Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

वैदेशिक रोजगारमा जाने अदक्ष कामदारलाई समस्या भएको श्रममन्त्री भण्डारीको भनाइ


नया सडक

२०८०, फागुन ३ बिहीबार

  • 834
    Shares

  • वैदेशिक रोजगारमा जाने अदक्ष कामदारलाई समस्या भएको श्रममन्त्री भण्डारीको भनाइ

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सिप सिकेका दक्ष कामदारलाई वैदेशिक रोजगारमा पठाउन सरकार प्रयासरत रहेको बताएका छन् ।यूएईको अबुधाबी डायलग कार्यक्रममा सहभागी हुन गएका बेला  श्रममन्त्री भण्डारीले श्रम मन्त्रालयले सिप सिकेका दक्ष कामदारलाई वैदेशिक रोजगारमा पठाउन प्रयास गरिरहेको बताएका हुन् ।

    बुधबार बेलुका दुबईमा पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा मन्त्री भण्डारीले नेपाली श्रमिकहरूको दक्षता अभिवृद्धि गनुपर्ने आवश्यकता रहेको बताए ।मन्त्री भण्डारीले आफू दुबईमा रहँदा दर्जनौं श्रमिकहरुसँग भेटघाट गरेको र उनीहरूको समस्याको बारेमा जानकारी लिएको बताए । त्यसक्रममा दक्ष भएर आएका कामदारहरूले पारिश्रमिक पनि राम्रो र काम गर्ने अवस्था पनि राम्रो भएको श्रमिकहरूले भनेको उनले जनाए ।

    दुबईका  कतिपय ठूला होटलमा नेपाली श्रमिकहरु कार्यरत छन् । उनीहरूको  अवस्थाबारे मन्त्री भण्डारीले जानकारी लिएका थिए । दक्ष कामदार भएर काम गर्दा काम र दाम पाउने अवस्था राम्रो रहेको भण्डारीले पाए ।दक्षता र काम गर्ने क्षेत्रको सिप नभएका श्रमिकलाई समस्या रहेको मन्त्री भण्डारीले जनाए ।आबुधावी डाइलग कार्यक्रममा भाग लिन गएका बेला मौका छोपी श्रमिकहरूको समस्या र वृति विकासका बारेमा त्यहाँका सरकारी पदाधिकारीहरूसँग छलफल गरेको मन्त्री भण्डारीले जनाए ।

     मन्त्री भण्डारीका अनुसार सब ठिकठाक भए  साउदी अरेबियासँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्तावमा सफलता प्राप्त हुने छ ।  नेपाल र साउदीबीच श्रम सम्झौताको लागि विगत ८ वर्षदेखि श्रम समझदारी गर्ने प्रयास भइरहेको छ । नेपालको तर्फबाट राखिएको प्रस्तावमा ‘स्वच्छ भर्ना प्रणाली’, सामाजिक सुरक्षा, बीमा, पेशागत स्वास्थ्य सुरक्षा , सिपमूलक जनशक्ति उत्पादनका सम्बन्धमा समेत दुवै पक्षले पहल लिने छलफल भएको मन्त्री भण्डारीले सञ्चाकरकर्मीहरूसँग जानकारी साझा गरे ।

    दक्ष कामदार उत्पादनमा पहल लिँदा  मिडियाहरुबाट अनावश्यक आरोपहरु खेप्नुपरेको असन्तुष्टि व्यक्ति गर्दै मन्त्री भण्डारीले  सिप सिकेर वैदेशिक रोजगारमा जानुपर्ने विषयमा अभिप्रेरणा जगाउन मिडियालाई आग्रह गरे ।अर्कोतर्फ वैदेशिक रोजगारको क्षेत्रमा बेथिति बढेको बेला  श्रम मन्त्रालयले नतिजा देखाउने गरी व्यवस्थापन गर्न नसकेकोले सञ्चार क्षेत्रमा अविश्वास फैलिएको पनि उनले बताए ।
     
    छलफलका क्रममा मन्त्री भण्डारीले आगामी दिनमा मन्त्रालयले वैदेशिक रोजगार क्षेत्रमा सक्रिय रुपमा कलम चलाउने संचारकर्मीहरुसँग छलफल गर्ने पनि बताए । श्रम क्षेत्रको समस्या समाधानमा मन्त्रालयले काम गर्ने विश्वास दिलाउँदै  मन्त्री भण्डारीले  श्रम मन्त्रालयलाई केही दलालहरुले आफ्नो चंगुलमा पार्न खोजेको कुरोलाई स्वीकार्दै  त्यस विषयमा आफू सचेत रहेको र सञ्चारकर्मीहरूलाई यस्ता विषयमा सचेत गराइरहन भने ।दक्ष र श्रम क्षेत्रको बेथितिसँग लड्न सक्ने सुसूचित कामदारको उत्पादन गर्न सक्ने हो भने दलाली गर्नेहरु आफै पाखा लाग्दै जाने विश्वास मन्त्री भण्डारीले व्यक्त गरे । 

    प्रतिक्रिया दिनुहोस