Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् मंसिर ७ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८१, मंसिर ७ शुक्रबार

  • 87
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् मंसिर ७ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज मंसिर ७ शुक्रबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश

    काठमाडौँ । सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई पनि समावेश गरेको छ । 

     

    बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको सदस्यमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्दप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाललाई थप गरेको हो । 

     

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा थप गरिएका सदस्यहरुलाई नियुक्ति पत्र र कार्यदेश प्रदान गर्नुभयो । अर्थमन्त्री पौडेलले नवनियुक्त सदस्यहरुलाई बधाइ दिँदै आयोग अर्थतन्त्रका समस्या पहिचान र समाधानका उपाय पहिल्याउन समक्ष हुने विश्वास व्यक्त गर्नुभयो । आयोगमा निजी क्षेत्रको सहभागिताले अपनत्व बढ्नुका साथै जिम्मेवारी पनि थपिएको बताउनुभयो ।

    ४ महिनामा ५ खर्ब १३ अर्ब रुपैयाँको आयात, साढे पाँच खर्बको वैदेशिक व्यापार

    काठमाडौं । चालु आर्जिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा ५ अर्ब १३ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ ।

     

    भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्ममा गरेको यस्तो आयात ०.१७ प्रतिशतले बढेको छ ।

    गत आर्थिक वर्षको सोही अवधिमा नेपालमा ५ खर्ब १२ अर्ब रुपैयाँको आयात भएको थियो ।यो अवधिमा नेपालले ५२ अबै ६७ करोड रुपैयाँको निर्यात गरेको छ । नेपालले गरेको यस्तो निर्यात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.१६ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा नेपालले ५० अर्ब ५६ करोड रुपैयाँको निर्यात गरेको थियो ।

    निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष ढकाल

    काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्नेमा जोड दिएका छन्।

     

    उनले नेपाली कांग्रेसले आयोजना गरेको शुक्रबारको कार्यक्रममा यो धारणा राखेका हुन्।

    सुधारको पहिलो सन्देश भनेको सबै राजनीतिक दलहरूले उद्यमी र व्यवसायीलाई प्रोत्साहन र समर्थन दिनु भएको ढकालले बताए।

    सम्पत्ति निर्माण नगरी कुनै व्यक्ति, समाज वा देश धनी बन्न नसक्ने भन्दै ढकालले कुनै ठाउँमा यदि बदमासी भए त्यसलाई नियन्त्रण गर्न सकिने तर समग्र निजी क्षेत्रको मानमर्दन गर्नुको साटो सम्मान गर्नुपर्ने बताए। व्यवसाय दर्ता, नवीकरण र राजस्व बुझाउने प्रक्रियामा एकीकृत प्रणाली ल्याउनुपर्नेमा उनले जोड दिए।

    सपोर्ट लघुवित्तको साधारण सभा पुस ६ गते , लाभांश वितरण गर्ने प्रस्ताव

    काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी पुस ६ गते दशौं वार्षिक साधारण सभा गर्ने भएको छ । साधारण सभा सुनसरीको इटहरी ४ स्थित दुर्गा पार्टी प्यालेसमा हुने कम्पनीले जनाएको छ । 

     

    सभाले १३ दशलमव ७७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै सभाले यस लघुवित्त कम्पनी र अन्य कुनै उपयुक्त लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने वा प्राप्ति गर्नेसम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

    कोष ब्यवस्थापन कम्पनीको साधारण सभा मङ्सिर २९  गते , १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

    काठमाडौं । कोष ब्यवस्थापन कम्पनी लिमिटेडले आठौं वार्षिक साधारण सभा मङ्सिर २९ गते गर्ने भएको छ ।

     

    सभा  कृषि विकास बैंकको मुख्य कार्यालयको सभाहल रामसाहपथ काठमाडौंमा बिहान ११ः३० बजे शुरु हुनेछ । 

    सभाले हाल कायम चुक्ता पूँजीको १५ दशमलव ७८९५ प्रतिशत नगद लाभांश कर सहित वितरण  गर्ने प्रस्ताव पारित गर्नेछ ।

     सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

    नेशनल हाइड्रो पावरको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

    काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त गरेको छ ।

     

    कम्पनीले मङ्सिर १६ गतेदेखि लागू हुने गरी शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटललाई नियुक्ति गरेको नेप्से मार्फत जनाएको छ ।  

    शेयर रजिष्ट्रार नियुक्ति भएसँगै कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का लगायतका सम्पूर्ण काम मुक्तिनाथ क्यापिटलले गर्ने भएको छ ।

    नेपाल राष्ट्र बैंकले ६८ करोड ५० लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपका रुपमा लगानी गर्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ६८ करोड ५० लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपका रुपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेकोे उक्त रकम मुद्दति निक्षेपका रुपमा राख्न लागि बैंकहरुसँग प्रस्ताव माग गरेको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा ५४ करोड ८० लाख , राष्ट्रियस्तरका विकास बैंकहरुमा १० करोड २७ लाख ५० हजार तथा राष्ट्रियस्तरका वित्तीय संस्थाहरुमा ३ करोड ४२ लाख ५० हजार रुपैयाँ निक्षेप जम्मा गर्ने जनाएको छ ।

    आज डिप्रोक्स लघुवित्तको संस्थापक सेयर लिलामी भर्ने  अन्तिम दिन

    काठमाडौं ।  डिप्रोक्स लघुवित्तको २५ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (मंसिर ७ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ निर्धारण गरिएको छ । आवेदनकले यही मूल्यलाई न्यूनतम आधार मानेर यही वा यसभन्दा बढी भाउ कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ । आवेदकले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

    युनाइटेड इदी मर्दीले घोषणा गर्‍यो ४.२१ प्रतिशत लाभांश

     

    काठमाडौं । युनाइटेड इदी मर्दी एन्ड आर।बि हाइड्रोपावर लिमिटेडले ४.२१ लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार (मंसिर ६ गते)बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र ०.२११ नगद लाभांश (कर तिर्न) दिने निर्णय गरेको हो । अब कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ ।कम्पनीले बोनस सेयर जारी गरे पश्चात कायम हुने पुँजीमा १०० प्रतिशत हकप्रद सेयर पनि जारी गर्ने घोषणा गरेको छ ।

    लाइफ इन्सुरेन्स कर्पोरेसन नेपालले मंसिर १२ गतेदेखि ८८.४५ प्रतिशत हकप्रद सेयर जारी गर्ने

    काठमाडौं । लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालले मंसिर १२ गतेदेखि ८८.४५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः०.८८४५ अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । यसले १ सय अंकित मूल्यमा २ अब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ ।

     

    उक्त हकप्रद सेयरका लागि एलआइसी नेपालले कात्तिक ९ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, कात्तिक ८ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयर दाबी गर्न पाउनेछन् ।

    यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको बढ्यो, कुनको घट्यो ?

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणानुसार बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलर, स्टर्लिङ पाउण्ड, क्यानेडियन डलर, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, जापानी येन, चिनियाँ युआन, कतारी रियाल, थाईभाट, मलेसियन रिङ्गेट, कुवेती दिनार, बहराइन दिनारको मूल्य बढेको छ । युरो र डेनिस क्रोनरको भने मूल्य घटेको छ ।
     
    शुक्रबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ५० पैसा निर्धारण भएको छ । यस्तै, युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ६७ पैसा कायम भएको छ ।

    विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरु विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेको बताउनुभएको छ ।

     

    नेकपा (एमाले) काठमाडौँ उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारको गठबन्धन आगामी  निर्वाचनसम्म रहने स्पष्ट गर्दै अराजकता र अस्थिरताको विपक्षमा रहेर देशमा साम्प्रदायिक सद्भाव कायम गरी आर्थिक समृद्धि ल्याउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

     

    कुनै पनि प्रकारको ठगी, तस्करी, भ्रष्टाचार, चरित्र हत्या र अश्लिलता स्वीकार्य नहुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशको अद्योगतिलाई माथि लैजान एमाले र नेपाली कांग्रेसबीच सहयात्रा भएको हो भन्नुभयो ।

    ‘निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्नु’

    काठमाडौँ ।निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा १० वटाभन्दा बढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ । 

     

    उपनिर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिताविपरीतका छिटपुट घटना भएकाप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले झण्डा र प्रचारप्रसारका सामग्री, पर्चा, साइनबोर्डको आकार, साइज, रङ तोकेकोभन्दा फरक नपार्न निर्देशन दिएको हो । प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइनबोर्ड राख्न तथा श्रव्यसामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन नगर्न पनि आयोगले सूचित गराएको छ ।

    नयाँबसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने महानगरको निर्णय पूर्ण कार्यान्वयन भएन

    काठमाडौँ । राजधानी काठमाडौँबाट उपत्यका बाहिरका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक यात्रुवाहक सवारीसाधनलाई नयाँ बसपार्कबाट सञ्चालन गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयन हुनसकेको छैन ।

     

    महानगरपालिकाले विसं २०८० जेठ १९ गते सूचना प्रकाशित गरी २०८० असार १ गतेदेखि काठमाडौँभित्रका चक्रपथ वरपरबाट उपत्यका बाहिर सञ्चालन हुँदै आएका सवारीसाधनलाई नयाँ बसपार्कबाट सञ्चालन गर्ने निर्णय गरे पनि उक्त निर्णय कार्यान्वयन हुन नसकेको हो ।

    प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान

    काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकद्वय बुद्धिराज गुरूङ र केदार ढकाललाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को यही मङ्सिर ६ गतेको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका गुरुङ र ढकाललाई आज प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

    मन्त्रिपरिषद् निर्णय : ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप

    काठमाडौँ । सरकारले पूर्वसचिव रामेश्वरप्रसाद खनालको अध्यक्षतामा गठित ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा निजी क्षेत्रबाट सदस्य थप गरेको छ । 

     

    सञ्चार तथा सूचना प्रविधि मन्त्रलायले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले निजी क्षेत्रबाट चन्द्रप्रसाद ढकाल (अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासङ्घ)राजेशकुमार अग्रवाल ९अध्यक्ष, नेपाल उद्योग परिसङ्घ० र कमलेशकुमार अग्रवाल ९अध्यक्ष, नेपाल चेम्बर अफ कमर्श० सदस्य थप गरिएको जानकारी दिनुभयो ।

    त्यसैगी सरकारले फिलिपिन्सको मनिलामा यही मङ्सिर २५ देखि २७ गतेसम्म आयोजना हुने दिगो यातायातसम्बन्धी छलफल कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने भएको छ ।

    रूसद्वारा सेनाको बदलामा उत्तर कोरियालाई तेल,एन्टी–एयर मिसाइल र आर्थिक सहयोग प्रदान :अधिकारीहरू

    सियोल । रूसले उत्तर कोरियालाई युक्रेन विरुद्ध मस्कोको युद्धलाई समर्थन गर्न पठाएको सेनाको बदलामा तेल, एन्टी–एयर मिसाइल का साथै आर्थिक सहयोग प्रदान गरेको सरकारी अधिकारीहरुले शुक्रबार जनाएका छन् । 

     

    अमेरिका र दक्षिण कोरियाले उत्तरकारियाले रूसलाई युक्रेनसँग लड्न दश हजार भन्दा बढी सैनिकहरू पठाएको दावी गरेका छन् भने विज्ञहरूले किम जोङ उन्नत प्रविधि र बदलामा आफ्नो सेनाका लागि युद्धको अनुभव प्राप्त गर्न उत्सुक रहेको बताएका छन् ।

    दक्षिण कोरियाका शीर्ष सुरक्षा सल्लाहकार शिन वोन–सिकले उत्तर कोरियाले सेना तैनातीको बदलामा आर्थिक सहयोगका साथै हवाई रक्षा प्रणालीलाई बलियो बनाउन आवाश्यक उपकरण, एन्टी–एयरक्राफ्ट मिसाइलहरू कोरियामा पठाइएको पुष्टि गर्नु  भएको छ । 

    सिटिजन्स बैंक र होटल ली हिमालय बीच समझदारी

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लाजिम्पाट, काठमाडौं स्थित होटल ली हिमालय बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले होटल ली हिमालयमा १५% सम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

    राजस्व अनुसन्धान विभागद्वारा वीरगञ्जका सन्दिप सर्राफ विरुद्ध बिगो र शतप्रतिशत बिगो जरिवाना गरी सवा २५ करोड बढीको मुद्दा दायर

    काठमाडौँ । राजस्व अनुसन्धान विभागले  वीरगञ्जको सन्दिप विरुद्ध बिगो र शतप्रतिशत बिगो जरिवाना गरी सवा २५ करोड बढीको मुद्दा दायर गरेको छ ।उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा मंसिर ६ गते वीरगञ्ज महानगरपालिका वडान ६ स्थित स्थायी लेखानम्बर ६०९१४७७९९ भएका आर के एन्ड सन्सले राजस्व चुहावट गरेको कसूरमा प्रोप्राइटर सन्दिप सर्राफ विरुद्ध अभियोग पत्र दर्ता गरिएको विभागले एक विज्ञप्ति गरी जनाएको हो ।

     

    सुन र सुनका गरगहना र चाँदी तथा चाँदीका गरगहना भन्सार चोरी पैठारी गरी ल्याई इस्टिमेट  बिल , चलान बिल जारी गरी  गरेको तथा राजस्व छली गर्नको लागि निजले ई बिलिङको इजाजत लिएतापनि सो बमोजिमको ई बिलिङ जारी नगरी गैर बीजकको प्रयोग  गरी  तथा  बीजक नै प्रयोग नगरी गलत आय विवरण बुझाई राजस्व चुहावट गरेको कसूरमा मुद्दा दायर गरिएको जनाइएको छ ।

    पोखरामा सामुदायिक विद्यालय छोराछोरी पढाउने अभिभावकको निःशुल्क बिमा

    कास्की । पोखरा महानगरपालिका–१२ ले सामुदायिक विद्यालयमा छोराछोरी पढाएका सबै अभिभावकको निःशुल्क पारिवारिक स्वास्थ्य विमा कार्यक्रम सुरुआत गरेको छ । 

     

    सरकारी विद्यालयहरुप्रति आकर्षण वृद्धि गर्नका लागि चालू आर्थिक वर्षदेखी कार्यान्वयन हुने गरी सो कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताउनुभयो । यस कार्यक्रमबाट सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको शिक्षा र स्वास्थ्य दुबै निःशुल्क हुने उहाँले बताउनुभयो ।

    वडाध्यक्ष  बास्तोलाले भन्नुभयो ,“सरकारी विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गरेर विद्यार्थी आकर्षण बढाउने गरी हाकीले काम गरिरहेका छौँ । सोही अनुसार वडामा स्थायी बसोबास रहेका र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका परिवारको विमा गर्ने छौँ ।

    सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढ्यो,प्रतितोला १ लाख ६५ हजार ५०० रुपैयाँ

    काठमाडौँ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोल १५ सय रुपैयाँले बढेर १ लाख ६५ हजार ५०० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर १९ सय ४० रुपैयाँ कायम भएको छ ।

    कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्प

    काठमाडौं । काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। गएराति पौने ११ बजे भूकम्प गएको हो।

     

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता २.६ म्याग्निच्युड मापन भएको छ।काठमाडौं उपत्यकाबासीले भूकम्पको धक्का महसुस गरेको भन्दै सामाजिक सन्जालमा लेखेका छन्।

     

     
     
     

     

     

     

    प्रतिक्रिया दिनुहोस