Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

सगरमाथाको फेदीमा एघार वर्षदेखि बन्द अन्तर्राष्ट्रिय पिरामिड प्रयोगशाला पुनः सञ्चालन हुने

सगरमाथाको फेदीमा एघार वर्षदेखि बन्द अन्तर्राष्ट्रिय पिरामिड प्रयोगशाला पुनः सञ्चालन हुने

  • काठमाडौँ । सगरमाथाको फेदीमा बजेट अभावमा  बन्द रहेको  एघार वर्षदेखि बन्द अन्तर्राष्ट्रिय पिरामिड प्रयोगशाला पुनः सञ्चालन हुने भएको छ ।  सन् २०१३ देखि बन्द रहेको प्रयोगशाला नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विज्ञान कूटनीतिको अवधारणा जागृत गर्दै बहुउपयोगी ढाँचामा पुनः सञ्चालन गर्न लागेको हो । 

    केटु केन्द्रित अध्ययन अघि बढाउन बनेको सहमति र सीएनआरले बजेट दिने प्रतिबद्धता दिएपछि  पिरामिड प्रयोगशालाको प्रयोग सुनिश्चित भएको हो । नेपाललाई विशिष्ट वैज्ञानिक अध्ययनको केन्द्र बनाउन प्रयोगशालाको सदुपयोग गर्न  रणनीतिको खाका बनिसकेको नास्टका सचिव डा. रवीन्द्रप्रसाद ढकालले जानकारी सार्वजनिक गरेका छन् । उताबाट बजेट आउनेवित्तिकै अध्ययन अनुसन्धानको नयाँ बाटो खुल्छ ।

    यो प्रयोगशाला सन् १९९० सर्वोच्च शिखर सगरमाथा र दोस्रो सर्वोच्च शिखर पाकिस्तानको केटु हिमालका नाममा एभरेस्ट–केटु–इटालियन राष्ट्रिय अनुसन्धान परिषद् (सीएनआर) परियोजना अन्तर्गत स्थापना भएको थियो । सोलुखुम्बुस्थित सगरमाथा राष्ट्रिय निकुञ्जको लोम्बुचेमा स्थापना भएको प्रयोगशाला मातहतका अध्ययन अनुसन्धान बन्द हुँदा सगरमाथाबारे विश्वकै वैज्ञानिक गतिविधि ठप्प बनेको थियो ।

    नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सञ्चालित प्रयोगशालाका लागि सन् २०१३ देखि बजेट आउन बन्द भएपछि यस अन्तर्गत हुने अध्ययन अनुसन्धानको गतिविधि ठप्प बनेको थियो । त्यसबेला सगरमाथाभन्दा केटु हिमाल अग्लो भन्ने भ्रम चिर्नकै लागि पनि विश्वकै उच्च हिमाली भेगमा प्रयोगशाला बनाएर रेकर्ड राखिएको थियो ।  

    साथै नास्टको पहलमा सरकारले आफैँ स्वामित्व लिएर भविष्यका लागि समेत फलदायी हुने गरी पिरामिड प्रयोगशाला सञ्चालनमा ल्याउन लागिएको  हो । नयाँ सम्झौता अनुसार आगामी दिनमा अन्य मुलुकले पनि प्रयोगशालाका लागि आवश्यक बजेट दिन सक्ने छन् । त्यस्तै सम्झौताले अध्ययन गरेका वैज्ञानिकले पत्ता लगाएका तथ्य फर्कने बेलामा नेपालमै सार्वजनिक गरेर र नास्टलाई बुझाएर जानुपर्ने सुनिश्चित गरेको छ । 

    सरकारले नीतिगत रूपमै उच्च धरातलीय अध्ययनलाई प्राथमिकता दिएको छ । विश्वका १४ वटा उच्च हिमालमध्ये आठ वटा नेपालमा छन् । सोही तथ्यका आधारमा इटली सरकारले मित्र राष्ट्रसँग द्विपक्षीय तथा बहुपक्षीय विज्ञान कूटनीतिक पहल गर्नुपर्ने  सुझाव छ । प्रयोगशालामा अध्ययन गर्न इटालीबाट १९ र नेपालका १४ गरी ३३ वटा प्रस्ताव आइसकेका छन् । 

    सगरमाथादेखि तल करिब पाँच हजार ५० मिटरको उचाइमा नेपालको पुमोरी हिमाल जस्तै देखिने पिरामिड आकारमा यो प्रयोगशाला बनेको छ । प्रयोगशालाको पिरामिड शैलीको छानाभिर जडान गरिएका पाताबाट उत्पादित सौर्य ऊर्जाबाटै सबै प्राविधिक उपकरण सञ्चालन गरिएको छ । उच्च भूभागमा रहेको क्षेत्रमा दिनदिनै ढोका खोलेर चलाउन सकिने प्रयोगशाला बनाउन नसकिने भएकाले पनि बन्द ढाँचामा यसको काम हुने गरेको  छ। 

    प्रयोगशालाभित्र स्थायी मौसम स्टेसन, जमिनमा हुने गतिविधि पत्ता लगाउने जीएनएस प्रणाली र भूकम्पीय हलचल पत्ता लगाउन भूकम्प अध्ययन केन्द्र राखिएको छ । जुन अन्य गतिविधि बन्द हुँदा पनि निरन्तर चलिरहन्छ । तीनतले  यो प्रयोगशालाको एक पटकमा २० जनाभन्दा बढी वैज्ञानिक बसेर अध्ययन गर्न सक्ने क्षमता छ । 

    यस प्रयोगशालामार्फत सन् २०१३ भित्र विश्वका एक हजार जना वैज्ञानिकले पाँच सयभन्दा बढी अध्ययन गरेर तथ्य सार्वजनिक गरेका छन् । नास्टका सचिव ढकालका अनुसार पिरामिडको भौतिक संरचनालाई बाहिरी तहबाटै सुधार गरेर बलियो बनाउँदै वातावरणीय प्रभावसमेत कम पार्ने गरी पुनः निर्माण गरिने छ ।    

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij