Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  माघ ११ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू....


नया सडक

२०८०, माघ ११ बिहीबार

  • 1.0k
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  माघ ११ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज माघ ११ बिहीबार ।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    हिमालयन एभरेष्ट इन्सुरेन्सको बोनस सेयरमा मूल्य समायोजन

    काठमाडौं । नेप्सेमा हिमालयन एभरेष्ट इन्सुरेन्स लिमिटेडको ८.६३ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ६६० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको नेप्सेले जनाएको हो । समायोजनपछि यसको मूल्य ६०७ रुपैयाँ ५७ पैसा कायम भएको छ ।

    भन्सार विभागका निर्देशक हरिहर पौडेललाई चेम्बरको सम्मान

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ७२ औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका निर्देशक हरिहर पौडेललाई सम्मान गरेको छ । भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै चेम्बरले निर्देशक पौडेललाई सम्मान गरेको जनाएको छ ।  काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र मल्ल र राजश्व सचिव राम प्रसाद घिमिरेले प्रमाणपत्र सहित निर्देशक पौडेललाई सम्मान गरे । भन्सार विभागमा रहेर उत्कृष्ट सेवा प्रवाह गरेकाले पौडेललाई ७२ औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा सम्मान गरिएको अध्यक्ष मल्लले बताए । भन्सार प्रशासन सुधारमा उल्लेख्य भूमिका निर्वाह गरेका पौडेललाई सम्मान गरिएको अध्यक्ष मल्लले जानकारी दिए ।  सम्मान कार्यक्रममा चेम्बरका अध्यक्ष मल्लले आयत निरुत्साहित र निर्यात प्रर्वद्धन हुनेगरि व्यापार सहजीकरण हुनुपर्ने बताए ।

    निलगिरी खोला हाइड्रोपावरले आइपीओ जारी गर्ने, साधारण सभा फागुन ४ गते 

    काठमाडौं । निलगिरी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको छ । सभा फागुन ४ गते एलोफट होटल, ठमेल, काठमाडौंमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा विशेष प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

    शेयर बजार : ३.९४  अंकले घटेर नेप्से २०८४.०९ विन्दुमा , ३ अर्ब ७६ करोडको कारोबार

    काठमाडौं । आज नेप्से  ३.९४  अंकले घटेर  २०८४.०९ विन्दुमा आएको छ । आज  ३ अर्ब ७६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एउटा कम्पनी सकारात्मक सर्किट लागेर कारोबार भएको छ । १३ मध्ये ५ समूहको सूचक बढेको छ ।
    यस दिन ३०४ कम्पनीको १ करोड १६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २८ करोड ६७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र अरुण काबेली हाइड्रोपावर परेका छन् ।

    यसपटक सानिमा जीआइसीले लाभांश वितरण नगर्ने

    काठमाडौं । सानिमा जीआइसी इन्सुरेन्सले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले लाभांश प्रस्तावबिनै गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल बिमा प्राधिकरणमा पेश गर्ने निर्णय गरेको हो ।

    मिर्मिरे लघुवित्तले प्रस्ताव गरेको ६.३२ प्रतिशत लाभांश रद्द

    काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट यसअघि घोषणा गरेको ६.३२ प्रतिशत लाभांश रद्द गरेको छ । नेपाल राष्ट्र बैंकले वित्तीय विवरण संशोधन गर्न निर्देशन दिएपछि संस्थाले उक्त प्रस्ताव रद्द गरेको हो । कम्पनीको सञ्चालक समितिको बुधबार (माघ १० गते) बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

    सिंगटी हाइड्रो इनर्जीले फागुन २ गतेदेखि हकप्रद सेयर जारी गर्ने

    काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले फागुन २ गतेदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा १ करोड ४५ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ४५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ ।

    आज हिमालयन एभरेष्ट इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    काठमाडौं । हिमालयन एभरेष्ट इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज माघ ११ गते बिहीबार अन्तिम दिन हो । साधारण सभा प्रयोजनका लागि माघ १४ गते बुक क्लोज गर्ने भएको छ । माघ १२ र १३ गते क्रमाशः शुक्रबार र शनिबार परेकाछन् । त्यसैले यी दुई दिन सेयर कारोबार हुँदैन ।

    पुवाखोला–वान हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

    काठमाडौं ।पुवाखोला–वान हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रयोजनका लागि लक्ष्मी सनराइज क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । यी दुई कम्पनीबीच भएको सम्झौतापत्रमा पुवाखोला–वान हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक कदम केसी तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।  कम्पनीले सर्वसाधारणका लागि प्रति सेयर १०० रुपैयाँ अंकित दरका १९ लाख ४६ हजार ६६० कित्ता साधारण सेयर निष्कासन गर्ने जनाएको छ ।

    कति छ त आज सुन-चाँदीको मूल्य ?

     काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख १८ हजार रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ भने प्रतितोला २० रुपैयाँले बढेर १४ सय रुपैयाँ कायम भएको छ ।

    लक्ष्मी सन्‌राइज बैंकद्वारा डिजिटल बैंकिङ सेवा अरेन्जएनएक्सटीको  सुरुवात

    काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकले नेपाली डिजिटल बैँकिङ्गको रूपान्तरण गर्दै लक्ष्मी सन्‌राइज बैंकले आधुनिक बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विशुद्ध डिजिटल बैंकिङ्ग सेवा अरेन्जएनएक्सटीको  थालनी गरेको छ ।

    एफ वन सफ्ट अन्तर्गतको फोनएनएक्सटीसँगको सहकार्यमा सुरु गरिएको यो सेवा नेपाली डिजिटल बैंकिङ्गको परिदृश्यको रूपान्तरणमा एक महत्वपूर्ण कदम रहेको छ ।

    अरेन्जएनएक्सटीले मोबाईल बैंकिङ्ग एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्ने देखी लिएर मुद्दती खाता, गोल बेस्ड डिपोजिटजस्ता वित्तीय व्यवस्थापनका उन्नत सुविधाहरु प्रदान गर्नेछ ।

    काँग्रेस नेता कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित

    काठमाडौं । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौला निर्वाचित भएका छन् । उनले नेकपा एमाले र राप्रपाका संयुक्त उम्मेदवार उद्धव पौडेललाई हराउँदै राष्ट्रियसभाको यात्रा पक्का गरेका हुन् । अन्यतर्फका उम्मेदवार सिटौला ५ हजार २९२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । सिटौलामा प्रतिद्वन्द्वी राप्रपाका उद्धव पौडेलले ४ हजार ५६२ मत ल्याए ।

    लुम्बिनीमा सत्ता गठबन्धनका सुवेदी र सापकोटा विजयी

    घोराही ।  राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारी विजयी भएका छन् । सत्ता गठबन्धनबाट लुम्बिनी प्रदेशमा उम्मेदवार बनेका नेकपा माओवादीका झक्कुप्रसाद सुवेदी र नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी विष्णुदेवी सापकोटा विजयी हुनुभएको छ । सुवेदी अन्यतर्फ र सापकोटा महिला कोटामा विजयी हुनुभएको हो । 

    राष्ट्रियसभा सदस्य निर्वाचन : सत्तागठबन्धनका उम्मेदवार विजयी

    सुदूरपश्चिम ।सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका बलदेव बोहरा र नारायणदत्त भट्ट र नेकपा (माओवादी केन्द्र)का रेनु चन्द विजयी हुनुभएको छ । 

    आज धनगढीमा सम्पन्न निर्वाचनमा अन्य समूहतर्फबाट बोहरा, अपाङ्गताको समूहबाट भट्ट  र महिला समूहमा चन्द विजयी हुनुभयो । 

    अन्य समूहमा बोहराले चार हजार तीन सय २८ मतभार प्राप्त गर्दा नेकपा (एमाले)का उम्मेदवार ईश्वरीप्रसाद खरेलले एक हजार छ सय ९६ मतभार प्राप्त गर्नुभयो । अपाङ्गताका समूहमा भट्टले चार हजार चार सय १९ मतभार प्राप्त गर्दा प्रत्याशी रामचन्द्र जोशीले एक हजार पाँच सय १९ मतभार प्राप्त गर्नुभयो । साथै महिला समूहमा विजयी चन्दले चार हजार चार सय ५३ र प्रत्याशी सावित्रादेवी घिमिरेले एक हजार पाँच सय ७१ मतभार पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिनुभयो ।

    भ्रष्टाचारको अभियोगमा तेह्र जनाविरुद्ध मुद्दा दायर

     

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा १३ जना विरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

    आयोगले डोल्पाको मुड्केचुला गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, डोल्पाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, इन्जिनियर देवराज रावत, सब–इन्जिनियर दिप नारायण यादवसहित आठ जनाविरुद्ध सडक निर्माणमा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतलमा आज आरोपपत्र दायर गरेको हो । 

    आयोगले सप्तरीको रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र  लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराजका ललिताकुमारी साहसमेत पाँच जनाविरुद्ध आजै आरोपपत्र दायर गरेको छ ।

    न्यूरोडका लागि पार्किङको विकल्प खोज्दै महानगर

    काठमाडौँ । काठमाडौँको प्रमुख व्यापारिक केन्द्र न्यूरोड (नयाँ सडक) क्षेत्रको सडकमा पार्किङ पूर्णतः निषेध गर्ने काठमाडौँ महानगरपालिको निर्णयले सो क्षेत्रका व्यापारी आन्दोलित भएका छन् । महानगरले बन्दै गरेको धरहरासहित सुन्धाराको सञ्चय कोष भवनलाई पार्किङको विकल्पका रूपमा लिएको छ ।

    राजधानीकै प्रमुख व्यापारिक क्षेत्रबाट पार्किङ हटेपछि सो क्षेत्रको व्यापारमा असर पर्ने भन्दै व्यापारी आन्दोलनमा उत्रिएका छन् । महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले विकल्पको रूपमा नयाँ सडक वरपरका विभिन्न स्थानमा पार्किङका लागि व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो । 

     

     
     
     
     

     

     
     
     
     
     
     
     
     
     

     

     
     

     

    प्रतिक्रिया दिनुहोस