Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नयाँसडक बुलेटिन :यस्ता छन्  माघ १५ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू....


नया सडक

२०८०, माघ १५ सोमबार

  • 717
    Shares

  • नयाँसडक बुलेटिन :यस्ता  छन्  माघ १५ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज माघ १५ सोमबार ।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    एनसेलको शेयर खरिदबिक्री अध्ययन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

    काठमाडौँ ।  निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद–बिक्री सम्बन्धमा अध्ययन गर्न गठित छानबिन समितिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष सिंहदरवारमा प्रतिवेदन पेस गरेको छ । 

     

    आज सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको उपस्थितिमा समितिका संयोजक टङ्कमणि शर्मा दङ्गालले उक्त प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस गर्नुभयो । सरकारले गत मङ्सिर २१ गते एनसेलको शेयर खरिद बिक्रीको निर्णयका सम्बन्धमा प्रचलित कानुनको परिपालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीको सम्बन्धमा पर्न सक्ने असरलगायत विषयमा छानबिन गर्न पूर्वमहालेखापरीक्षक शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो ।

    श्वेत गङ्गा हाइड्रोपावरमा रहेको विदेशी लगानीकर्ताको लक इन पिरियड फागुन २ गते सकिँदै

    काठमाडौँ । श्वेत गङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको लक इन पिरियड यही आउने फागुन २ गते सकिने भएको छ।''धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३' को नियम ३८ को उपनियम (१) र (१क) बमोजिम उक्त शेयरधनी संस्थाको नाममा रहेको कम्पनीको प्रति शेयर रू. १००/- दरका ३८,५१,००० कित्ता शेयर खरिद बिक्री वा हस्तान्तरण वा लेनदेन गर्न नसक्ने गरी रोक्का रहेको एक वर्षको लक इन (Lock In) अवधि मिति २०८०/११/०२ बाट समाप्त हुने ब्यहोरा लगानीकर्ता संस्था तथा अन्य सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,' कम्पनीले जारी गरेको सूचनामा भनिएको छ।

    शेयर बजार :  १०.२६ अंकले बढेर नेप्से २१०४.७२ विन्दुमा ,  ४ अर्ब ५६ करोडको कारोबार

    काठमाडौं । आज नेप्से १०.२६ अंकले बढेर  २१०४.७२ विन्दुमा आएको छ । आज  ४ अर्ब ५६ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । ३ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये १० वटा समूह बढेको छ । 
    यस दिन ३११ कम्पनीको १ करोड २३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६० करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र हाथवे इन्भेष्टमेन्ट नेपाल परेका छन् ।

    रिलायन्स स्पिनिङ मिल्सको कट अफ प्राइस नै ९१२ रुपैयाँ हुने

    काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले बुक बिल्डिङ प्रक्रिया मार्फत माघ १० गतेदेखि निष्कासन खुला गरेको शेयरको कट अफ प्राइस ९ सय १२ रुपैयाँ हुने भएको छ। सोमबार नेपाल स्टक एक्सचेन्जमा खोलिएको बोलकबोल पत्रहरूका अनुसार उक्त मूल्य हुने भएको हो।कम्पनीले ७ लाख ७० हजार ६ सय ४० कित्ताको लागि आवेदन माग गरेकोमा ११ लाख भन्दा बढीको शेयर माग हुन आएको छ। जसमा ९ सय १२ रुपैयाँमा नै आवेदन दिने प्रारम्भिक नतिजामा देखिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

    दोस्रो त्रैमाससम्म बाराही हाइड्रोपावर १२ लाखभन्दा बढी नोक्सानीमा

    काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेड चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १२ लाख ३० हजार रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । 

    गत वर्षको यसै अवधिसम्म ५५ लाख ६८ हजार रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष नोक्सानी कम गरेको हो । यस वर्ष कम्पनीकोे वित्तीय खर्च कम भएसँगै नाफामा प्रभाव परेको हो । गत वर्ष १ करोड ४० लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष १ करोड २१ लाख रुपैयाँभन्दा बढी मात्र वित्तीय खर्च गरेको हो ।

    एनसेल सेयर खरिद–बिक्री प्रकरण : छानबिन समितिले तयार पार्यो प्रतिवेदन, प्रधानमन्त्रीलाई बुझाउने तयारी

    काठमाडौं । एनसेलको सेयर खरिद–बिक्रीबारे छानबिन गर्न गठन भएको उच्चस्तरीय छानबिन समितिले प्रतिवेदन तयार पारेको छ । सरकारले गत मंसिर २१ गते गठन गरेको ५ सदस्यीय छानबिन समितिले आफ्नो प्रतिवेदन तयार पारेसँगै सोमबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउन लागेको हो ।

    करिब २ महिना लामो छानबिन र अध्ययनपछि सो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउन लागिएको हो । सरकारी प्रक्रिया पूरा नगरी दूरसञ्चार प्राधिकरणलाई समेत जानकारी नदिई एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्रीमा चलखेल भएको भन्दै सरकारले उच्चस्तरीय छानबिन समिति बनाएको थियो ।

    एचआइडीसीएलको खुद नाफा ११.४१ प्रतिशतले बढ्यो

    काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल)को खुद नाफा बढेको छ । यसअवधिमा खुद नाफा ११.४१ प्रतिशतले बढेर ७५ करोड २७ लाख ३० हजार रुपैयाँ पुगेको छ । 
    एक वर्षको अवधिमा आम्दानी बढ्दा खुद नाफा बढेको हो । यसअवधिमा सञ्चालन आम्दानी १८१.६२ प्रतिशतले बढेर १ करोड २३ लाख ४९ हजार रुपैयाँ पुगेको छ । वित्तीय आम्दानी ४।६२ प्रतिशतले बढेर १ अर्ब ७ करोड ७५ लाख ४५ हजार रुपैयाँ पुगेको छ ।अन्य स्रोतबाट हुने आम्दानी यो वर्ष २ करोड ११ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।पुस मसान्तसम्म आइपुग्दा एचआइडीसीएलको चुक्ता पुँजी २२ अर्ब ७७ करोड ५७ लाख ९९ हजार रुपैयाँ पुगेको छ । जगेडा कोषमा १ अर्ब ८९ करोड ७ लाख ६० हजार रुपैयाँ छ । नाफासँगै प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ ।

    गार्डियन माइक्रो लाइफ इन्सुरेन्सले आइपीओ निष्कासन गर्ने,  साधारण सभा  फागुन ६ गते

    काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्सुरेन्सले आइपीओ जारी गर्ने प्रस्तावसहित फागुन ६ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा होटल एयरपोर्ट, बिराटनगर मोरङमा अपरान्ह १ बजेबाट सुरु हुनेछ । सभामा यस कम्पनीले सर्वसाधारणलाई आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन र नाफा नोक्सान सम्बन्धी विषयमा छलफल गर्ने प्रस्ताव छ ।

    सानिमा क्यापिटलका ३ वटै म्युचुअल फन्डको न्याभ बढ्यो

    काठमाडौं ।   सानिमा इक्विटी फन्डको पुस महिनामा प्रतिइकाई खुद सम्पति मूल्य ९न्याभ० ४१ पैसाले बढेर ११ रुपैयाँ ४३ पैसा कायम भएको छ । मंसिर मसान्तमा यस फन्डको न्याभ ११ रुपैयाँ ०२ पैसा रहेको थियो । फन्डको सूचीकृत सेयरमा रहेको लगानी पनि बढेर १ अर्ब ८ करोड ३० लाख रुपैयाँ कायम भएको छ । मंसिरमा यसले सूचीकृत सेयरमा १ अर्ब ७ करोड ४८ लाख रुपैयाँ लगानी गरेको थियो । यस फन्डको बैंक मौज्दात पनि बढेको छ । यसअवधिमा यसको बैंक मौज्दात ६ करोड २६ लाख रुपैयाँ छ । मंसिरमा यसको बैंक मौज्दातमा ३ करोड १२ लाख रुपैयाँ रहेको थियो । यस अवधिमा फन्डले विभिन्न म्युचुअल फन्डसहित १०२ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । पुस मसान्तसम्म इक्विटी फन्ड कुल १ करोड ८७ लाख रुपैयाँ नाफामा रहेको छ ।

    सङ्घीय सरकारले तीन करोडभन्दा कमका योजनामा लगानी गर्दैन : प्रधानमन्त्री

    पर्सा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सङ्घ सरकारले रु तीन करोडभन्दा कमका योजनामा लगानी नगर्ने घोषणा गर्नुभएको छ । उहाँले सङ्घ, प्रदेश र स्थानीय तहबीच हुने योजनाको दोहोरोपनलाई रोक्न र जनतालाई विकासको प्रत्यक्ष अनुभूति गराउनका लागि रु तीन करोडभन्दा माथिको योजनामा मात्रै सङ्घीय सरकारले लगानी गर्ने बताउनुभयो ।

    सहूलियतपूर्ण कर्जा उपलब्ध गराउने लक्ष्यसहित ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८०’ जारी

    नेपालगन्ज– कैलाश मानसरोवर सिधा उडान सुरु

    नेपालगन्ज  । लामो समयको प्रयासपछि नेपालगन्जबाट कैलाश मानसरोवर सिधा उडान सुरु भएको छ । श्री एयरलाइन्सको चार्टर विमानबाट सेवा प्रारम्भ भएको हो ।

    भारतको दिल्ली, मुम्बइ, गुजरात, उत्तरप्रदेशलगायत स्थानबाट नेपालगञ्ज आएका ३८ जना भारतीय पर्यटकलाई लिएर चार्टर विमान कैलाश मानसरोवरतर्फ प्रस्थान गरेको सिद्धार्थ बिजनेश ग्रुपका क्षेत्रीय निर्देशक केशव न्यौपानेले  बताए ।

    नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा पक्राउ

    काठमाडौँ । अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका–२ घर भई काठमाडौँ महानगरपालिका–२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ । 

        

    खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको केवाइसी विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्यलाई चेक दिइ दुरुपयोग गरेको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीउपर बैंकिङ कसुर सजाय ऐन, २०६४ बमोजिम प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।   

    रायनएयरको त्रैमासिक नाफामा ९३ प्रतिशतले कमी

    लण्डन । आयरल्याण्डको सस्तो एयरलाइन्स कम्पनी (रायनएयर)ले इन्धनको उच्च लागतका कारण खुद नाफामा ९३ प्रतिशतले गिरावट आएको सोमबार जनाएको छ  ।

    सन् २०२३ को अन्तिम तीन महिनामा अघिल्लो वर्षको तुलनामा एक करोड ४८ लाख युरो (एक करोड ६० लाख अमेरिकी डलर) खुद नाफा घटेको निगमले जनाएको छ ।

    कम्पनीका प्रमुख कार्यकारी माइकल ओलेरीले रायनएयरले वार्षिक खुद नाफा एक अर्ब ८५ करोड र एक अर्ब ९५ करोड युरोमा सीमित हुने बताउनुभएको छ । 

    कम्पनीले आफ्नो नाफा १.८५ अर्बदेखि २.०५ अर्ब यूरोको बीचमा रहने अनुमान गरेको थियो ।

    “यो मार्गदर्शन र पूर्ण वर्षको परिणाम समूहको वर्तमान चौथो त्रैमासिकमा अप्रत्याशित प्रतिकूल घटनाहरूबाट बच्नमा धेरै निर्भर रहन्छ,” ओलेरीले आय विवरणमा थप्नुभयो ।

    विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने

    काठमाडौँ ।  विज्ञापन बोर्डले सार्वजनिकस्थानमा राखिने होडिङबोर्ड र सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण हुने विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने जनाएको छ । 

     

    बोर्डले आज आयोजना गरेको ‘विज्ञापनमा कलाकारहरुको भूमिका’ विषयक छलफल कार्यक्रममा बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ जारी भएपछि यस क्षेत्रलाई नियमन र व्यवस्थित गरिएको बताउनुभयो । उहाँले विज्ञापनमा स्वदेशी कलाकारलाई प्रोत्साहन दिन त्यस्तो प्रबन्ध गरिएको भन्दै सार्वजनिकस्थानमा राखिने होडिङबोर्ड तथा सञ्चारमाध्यममा प्रकाशन, प्रसारण हुने विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने जानकारी दिनुभयो ।

    धनुषामा भन्सार छलीका सामान बरामद

    गोदार (धनुषा) ।  भारतबाट अवैधरुपमा भन्सार छली गरेर नेपाल ल्याउँदै गरेको रु सात लाख ५७ हजार बराबरको खाद्यान्न, लत्ताकपडा, हार्डवेयरका सामानसहित मोटरसाइकल धनुषा प्रहरीले बरामद गरेको छ ।

     

    भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याएको किराना सामान, प्याज, खुर्सानी, कपडा र हार्डवेयरका सामान आइतबार प्रहरीले बरामद गरेको हो ।

     

    सामान ओसारपसारमा प्रयोग गरिएका तीन मोटरसाइकलसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवालेले जानकारी दिए ।  बरामद गरिएको सामान र मोटरसाइकल भन्सार कार्यालय जनकपुरलाई बुझाइएको प्रहरीले जनाएको छ । (रासस) 

     

     

     

     

     

     

     

     

     

     

     

     

     
     

     

    प्रतिक्रिया दिनुहोस