Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  फागुन २२ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८०, फागुन २२ मंगलबार

  • 756
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  फागुन २२ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज  फागुन २२ मंगलबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    साग्रिंला डेभलपमेन्ट बैंकका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले शेयरधनीको हितग्राही खातमा बोनस शेयर जम्मा गरिदिएको छ । बैंकले मङ्सिर २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातमा जम्मा गरिदिएको हो ।

    मङ्सिर १० गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातमा बोनस शेयर जम्मा भएको सो मितिपश्चात शेयर अभौतिकीकरण गराएको शेयरधनीको हकमा पनि क्रमशस् बोनस शेयर जम्मा हुने बैंकले जानकारी दिएको छ ।

    शेयर बजार : ७०.३१ अंकले घटेर नेप्से २००७.६९ विन्दुमा , ४ अर्ब ११ करोडको कारोबार

    काठमाडौं । आज नेप्से ७०.३१ अंकले घटेर २००७.६९ विन्दुमा आएको छ ।आज  ४ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । 
    यस दिन ३१६ कम्पनीको १ करोड १४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४१ करोड ९१ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सोना मिनरल्स एन्ड आयल लिमिटेड परेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र घोराही सिमेन्ट्स परेका छन् ।

    प्रि ओपन सेसन : नेप्से सूचक  १६.७० विन्दुले बढ्यो

    काठमाडौं ।  प्रि ओपन सेसनमा नेप्से सूचक १६.७० विन्दुले बढेको छ । यससँगै सूचक २०५४.७१ अंकमा आएको छ । ४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६९ कम्पनीको १ लाख भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ७ सय वटा कारोबार भएको हो ।

    अपर हेवाखोला हाइड्रोपावरको साधारण सभा चैत १६ गते

    काठमाडौं ।  अपर हेवाखोला हाइड्रोपावर लिमिटेडले चैत १६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा युनियन हाउस अनामनगर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।सर्वसाधरण सेयरधनीको प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको रिक्त रहेको पदमा बाँकी अवधिको लागि सञ्चालक नियुक्ति गर्ने एजेन्ड रहेको छ ।

    हालसम्मकै उच्च सुनको मूल्य , प्रतितोला १ लाख २३ हजार

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (फागुन २२ गते)छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख २३ हजार रुपैयाँमा कारोबार  भएको छ   ।आज  तेजावी सुनको मूल्य तोलाको १ लाख २२ हजार ४०० रुपैयाँमा कारोबार  भएको छ   ।आज चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले बढेर १४ सय ४५ रुपैयाँ कायम भएको छ ।

    व्यावसायिक, मनोरञ्जनात्मक गतिविधिका लागि श्रीलङ्काले गाले बन्दरगाहको विकास गर्ने

    कोलम्बो । श्रीलङ्काको मन्त्रिपरिषद्ले ऐतिहासिक गाले बन्दरगाहलाई व्यावसायिक र मनोरञ्जनात्मक गतिविधिहरूका लागि नयाँ ढङ्गले विकास गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।
     मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवर्द्धनाले मङ्गलबार पत्रकार सम्मेलनमा सो निर्णय बारे जानकारी गराउनु भएको हो । 
    पत्रकार सम्मेलनमा बोल्दै गुणवर्द्धनाले गाले हार्बर विकास आयोजनासँग सम्बन्धित पूर्वाधार विकास र मनोरञ्जन गतिविधिसँग सम्बन्धित पूर्वाधार विकासका लागि सार्वजनिक–निजी साझेदारी ढाँचामा उपयुक्त लगानीकर्ता छनोट गर्ने प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको बताउनु भएको छ ।

    लुम्बिनीमा हुन लागेको ‘लरेट्स एण्ड लिडर्स’  शिखर सम्मेलन स्थगित

    तुलसीपुर । लुम्बिनी प्रदेश सरकारले लुम्बिनीमा आयोजना हुने तय भएको ‘लरेट्स एण्ड लिडर्स’ शिखर सम्मेलन स्थगित गरेको छ । 

     

    आज बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यही फागुन २८ र २९ गतेका लागि तय भएको शिखर सम्मेलन विशेष कारण देखाउँदै स्थगित गर्ने निर्णय गरेको हो । विशेष कारणबस सम्मेलन स्थगित गर्नुपरेको प्रदेश सरकारका प्रवक्ता सन्तोष कुमार पाण्डेले जानकारी दिनुभयो ।रासस

    पाथीभरामा चढाइएको १७८ तोला सुन लिलाम गरिँदै

    फुङ्लिङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध पाथीभरामा भक्तजनले चढाएको सुनचाँदी लिलाम प्रक्रिया अगाडि बढाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले १७८ तोला सुन र पाँच हजार तोला चाँदी बिक्री गर्न लागेको हो ।

    विसं २०७९ देखि २०८० मङ्सिर १६ गतेसम्म पाथीभरामा चढाएका सुनका गरगहना सङ्कलनपछि प्रशोधन गरेर  १७८ तोला ८२ लाल सुन निकालिएको र त्यसलाई लिलाम बिक्रीको प्रक्रियामा राखिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । २०७६ देखि २०८० मङ्सिर १६ गते सम्ममा पाथीभरामा पाँच हजार २९८ तोला १२ लाल चाँदी सङ्लन भएको र त्यसलाई पनि बिक्री गर्ने प्रक्रिया प्रारम्भ गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रचिन हाङपाङले राससलाई बताउनुभयो । 

    नदीजन्य पदार्थबाट करोडौँ राजस्व सङ्कलन हुँदै

    राँझा ।बाँकेको राप्ती सोनारी गाउँपालिकाले नदीजन्य पदार्थबाट चालू आर्थिक वर्षमा रु आठ करोड बढी राजस्व सङ्कलन गर्ने भएको छ । 

     

    यस वर्ष नदीजन्य पदार्थ उत्खननका लागि समयमै बोलपत्र आह्वान गरी रु आठ करोड ६७ लाख ९६ हजार नौ सयमा ठेक्का सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जानकारी दिनुभयो । “विगतका वर्षमा नदीजन्य पदार्थको ठेक्का नलाग्दा राजस्व सङ्कलनमा कमी भए पनि गत आर्थिक वर्षदेखि ठेक्का प्रक्रियाबाट राजस्व सङ्कलन हुँदै आएको छ”, देवकोटाले भन्नुभयो, “यस आर्थिक वर्षमा राप्ती सोनारी गाउँपालिकाअन्तर्गत पर्ने विभिन्न पाँच घाटको नदीजन्य पदार्थको एकमुष्ट ठेक्का लगाएका छाँै ।”

    भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दायर

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन सहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुखसहितका कर्मचारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

     

    राजविराज मधुवापुर वडा कार्यालयबाट अर्जी टोलसम्मको तीन सय मिटर सडक कालोपत्र गर्ने क्रममा प्रक्रिया नपु¥याइ काम गरेकाले भ्रष्टाचारको अभियोगमा आज मुद्दा दायर गरिएको हो ।

     

    तत्कालीन आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर सचिन्द्रकुमार देव, इन्जिनियर मदन राय, सवइन्जिनियर सरोजकुमार यादवविरुद्ध रू तीन लाख ४७ हजार बराबरको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

    सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रका २ मन्त्री र १ राज्यमन्त्री बर्खास्त

    काठमाडौं । सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रका २ जना मन्त्री र १ जना राज्यमन्त्री बर्खास्त भएका छन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले माओवादी केन्द्रका सामाजिक विकासमन्त्री झपट साउद र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी तथा राज्यमन्त्री गीता माललाई हटाएका हुन् ।

    कर्णाली सरकारमा सहभागी कांग्रेसका ३ मन्त्रीले दिए राजीनामा

    काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरुले राजीनामा दिएका छन् । केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन फेरेपछि कांग्रेसको तर्फबाट सरकारमा सहभागी रहेका ३ मन्त्रीले राजीनामा दिएका हुन् ।

    पशुपतिनाथ क्षेत्रमा महाशिवरात्रि पर्वको तयारी

    काठमाडौँ ।  महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा मासुजन्य पदार्थ एवं मदिरा बिक्रीमा रोक लगाइएको छ । यही फागुन २५ गते शुक्रबार परेको महाशिवरात्रि पर्वलाई मध्यनजर गरेर सो निर्णय गरिएको हो । 

     

    महाशिवरात्रिका लागि यतिखेर पशुपति क्षेत्रमा साधुसन्तहरु आउने क्रम सुरु भइसकेको छभने पाशुपत क्षेत्रको सजावटको काम पनि सुरु भएको पशुपति विकास कोषले जनाएको छ ।

    आजको मौसम : देशभरि मौसम मुख्यतया सफा रहने

    काठमाडौँ ।   हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसमविद् सरोज पुडासैनीले राससलाई जानकारी दिनुभयो ।

    सरकारले गर्यो सार्वजनिक खरिद नियमावलीको १३औं संशोधन

    काठमाडौं । सरकारले सार्वजनिक खरिद नियमावलीको १३औं संशोधन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै नियमावलीको १३औं संशोधन गरेको जनाएको हो ।नियमावलीको संशोधनमार्फत् समयमा काम सम्पन्न नभएका र काम चालु अवस्थामा रहेका देशभरीका दुई हजार आयोजनाहरुको म्याद थपिने भएको छ । काम सम्पन्न नभएका आयोजनाहरुको निर्माणको काम गरिरहेका निर्माण व्यवसायीहरुले माग गरेको समयअनुसार नै समय थप गर्नेगरी संशोधित नियमावलीमा व्यवस्था गरिएको छ ।साथै समय थपको अधिकार सम्बन्धित आयोजनाका कार्यालय प्रमुखलाई दिइएको छ । तर, निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न हुन नसक्नुका कारणहरु भने पेस गर्नुपर्ने छ ।

    एनआरएनए शुद्धिकरणको लागि हाम्रो लडाई जारी छ,सरकार परिवर्तनले कुनै असर पर्दैन : अध्यक्ष आरके शर्मा

    काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष राजेन्द्र कुमार (आरके) शर्माले गैर आवासीय नेपाली संघ शुद्धिकरणको लागि आफ्नो लडाई जारी रहने बताएका छन्।

    एक प्रश्नको जवाफमा अध्यक्ष शर्माले सोमबार नेपालमा भएको सत्ता समीकरण परिवर्तनले संघभित्र शुद्धिकरणको लागि जारी लडाईलाई कुनै असर नपर्ने बताए।  

    कांग्रेस, माओवादीको गठबन्धन भत्किएर एमाले, माओवादीको नयाँ गठबन्धन बनेपछि एनआरएनएमा जारी विवादमा के कस्तो असर पर्ला भन्ने आकलन भै रहेको छ।  तर अध्यक्ष शर्माले आफू राजनीति भन्दा पनि सामाजिक कामका लागि एनआरएनएमा लागेकोले  यसको पवित्र उद्देश्यमा कहिल्यै घात नगर्ने बताए ।

     
     
     
     
     
     
     
     

     

     
     

     

    प्रतिक्रिया दिनुहोस