Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  फागुन १७ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८०, फागुन १७ बिहीबार

  • 840
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  फागुन १७ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज फागुन १७ बिहीबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    फर्स्ट माइक्रोफाइनान्सको बोनस सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं ।  फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ८ लाख ६० हजार ८०९.४६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । यस संस्थाले गत वर्षको नाफाबाट वितरण गरेको ७.५० प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ  ।

    शेयर बजार : २८.६८ अंकले घटेर नेप्से १९७२.०९ विन्दुमा ,  २ अर्ब ५९ करोडको कारोबार

    काठमाडौं । आज नेप्से २८.६८ अंकले घटेर  १९७२.०९ विन्दुमा आएको छ ।  आज २ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । आज २ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 
    यस दिन ३०९ कम्पनीको ७४ लाख ४६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ११ करोड १३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सोना मिनरल्स एन्ड आयल लिमिटेड अग्रस्थानमा रहेको छ ।

    पशुपति रिन्यूएबल्सले आईपीओ निष्कासन गर्ने , साधारण सभा चैत ७ गते

    काठमाडौं । पशुपति रिन्यूएबल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रस्ताव राखी चैत ७ गते साधारण सभा बोलाएको छ  । सभा लिसरा रिसेप्सन्स नक्साल काठमाडौमा दिउँसो २;३० बजे शुरु हुनेछ । सभाले आईपीओ निष्कासन गर्ने,कम्पनीको अधिकृत पूँजी तथा जारी पूँजी वृद्धि गरी कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

    राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले हकप्रद निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति

    काठमाडौं ।  राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । कम्पनीले हकप्रद बिक्रीका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।यस कम्पनीको हाल ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

    सिटिजन लाइफ इन्सुरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं ।  सिटिजन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको १८ लाख ७५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । यस कम्पनीले सेयरधनीलाई वितरण गरेको ५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

    दोर्दी खोला जलविद्युतले हकप्रद सेयर जारी गर्ने, बोर्डसँग माग्योअनुमति

    काठमाडौं ।  दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न भएको छ । कम्पनीले  नेपाल धितोपत्र बोर्डलाई अनुमतिका लागि   निवेदन दिएको छ । कम्पनीले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद निष्कासन गर्न अनुमति मागेको छ  । हकप्रद निष्कासनका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।हाल दोर्दी खोलाको चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ ।

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभा चैत २० गते

    काठमाडौं ।  नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चैत २० गते साधारण सभा बोलाएको छ । साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।बैंकले फागुन २४ गतेदेखि चैत २० गतेसम्म बुक क्लोज गर्ने भएको छ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । साधारण सभाले संस्थापकबाट ४ जना र सर्वसाधारण २ जना सञ्चालक निवार्चन गर्नेछ ।

    शिखर इन्सुरेन्सको साधारण सभा  चैत ९ गते 

    काठमाडौं ।  शिखर इन्सुरेन्सले चैत ९ गते वार्षिक साधारण सभा बोलाएको छ ।  शिखर इन्सुरेन्सको केन्द्रीय कार्यालय शिखर विज सेन्टरमा बिहान ११ बजे सुरु हुनेछ । यसले लभांश बिना  साधारण सभा बोलाएको छ । सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । साधारण सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

    नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा १४ करोड  लगानी गर्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा १४ करोड  लगानी गर्ने भएको छ । राष्ट्र  बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको जानकारी दिएको हो  । राष्ट्र  बैंकले २०८० चैत २ गतेदेखि २०८१ चैत १ गतेसम्म मुद्दति निक्षेपमा लगानी गर्न लागेको छ  ।मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले फागुन १८ गते राती ७ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर आवेदन पेश गर्नुपर्नेछ । राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ११ करोड २० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा २ करोड १० करोड रुपैयाँ र  ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ७० लाख रुपैयाँ लगानी गर्न लागेको छ ।

    आजदेखि अरुण भ्याली हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर बिक्री खुला

    काठमाडौं ।  अरुण भ्याली हाइड्रोपावरले आज फागुन १७ गते बिहीबारदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले १ः१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर जारी गरेको छ ।  यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री खुला गरेको छ  । कम्पनीले माघ १५ गते बुक क्लोज गरिसकेको छ ।  यस हकप्रद सेयरमा लगानीकर्ताले चैत ७ गतेसम्म आवेदन दिन सक्नेछन् । यसको  बिक्री प्रबन्धकमा  मुक्तिनाथ क्यापिटलले रहेको छ ।

    मिटरब्याज पीडितको राजधानीमा सिट्टी जुलुस 

    काठमाडौँ । मिटरब्याज पीडितहरूले माग पूरा गर्न निकालेको न्याय मार्च अन्तर्गत बिहीबार राजधानीमा सिट्ठी जुलुस निकालेका छन् ।

    पीडितहरूले भृकुटीमण्डपदेखि बालुवाटारसम्म सिट्ठी बजाउँदै जुलुस निकालेका हुन् ।

    माघ १६ गतेदेखि पूर्व र पश्चिमबाट  मिटरब्याज पीडितहरूले पैदल हिँडरे चितवन  हुँदै काठमाडौं आएर प्रदर्शन गरिरहेका छन् ।

    उनीहरूले विभिन्न ६ बुँदे माग अघि सारेका छन् । 

    उनीहरूको माग सम्बोधनको प्रयासस्वरुप सरकारसँग वार्ता भएपनि सहमति जुट्न नसकेको हो ।

     मिटरब्याज पीडितले भृकुटीमण्डपलाई केन्द्र बनाएर आन्दोलन गर्दै आएका छन् ।

    सेफ्टी  ट्यांकरमा लुकाएर लागु औषध कारोबार गर्ने एक जना पक्राउ

    काठमाडौँ । प्रहरीले ढलको फोहोर सफाइमा प्रयोग गरिने सेफ्टी  ट्यांकरमा लुकाएर लागु औषध कारोबार गर्ने कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

    विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ जम्मुडाँडास्थित सडक किनारबाट सर्लाही ठेगाना भएका ३४ वर्षीय नविन मोक्तानलाई पक्राउ परेको हो । 

    ब्युरोका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी सार्वजनिक गरे अनुसार  लागु औषध कारोबार गर्ने शंकास्पद व्यक्तिलाई पछ्याउँदै जाने क्रममा  फागुन १६ गते राति  सडक किनारमा रोकी राखेको ना ८ख २०२२ नम्वरको सेफ्टी ट्यांकरको सिटमुनि  ४७५ बोतल लागुऔषध फेला परेको थियो ।

    वायुसेवा निगम सुधार प्रतिवेदन कार्यन्वयन सिफारिस समितिले बुझायो चौथो प्रतिवेदन, प्रभावकारी कार्यन्वयनका लागि मन्त्री किरातीको निर्देशन

    काठमाडौँ। नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वको नेपाल वायुसेवा निगम संरचनागत सुधार अध्ययन समितिको प्रतिवेदन अध्ययन तथा कार्यान्वयन सिफारिस समितिले चौथो प्रतिवेदन बुझाएको छ ।

    पूर्वक्याप्टेन कुलबहादुर लिम्बु नेतृत्वको सो समितिले आज संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, मन्त्रालयका सचिव दीपक काफ्ले र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई संयुक्तरुपमा प्रतिवेदन बुझाएको हो ।

    समितिले बुझाएको प्रतिवेदनमा मुख्यगरी चार वटा बुँदा समावेश गरिएको छ । पहिलो बुँदमा आन्तरिक लेखापरीक्षण प्रभावकारी बनाउने, दोस्रोमा सञ्चालक समितिको निर्णय र निगमको सशासन प्रभावकारी बनाउन लेखा समिति बनाउने, तेस्रोमा निगमलाई आर्थिकरुपले प्रभावकारी बनाउन सोल्टी होटलको सेयर विक्री गर्ने उल्लेख छ ।

    सम्पति शुद्धीकरण निवारणमा सहकारीको सक्रियता बढ्दै 

    भक्तपुर ।सम्पति शुद्धीकरण निवारणका लागि सहकारी संस्थाहरुको सक्रियता बढ्दै गएको पाइएको छ । सम्पति शुद्धीकरण निवारणका लागि कानुनी प्रावधान  कार्यान्वयनमा नियामक निकायले कडाई गरेसँगै यसको पालनमा संस्थाहरुले सक्रियता देखाएका हुन् । 

    बागमती प्रदेश साकोस समिट २०८० मा ‘सहकारीमा सम्पति शुद्धिकरण निवारणः भावी जोखिम र कार्यान्वयन रणनीति’ विषयमा कार्यपत्र पेश गर्दै नेपाल राष्ट्र बैंकका निर्देशक मुक्ति सापकोटाले विगतमा सहकारीबाट सम्पति शुद्धीकरण हुन्छ भन्ने आम बुझाई रहेपनि त्यसमा विस्तारै परिवर्तन हुन थालेको बताए । सम्पति शुद्धीकरण ऐन तथा नियमावली र सहकारी विभागद्वारा जारी निर्देशन पालन गर्नेतर्फ संस्थाहरुको सक्रियता बढिरहेको उनले उल्लेख गरे ।

    गाजामा सहायताको पर्खाइमा रहेका प्यालेस्टिनीमाथि इजरायली बम आक्रम, ७० जनाको मृत्यु

    गाजा । गाजा शहरको पश्चिम तटीय सडकमा सहायता लिन पर्खिरहेका प्यालेस्टिनीहरूको भेलामा बिहीबार इजरायली सेनाले गरेको बम आक्रमणमा कम्तीमा ७० जनाको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोत र प्रत्यक्षदर्शीहरूले बताएका छन्।
    इजरायली बमबारीमा कम्तीमा ७० जनाको ज्यान गएको र २५० जना घाइते भएको मेडिकल स्रोतले सिन्ह्वालाई बताएको छ ।
    मृतक र घाइतेहरूलाई अल-शिफा अस्पतालमा लगिएको छ । यद्पि सो अस्पतालमा चिकित्सा उपकरण र चिकित्सकको अभाव रहेको बताइएको छ ।
    प्रत्यक्षदर्शीहरूले सिन्ह्वालाई बताए अनुसार इजरायली सेनाले गाजा शहरको पश्चिममा अल(राशिद स्ट्रिटमा नागरिकहरूको भेलालाई आक्रमभणको निशाना बनाएको थियो ।सिन्ह्वा

    उपचार नपाएर अकालमा कसैले ज्यान गुमाउनुपर्दैनः स्वास्थ्यमन्त्री बस्नेत

    ढोरपाटन ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अब कुनै पनि नागरिकले उपचार नपाएर अकालमा ज्यान गुमाउनु नपर्ने बताउनुभएको छ । 

    बागलुङको पञ्चकोटमा आयोजित अनन्त श्री ब्राह्माण्डीय महायज्ञका अवसरमा आयोजित पूर्वीय चिकित्सा शिक्षा पद्धति र जनस्वास्थ्य विकास सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले दूरदराजमा स्वास्थ्य सेवाको पहुँच पुर्याउँदै गएको बताउनुभयो ।

    दक्ष जनशक्तिलाई उत्पादन गर्दै सबै ठाउँमा पठाएर नागरिकको उपचार गर्न थालिएको उहाँको भनाइ छ । चिकित्सकको दरबन्दी बढाउनका लागि मन्त्रालय लागिपरेको भन्दै सरकार नागरिकको जीवनरक्षाका लागि गम्भीर भएर लागेको मन्त्री बस्नेतले बताउनुभयो ।

    बजेटमा रोजगारी सिर्जना र युवा परिचालनमा जोड दिन राष्ट्रियसभाका सांसदहरूको आग्रह

    काठमाडौँ।  राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै सांसदहरूले मुलुकमा सुशासन कायम गरी रोजगारी सिर्जना र युवा परिचालनमा जोड दिन आग्रह गर्नुभएको छ । सभाको यही फागुन १४ गतेको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आवको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो ।

    राष्ट्रियसभामा छवर्षे पदावधि पूरा गर्ने सांसदबाट अनुभव प्रस्तुत

    काठमाडौँ ।  राष्ट्रियसभाको आजको बैठकमा छवर्षे पदावधि पूरा गरी बिदाई हुन लाग्नुभएका सांसदले आफ्नो अनुभव राखिरहनुभएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदको अनुभव आगामी दिनमा उपयोगी हुन सक्ने उल्लेख गर्दै आफ्नो अनुभव प्रस्तुत गर्न सांसदलाई समय उपलब्ध गराउनुभएको थियो ।

     

    सभामा आफ्नो कार्यकाल पूरा गर्न लाग्नुभएका सदस्यले छ वर्षको कार्यअवधिमा सभा तथा समितिमा रही संसदीय अभ्यासमा प्राप्त गरेको अनुभवलगायत समसामयिक विषयमा बोल्न समय माग गरेकाले समय उपलब्ध गराइएको थियो । संवैधानिक व्यवस्थाअनुसार छवर्षे पदावधि पूरा गरी राष्ट्रियसभाका अध्यक्षसहित २० सांसद यही फागुन २० गतेदेखि बिदाई हुँदै हुनुहुन्छ ।

     

     
     
     
     
     
     
     
     
     
     
     
     
     
     
     
     

     

     

    प्रतिक्रिया दिनुहोस