काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज फागुन १ मंगलबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....
२०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा : विकास बजेट बढी भएका मन्त्रालयमा न्यून खर्च
काठमाडौँ । चालु आर्थिक वर्ष २०८०÷८१ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा सरकारको बजेट खर्च निकै न्यून छ । चालु आर्थिक वर्षका लागि कूल रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बजेट विनियोजन गरिएकोमा गत पुस मसान्तसम्म रु पाँच खर्ब ७३ अर्ब ६३ करोड २९ लाख खर्च भएको छ । यो कूल विनियोजनको ३२ दशमलव ७५ प्रतिशत हुन आउँछ । यसलाई चालु, पूँजीगत तथा वित्तीय व्यवस्थातर्फ खर्च वर्गीकरण गर्दा ३८ दशमलव ८० प्रतिशत, १६ दशमलव ७० प्रतिशत र २६ दशमलव ०६ प्रतिशत खर्च भएको देखिन्छ ।
हालसम्मको बजेट खर्चको अवस्था हेर्दा विकास बजेट धेरै छुट्याइएका मन्त्रालयहरु नै खर्चमा कमजोर देखिएका छन् । विनियोजित रकममध्ये खर्चको प्रतिशत हेर्दा अर्थमन्त्रालय सबैभन्दा कमजोर छ । अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार अर्थ मन्त्रालयले चालु आर्थिक वर्षका लागि रु ४१ अर्ब सात करोड ३६ लाखको बजेट पाएकोमा पुस मसान्तसम्ममा रु चार अर्ब छ करोड ४४ लाख बराबर मात्रै खर्च भएको छ । जुन वार्षिक विनियोजनको नौ दशमलव ९० प्रतिशत हो ।
रसुवागढी हाइड्रोपावर २ करोड ६ लाख नोक्सानीमा
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड ६ लाख ९० हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । प्रशासनिक खर्च १ करोड ६५ लाख रुपैयाँ रहेको छ ।हाल रसुवागढीको चुक्ता पुँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँ रहेको छ । यसको रिटन्ड अर्निङ ३५ करोड ८३ लाख रुपैयाँ ऋणात्मक छ । यसअवधिसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ६० पैसा नोक्सानीमा देखिएको छ । प्रतिसेयर नेटवर्थ भने ९४ रुपैयाँ ७६ पैसा छ ।
गरिमा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको ४९ लाख २८ हजार ३०२.७१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको ९.५० प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो ।
शिव श्री हाइड्रोपावरले २४ करोड ७६ लाखको विद्युत बिक्री गर्यो
काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८ करोड ९३ लाख ६२ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । विद्युत बिक्रीबाट हुने आम्दानी बढ्दा पनि यस कम्पनीले घाटा व्यहोरेको छ । ६ महिनामा कम्पनीले २४ करोड ७६ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले २२ करोड ६८ लाख १३ हजार रुपैयाँको विद्युत बिक्री गरेको थियो । प्रशासनिक खर्च २ करोड ४८ लाख रुपैयाँबाट बढेर २ करोड ५० लाख पुगेको छ । वित्तीय खर्च २२ करोड ९५ लाखबाट घटेर २० करोड ६७ लाख रुपैयाँ कायम भएको छ । वित्तीय खर्च धेरै हुँदापनि कम्पनी घाटामा गएको हो । हाल शिव श्रीको चुक्ता पुँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ रहेको छ । यसको जगेडा कोष ९६ करोड ९१ लाख रुपैयाँ ऋणात्मक छ।
शेयर बजार : ३०.५६ अंकले घटेर नेप्से २०७०.५९ विन्दुमा , ४ अर्ब ६६ करोडको कारोबार
काठमाडौं । आज नेप्से ३०.५६ अंकले घटेर २०७०.५९ विन्दुमा आएको छ । आज ४ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक घटेका छन् । यस दिन ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यस दिन ३०५ कम्पनीको १ करोड २१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३२ करोड ५० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः सोना मिनरल्स एन्ड आयल र सानिमा मिडिल तमोर परेका छन् ।
रिडी पावरले फागुन १८ गतेदेखि ५० प्रतिशत हकप्रद निष्काशन गर्ने
काठमाडौँ ।रिडी पावर कम्पनी लिमिटेडले फागुन १८ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
अर्थात कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले माघ २२ गते बुकक्लोज गरेको थियो। यस अनुसार माघ २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ऋणपत्र निष्काशन तथा बिक्री खुला
काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आज (फागुन १ गते) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्दैछ। बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९०’ निष्काशन खुला गर्न लागेको हो।
बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ६० प्रतिशत अर्थात २ अर्ब ४२ करोड ४० लाख रुपैयाँ बराबरको २४ लाख २४ हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब ६१ करोड ६० लाख रुपैयाँ बराबरको १६ लाख १६ हजार कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ। सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ८० हजार ८०० कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।
ग्लोबल आइएमई बैंकको विशेष आवास योजना, १० वर्षसम्म ९.९९% स्थिर ब्याज दरमा घर कर्जा
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ ।
बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी निश्चिन्त आवास योजना (घर कर्जा) सार्वजनिक गरेको हो । साथै, उक्त विशेष घर कर्जा योजना अन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहनु भएका महानुभावहरुले सहज रुपमा कर्जा सार्नसमेत सक्नुहुनेछ ।
यस विशेष घर कर्जा योजना अन्तर्गत सेवाग्राहीले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत व्याजदरमा, १० देखि १५ वर्षसम्मको लागि १०.४९ प्रतिशत र १५ वर्षभन्दा बढि अवधिका लागि १०.९९ प्रतिशतको स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म घर कर्जा लिन पाउनेछन् ।
एन आई सी एशिया बैंकले कर्जा जोखिम भारको दरलाई तोडमोड गरेको भन्ने भ्रामक समाचारप्रति बैंकको गम्भीर ध्यानाकर्षण
काठमाडौँ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारालाई आत्मसात गर्दै उत्तरदायी बैंकिङ्गको अभ्यास गरिरहेको यस एन आई सी एशिया बैंकका बारेमा केही सञ्चार माध्यमहरूमा प्रकाशित तथा प्रसारित समाचारहरू प्रति यस बैंककोगम्भीर ध्यानाकर्षण भएको छ ।
हाल केही सञ्चार माध्यमहरूमा बैंकले घर कर्जाको वासल बमोजिमको जोखिम भारको दरलाई तोडमोड गरेको र रियल स्टेट क्षेत्रमा बैंकलेनियमनकारी व्यवस्थाहरूले तोकेको सीमा भन्दा बढी कर्जा लगानी गरेको लगायतका विषयहरूमा प्रकाशित भ्रामक समाचारहरूप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपाल टेलिकमको खुद नाफा ७.६० प्रतिशतले घट्यो
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । टेलिकमको नाफा गत वर्ष यसैअवधिको तुलनामा ७.६० प्रतिशतले ले थोरै हो ।यस कम्पनीको सञ्चालन आम्दानी घटेपछि नाफामा गिरावट आएको हो । यसको वित्तीय आम्दानी पनि घटेको छ । गत वर्ष यस कम्पनीले १८ अर्ब ७ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । अहिले उक्त आम्दानी घटेर १७ अर्ब २४ करोड रुपैयाँमा झरेको छ । वित्तीय आम्दानी पनि ३ अर्ब ९५ करोडबाट घटेर ३ अर्ब ६१ करोड रुपैयाँमा झरेको छ । टेलिकमको अन्य श्रोतबाट हुने आम्दानी भने ६ करोड ६८ लाखबाट बढेर ४४ करोड ६४ लाख पुगेको छ । हाल यसको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ ।
रिभर फल्सले विद्युत बिक्रीबाट गर्यो ११ करोड २५ लाख आम्दानी
काठमाडौं । रिभर फल्स पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा ३ करोड ३६ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत वर्षको पुसमा यो कम्पनी ६६ लाख ३१ हजार रुपैयाँ घाटामा थियो । विद्युत बिक्री सुरु गरेपनि कम्पनीको नाफामा असर परेको छ । ६ महिनामा कम्पनीले ११ करोड २५ लाख रुपैयाँको विद्युत बिक्रीबाट आम्दानी गरेको । गत वर्ष यसले विद्युत उत्पादन गरेको थिएन । यसको वित्तीय खर्च ८ करोड ८५ लाख रहेको छ । उक्त खर्च बढ्दा कम्पनीले घाटा व्यहोरेको हो । यस कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । यसको जगेडा कोष ९ करोड ५१ लाख रुपैयाँले ऋणात्मक छ ।
सिद्धार्थ प्रिमियर इन्सुरेन्सको खुद नाफा ११७.३४ प्रतिशतले बढ्यो
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्सुरेन्सको खुद नाफा ११७.३४ प्रतिशतले बढेर ३६ करोड ९ लाख रुपैयाँ पुगेको छ । यसअवधिमा खुद बिमा शुल्क आर्जन र लगानी तथा कर्जाबाट हुने आम्दानीमा वृद्धि भएसँगै नाफा पनि बढेको हो । खुद बिमा शुल्क आर्जन १६४।०६ प्रतिशतले बढेर ७९ करोड २५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले ३० करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । लगानी तथा कर्जाबाट हुने आम्दानी १०६.९३ प्रतिशतले बढेर ३५ करोड ९३ लाख रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार रुपैयाँ छ । यता, कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । गत वर्ष २३ रुपैयाँ ६८ पैसा रहेको यसको प्रतिसेयर आम्दानी बढेर २५ रुपैयाँ ७२ पैसा कायम भएको छ ।
सानिमा रिलायन्सको नाफा ९६ प्रतिशतले बढ्यो
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको खुद नाफा ९६.४८ प्रतिशतले बढेर चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २१ करोड ९७ लाख ३० हजार रुपैयाँ पुगेको छ । यसअवधिमा खुद बिमा शुल्क १३७.०५ प्रतिशतले बढेर २ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । यता, लगानी तथा कर्जाबाट हुने आम्दानी ७४ करोड ४५ लाख रुपैयाँ रहेको छ । जसका कारण नाफामा सुधार आएको हो । बिमा कोषको आकार १६.३० प्रतिशतले बढेर १२ अर्ब ६९ करोड रुपैयाँ भन्दा बढी पुगेको छ । इन्सुरेन्सको प्रतिसेयर आम्दानी भने ११ रुपैयाँ १८ पैसाले घटेर १० रुपैयाँ ५० पैसा कायम भएको छ । हाल सानिमा रिलायन्सको चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ रहेको छ ।
कति छ त आज सुन-चाँदीको मूल्य ?
काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख १७ हजार ७०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार १५० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १३ ९५ रुपैयाँ कायम रहेको छ ।
चोरी पैठारी गर्न खोजिएको करोडौंको मालवस्तु नियन्त्रणमा ,अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइयो
काठमाडौं । चोरी पैठारी गर्न खोजिएको करोडौंको मालवस्तु नियन्त्रणमा लिई अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयालाई जिम्मा लगाइएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिइएको करोड बढीको मालवस्तु पथलैया अनुसन्धान कार्यालयमा बुझाएको हो ।जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएका प्रहरी टोलीरूले प्राप्त सूचनाका आधारमा चोरी पैठारी गरी लान खोजिएको ट्रकहरू नियन्त्रणमा लिएको थियो ।
प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख भए अनुसार माघ २८ गते राति र माघ २९ गते बिहान गरी दुईटा ट्रक नियन्त्रणमा लिएको जनाएको छ ।
अरुण तेस्रो जलविद्युत परियोजनाको दुई तिहाई बढी काम पूरा , बाधा उत्पन्न नभए दुई वर्ष भित्र बाँकी काम सकिने विश्वास
काठमाडौं । सङ्खुुवासभामा निर्माण भइरहेको नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको भौतिक निर्मांण कार्य दुई तिहाई बढी पूरा भएको छ । बाँध निर्माण क्षेत्र, सुरुङ र विद्युत्गृहको निर्माण कार्यलाई एकमुस्ट मूल्यांकन गरी गर्दा प्रगति प्रगति यस्तो देखिएको हो ।
यो परियोजनाको मकालु गाउँपालिका–५ स्थित फ्याक्सिन्दा दोभानमा बाँध निर्माण भइरहेको छ । जम्मा २५ लाख ५६ घनमिटर खनेर बाँध निर्माण गर्नुपर्नेमा हाल २५ लाख ४८ हजार घनमिटर खन्ने काम पूरा भइसकेको परियोजनाको प्रवर्धक सतलज जलविद्युत् निगमका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले जानकारी सार्वजनिक गरेका हुन् ।
अर्धवार्षिक मौद्रिक समीक्षामा तरलतासम्बन्धी नयाँ प्रावधान, आजदेखि बैंकहरूले अधिक तरलता सिधै राष्ट्र बैंकमा राख्न पाउने
काठमाडौं । आजदेखि अधिक तरलता भएका बैंकहरूले अब सिधै राष्ट्र बैंकमा निक्षेप राख्न पाउने भएका छन् ।स्थायी निक्षेप सुविधा मंगलबारदेखि कार्यान्वयनमा आउने भनिए अनुसार बैंकहरूले यो सुविधा पाएका हुन् ।
यसअघि केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले चाहेको बखत मात्रै एकतर्फी रूपमा बैंकहरूको तरलता व्यवस्थापन गर्दै आएको थियो । अब बैंकहरूले आफूसँग बढी भएको रकम बिनाप्रतिस्पर्धा राष्ट्र बैंकमा राख्न पाउने छन् । सोमबार सार्वजनिक गरिएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत राष्ट्र बैंकले पहिलोपटक यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो । ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन यो व्यवस्था ल्याइएको राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले बताए ।
कर्जाको माग अहिले न्यून हँुदा बैंकहरूमा ६१ खर्ब ५२ अर्ब निक्षेप थुप्रिन पुगेको छ । कर्जा प्रवाह भने ५० खर्ब ८३ अर्ब जति मात्रै छ । बैंकहरूले कर्जा–निक्षेप अनुपात ९० प्रतिशत हुने गरी कर्जा प्रवाह गर्न पाउने भए पनि अहिले यस्तो अनुपात ८०.२३ प्रतिशत मात्रै छ । त्यसैले अहिले बैंकहरूमा ६ खर्बभन्दा बढी लगानीयोग्य निक्षेप छ । यो परिमाणमा निक्षेप थुप्रिएपनि आर्थिक शिथिलता र उच्च ब्याजदरका कारण कर्जाको माग बढ्न नसकेको हो ।
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाण पत्रको आरोपमा स्थायी शिक्षिकाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
पोखरा महानगरपालिका–८ मा सञ्चालित श्रीराम प्राथमिक विद्यालयको प्राथमिक तहका स्थायी शिक्षक विन्दु गौतम शर्माविरुद्ध आयोगले आरोपपत्र दायर गरेको हो ।
शर्माले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाईस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, युपी भारतबाट एसएलसी तहको नक्कली शैक्षिक प्रमाणपत्र र लब्धाङ्क पत्र पेस गरी प्राथमिक तहको अस्थायी र स्थायी शिक्षक पदमा नियुक्त भएको पुष्टि भएकाले कारबाही गर्न आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले राससलाई जानकारी दिनुभयो ।
प्रधानमन्त्री प्रचण्डद्वारा ‘डिजिटल वक्तृत्वकला’ का विजेतालाई पुरस्कार वितरण
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘डिजिटल वक्तृत्वकला’ प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गर्नुभएको छ ।
जनयुद्ध दिवसका अवसर पारेर योङ कम्युनिष्ट लिगले आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गर्नुभएको हो ।
प्रतियोगितामा प्रथम हुनुभएकी आशा उपरकोटीले रु ५५ हजार, द्वितीय स्थान हासिल गर्न सफल सिलु क्षत्रीले रु ३५ हजार र तृतीय स्थान प्राप्त गर्नुभएकी सम्झना राईलाई रु २० हजार नगदसहित प्रधानमन्त्रीले सम्मान गर्नुभएको हो ।रासस
लघुवित्त र सहकारीपीडितलाई न्याय दिन म आफैँ सक्रिय छु : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौँ नेपालीलाई न्याय दिन आफँै सक्रिय भइरहेको बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा स्वर्णीम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो ।
भेटमा प्रधानमन्त्रीले भन्नुभयो, “यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु । लाखौँ बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छ । तपाईहरूको सुझाव पनि म हेर्छु । यो समस्या जतिसक्दो चाँडो टुङ्ग्याउन चाहन्छु, यसमा तपाईहरूको पनि सहयोग चाहियो ।”रासस