Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

राष्ट्रियसभा सदस्य निर्वाचन : सत्तागठबन्धनका उम्मेदवार विजयी


नया सडक

२०८०, माघ ११ बिहीबार

  • 870
    Shares

  • राष्ट्रियसभा सदस्य निर्वाचन : सत्तागठबन्धनका उम्मेदवार विजयी

    सुदूरपश्चिम ।सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका बलदेव बोहरा र नारायणदत्त भट्ट र नेकपा (माओवादी केन्द्र)का रेनु चन्द विजयी हुनुभएको छ । 

    आज धनगढीमा सम्पन्न निर्वाचनमा अन्य समूहतर्फबाट बोहरा, अपाङ्गताको समूहबाट भट्ट  र महिला समूहमा चन्द विजयी हुनुभयो । 

    अन्य समूहमा बोहराले चार हजार तीन सय २८ मतभार प्राप्त गर्दा नेकपा (एमाले)का उम्मेदवार ईश्वरीप्रसाद खरेलले एक हजार छ सय ९६ मतभार प्राप्त गर्नुभयो । अपाङ्गताका समूहमा भट्टले चार हजार चार सय १९ मतभार प्राप्त गर्दा प्रत्याशी रामचन्द्र जोशीले एक हजार पाँच सय १९ मतभार प्राप्त गर्नुभयो । साथै महिला समूहमा विजयी चन्दले चार हजार चार सय ५३ र प्रत्याशी सावित्रादेवी घिमिरेले एक हजार पाँच सय ७१ मतभार पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिनुभयो । 

    कूल ५२ प्रदेशसभा सदस्य र एक सय ७३ पालिका तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदानमा सहभागी हुनुभयो । साथै दुई जना जनप्रतिनिधि अनुपस्थित रहनुभयो । 

    त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा बझाङका प्रदेशसभा सदस्य नेपाली कांग्रेसका तर्फबाट निर्वाचित पृथ्वीबहादुर सिंहको केही महिनाअघि सवारी दुर्घटनामा निधन भएको थियो । त्यसैगरी यही माघ ४ गते बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन भएको थियो ।

    प्रदेशसभा सदस्य मतदातातर्फ एक मत र पालिका तहका प्रमुख उपप्रमुख अध्यक्ष उपाध्यक्ष मतदातातर्फ दुई मत बदर भएका छन् ।

    धनगढीस्थित प्रदेशसभा सचिवालय परिसरमा मतदानस्थल तोकिएको थियो । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्यमा महिला कोटाबाट निर्वाचित नेकपा (एमाले)की इन्दु कडरिया (कञ्चनपुर), अपाङ्गता तथा अल्पसङ्ख्यक कोटाबाट निर्वाचित नेकपा(माओवादी केन्द्र)का महेशकुमार महरा (डडेलधुरा) र अन्य कोटाबाट निर्वाचित नेकपा (माओवादी केन्द्र) कैलालीका हरिराम चौधरी (उत्सव)को पदावधि आगामी फागुनमा सकिन लागेकाले यी तीन पदका लागि निर्वाचन भएको हो । 

    मतदाताका रुपमा रहेका प्रदेशका सबै नौ जिल्लाका ८८ पालिका तहका प्रमुख, उपप्रमुखरअध्यक्ष, उपाध्यक्ष गरेर एक सय ७६ रहेका थिए । कूल मतदाता दुई सय २७ थिए । 

    प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका(निधन भएका एकजनाबाहेक) १८ सदस्य छन् । नेकपा (माओवादी केन्द्र)का ११, नेकपा(एमाले)का दश, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा(एकीकृत समाजवादी)का चार, राप्रपाका एक र स्वतन्त्र एक सदस्य छन् । 

      यसैगरी, पालिका तहका प्रमुख उपप्रमुख÷अध्यक्ष उपाध्यक्षमा सबैभन्दा बढी सङ्ख्यामा नेपाली कांग्रेसका छन् । दोस्रो स्थानमा नेकपा (एमाले) र तेस्रो स्थानमा (माओवादी केन्द्र) छ ।

    प्रतिक्रिया दिनुहोस