Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  फागुन १५ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू....


नया सडक

२०८०, फागुन १५ मंगलबार

  • 822
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  फागुन १५ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज फागुन १५ मंगलबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न सिफारिस समितिद्वारा कार्यविधि तयार

    काठमाडौं । नेपाल धितोपत्र बोर्डको  अध्यक्ष नियुक्ति गर्न कार्यविधि बनेको छ ।सिफारिस समितिले त्यसका लागि कार्यविधि बनाएको हो । अध्यक्ष नियुक्तिका लागि आवश्यक कार्यविधि तयार पारेसँगै अध्यक्षका लागि आवदेन आह्वान गर्ने बाटो खुलेको छ । १५ दिनको समय अवधि राखेर आवेदन आह्वान गर्न सक्नेगरी कार्यविधि बनेको छ ।

    नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थसचिव र विज्ञ सदस्य व्यवस्थापनका प्राध्यापक उदय निरौला रहेको सिफारिस समिति गठन गरेको थियो ।२० पुसमा तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि धितोपत्र बोर्ड करिब २ महिना यता अध्यक्षविहीन छ ।

    नेपाल राष्ट्र बैंकले जारी गरेका विकास ऋणपत्रहरु नेप्सेमा सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल राष्ट्र बैंकले विभिन्न मितिमा निष्कासन गरेका विकास ऋणपत्रहरु सूचीकृत भएका छन् । नेपाल सरकारको तर्फबाट केन्द्रीय बैंकले निष्कासन गरेका विकास ऋणपत्र २०८८ ‘च’, २०८५ ‘ट’ र २०८८ ‘छ’ र २०८५ ‘ठ’ नेप्सेमा सूचीकृत भएका हुन् ।

    शेयर बजार : ९.३४ अंकले बढेर नेप्से २००१.६४ विन्दुमा , १ अर्ब ८६ करोडको कारोबार

    काठमाडौं । आज नेप्से ९.३४ अंकले बढेर  २००१.६४ विन्दुमा आएको छ ।आज  २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । आज  १ अर्ब ८६ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ७ समूहका सूचक सकारात्मक देखिएका छन् ।
    यस दिन ३०८ कम्पनीको ५२ लाख ३९ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १४ करोड १९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सोना मिनरल्स एन्ड आयल लिमिटेड अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र हिमालयन रिइन्सुरेन्स परेका छन् ।

    कुमारी बैंकको ८ लाख ११ हजार कित्ता सेयर बिक्री खुला 

    काठमाडौं । कुमारी बैंकले ९ जना संस्थापक सेयरधनीको नाममा रहेको ८ लाख ११ हजार ७३५ कित्ता सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (फागुन १५ गते) बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ ।

    कति छ त आज सुन-चाँदीको मूल्य ?

     काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँ कायम रहेको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ७५० रुपैयाँ निर्धारण भएको छ ।आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर १३ सय ८० रुपैयाँ कायम भएको छ ।

    कामना सेवा विकास बैंकको ३ लाख ९ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

    काठमाडौं । कामना सेवा विकास बैंकले आज (फागुन १५ गते) देखि ३ लाख ९ हजार ८९२ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् ।

    सगरमाथा लुम्बिनी इन्सुरेन्सको नगद लाभांश घोषणा

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्सुरेन्सले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित नगद लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

    मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर डिम्याट खातामा जम्मा

    काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले ९.५०% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । बैंकले गत मंसिर २८ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । बैंकले सेयर रजिष्ट्रार प्रभु क्यापिटलको कार्यालय कमलादी काठमाडौं तथा आफूलाई पाएक पर्ने प्रभु बैंकको शाखामार्फत सेयर डिम्याट गराउन सकिने जनाएको छ ।

    युनाइटेड इदी मर्दीको साधारण सभा  फागुन १७ गते

    काठमाडौं । युनाइटेड इदी मर्दीले लाभांश पारित गर्न बिहीबार फागुन १७ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, आभ्या क्लब, घारीपाटन–१७ पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभा प्रयोजनका लागि यस कम्पनीले फागुन ४ गते बुक क्लोज गरिसकेको छ ।

    औषधि उद्योगले मुलुकलाई आत्मनिर्भरतातर्फ डोर्‍याउँदै

    काठमाडौँ। नेपाल औषधिमा आत्मनिर्भरतातर्फ अग्रसर उन्मुख देखिन थालेको छ । ३० वर्षअगाडि नेपाली बजारमा नगन्य रुपमा नेपाली औषधि देखिन्थ्यो भने अहिले त्यो बढेर गएको छ । यसले गर्दा मुलुकको औषधि बजारमा नेपाली औषधिले ५० प्रतिशतको हाराहारीमा हिस्सा पुग्न थालेको छ । आजभन्दा २० वर्षपहिले १० प्रतिशत मात्र हिस्सा ओगेटेको नेपाली औषधि अहिले करिब ५० प्रतिशतमा हाराहारीमा पुग्न थालेको नेपाल औषधि उत्पादक सङ्घ (एपोन)का अध्यक्ष महेश प्रधानले बताउनुहुन्छ ।

    मेयर साम्पाङले मागेजस्तो धरानमा विमानस्थल बनाउन अवस्था उपयुक्त नभएको निष्कर्ष

    काठमाडौं । हवाई उडान क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल बनाउन उपयुक्त नहुने देखिएको जनाएको छ ।नागरिक उड्डयन प्राधिकरणले मंगलबार एक सूचना जारी गरी यस्तो जनाएको हो ।

    प्राधिकरणले तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था विपरीत हुने हुँदा  धरानमा विमानस्थल उपयुक्त नहुने निष्कर्ष निकालिएको जनाएको छ ।साथै आर्थिक विश्लेषणबाट सडक यातायातको सहज उपलब्धता र त्यस क्षेत्रको भौगोलिक अवस्थितिका कारण समेत त्यहाँ विमानस्थल सम्भव नरहेको प्राधिकरणले जनाएको छ ।

    कस्मेटिक आइटम डा. रसेलको नाममा अरुण, योगेश एन्ड कम्पनीको अवैध धन्दा, निरीह बन्यो राजस्व अनुसन्धान विभाग  !

    काठमाडौं । डा. रसेल ब्रान्डका कस्मेटिक आइटमहरू आयात गर्ने आयातकर्ताहरूले  गैर कानुनी काम गरिरहेका छन् । योगेश अग्रवाल ,अरुण अग्रवाल र अरुणका पार्टनर रहेका नातेदारसमेतले गर्दै आएको अवैध काम नरोकिएको हो ।फेस केयर र अन्य कस्मेटिक आइटममा पार्टनर रहेका योगेश अग्रवाल , अरुण अग्रवाल र उनीहरूका अर्का पार्टनरहरूको राजस्व छलीको शृंखलाबद्ध रूप बाहिर आएको छ ।

    कृषिलाई प्राथमिकता नदिएसम्म देश नबन्ने नेमकिपा सांसद प्रेम सुवालको भनाइ

    काठमाडौँ। नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुर निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेम सुवाललाई अर्थतन्त्रको खम्बाका रूपमा रहेको कृषिलाई प्राथमिकता नदिए देश बन्दैन भन्ने लाग्छ । आफूले पटक–पटक किसान र कृषिजन्य विषयमा सदनमा आवाज उठाउने गरे पनि सुनुवाइ नहँुदा उहाँलाई दुःख महसुुस हुन्छ । जनताको प्रतिनिधि सांसदले कृषिलाई प्राथमिकता दिनुपर्ने कुरामा गरेको खबरदारीलाई सरकारले ध्यान नदिएको उहाँको अनुभव छ ।

    सन् २०३५ सम्ममा भारतसँग अन्तरिक्षमा आफ्नो स्टेसन हुनेछ– प्रधानमन्त्री मोदी

    तिरुवनन्तपुरम ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार सन् २०३५ सम्म मुलुकसँग आफ्नो अन्तरिक्ष स्टेसन हुने र यसले त्यहाँको अज्ञात विस्तारको अध्ययनमा सहयोग गर्ने बताउनुभएको छ ।  

     

    तिरुवनन्तपुरममा विक्रम साराभाई अन्तरिक्ष केन्द्र ९भिएसएससी० मा एक भेलालाई सम्बोधन गर्दै उहाँले भारतीय अन्तरिक्ष यात्री आफ्नै रकेटबाट चन्द्रमाको सतहमा अवतरण हुने बताउनुभयो । 

     

    “सन् २०३५ सम्ममा भारतसँग अन्तरिक्षमा आफ्नै अन्तरिक्ष स्टेसन हुनेछ, यसले हामीलाई अन्तरिक्षको अज्ञात विस्तारको अध्ययनमा सहयोग गर्नेछ, अमृत कालको यो अवधिमा भारतीय अन्तरिक्ष यात्री हाम्रो आफ्नै रकेटमा चन्द्रमाको सतहमा अवतरण गर्नेछन्”, उहाँले भन्नुभयो ।

    ‘दातृ निकायको सुझावका आधारमा नै सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन संशोधनको प्रक्रियामा’

    काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले अवैध कारोबारलाई रोक्न सम्पत्ति शुद्धीकरण (मनी लाण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक संसद्मा पेस गरिएको बताउनुभएको छ । 

     

    राष्ट्रियसभा, विधायन व्यवथापन समितिको आजको बैठकमा उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिँदै उहाँले अवैध कारोबारका कारण मुलुकको अर्थतन्त्रमा प्रभाव परेको तथा दातृ निकायसमेतको सुझावका आधारमा विधेयक संशोधनको प्रक्रियामा लगिएको बताउनुभयो । 

     

    सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनलाई प्रभावकारी बनाउन यससँग सम्बन्धित अन्य कानुन पनि एकसाथ संशोधन गर्न लागिएको उहाँको भनाइ छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी मूल ऐनले लाभको पदमा बसेर कमाएका धनका सन्भर्दमा कसैलाई पनि छुट नदिएको उल्लेख गर्दै उहाँले अवैध सम्पत्तिलाई राज्यले जफत गर्ने बताउनुभयो ।

    मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सतिशकुमार देवको नियुक्ति लगायतका मन्त्रिपरिषद्को निर्णयहरू 

    काठमाडौं ।  सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार पदमा डा. सतिशकुमार देवलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट  सो निर्णय गरिएको हो ।सोमबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता रेखा शर्माले यस्तो जनाएकी हुन् ।

    भारतीय विदेश सचिवसँग हुने द्विपक्षीय छलफल तथा भारतको पुनेमा आयोजना हुने आर्थिक संवादसम्बन्धी कार्यक्रमको उद्घाटन सत्रमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन् ।

    गैर आर्थिक भ्रष्टाचारजन्य कार्यको प्रभावकारी अनुसन्धान गर्न अख्तिायारलाई लेखा समितिको निर्देशन

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई गैर आर्थिक भ्रष्टाचारजन्य कार्यको अनुसन्धान प्रभावकारी ढंगबाट गर्न निर्देशन दिइएको छ ।प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले अख्तियारलाई यस्तो निर्देशन दिएको हो ।

    लेखा समितिको मंगलबारको बैठकमा अख्तियार प्रमुख प्रेम राई र आयोगका सचिवसँग छलफल भएको थियो । लेखा समितिको बैठकमा अख्तियार प्रमुखलगायतसँग भएको छलफलपछि सभापति ऋषिकेश पोखरेलले गैर आर्थिक भ्रष्टाचारजन्य कार्यको अनुसन्धान प्रभावकारीरूपमा गर्न निर्देशन दिए ।

    साउनयता विद्युत् वितरणतर्फका नौ सबस्टेसन सञ्चालनमा

    काठमाडौँ ।  नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको साउनयता विद्युत् वितरणतर्फका नौ वटा सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । 

     

    प्राधिकरणले विद्युत् ग्रीड सबस्टेसनबाट वितरण सबस्टेसनसम्म विद्युत् पुर्याउन र वितरण सबस्टेसनबाट उपभोक्ताकोसम्म विद्युत् पुर्याउन ३३ तथा ११ किलोभोल्ट (केभी) र ४०० भोल्टका प्रसारण लाइन पनि निर्माण गरी सञ्चालनमा ल्याएको छ । साथै, वितरण ट्रान्सफर्म पनि जडान गरिएको छ ।

    सेन्चुरी बैंकका तत्कालीन सीइओ न्यौपाने र गौतम प्रक्राउ

    काठमाडौं । तत्कालीन सेन्चुरी कमर्सियल बैंकका दुई पूर्वप्रमुख कार्यकारी अधिकृत ९सीइओ० प्रक्राउ परेका छन् । तत्कालीन सेन्चुरी कमर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा हाल प्रभु बैंकका डेपुटी सीइओ मनोज न्यौपाने र सेन्चुरी बैंकका पूर्व सीइओ तुलसीराम गौतम प्रक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुसहित अन्य कर्मचारी पनि पक्राउ परेका छन् । सेन्चुरी बैंकमा रहँदा प्रवाह भएको ऋण हिनामिना गरेको भेटिएको भन्दै उनीहरुलाई प्रक्राउ गरेको हो ।

    प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ

    काठमाडौँ ।  केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित दश जनालाई पक्राउ गरेको छ ।

    ऋण अपचलन गरेको अभियोगमा न्यौपानेसहित दश जनालाई आज पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

    निजगढस्थित वर्कसपमा विस्फोटमा थप २ जनाको मृत्यु , मृत्यु हुनेको संख्या ३ पुग्यो

    बारा । बाराको निजगढस्थित एक वर्कसपमा सोमबार दिउँसो भएको ग्याँस सिलिन्डर विस्फोटमा परी थप २ जनाको मृत्यु भएको छ । यसरी  निजगढको सहिदचोकस्थित रोहित वर्कसपमा विस्फोटबाट भएको आगलागीका कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

    गम्भीर घाइते भएका थप २ जनाको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो ।

     

     
     
     
     
     
     
     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस