Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

निर्माणाधीन रङ्गशालाको ७० प्रतिशत लागत बागमती प्रदेश सरकारले बेहोर्ने


नया सडक

२०८०, माघ २३ मंगलबार

  • 624
    Shares

  • निर्माणाधीन रङ्गशालाको ७० प्रतिशत लागत बागमती प्रदेश सरकारले बेहोर्ने

     

    हेटौँडा । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको ७० प्रतिशत खर्च बागमती प्रदेश सरकारले बेहोर्ने भएको छ । 

     

    आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले रङ्गशाला निर्माणका लागि भरतपुर महानगरसँगको सम्झौताअनुसारको स्रोत सुनिश्चितता गर्ने निर्णय गरेको हो ।

     

    बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले महानगरपालिकासँगको सम्झौताअनुसार प्रदेश सरकारले रङ्गशालाका लागि रु ५२ करोड ५० लाखको स्रोत सुनिश्चितता गरेको जानकारी दिनुभयो । गत कात्तिक २१ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा सो रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले तयार गरेको रु ७५ करोडको लागत अनुमानमा प्रदेश सरकारले ७० र महानगरपालिकाले ३० प्रतिशत लागत बेहोर्ने सम्झौता भएको थियो । 

     

    महानगरपालिकाले तयार पारेको पहिलो चरणको लागत अनुमानको प्रस्तावअनुसार १० हजार दर्शक अट्ने प्याराफिट र  क्रिकेट मैदान निर्माण गर्ने निर्णय भएको मुख्यमन्त्री जम्कट्टेलले बताउनुभयो । बैठकले भरतपुर महानगरपालिकालाई रङ्गशाला निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाउन समेत आग्रह गरेको छ । 

     

    आजको बैठकले राष्ट्रिय योजना आयोगले माग गरेअनुसार सङ्घीय समपूरक र विशेष अनुदानका लागि योजना सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले समपूरक र विशेष अनुदानका लागि १०र१० वटा योजना सिफारिस गर्ने निर्णय गरेको हो । 

     

    बैठकले अघिल्लो आर्थिक वर्षमा निर्माण सम्पन्न भइ भुक्तानी  बाँकी आयोजनाको भुक्तानी दिने पनि निर्णय गरेको छ ।  मुख्यमन्त्री जम्कट्टेलका अनुसार केही प्रक्रियाहरु पूरा गर्नु परेका कारण निर्माण सम्पन्न भए पनि भुक्तानीमा ढिलाइ भएको र हाल भुक्तानीको  प्रक्रिया बढाइएको हो ।

    प्रतिक्रिया दिनुहोस