Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् माघ १६ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८०, माघ १६ मंगलबार

  • 651
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् माघ १६ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज माघ १६ मंगलबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    शेयर बजार : १४.८८ अंकले बढेर नेप्से २११९.६१ विन्दुमा , ५ अर्ब ५४ करोडको कारोबार

    काठमाडौं । आज नेप्से १४.८८ अंकले बढेर २११९.६१ विन्दुमा आएको छ ।आज  ५ अर्ब ५४ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ९ वटा समूह बढेका छन् । 
    यस दिन ३०८ कम्पनीको १ करोड ५१ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७५ करोड २७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र नेपाल पुनर्बिमा कम्पनी परेका छन् ।

    लक्ष्मी टेक्नो प्लाष्टले प्रिमियममा आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एसबीआई मर्चेन्ट

    काठमाडौं । लक्ष्मी टेक्नो प्लाष्टले प्रिमियममा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा प्रिमियम थप गरेर १४ लाख कित्ता आइपीओ जारी गर्ने भएको हो । आइपीओ निष्कासनका लागि यस कम्पनीले नेपाल एसबीआई मर्चेन्टलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

    यसका लागि सोमबार दुई कम्पनीबीच सम्झौता भएको छ । उक्त सम्झौतामा लक्ष्मी टेक्नो प्लाष्टका तर्फबाट प्रबन्ध निर्देशक अंजनी नन्दन मारु र नेपाल एसबिआई मर्चेन्टका तर्फबाट  प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका हुन् ।

    रंगुन खोला हाइड्रोपावरले आइपीओ जारी गर्ने 

    काठमाडौ ।  रंगुन खोला हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने प्रस्ताव सहित फागुन ९ गते वार्षिक साधारण सभा बोलाएको छ । यस कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो। सभा कम्पनीको रजिष्टर्ड कार्यालय, सुकेधारा काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा यस कम्पनीले सर्वसाधारणलाई आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

    नेपाल पुनर्बिमा कम्पनीको २० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं ।  नेपाल पुनर्बिमा कम्पनीले आज (माघ १६ गते)देखि हिमालयन एभरेष्ट इन्सुरेन्सको स्वामित्वमा रहेको २० लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । यसमा अब जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

    यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो । सेयर खरिद गर्न इच्छुकले १५ दिनभित्र आवश्यक कागजपत्रसहित थापागाँउ स्थित कार्यालयमा निवेदन दिनुपर्नेछ । आवेदकले आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाएर आवेदन दिनुपर्नेछ ।

    राष्ट्र बैंकले तरलताको व्यवस्थापन गर्न २० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने 

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न २० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । आज मंगलबार माघ १६ गते उक्त निक्षेप संकलन उपकरणको बोलकबोलन हुने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् २० अर्ब रुपैयाँ तान्ने लागेको हो ।
    इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।

    आज एनआइबीएल स्टेबल फन्डमा आवेदन दिने अन्तिम दिन

    काठमाडौं ।  एनआइबीएल स्टेबल फन्डमा आवेदन दिने आज माघ १६ गते मंगलबार अन्तिम दिन हो । लगानीकर्ताले यसमा आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् । एनआइएमबी एस क्यापिटलले माघ २ गतेदेखि फन्डको १० करोड इकाई बिक्री खुला गरेको हो ।

    जसमध्ये १० लाख इकाई योजना व्यवस्थापक एनआइएमबी एस क्यापिटललाई छुट्याइएको छ ।  १ करोड ४० लाख इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सुरक्षित गरेको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । यो बन्दमुखी योजना हो । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।

    राजमार्गमा हुने चेकिङ विश्रामस्थलमा मात्र गर्न यातायात व्यवसायीहरूको सुझाव

    काठमाडौं । यातायात व्यवसायीहरूले बढ्दो दुर्घटना कम गर्न  राजमार्गमा हुने चेकिङ विश्रामस्थलमा मात्र गर्न सुझाव दिएका छन् ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मंगलबार प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई यस्तो सुझाव दिएको हो । नेपाल प्रहरी र ट्राफिक प्रहरीले  एउटै प्रदेश र जिल्लामा सञ्चालित सार्वजनिक सवारीसाधनलाई पटक–पटक जाँच गर्दा द्वन्द्वकालको जस्तो अनुभूति हुने र चालक तथा परिचालकले मानसिक तनाव भोग्नुपरेको संघका अगुवा व्यवसायीहरूले बताए।

    क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा इलामबाट एक युवक पक्राउ

    काठमाडौं ।  प्रहरीले क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा इलामबाट एक युवकलाई पक्राउ गरेको छ ।

    उपत्यका अपराध अनुसन्धान कार्यालयले ताप्लेजुङबाट फर्किदै गरेका ३२ वर्षका डम्बबहादुर शाहलाई इलामबाट पक्राउ गरेको  जनाएको हो ।

    उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले क्यास एपमार्फत उनले २ वर्षमा १ अर्ब ४९ करोडको कारोबार गरेको देखिएको  जानकारी सार्वजनिक गरेका हुन् ।

    अटोमोबाइल क्षेत्र गतिशील बनाउन सरकारलाई उद्योगी व्यापारीको १७ बुँदे सुझाव

    काठमाडौं । सवारी साधन(अटोमोबाइल) क्षेत्रको समस्या हटाइ गतिशील बनाउन व्यापारीहरूले सरकारसँग आग्रह गरेका छन् ।नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमो एक प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेटेर छलफलको क्रममा यस्तो आग्रह गरेको हो ।

    सो छलफलका क्रममा नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले नेपालको अटोमोबाइल व्यवसायको समस्या समाधान गरी गतिशील बनाउन नाडाको तर्फबाट एक १७ बुँदे नीतिगत सुझावहरु समेत प्रस्तुत गरिएको कुरो सार्वजनिक गरे । अर्थमन्त्री महतले नाडाकोतर्फबाट राखिएका नीतिगत सुझावहरुबारे  सरकारले आवश्यक पहल गर्ने विश्वास दिलाए ।

    कति छ त आज सुन-चाँदीको मूल्य ?

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख १८ हजार ६०० रुपैयाँ कायम भएको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ५० रुपैयाँ निर्धारण भएको छ । 
    आज चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १४ सय २० रुपैयाँ कायम भएको छ ।

    तेस्रो लगानी सम्मेलनको नाम र लोगो टुङ्गो लाग्यो

    काठमाडौँ ।  आगामी वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको नाम र लोगो टुङ्गो लागेको छ । सम्मेलनलाई ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नाम दिइएको सम्मेलन सचिवालयले जनाएको छ ।

    लगानी सम्मेलन निर्देशक समितिको दोस्रो बैठकले लगानी सम्मेलनको लोगो टुङ्गो लगाएको सचिवालय सहसचिव एवम् लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी  दिए । लगानी सम्मेलन आयोजना गर्नका लागि सरकारले अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति, मुख्य सचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा प्राविधिक समिति रहेको छ ।

    लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा लगानी सम्मेलन सचिवालय रहेको छ । लगानी सम्मेलनका लागि कानुनी सुधारको सिफारिस गर्न गठित कार्यदलले विभिन्न एक दर्जन ऐन तथा नियमावली संशोधन गर्न सिफारिस गरेको छ ।

    उद्योग दर्ता हुने क्रम न्यून र बन्द हुने तथा बिक्री हुने क्रम तीव्र , एक सय ४० वटा उद्योग बन्द

    काठमाडौं । घरेलु तथा साना उद्योग कार्यालय चितवनमा दर्ता भई सञ्चालनमा रहँदै आएका एक सय ४० वटा उद्योग बन्द भएका छन् । कार्यालयका अनुसार चालु आवमा ती उद्योग बन्द गर्नका लागि कार्यालयमा निवेदन परेको हो ।

    कार्यालयका सूचना अधिकारी नारायणप्रसाद खनालका अनुसार ३१ वटा उत्पादनमूलक, ५५ वटा कृषि तथा वनजन्य, २० वटा पर्यटनमूलक र ३४ वटा सेवामूलक उद्योग बन्द भएका छन् । सोही समयमा ४० वटा उद्योगले नामसारी गरेका छन् । खरिदबिक्रीपछि नाम सारी गरिएको उनले बताए । ११ वटा उद्योगले ठाउँसारी गरेका छन् ।

    चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा दुई सय ५८ वटा उद्योग दर्ता भएका छन् । साना उद्योगतर्फ ती फर्महरु दर्ता भएका हुन् । गत वर्षको तुलनामा यस वर्ष उद्योग दर्ता हुने क्रम न्यून र बन्द हुने तथा बिक्री हुने क्रम तीव्र भएको पाइएको उनले बताए ।

    स्वास्थ्य बिमा बोर्डका निर्देशकलाई बर्खास्त गर्ने सरकारको निर्णय

    काठमाडौं ।  सरकारले स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई बर्खास्त गर्ने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको सिफारिसमा माघ ९ गते बसेको मन्त्रीपरिषद् बैठकले बसौलालाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

    स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सर्वोच्च अदालतको आदेश विपरीत बसौलालाई हटाउनका लागि पुस २४ मा मन्त्रीपरिषदमा सिफारिस गरेका थिए । सोही सिफारिस अनुसार उनलाई हटाइएको हो ।यसअघि निर्देशक डा।बसौलालाई सर्वोच्च अदालतले पुस ६ गते अन्तरिम आदेश जारी गरी निलम्वन नगर्न आदेश दिएको थियो ।

    पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैधानिक संरचना हटाउन निर्देशन

    काठमाडौँ ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैधानिक संरचना हटाउन निर्देशन दिनुभएको छ ।
          
    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको पशुपति क्षेत्र विकास कोषको बोर्ड बैठकमा मन्त्री किरातीले कोषको जग्गामा गैरकानुनी रूपमा सञ्चालन भएका व्यावसायिक संरचना तत्काल हटाउन  निर्देशन  दिनुभएको हो ।

    पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय

    पाकिस्तान । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र पाकिस्तान तहरीक–ए–इन्साफ पार्टी (पीटीआई)का नेता शाह महमूद कुरैशीलाई १० वर्षको जेल सजाय हुने भएको छ । मंगलबार रावलपिंडीको विशेष अदालतका न्यायाधीशले अदियाला जेलमा खानलाई साइफर मुद्दामा १० वर्षको कैदको फैसला सुनाएका हुन् ।

    भ्रष्टाचार सूचकाङ्कमा नेपालको सुधार , नेपाल ३५ अंकसहित १०८ औं स्थानमा

    काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अनुभूति सूचकाङ्क (करप्सन पर्सेप्सन इन्डेक्स)मा नेपालले गत वर्षको भन्दा केही सुधार गर्दै ३५ अङ्कसहित एक सय आठौँ स्थानमा देखिएको छ ।

     

    नेपालले भ्रष्टाचार सूचकाङ्कमा गत वर्षको भन्दा एक अङ्क सुधार गरेको छ । गत वर्ष अर्थात् सन् २०२२ मा नेपाल ३४ अङ्कसहित एक सय १०औँ स्थानमा थियो । त्यस्तै, सन् २०२१ मा ३३ अङ्कसहित एक सय १७औँ स्थानमा थियो ।

    स्वरोजगार लघुवित्तको बोनस सेयर घोषणा

    काठमाडौं ।  स्वरोजगार लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ७% बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र स्वरोजगारको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । 

     

     

     

     


         

     

     
     
     
     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     
     

     

     
     
     

     

     

    प्रतिक्रिया दिनुहोस