Logo

Jul 27 2024 | २०८१, साउन ११गते

images

कोरियाको चेओरवन सहर र ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम गर्ने तयारी


नया सडक

२०८०, फागुन १५ मंगलबार

  • 939
    Shares

  • कोरियाको चेओरवन सहर र ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम गर्ने तयारी

     

    पाटन ।  ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कोरियाको चेओरवन सहर र नेपालको ललितपुर महानगरबीच भगिनीसम्बन्ध कायम गर्ने तयारी भएको जानकारी गराउनु भएको छ । 

     

    कोरियाको चेओरवन सहरका मेयर ली ह्युन जोङसहितको प्रतिनिधिमण्डललाई ललितपुर महानगरपालिकाका स्वागत गर्दै प्रमुख महर्जनले कोरियाको चेओरवन सहरका असल अभ्यास ललितपुर महानगरले अनुशरण गर्दै कार्यान्वयन गरिने बताउनुभयो । 

     

    “हामीले स्मार्ट सिटी बनाउने भनेर हरेक काम सोहीअनुसार गरिरहेका छौँ, चेओरवन सहरसँग भगिनीसम्बन्ध कायम गर्दै त्यहाँका सकारात्मक पक्षको ज्ञान हासिल गरी ललितपुरलाई अझै बढी व्यवस्थित महानगर बनाउने प्रयत्नमा लाग्नेछौँ । भगिनीसम्बन्ध कायम गरेर विकासका सन्दर्भमा त्यहाँका अभ्यासलाई अनुशरण गर्ने हाम्रो प्रयास हुनेछ”, प्रमुख महर्जनले भन्नुभयो ।

     

    चेओरवन सहरका मेयर जोङले ललितपुरको कला, संस्कृति र सम्पदाबाट आफू प्रभावित भएको बताउनुभयो । “सुन्दर सहरमा निमन्त्रणा गरेर अवलोकन गर्ने अवसर दिनु भएकोमा धेरैधेरै धन्यवाद दिन्छु । यहाँको काष्ठकला, धातुकला र ढुङ्गामा चित्र खोपेर व्यक्त गरिने कला धेरै राम्रो लागेको छ”, उहाँले भन्नुभयो ।

     

    चेओरवन सहर र ललितपुर महानगरबीच भगिनीसम्बन्ध कायम गर्नका लागि यो भ्रमण महत्वपूर्ण हुने उहाँले बताउनुभयो । आगामी दिनमा भगिनीसम्बन्ध कायम गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर गरेर अघि बढ्ने उहाँको भनाइ थियो । जोङले आफ्नो सहरमा ललितपुर महानगरका प्रमुख सहितको टोलीलाई पुनः भ्रमणको निम्ता दिनुहुँदै कोरियामै भगिनीसम्बन्ध कायम गर्न समझदारीपत्रमा हस्ताक्षर गर्ने बताउनुभयो ।

     

    ललितपुर महानगरको निमन्त्रणामा ललितपुरका असल अभ्यासहरु अवलोकनका लागि प्रतिनिधिमण्डलसहित चेओरवन सहरका मेयर ललितपुर आउनुभएको हो । यसअघि गत असोजमा ललितपुर महानगर प्रमुख महर्जनले कोरियाको भ्रमण गर्नुभएको थियो । 

     

    उप्रमुख मञ्जली शाक्य बज्राचार्यले नेपालीले पाहुनालाई भगवान मान्ने बताउँदै कोरियाको चेओरवनका मेयरसहितको समूहलाई स्वागत  गर्न पाउँदा खुसी लागेको बताउनुभयो । कोरियाबाट नेपालले उत्पादन, पर्यटन र पर्यावरणको क्षेत्रमा धेरै कुरा सिक्नुपर्नेमा उहाँको जोड थियो । 

     

    मेयर ली ह्युन जोङको आठ सदस्यीय प्रतिनिधि मण्डलमा योजनाका निर्देशक, पर्यटन योजना विभागका निर्देशक, संस्कृति  र खेलकुद विभागका निर्देशक, अन्तर्राष्ट्रिय अफियरका इन्चार्जलगायत हुनुहुन्छ । तीन दिने भ्रमणमा उहाँहरुले पाटन दरबार क्षेत्रको अवलोकन, बुङ्मतिका सम्पदा अवलोकन गर्नुहुने कार्यक्रम रहेको ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जले जानकारी गराउनुभयो ।

     

    कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती र सूचनाअधिकारी देवप्रसाद गुरागाइँसहितको सहभागिता रहेको थियो । रासस

    प्रतिक्रिया दिनुहोस