Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  फागुन २३ बुधबार का मुख्यमुख्य आर्थिक समाचारहरू....


नया सडक

२०८०, फागुन २३ बुधबार

  • 780
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  फागुन २३ बुधबार का मुख्यमुख्य आर्थिक समाचारहरू....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज  फागुन २३ बुधबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    सोल्टी होटलको बोनस सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोल्टी होटल लिमिटेडको ४४ लाख २३ हजार ८६४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको ५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

    नेप्से परिसूचक नौ दशमलव ३३ अङ्कले बढ्यो , तीन अर्ब ४५ करोडको कारोबार

    काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । सोमबार सकारात्मक सर्किट र मङ्गलबार उच्च अङ्कको गिरावटपछि आज बजार सम्हालिएको हो । 

     

    परिसूचक नौ दशमलव ३३ अङ्कले बढेर दुई हजार १७ दशमलव ०३ अङ्कमा पुगेको छ । आज विभिन्न तीन सय आठ कम्पनीका ९१ लाख ३८ हजार एक सय ५४ कित्ता शेयर ५८ हजार नौ सय ४० पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ४५ करोड आठ लाख ३८ हजार तीन सय ५७ को कारोबार भएको छ ।

    सिटिजन्स बैंकको ४० हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्री  खुला

    काठमाडौं । सिटिजन्स बैंकले इन्टरनेसनल लिमिटेडले ४० हजार २३७ दशमलव ६४ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता १०५ रूपैयाँ अंकित मूल्यमा  शेयर विक्रीमा ल्याएको छ।

    यस अघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाऊने गरी विक्री खुला गरेकोमा सो अवधिमा वित्री नभएपछि दोस्रो चरणमा सर्वसाधारण व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्नृ पाउने गरी विक्रीमा ल्याएको छ ।

    खानीखोला हाइड्रोपावरले १०० प्रतिशत हकप्रद जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

    काठमाडौं ।  खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १:१ अनुपातमा ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको छ । हाल यस हाइड्रोपावरको चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ रहको छ ।

    नापतौलमा ठगी गर्ने चार हजार सात सय ४१ व्यवसायी कारबाहीमा

    काठमाडौँ ।  नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने तथा समयमा नापतौल यन्त्रको नवीकरण नगर्ने चार हजार सात सय ४१ व्यापारीलाई कारबाही गरेको छ ।

     

    कार्यालयले चालू आर्थिक वर्षको छ महिनामा नापतौलमार्फत उपभोक्तालाई ठगी गर्ने तथा समयमा यन्त्रको नवीकरण नगर्ने व्यापारीलाई कारबाही तथा जरिवाना गरेको हो ।

    सुन हालसम्मकै महँगो, तोलाको एक लाख २३ हजार ५०० रुपैयाँ

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनले पुनः नयाँ रेकर्ड कायम गरेको छ । मंगलबारको नयाँ रेकर्डलाई पछि पार्दै सुन आजसम्म कै उच्च मूल्यमा पुगेको हो । सुनचाँदी व्यवसायीका अनुसार बुधबार सुन तोलामा ५०० रुपैयाँले बढेको हो । आज छापावाला सुनको मूल्य बढेर एक लाख २३ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मुल्य हो ।

    पञ्चकोटले मानवीय र मातृत्वको भावनालाई बलियो बनाउँदै लगेको छ : अध्यक्ष ओली

    गलकोट । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चकोटले मानवीय र मातृत्वको भावनालाई थप बलियो बनाउँदै लगेको बताउनुभएको छ । धार्मिक तपोभूमिका रुपमा दामोदर कुण्डदेखि त्रिवेणीधामलाई समेटेर निर्माण भइरहेको पञ्चकोटले देशप्रतिको मायालाई प्रगाढ बनाउन मद्दत गरेको उहाँले उल्लेख गर्नुभयो । 

     

    बागलुङ नगरपालिका–६ पञ्चकोटमा यही फागुन ९ गतेदेखि सञ्चालित अनन्तश्री ब्रह्माण्डीय महायज्ञको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले धौलागिरि क्षेत्र पवित्र धार्मिक तपोभूमि रहेको उल्लेख गर्दै कमलनयनाचार्यकोे पहलमा भइरहेको धार्मिक विकासले नेपालीको मनलाई एकापसमा जोड्न सकेको बताउनुभयो ।

    ‘हाइटेक’ नर्सरी स्थापनाका नाममा भ्रष्टाचार, अख्तियारद्वारा मुद्दा दायर

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका–५ आलीमा स्थापना गरेको भनिएको ‘हाइटेक’ नर्सरी निर्माणमा अनियमितता भएको भन्दै वन अधिकृतसमेत उक्त कार्यमा संलग्नविरुद्ध विशेष अदालतमा बुधबार मुद्दा दायर गरेको छ ।
     
    अख्तियारले दायर गरेको मुद्दामा उच्च प्रविधिको नर्सरी स्थापना गरी बाँझो तथा खाली जमिनमा वृक्षरोपण तथा जडीबुटी खेती विस्तार कार्यक्रममा रकम भुक्तानी भई निर्माण भएको उच्च प्रविधिको नर्सरी प्रयोगमा नै नआई रु ८४ लाख ८६ हजार बराबरको रकम हानिनोक्सानी गरेको दाबी गरिएको छ ।

    प्लाइउडमा नयाँ कानुन लगाउने म्याद थप्न भारत सकारात्मक

    झापा । नेपालबाट निकासी हुने प्लाइउड (काठको प्रशोधित पाता)मा इण्डियन स्ट्यान्डर्स इन्स्टिच्युट (आईएसआई) मापदण्ड लागू हुने म्याद थप्न भारत सरकार केही लचिलो बनेको छ । आइएसआई प्रमाणित नभएका नेपाली प्लाइउडको आयातमा यही फागुन १६ गतेदेखि रोक लगाउने गरी छ महिनाअघिको भारत सरकारको निर्णयबाट नेपालका प्लाइउड उत्पादक चिन्तित बनेका थिए ।

     

    नेपाल सरकारले आइएसआई प्रमाणपत्रका लागि प्रक्रिया पूरा गर्न समय लाग्ने जनाउँदै भारत सरकारलाई कडाइ नगरिदिन अनुरोध गरेपछि भारतले लचिलो हुँदै आगामी छ महिनाका लागि म्याद थप गरेको मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेमराज प्रसाइँले बताउनुभयो । 

     

    “प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख राजनीतिक दलका नेतालाई भेटेरै भारतले नेपाली प्लाइउड रोक्ने नयाँ नीति लागू गरेको अवगत गरायौँ”, सङ्घका अध्यक्ष प्रसाइले भन्नुभयो, “बर्सेनी अर्बौंको विदेशी मुद्रा आर्जन हुने प्लाइउड निर्यात रोकिएमा ठूलो क्षति हुने विषयमा उहाँ पनि चिन्तित हुनुभयो । तर अहिले भारत सरकारले छ महिनाको म्याद थप गरेको हो ।”

    एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्दै

    काठमाडौं ।  नेकपा एकीकृत समाजवादीबाट नयाँ मन्त्रीमण्डलमा दुई जना भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्ने भएका हुन् ।जोशी संघीय मामिला तथा सामान्य प्रशासन र बुढा सहरी विकास मन्त्री बन्ने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको हो । योसँगै नयाँ मन्त्रीमण्डलमा २० सदस्यीय भएको छ ।

    एमालेले सरकारमा यसअघि प्रचण्ड सरकारमा रहिसकेका मध्ये अधिकांशलाई पठाउँदै 

    काठमाडौं । नेकपा एमालेले अघिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा रहेका अधिकांश मन्त्रीहरूलाई फेरि सरकारमा पठाउने निर्णय गरेको छ । सत्ता गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँटको खाका तयार पारेसँगै एमालेले मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।

    बाँडफाँटसम्बन्धी निर्णयसम्बद्ध एक नेताका अनुसार सरकारमा एमालेले ८ मन्त्रालय पाउने र पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने गरी प्रचण्ड नेतृत्वको सरकारमा सहभागीहरूलाई पठाउने छ।  पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन् । अब दामोदर भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्रीको शपथ लिन लागेका छन् ।महासेठ र अधिकारी बाहेक सबै अघिल्लो पटक प्रचण्ड सरकारमा मन्त्री  थिए ।

    महाशिवरात्रीको अवसरमा विशाल भण्डारा नेपालको नि : शुल्क भोजन वितरण , दैनिक ५ देखि ३० हजारसम्मलाई भोजन खुवाईदै

    काठमाडौं । विशाल भण्डारा नेपालले महाशिवरात्रीको अवसरमा पशुपतीनाथ मन्दिर परिसरमा  नि : शुल्क भोजनसहितको भण्डारा संचालन गरेको छ । विशाल भण्डारा नेपालले २१ गते सोमवारदेखि  नि : शुल्क भोजनसहितको भण्डारा संचालन गरेको हो । पशुपतीनाथ मन्दिर परिसरको हन्स मण्डपसंगै संचालित भण्डारामा दैनिक निशुल्क भोजन वितरण गरिदैं आएको छ । उक्त भण्डारामा सोमवार र मंगलवार करिव ५ हजार भक्तजन तथा साधु संतलाई भोजन वितरण गरिएको समाजसेवी रतन शर्माले बताए । उनका अनुसार बुधबार र बिहिवार करिव १० हजार र शिवरात्रिको दिन शुक्रबार २० देखि ३० हजार जना भक्तजन तथा साधु संतहरुलाई  नि : शुल्क भोजन खुवाईने बताए । भण्डारमा भक्तजन तथा साधु संतहरुलाई सहजरुपमा   नि : शुल्क भोजन वितरणको ब्यवस्था मिलाईएको किसन अग्रवालले बताए । 

    बालुवाटारबाट १३ जना मिटरब्याज पीडितहरू पक्राउ

     काठमाडौं ।प्रहरीले मिटरब्याज र ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहसहित १३ जनालाई पक्राउ गरेको हो । बालुवाटार क्षेत्रमा प्रदर्शन गरेको भन्दै उनीहरूलाई नियन्त्रणमा लिइएको हो। कुशवाह मिटरब्याज पीडितको तर्फबाट वार्ता गर्न बनाइएको टोलीको संयोजक समेत हुन् । पक्राउ पर्नेमा ४ महिला र ९ जना पुरुष रहेका छन् ।

     

     
     
     

     

     

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस