Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

बिना प्रतिस्पर्धा वीर अस्पतालद्वारा औषधि खरिद


नया सडक

२०८०, फागुन १४ सोमबार

  • 696
    Shares

  • बिना प्रतिस्पर्धा वीर अस्पतालद्वारा औषधि खरिद

     

    काठमाडौँ ।   वीर अस्पतालले फार्मेसीका लागि औषधि खरिद बिना प्रतिस्पर्धा गरेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको अनुगमनका क्रममा त्यस्तो पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले जानकारी दिनुभयो ।

     

    अस्पताल प्रशासनले भने तीन वटा फार्मेसीका लागि औषधि प्रक्रिया पूरा गरेरै खरिद गरेको दाबी गरेपनि अनुगमनका क्रममा भने २०७८ देखि पुरानै सम्झौताअनुसार खरिद भइरहेको पाइएको उहाँको भनाइ छ ।

     

    अनुगमन टोली सदस्य समेत रहनुभएका वरिष्ठ जनस्वास्थ्य अधिकृत मिश्रले भन्नुभयो, “विसं २०७८ देखि हालसम्म बोलपत्र आह्वान नगरी औषधिखरिद गरिरहेको अनुगमनका क्रममा देखिएको छ ।” 

     

             उहाँले अनुगमनका क्रममा अत्यावश्यक औषधिफार्मेसीमा नभएको, अनावश्यक औषधिस्टोरमा राखेको, म्याद सकिएको औषधि फिर्ता नगरी धेरै मात्रामा राखेको, फार्मेसीको स्टोरमा पालना गर्नुपर्ने न्यूनतम मापदण्ड पनि पालना नगरेको पाइएको जानकारी दिनुभयो । 

     

    वीर अस्पतालका निर्देशक सन्तोष पौडेलले फार्मेसीको नेतृत्व यसबीच तीन पटक परिवर्तन भएकाले बोलपत्र आह्वानमा समस्या देखिएको बताउनुभयो । उहाँले केही औषधि खरिदका लागि भने बोलपत्र आह्वान भइसकेको जानकारी दिनुभयो । 

     

    “बीमाबाट आउनुपर्ने रकम छ महिनासम्म पनि नआउदा आपूर्तिमा समस्या भएको हो । अन्यत्रबाट सोझै खरिद गरी ल्याउन सकिन्न”, उहाँले भन्नुभयो, “आपूर्तिकर्तासँग अत्यावश्यक औषधिखरिदका लागि पटक–पटक छलफल गर्दा पनि भुक्तानी नभएकाले आपूर्ति रोकिएको छ ।”

     

    निर्देशक पौडेलले प्राविधिक जनशक्ति अभावले अस्पतालद्वारा सञ्चालित तीन वटा फार्मेसी चौबिस घण्टा सञ्चालन गर्न नसकिएको पनि बताउनुभयो । उहाँले एउटा काउन्टरलाई २४ घण्टा सञ्चालन गरे पनि दुई वटा काउन्टर भने बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र सञ्चालन भइरहेको जानकारी दिनुभयो । 

     

    उहाँले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा फार्मेसी भवन निर्माणका लागि खालि ठाँउमा टहरा निर्माणको ठेक्का लगाउने प्रक्रियामा अगाडि बढाइएको जानकारी दिनुभयो । “केही दिनमा टहरा निर्माण र बोलपत्र आह्वान गरी औषधिआपूर्ति पनि भइसक्छ”, उहाँले भन्नभयो, “जनशक्ति थप गरेपछि अहिलेको समस्या ९० प्रतिशत समाधान हुनेछ ।”रासस

     

    प्रतिक्रिया दिनुहोस