियो। सोमध्ये ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता शेयर बिक्री मूल्य सीमा ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँ तोकिएको छ।
    कम्पनीले नेप्सेले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताहरु सहभागि गराई बिक्री मूल्यको सीमा भित्र रहि बोलकबोल मार्फत शेयर बिक्री गर्न लागेको हो। कम्पनीको शेयरमा माघ १४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ।

    चिलिमे जलविद्युतले वितरण गर्‍यो नगद लाभांश

    काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले यस वर्षको नगद लाभांश वितरण गरेको छ । कम्पनीले पुस २० गते सम्पन्न २७औं वार्षिक साधारण सभाले पारित गरेको कर समेत ५ प्रतिशत नगद लाभांश वितरण गरेको हो । पुस २९ गतेदेखि सम्बन्धित शेयधरनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामा जम्मा गरिएको जानकारी कम्पनीले दिएको छ ।

    सर्वोत्तम सिमेन्टको आइपीओ :स्थानीयलाई म्याद थप, वैदेशिक रोजगारीमा रहेकाले भर्ने आज अन्तिम दिन

    काठमाडौं । सर्वोत्तम सिमेन्टले स्थानीय बासिन्दाका लागि खुला गरेको आइपीओमा आवेदन दिने म्याद थप गरेको छ । स्थानीय बासिन्दाले अब माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । स्थानीय बासिन्दाबाट यसअघि निर्धारित समय अर्थात बुधबार (माघ १० गते) सम्म माग अनुसार आवेदन नपरेका कारण म्याद लम्ब्याइएको कम्पनीले जानकारी गराएको छ । सर्वोत्तमले बुक विल्डिङ विधिबाट आइपीओ जारी गरेको हो । यसमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनुपर्नेछ ।

    यसपटक स्वाभिमान लघुवित्तले लाभांश नदिने

    काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले  गत आर्थिक वर्षको नाफाबाट कुनैपनि लाभांश वितरण नगर्ने भएको छ । संस्थाको मंगलबार (माघ ९ गते)बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । संस्थाले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ ।

    सेयर बजारमा निफ्राको १२.९६ करोड कित्ता सेयर कारोबारमा आउने

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयरको लक इन पिरियड फागुन २३ गतेदेखि समाप्त हुने भएको छ । संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको सेयरको लक इन अवधि समाप्त हुन लागेको बैंकले जनाएको छ ।

    संस्थापक समूहको १२ करोड ९६ लाख कित्ता सेयरको लक इन अवधि सकिन लागेको बैंकको भनाइ छ । लकइन अवधि समाप्त भएपछि ती सेयर साधारणमा रुपान्तरण भई सोही मूल्यमा कारोबार सुरु हुनेछ । लकइन समाप्त हुने सम्बन्धमा हालै धितोपत्र बोर्डले १ महिनाअघि सार्वजनिक सूचना जारी गर्नुपर्ने व्यवस्था गरेपछि कम्पनीहरुले यसलाई लागू गर्न थालेका हुन् ।

    भ्रष्टाचारको अभियोगमा सुनिल र विकल पौडेल पक्राउ

    काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई पक्राउ गरेको छ ।

    आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार नेपाल राष्ट्र बैंकको स्वीकृति बेगर विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोली रकम जम्मा गरेकोलगायत अभियोगका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

    गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा उनीहरुविरुद्ध आयोगले यसअघि नै मुद्दा दायर गरेको थियो । नेपालको सरकारी सेवामा कार्यरत रहँदाकै अवस्थामा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिकरुपमा नियुक्ति लिएको आयोगको ठहर छ ।

    उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

    काठमाडौं । उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योगका तत्कालीन महाप्रबन्धक पौडेल, तत्कालीन नायब महाप्रबन्धक नवल किशोर साहा, तत्कालीन का.मु. उपनिर्देशक पवन कुमार लाल कर्ण, तत्कालीन प्रबन्धक भरत प्रसाद नेपाल, अधिकृत नवौं डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय (प्रा.) ध्रुब बहादुर देवकोटा र महेश प्रसाद काफ्लेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    सो मुद्दामा  भेरियबल फ्रिक्वेन्सी ड्राइभ (भीएफडी) खरिद गर्दा अनियमितता गरेको आरोप छ । उनीहरुले ‘विना अध्ययन, आवश्यकताको पहिचान र औचित्यसमेत एकिन नगरी लागत अनुमानसमेत नबनाई केही उपयोग नहुने सामग्री खरिद गरेको,’ आरोप छ । साथै सामान खरिद पश्चात गुणस्तर परीक्षण नगराएको, जिम्मेवार पदाधिकारीबाट भुक्तानी नगरी निमित्तबाट भुक्तानी गरी महाप्रबन्धकबाट समर्थनसमेत नगराएको, खरिद गरिएको सामग्रीमध्ये १६० किलोवाटको भीएफडी प्यानल पार्ट-ए उदयपुर सिमेन्ट उद्योगले प्राप्त गरेको पाँच वर्षभन्दा बढी समयसम्म पनि परीक्षण नगरिएको  भनिएको छ ।

    यी हुन् माघ ९ को मन्त्रिपरिषद्का निर्णयहरू (पूर्णपाठ)

    काठमाडौं ।  सरकारले जापान सरकारबाट कोटेश्वर इन्टरसेक्सन प्रोजेक्टको लागि प्रस्तावित चौंतिस अर्ब ४९ करोड जापानी येन (करिब एकतिस अर्ब दुई करोड नेपाली रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रुप दिन जापान सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। माघ ९ गते बसेको मन्त्रिपरिषद्ले सो निर्णय गरेको हो।

    उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित आठ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित आठ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

     

    एक उपकरण खरिद गर्दा आवश्यकता र औचित्यता नभएको, प्राविधिक दृष्टिले रीतपूर्वक माग नभएको अवस्थामा खरिद ऐन विपरीत खरिद गरी भुक्तानीसमेत गरेको पाइएकाले उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

    भन्सार कार्यालयहरुले प्रयोगमा ल्याएको सन्दर्भ मूल्यांकन पुस्तिका हटाउन व्यापारीहरूको माग

    काठमाडौं ।नेपाल समुद्रपार निकासी पैठारी संघले पछिल्लो समय भन्सार कार्यालयहरुले प्रयोगमा ल्याएको सन्दर्भ मूल्यांकन पुस्तिका (डाटाबेस) हटाउन माग गरेको छ । संघले ७२औं अन्तर्राष्ट्रिय भन्सार दिवसको सन्दर्भमा मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष विनोदकुमार सेठियाले सन्दर्भ मूल्यांकन पुस्तिकाले कारोबार मूल्यलाई मान्यता दिनुपर्ने विश्व व्यापार संगठनको मार्गदर्शनलाई चुनौती र विदेशी मुद्रा अपचलनलाई वैधानिकता दिइरहेको बताए ।

    सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिइने

    काठमाडौँ ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी भइरहेको बताउनुभएको छ । 

     

    पार्टीको केन्द्रीय स्कुल विभागद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा मन्त्री ज्वालाले जनतालाई सहजरुपमा सेवा उपलब्ध गराउन अनुमतिपत्र छाप्ने अधिकार प्रदेशलाई दिन लागिएको बताउनुभयो । सवारी चालक अनुमतिपत्रका लागि रकम भुक्तानी र आवेदन अनलाइनमार्फत भर्न सकिने बताउनुभयो ।

    स्थानीयबासी र व्यापारीहरूद्वारा काठमाडौं महानगरपालिकाको सवारी पार्किङ निषेधाज्ञाको विरोधमा दोस्रो दिन विरोध प्रदर्शन  

    काठमाडौं । संघीय राजधानीको मुटु मानिने न्यूरोड पाको इन्द्रचोक असन क्षेत्रका स्थानीयबासी र व्यापारीहरूले काठमाडौं महानगरपालिकाको सवारी पार्किङ निषेधाज्ञाको विरोधमा दोस्रो दिन विरोध प्रदर्शन गरेका छन् । 

    काठमाडौँ महानगरपालिकाले सरोकारवालाहरूसँग परामर्श नगरी पार्किङ निषेध गरेको विरोधमा व्यापारीहरूले बुधवार पनि विरोध प्रदर्शन गरेका हुन् ।  धर्मपथ, जुद्ध सालिक देखि इन्द्रचोक तर्फको सडक खण्ड खिचापोखरी, प्युखा, महाबौद्ध, पाको लगायतका क्षेत्रमा सञ्चालित पार्किङहरुमा निषेध गरेको विरोधमा उनीहरुले प्रदर्शन गरे ।

    राष्ट्रिय वाणिज्य बैंक ५९औँ वर्षमा, दुई दशकदेखि निरन्तर नाफा कमाउँदै

    काठमाडौँ ।  सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड स्थापनाको ५८ वर्ष पूरा गरी ५९औँ वर्षमा प्रवेश गरेको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा विसं २०२२ माघ १० गते स्थापना भएको बैंकले व्यावसायिक कुसलतासहित निजी क्षेत्रका बैंकसँग प्रतिस्पर्धा गरिरहेको छ ।

      

    विसं २०८० असार मसान्तसम्ममा बैंकको अधिकृत शेयर पुँजी रू ३० अर्ब, जारी र चुक्ता शेयर पुँजी रू १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार ५५ रहेको छ । बैंकको विद्यमान पुँजी संरचनाअनुसार सरकारको ९९ दशमलव ९७ प्रतिशत र सर्वसाधारणको शून्य दशमलव ०३ प्रतिशत शेयर रहेको छ । बैंकको पुँजी कोष रू ५० अर्ब ७४ करोड रहेको छ ।

    ललितपुर नापी कार्यालयका नापी सर्वेक्षकसहित तीन पक्राउ

    पाटन ।  ललितपुर नापी कार्यालयका नापी सर्वेक्षक रामवीर यादवसहित तीनजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । 

     

    जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाण पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घूस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा उहाँसहित लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई मङ्गलबार कार्यालय परिसरबाटै पक्राउ गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताउनुभयो । 

     

    मङ्गलबार एक विज्ञप्ति जारी गर्दै उहाँले तीनैजनालाई रु दुई लाख ५० हजार घूससहित पक्राउ गरिएको पुष्टि गर्दै उनीहरुमाथि थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

    नारायणगढ–बुटवल सडकखण्ड : म्याद सकिन छ महिना बाँकी रहँदा आधामात्रै काम

    त्रिवेणी ।   नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापामगरका अनुसार म्याद सकिन करिब छ महिना बाँकी रहँदा आयोजनाको सम्पूर्ण काम अझै आधा बाँकी छ ।

    विसं २०७५ माघमा सम्झौता भएर नारायणगढ–बुटवल सडक विस्तारको काम थालिएको थियो । त्यसयता दुईपटक म्याद थप गरिएको छ । दोस्रोपटक थपिएको म्याद आउँदो साउनमा सकिने छ । उक्त अवधिसम्म ९० प्रतिशत काम गर्दा लगभग योजनाको निर्माण काम सकिने योजना प्रमुख मगरले बताउनुभयो । यस योजनामा निर्माणपछि समेत पाँच वर्ष मर्मतको जिम्मा निर्माण कम्पनीको रहने हुँदा उक्त काम करिब १० प्रतिशत मान्दा साउनसम्म प्रगति ९० प्रतिशत हुनुपर्ने उहाँले बताउनुभयो ।

    कति छ त आज सुन-चाँदीको मूल्य ?

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ कायम रहेको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ८५० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर १४ सय ८० रुपैयाँ कायम भएको छ । 

     
     

     

     

     

     
     
     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस