Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  माघ १२ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू....


नया सडक

२०८०, माघ १२ शुक्रबार

  • 678
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  माघ १२ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज माघ १२ शुक्रबार ।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    बरुण इन्भेष्टमेन्टले आइपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

    काठमाडौं ।  बरुण इन्भेष्टमेन्ट लिमिटेडले २४ लाख ७५ हजार कित्ता आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा २४ करोड ७५ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न अनुमति मागेको हो । यसमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

    ‘भन्सार प्रशासनलाई मजबुत बनाउन डिजिटलाइजेशनलाई सुदृढ बनाउनुपर्ने’

    काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले भन्सार प्रशासनलाई मजबुत बनाउन डिजिटलाइजेशनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । 

    आज ७२औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा  यहाँ आयोजित एक कार्यक्रममा मन्त्री डा महतले विभिन्न प्रविधि, अन्तर्राष्ट्रिय मापदण्ड तथा असल अभ्यासको प्रयोग गर्दै अत्याधुनिक भन्सार प्रशासन निर्माणतर्फ सबैको पहल आवश्यक रहेको औँल्याउनुभएको हो । 

    “समग्र भन्सार प्रशासनलाई सुदृढ बनाई राजस्वको लक्ष्य हासिल व्यवसायको यथार्थ मूल्याङ्कनका आधारमा करको दायरमा ल्याउनुपर्छ । भन्सार क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गरी अत्याधुनिक भन्सार प्रशासन निर्माणतर्फ केन्द्रित हुन आवश्यक छ”, मन्त्री महतले भन्नुभयो ।

    मारुती सिमेन्ट्सले प्रिमियममा आइपीओ जारी गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति

    काठमाडौं । मारुती सिमेन्ट्स लिमिटेडले प्रिमियममा आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणलाई गरी कुल १ करोड १६ लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । कम्पनीले प्रमियमसहित प्रतिकित्ता २७७ रुपैयाँको दरले आइपीओ बिक्री गर्न अनुमति मागेको छ ।यसमा नबिल इन्भेष्टमेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्नेछ ।

    बाराही हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

    काठमाडौं ।  बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । यसले हकप्रद बिक्रीका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । बाराहीले १०० रुपैयाँ अंकित दरमा २५ लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

    यस वर्ष माउन्टेन इनर्जीको नाफा सामान्य घट्यो

    काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३५ करोड ६ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । कम्पनीले सार्वजनिक गरेको यस अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा यस वर्ष करिब २ प्रतिशत कम खुद नाफा भएको हो ।गत वर्षभन्दा यस वर्ष विद्युत विक्री आम्दानी पनि कम भएको छ । गत वर्ष ७४ कराड ४० लाख रूपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष ७३ करोड ५२ लाख रूपैयाँभन्दा बढी मात्र विद्युत विक्री आम्दानी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ९६ करोड ८० लाख २७ हजार रूपैयाँ रहेको कम्पनीको रिटर्न अर्निग १ अर्ब ५२ करोड १७ लाख रूपैयाँभन्दा बढी कायम भएको छ । कर्जा सापटी यस वर्ष गत वर्षभन्दा करिब ९ प्रतिशत कम भएको छ ।

    स्वदेशी कच्चा पदार्थको उद्योगमा उपयोग हुने प्राथमिकता सरकारले तय गरेको मन्त्रीको भनाइ

    काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले व्यापार घाटा कम गर्न स्वदेशी कच्चा पदार्थको उद्योगलाई प्राथमिकता दिइएको बताएका छन् । 

    पश्चिम नवलपरासीको बर्दघाटमा नमुना औद्योगिक ग्रामको शिलान्यास कार्यक्रममा मन्त्री रिजालले यस्तो बताएका हुन् । औद्योगिक ग्रामको शिलान्यास गर्दै मन्त्री रिजालले  आर्थिक विकास र रोजगारी सिजर्नाको लागि औद्योगिकरण अत्यावश्यक छ र नेपालमै उपलब्ध हुने कच्चा पदार्थबाट उत्पादन हुने उद्योगलाई सरकारले पहिलो प्राथमिकता दिने बताए । उनले  व्यापार घाटा कम गर्न बहुराष्ट्रिय कम्पनीलाई नेपालमा लगानीको वातावरण बनाउने र स्वदेशी उद्योगको प्रवर्द्धनमा यस्ता उद्योग ग्रामले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे  ।

    कुमारी बैंकको ३ हजार कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । कुमारी बैंक लिमिटेडले ३ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल, काठमाडौं र बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

    श्री डिष्टिलरीले प्रिमियममा आइपीओ जारी गर्ने

    काठमाडौं । श्री डिष्टिलरी लिमिटेडले प्रिमियम थप गरेर आइपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको छ । सभा फागुन ४ गते एभोकाडो क्याफे प्रालि, बालुवाटार, काठमाडौंमा दिउँसो २ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले प्रिमियममा आइपीओ जारी गर्ने सम्बन्धमा विशेष प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

    सपोर्ट लघुवित्तको खुद नाफा २४६.९३ प्रतिशतले बढ्यो

    काठमाडौं ।सपोर्ट लघुवित्तको खुद नाफा २४६.९३ प्रतिशतले बढेर ८६ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।। एक वर्षको अवधिमा सञ्चालन मुनाफा बढेको र खराब कर्जा घट्न जाँदा यसले खुद नाफा बढाउन सकेको हो । सञ्चालन नाफा ११३.८३ प्रतिशतले बढेर ७२ लाख ०४ हजार रुपैयाँ पुगेको छ ।

    खराब कर्जा १.९९ प्रतिशतले घटेर १.५४ प्रतिशतमा आएको छ ।  खुद ब्याज आम्दानी भने ५.३९ प्रतिशतले घटेर २ करोड ९३ लाख ८६ हजार रुपैयाँमा सीमित भएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा चुक्ता पुँजी ९ करोड ५२ लाख ३८ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १८ रुपैयाँ १५ पैसा र प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ७९ पैसा छ ।

    नेपाल पेमेन्ट सोल्युशनले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

    काठमाडौं ।  नेपाल पेमेन्ट सोल्युशन लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन कार्यका लागि लक्ष्मी सनराइज क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । यी दुई कम्पनीबीच भएको सम्झौतापत्रमा नेपाल पेमेन्ट सोल्युशनकातर्फबाट प्रमुख कार्यकारी अधिकृत लोकराज शर्मा र लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।   कम्पनीले सर्वसाधारणका लागि प्रतिसेयर १ सय रुपैयाँ अंकित दरमा ३ लाख ५ हजार ६ सय कित्ता साधारण सेयर निष्कासनको तयारी गरेको हो ।

    राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाहरूलाई कारबाही

    काठमाडौं । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा तीन वाणिज्य बैंक र ६ वित्तीय संस्थाहरू परेका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा बढी लिएको प्रिमियम ब्याज फिर्ता नगरेको, पुँजीकोष गणनाको विवरण गलत बुझाएको लगायतका शीर्षकमा ती बैंक तथा वित्तीय संस्थाहरूलाई  राष्ट्र बैंकले  कारबाही गरेको हो ।
    केन्द्रीय बैंकले दोस्रो त्रैमासिकमा  ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, प्रभु बैंक, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र रिलायन्स फाइनान्सलाई कारबाही ग¥यो नगद जरीवाना देखि सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराउने सम्मको कारबाही गरियो ।मुक्तिनाथ विकास बैंकलाई १० लाख नगद जरिवाना गरिएको छ ।

    कति छ त आज सुन-चाँदीको मूल्य ?

     काठमाडौं ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम रहेको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ निर्धारण भएको छ ।शुक्रबार चाँदीको भाउ प्रतितोला १४ सय रुपैयाँ कायम छ ।

    इमेज बचत तथा ऋण सहकारी संस्थाको कोषाध्यक्ष लक्ष्मी सेन सुनार पक्राउ, मेयरसमेत रहेका अध्यक्ष समात्न रेड कर्नर नोटिस जारी

    काठमाडौं । प्रहरीले बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाको कोषाध्यक्ष लक्ष्मी सेन सुनार पक्राउ गरेको छ । उनलाई ललितपुरबाट पक्राउ गरिएको  नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता तथा सूचना अधिकारी नवराज अधिकारीले जानकारी सार्वजनिक गरेका हुन् ।
    प्रवक्ता तथा सूचना अधिकारी नवराजले जनाए अनुसार बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा सरिता तिमल्सेना (कँडेल)सहितको संयुक्तरुपमा सहकारीका सञ्चालक समितिका अध्यक्ष देवकुमार नेपालीसमेत ८ जना विरुद्ध जाहेरी परेको थियो।

    सडक व्यापार व्यवसायी सङ्घर्ष समितिले महानगरविरुद्ध चरणबद्ध आन्दोलन गर्ने

    काठमाडौँ ।  संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी सङ्घर्ष समितिले सातबुँदे माग राख्दै काठमाडौँ महानगरपालिकाविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको छ । आज यहाँ पत्रकार सम्मेलन गर्दै सङ्घर्ष समितिले यही माघ १५ देखि २८ गतेसम्म चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको हो ।

     

    समितिका अनुसार यही माघ १५ गतेदेखि कामपालाई ज्ञापनपत्र बुझाउने, माघ १६ मा जनप्रदर्शनसहित महानगरपालिका कार्यालयमा धर्ना तथा घेराउ गर्ने, माघ १७ मा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको समितिमा आवद्ध नेपाल स्वरोजगार व्यापार श्रमिक सङ्घका अध्यक्ष माया गुरुङले जानकारी दिनुभयो ।

    आधुनिक जुवाघर क्यासिनोहरूले  जरिवाना समेतगरी  पौने अर्ब जति शुल्क बुझाएर चालु, कतिपय भए बन्द 

    काठमाडौं । आधुनिक जुवाघर क्यासिनोहरूले पौने अर्ब जति शुल्क सञ्चालनमा रहेका छन् भने कतिपय बन्द भएका छन् । चालु आर्थिक वर्षको ६ महिनामा सञ्चालनमा रहेका क्यासिनोहरूले रोयल्टी, नवीकरण र जरिवाना शुल्कबापत गरी ७४ करोड ५८ लाख ७५ हजार रकम राजस्व बुझाएका हुन् ।

    पर्यटन विभागले जनाए  अनुसार सञ्चालनमा रहेका २६ वटा क्यासिनोहरूले बिहीबारसम्म ७४ करोड ५८ लाख ७५ हजार रुपैयाँ राजस्व बुझाए । क्यासिनोहरूले रोयल्टी र थप शुल्कबापत ५७ करोड ६५ लाख र नवीकरण शुल्कबापत १६ करोड ९ लाख ५० हजार रुपैयाँ राजस्व उठाएको विभागले जनाएको छ । तर, बक्यौता विवादका कारण ८ वटा क्यासिनो लामो समयदेखि नवीकरण बिना नै सञ्चालन भइरहेका छन् । तर  ४ वटा क्यासिनो पूर्णरूपमा बन्द भएका छन् ।

    २९ हप्तामा जन्मेको शिशुको आँखाको शल्यक्रिया ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ सफल

    काठमाडौँ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ (एलएसभी) पद्धतिबाट गरिएको जटिल प्रकारको आँखाको शल्यक्रिया सफल भएको छ ।  सो अस्पतालमा यसप्रकारको शल्यक्रिया पहिलोपटक गरिएको हो । यस्ता जटिल शल्यक्रिया नेपालमा विरलै हुने बताइएको छ । 

     

    नवजात शिशुको ‘रेटिनोप्याथी अफ प्रि मेच्योरिटी’ (आरओपी)का कारण आँखामा रगत जमेर पर्दा तानिएको एवं आँखामा रगत जाने नसाको अविकसित अवस्थामा एलएसभी गरिन्छ ।  विगतमा यस्तो आँखाको उपचार गर्न भारत जानुपर्ने अवस्था रहिआएको जनाइएको छ । 

    मुग्लिन पोखरा सडक : पश्चिम खण्डमा ‘अस्फाल्ट प्रविधि’द्वारा कालोपत्र सुरु

    दमौली ।  मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पश्चिम खण्डमा कालोपत्र सुरु भएको छ । मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड)ले जामुने–पोखराअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीबाट कालोपत्र थालनी गरेको हो ।

     

    पहिलो दिन बिहीबार चार सय २० मिटर एकतर्फी सडक कालोपत्र भएको पश्चिम खण्डका इञ्जिनियर एवं सूचना अधिकारी नारायण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार फागुनको अन्तिमसम्म एकतर्फीरुपमा पाँच किलोमिटर खण्ड कालोपत्र गर्ने लक्ष्य छ । 

     
     
     

     

     
     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस