काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज मंसिर ६ बिहीबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
ग्लोबल आइएमई बैंकको बोनस सेयर मूल्य नेप्सेमा समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ग्लोबल आइएमई बैंक लिमिटेडको ५.५ प्रतिशत बोनस सेयरमा भाउ समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य २५५ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको मूल्य २४१.७१ रुपैयाँ कायम भएको छ ।
पहिलो चौमासिकको राजस्व सङ्कलन करिब १७ प्रतिशतले बढ्यो
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकको राजस्व सङ्कलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ ।
अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको आजको बैठकमा प्रस्तुत गरिएको विवरण अनुसार गत वर्ष यही अवधिमा रु दुई खर्ब ७६ अर्ब राजस्व सङ्कलन भएको थियो । चालु आवको चार महिनामा रु तीन खर्ब २३ अर्ब २४ करोड राजस्व सङ्कलन भएको छ ।
सरकारले लक्ष्यअनुसार राजस्व उठाउन सकेको भने देखिदैँन । पछिल्लो पाँच वर्षको राजस्व परिचालनको तुलनात्मक अवस्थालाई हेर्दा आव २०७६/७७ मा रु ११ खर्ब १२ अर्ब तीन करोड लक्ष्य रहेकोमा ७१ दशमलव ३८ प्रतिशत प्रगति भएको थियो ।
शेयर बजार : नेप्से परिसूचकमा ३१.३१ अंकले घटेर २६८०.४४ बिन्दुमा, ८ अर्ब २५ करोडभन्दा बढीको कारोबार
काठमाडौँ ।आज नेप्से परिसूचकमा ३१.३१ अंकले घटेर २६८०.४४ बिन्दुमा आएको छ । आज ८ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सबै समूहका सूचक घटेका छन् ।
यस दिन ३ सय १४ कम्पनीको १ करोड ८४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २५ करोड २४ लाखसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र रसुवागढी हाइड्रोपावर परेका छन् ।
नेशनल फण्ड म्यानेजमेन्टको साधारण सभा पुस ३ गते , ५ प्रतिशत नगद लाभांश वितरण गर्ने
काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले दोस्रो वार्षिक साधारण सभा पुस ३ गते गर्ने भएको छ ।
सभा होटल अकामा धुम्बारी काठमाडौंमा बेलुकी ५ बजे शुरु हुने कम्पनीले जनाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशको सम्बन्धलाई थप मजबुत बनाउने
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुबीच दुई पक्षीय भेटघाट भएको छ ।
चीनको राजधानी बेईजिङमा बुधबार साँझ भएको भेटघाटमा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबाट छिमेकी दुई देशबीच रहिआएको आपसी सम्बन्ध र सहकार्यलाई थप उचाईमा पुर्याउने बिश्वास व्यक्त गर्नुभएको भ्रमण दलमा सहभागी एमाले प्रचार विभाग सदस्य दीपक ज्ञवालीले जानकारी दिनुभयो ।
सो अवसरमा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप मजबुत र घनिष्ट बनाउने विश्वास व्यक्त गर्नुभयो ।
सोल्टी होटल लिमिटेडको ५० औं वार्षिक साधारण सभा पुस ४ गते , लाभांश पारित गर्ने प्रस्ताव
काठमाडौं । सोल्टी होटल लिमिटेडको ५० औं वार्षिक साधारण सभा आगामी पुस ४ गते आयोजना हुने भएको छ ।
कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस ४ गते काठमाण्डौको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा भौतिक अपस्थिती तथा भर्चुअल भिडियो कनफ्रेन्समार्फत समेत सहभागीता जनाउन सकिने कम्पनीले जनाएको छ । सभाले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र २६ दशमलव ८४२१०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने र सोहीअनुसार चुक्तापूँजीलाई बृद्धि गर्न स्वीकृति प्रदान गर्ने, कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको शेयर पूँजी वृद्धि गर्ने विशेष प्रस्तावलाई पारित गर्नेछ ।
बोटलर्स नेपाल (तराई) ले घोषणा गर्यो लाभांश
काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट शेयरधनीहरुलार्ई लाभांश घोषणा गरेको छ ।
कम्पनीले प्रतिशेयर ५० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
मङ्सिर ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
हिमालयन लघुवित्तको साधारण सभा मंसिर २७ गते , मर्जर प्रस्ताव पेश गर्ने
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा मंसिर २७ गते बोलाएको छ । तर, कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । यसर्थ, यो पटक पनि सेयरधनीको हात खाली हुनेछ । सभामा कम्पनीले अन्य कुनै लघुवित्त कम्पनीसँग एकआपसमा मर्ज हुने प्रस्ताव पेश गर्नेछ ।
सभा बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
कुमारी बैंकको १ लाख ३१ हजार कित्ता संस्थापक सेयर बिक्री खुला
काठमाडौ । कुमारी बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ३१ हजार ६२८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।
आज प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । आज प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । बैंकले मंसिर १९ गते, बुधबार, आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा १७ औँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने, नियमावलीमा संशोधन गर्ने, मर्ज तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले लेखापरीक्षक पनि नियुक्त गर्नेछ।
ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले मंसिर २७ गते, बिहीबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा १८ औँ वार्षिक साधारण सभा बोलाएको हो। सभा बिहान १० बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालक नियुक्तिको जानकारी गराउने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढ्यो
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार बुधबारको तुलनामा बिहीबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढेको छ ।
बिहीबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ । बिहीबार युरो एकको खरिददर एक सय ४२ रुपैयाँ १५ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७८ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ५४ पैसा तथा बिक्रीदर एक सय ७१ रुपैयाँ ३० पैसा कायम भएको छ ।
टीभीएस आईक्युब २.२ किलोवाट आवर भेरिएन्ट सार्वजनिक
काठमाडौँ । नेपालको लागि टीभीएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो इलेक्ट्रिक स्कुटर टीभीएस आइक्युबको २.२ किलोवाट आवर भेरिएन्ट सार्वजनिक गरेको छ। यस नयाँ भेरिएन्टको आगमनसँगै अब नेपालमा टीभीएस आईक्युबका ३ वटा भेरिएन्टहरु ६ आकर्षक रङहरुमा उपलब्ध हुनेछन् ।नयाँ भेरिएन्टको लम्बसँगै टीभीएस मोटर कम्पनीले विश्वसनीय र सन्तोषजनक उत्पादनहरू प्रदान गर्ने आफ्नो प्रतिबद्धता कायम राखेको छ । २.२ किलोवाट आवरको नयाँ भेरिएन्टको शुरुवाती मूल्य रु. २,९९,९०० रहेको छ । यसले इभी स्कुटरलाई अझ पहुँचयोग्य बनाएको छ।
कम्पनीका अनुसार टीभीएस आईक्युब ३ प्रमुख सिद्धान्तहरूबाट प्रेरित छ । पावर अफ चोइस, पूर्ण एसुरेन्स र प्रयोगमा सहजता प्राप्त हुने विश्वास गरिएको छ ।
सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो,प्रतितोला १ लाख ६४ हजार रुपैयाँ
काठमाडौँ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोल १ हजार रुपैयाँले बढेर १ लाख ६४ हजार रुपैयाँ कायम भएको छ ।
बिहीबार चाँदीको भाउ स्थिर रहेको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १९ सय ५० रुपैयाँ कायम रहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६५८.६२ र चाँदी प्रतिऔंस ३१.१७ डलरमा कारोबार भइरहेको छ ।
मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न परिपत्र
काठमाडौँ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ ।
मन्त्रालयले पठाएको पत्रमा आफ्ना स्वास्थ्य सेवामा लाग्ने शुल्कको विवरण वेबसाइटमा राख्न तथा सेवाग्राहीले सहज रुपमा जानकारी पाउने व्यवस्था गर्न भनेको हो ।
मन्त्रालयले पठाएको पत्रमा शल्यक्रिया शुल्क खुलाउनु पर्ने, सबै खालका शय्याको विवरण, रेडियोलोजी सेवा तथा ल्यावको शुल्क विवरणसमेत खुलाउन भनिएको छ । त्यसैगरी टिकटसहितका अरु सेवाको विवरणसमेत खुलाएर सेवाग्राहीलाई जानकारी गराउन मन्त्रालयले पत्राचार गरेको छ ।
प्रथम त्रैमासिकको प्रगति समीक्षाः जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक, छलफल र प्रशासनिक अल्झनमा मात्रै नलागेर जनताले महसुस हुने गरी काम गर्न निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायको चालु आर्थिक वर्षको प्रथम चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सम्बन्धित निकायको प्रस्तुतिकरण सुनेपछि प्रधानमन्त्री ओलीले काम गर्ने व्यवहार र मानसिकतामा परिवर्तन गर्न निर्देश गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले देश विकास गर्ने प्रतिबद्धताका साथ लागेर स्वच्छ र पारदर्शीरुपमा काम गर्न आग्रह गर्दै सुशासन कायम, राजस्व चुहावट नियन्त्रण, गरिबी निवारण, मुलुकको छवि अन्तर्राष्ट्रियस्तरमा अभिवृद्धि र साधन स्रोतको उपयोग बढाउने गरी काम गर्न स्पष्ट निर्देशन दिनुभयो ।
कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्न
काठमाडौं । क्यानडियन क्रिकेट आइकन साद बिन जफर नेपाल प्रिमियर लिग २०२४ का लागि लुम्बिनी लायन्ससँग आबद्ध भएका छन् । २०२४ को टी–२० विश्वकपमा क्यानडाको कप्तानी गरेर इतिहास बनाएका जफरले आफ्नो अन्तर्राष्ट्रिय अनुभव र नेतृत्व क्षमतासहित लुम्बिनी लायन्सलाई थप मजबुत बनाउने विश्वास गरिएको छ । पाकिस्तानमा जन्मिएका क्यानडियन क्रिकेटर साद बिन जफरले सन् २००८ मा क्यानडाको फस्ट क्लास क्रिकेटमा डेब्यु गरेका थिए । उनले राष्ट्रिय टोलीका लागि सबै फम्र्याटमा निरन्तर प्रतिनिधित्व गरेका छन् । बायाँ हाते स्लो स्पिन र बायाँ हाते ब्याटिङले मैदानमा बलियो उपस्थिति दिलाउँदै आएका जफरले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सेन्ट लुसिया जोक्सको तर्फबाट खेल्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।
पहिलो चौमासिकको राजस्व सङ्कलन करिब १७ प्रतिशतले बढ्यो
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकको राजस्व सङ्कलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ ।
अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको आजको बैठकमा प्रस्तुत गरिएको विवरण अनुसार गत वर्ष यही अवधिमा रु दुई खर्ब ७६ अर्ब राजस्व सङ्कलन भएको थियो । चालु आवको चार महिनामा रु तीन खर्ब २३ अर्ब २४ करोड राजस्व सङ्कलन भएको छ ।
सरकारले लक्ष्यअनुसार राजस्व उठाउन सकेको भने देखिदैँन । पछिल्लो पाँच वर्षको राजस्व परिचालनको तुलनात्मक अवस्थालाई हेर्दा आव २०७६/७७ मा रु ११ खर्ब १२ अर्ब तीन करोड लक्ष्य रहेकोमा ७१ दशमलव ३८ प्रतिशत प्रगति भएको थियो ।
तिहारमा फूलमाला बिक्रीबाट पाँच लाख बचत
घोराही (दाङ । दाङको घोराही उपमहानगरपालिका– १३ डुम्मर गाउँका इन्द्रा बुढाको पेसा फूलखेती हो । उहाँले यो पेसा गर्न थालेको आठ वर्ष भयो । विगत लामो समयदेखि गर्दै आएको व्यवसायप्रति इन्द्रा खुसी हुनुहुन्छ । सुरुका दिनमा फूलको व्यावसायिक खेती गर्दा छिमेकीले फूल पनि बेच्ने भनेर गिज््याउने गरेको उहाँसँग अनुभव छ । “पछिल्लो समय स्थानीय उत्पादनलाई प्रयोग गर्नुपर्छ भन्नेको सङ्ख्या बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “जसका कारण यसवर्ष फूलमाला बिक्री गर्न कुनै समस्या भएन ।” इन्द्राको बारीमा चाडपर्वको समयमा मात्रै नभइ अघिपछि पनि सयपत्रीको फूल फूलिरहेको हुन्छ । जिल्लामा हुने विभिन्न सभा, सम्मेलन, विद्यालयमा हुने कार्यक्रम लगायतमा पनि फूल लैजाने गरेको उहाँ बताउनुहुन्छ । उहाँ यस वर्षको तिहारमा मात्रै खर्च कटाएर रु पाँच लाख बचत गर्न सफल हुनुभएको छ । आठ हजार माला काठमाडौँ, स्याङजा, पोखरा, धनगढी, बुटवल पठाएकोे र धेरैजसो जिल्लामै बिक्री गर्ने गरेको इन्द्राले बताउनुभयो ।
बचतकर्ताको रकम फिर्ता गराएर सहकारीलाई लयमा फर्काउनेछौँ : मन्त्री अधिकारी
काठमाडौँ । देशमा भूमिसम्बन्धी काम २०३५÷३६ सालदेखि नै शुरुआत भए पनि अनेक समस्याहरु यथावत देखिन्छन् । केही वर्षअघि मुलुकको भूउपयोग नीति लागू भए पनि त्यसको सही किसिमले कार्यान्वयन नहुँदा भूमिको उपयोगमा अझै विभिन्न समस्याहरु रहेका छन् । खेतीयोग्य जमिन मानव वस्तीमा रुपान्तरण भइरहेको, कृषि पेशाप्रतिको आकर्षण कमी हुँदै जाँदा मुलुकभर जग्गा बाँझिदै गइरहेको अवस्था छ । मुलुकले अवलम्बन गरेको तीनखम्बे अर्थनीतिअन्तर्गतको एक सहकारी क्षेत्रलाई पछिल्लो समय बदनाम गराउने काम भएको छ । यस क्षेत्रलाई व्यवस्थित, जवाफदेही, जनमुखी र विश्वसनीय बनाउन जरुी देखिन्छ । अझै झण्डै २० प्रतिशत जनता गरिबीको रेखामुनि रहेका छन् । यस परिप्रेक्षमा यस् सबै क्षेत्रहरु समेटिएको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको भूमिका महत्वपूर्ण रहेको छ ।
नगर विकास कोषको कार्यकारी निर्देशक पदको छनोट गर्न अन्तिम छनोट सूचीमा पाँच जना छानिए
काठमाडौँ । नगर विकास कोषको कार्यकारी निर्देशक पदको छनौटका लागि ५ जनालाई अन्तिम छनोट सूचीमा छानिएको छ ।छनोट समितिले आवेदक १५ मध्ये ५ जना अन्तिम छनोट सूचीमा छानेको हो ।
छनोट सिफारिस समितिले छनोट गरेका पाँच जनाहरूमा काभ्रेका दिनेश त्रिपाठी, राजेशकुमार भोछिभोया, तनहुँका ध्रुवराज भट्टराई, ताप्लेजुङका रामप्रसाद पौडेल र चितवनका विनोदप्रकाश पण्डित रहेका छन् । अन्तिम छनोट सूचीमा परेकाहरूले कार्यपत्र तथा प्रस्तुतीकरणको मूल्यांकन गरी विनियमावलीको विनियम न. १४.३(३) बमोजिम सबैभन्दा बढी अंक प्राप्त गरेका आधारमा अन्तिम सूचीमा परेका हुन्।
मौद्रिक नीतिको समीक्षा अर्को साता सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा अर्को साता सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।बैंकका अधिकारीहरूका अनुसार विदेशबाट गभर्नर महाप्रसाद अधिकारी फिर्ता भएपछि अर्को साता सार्वजनिक गर्ने तयारी भइरहेको हो ।
गभर्नर अधिकारी भारतीय रिजर्भ बैंक (आरबीआई)को कार्यक्रममा सहभागी हुन बुधबार भारत गएका छन्। कार्यक्रम शुक्रबारसम्म चल्नेछ। उनले मौद्रिक नीतिको समीक्षाका लागि अहिलेसम्म बैंकभित्र छलफल चलाएका छैनन्।
उनीहरूका अनुसार मौद्रिक नीतिको समीक्षाबारे अहिलेसम्म कुनै छलफल भएको छैन। विदेशबाट गभर्नर फिर्ता भएपछि यसबारे छलफल हुने छ ।
प्रदूषण नियन्त्रण गर्न काठमाडौँ महानगरपालिकाको प्रदूषण नियन्त्रण मापदण्ड २०८१, पालना नभए हरेक पटक हजार जरिवाना
काठमाडौँ । काठमाडौं महानगरपालिकाले प्रदूषण नियन्त्रण गर्न नयाँ मापदण्ड बनाएको छ।महानगरपालिकाले सबै प्रकारका प्रदूषण नियन्त्रण गर्न ‘काठमाडौं महानगरपालिका प्रदूषण नियन्त्रण मापदण्ड, २०८१’ बनाएको हो । मापदण्ड सवारीसाधनदेखि उद्योग कलकारखानाले पालना गर्नुपर्नेछ ।
मापदण्ड विपरीत प्रदूषण हुने गरी कुनै उद्योग, कलकारखाना, उपकरण वा व्यापार–व्यवसाय चलाए कारबाही हुने महानगरपालिकाले जनाएको छ । महानगरले बिहिबार सूचना जारी गरी मापदण्ड पालना गर्न आग्रह गरेको छ।
विभागद्वारा कर छलीको आशंकामा ठाउँ ठाउँमा छापा, चोरी तस्करी र राजस्व छलीको नश्ल खोजिँदै
काठमाडौँ । चोरी तस्करी नियन्त्रण र राजस्व छली रोक्न राजस्व अनुसन्धान विभाग एग्रेसिभ्ली लागेको छ । विभाग नेपालीहरूको महत्वपूर्ण चाडपर्व सकिए लगत्तै चोरी तस्करी नियन्त्रण र राजस्व छली रोक्न आक्रमक देखिएको हो ।विभागले तिहार सकिएलगत्तै चोरी तस्करी र राजस्व छलीको नश्ल खोज्न देशभर सक्रियता बढाएको छ । विभाग स्रोतका अनुसार राजस्व छली र चोरी तस्करी नियन्त्रणका लागि देशभर सूक्ष्मढंगले अध्ययन गरिँदै छ ।
विभागद्वारा ठाउँ–ठाउँमा छापा
राजस्व अनुसन्धान विभागले चोरी तस्करी र राजस्व छली गरेको आशंकामा ठाउँ –ठाउँमा छापा मारेको छ । न्यूरोड क्षेत्रका कपडा पसल, सेवामूलक व्यवसाय र ठुला साना ट्रान्सपोर्ट कम्पनीहरूलगायतमा छापा मारेको छ । विभागले केही कारोबार स्थलहरूमा सिल गरेको छ भने केहीका कागजपत्र नियन्त्रणमा लिएको छ । केही व्यवसायिक फर्मका कागजपत्र मगाएको छ । विभाग स्रोतका अनुसार चोरी तस्करी नियन्त्रण र राजस्व छलीको नश्ल खोज्ने क्रममा व्यवसायिक फर्महरूमा छापा हानिएको र कागजपत्र लिइएको छ ।
पर्साका सरकारी कार्यालयको पुँजीगत खर्च छ प्रतिशतमा सीमित
वीरगञ्ज । सङ्घीय सरकार मातहतका पर्साका सरकारी कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा छ दशमलव ०८ प्रतिशत पुँजीगत खर्च गरेका छन् ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार पर्सास्थित ६६ सरकारी कार्यालय तथा पालिकाका लागि पुँजीगततर्फ वार्षिक रु दुई अर्ब ५८ करोड २७ लाख ८६ हजार सात सय ५० विनियोजन भएकामा चालु आवको कात्तिक मसान्तसम्ममा रु १५ करोड ६९ लाख ३३ हजार पाँच सय २८ खर्च भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख यज्ञराज उप्रेतीले सङ्घीय सरकार मातहतका सरकारी कार्यालयले चालु आवको चार महिनामा पुँजीगत खर्च नगन्य मात्रामा गरेका बताउनुभयो । “चालु आवको कात्तिक मसान्तसम्मको अवधिमा नयाँ बोलपत्र ‘डकुमेन्ट’ बनाउनेदेखि बोलपत्र आह्वानसम्मका काम हुने भएकाले पुँजीगत खर्च बढ्न नसकेको हो”, उहाँले भन्नुभयो, “अब चाडबाड र वर्षायाम पनि सकिएकाले सरकारी कार्यालयको पुँजीगत खर्च बढ्ने अपेक्षा गरेका छौँ ।”