Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

तस्करीको पैसा शुद्ध बनाउने वासिङ मेसिन बन्दै गएका क्यासिनोहरू


नया सडक

२०८०, माघ २० शनिबार

  • 1.2k
    Shares

  • तस्करीको पैसा शुद्ध बनाउने वासिङ मेसिन बन्दै गएका क्यासिनोहरू

    कठमाडौं । क्यासिनोहरू तस्करीको पैसा शुद्ध बनाउने वासिङ मेसिन बन्दै अनुसन्धानकर्ताहरूको बुझाइ छ ।  प्रहरीले क्यासिनोमा हुने अवैध आर्थिक अपराधको अनुसन्धान थालेको हो । क्यासिनोभित्र अनलाइन बेटिङदेखि सुन तस्करीको पैसाको कारोबारसमेत हुने गरेको हालका अनुसन्धानमा देखाएको छ । 

    काठमाडौंको दरबारमार्गस्थित क्यासिनो प्यालेसमा काठमाडौं प्रहरीले बिहीबार छापा हानेको थियो । अनलाइन बेटिङलगायत अवैध गतिविधि सञ्चालन गरेको अभियोगमा सञ्चालकसहित तीनजनालाई पक्राउ गरिएको थियो । पक्राउ पर्नेहरूमा भारतको पञ्जाबका रिसव पावा, गुलाव सिंह र गौरव सिंह रहेका छन् । 

    उनीहरूबाट एक करोड आठ लाख चार सय ४५ रुपैयाँबराबर विभिन्न देशका मुद्रासमेत बरामद भएको काठमाडौं परिसरले जानकारी सार्वजनिक गरेको छ । पक्राउ परेकामध्ये पावा क्यासिनो सञ्चालक हुन् ।  क्यासिनोबाट अवैध अनलाइन जुवा खेलाउने विद्युतीय उपकरणहरूसमेत प्रहरीले नियन्त्रणमा लिएको थियो ।क्यासिनोबाट अनुमतिबिना ठूलो मात्रामा विदेशी मुद्राको कारोबार गरिएको पाइयो ।  नेपाल राष्ट्र बैंक ऐन २०५८ को अपराध गरेकोमा पनि अनुसन्धान सुरु गरिएको छ । 

    यसअघि ठमेलस्थित क्यासिनो वाल्डोमा सुन तस्करीको पैसा शुद्धीकरण गरेर मकाउ पठाइएको खुलेको थियो  । सुन तस्करीमा पक्राउ परेका एलेक्स भनिने यावो पुचेङले १३ करोड रुपैयाँबराबरको हारजित भएको जनाउँदै सुन कारोबारको रकम आफूले सोही क्यासिनोमार्फत क्यासिनोको सहयोगमा मकाउ पठाएको  स्वीकारेका थिए । सो क्यासिनो हङकङका व्यापारीले सञ्चालन गर्दै आएका छन् । उनीहरूको मकाउमा पनि क्यासिनो छ ।  क्यासिनोको नेपालमा उनीहरूले आफ्नो ब्यालेन्स देखाई मकाउबाट निकाल्ने गरेको पाइएको छ ।

    नेपालको कानुनअनुसार क्यासिनोमा विदेशीले मात्र जुवा खेल्न पाउने भएपनि नेपालीलाई पनि जुवा खेलाउने गरेकोमा क्यासिनो विवादमा पर्दै आएको छ ।  यसैक्रममा नागपोखरीस्थित डेल्टन क्यासिनोले नेपाली नागरिकलाई नक्कली भारतीय परिचयपत्र बनाएर जुवा खेलाउने गरेको दुई महिनाअघि खुलेको थियो ।  प्रहरीले छापा हानी त्यहाँबाट नेपालीलाई पक्राउ गरेको थियो । 

    प्रतिक्रिया दिनुहोस