Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  फागुन २४ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८०, फागुन २४ बिहीबार

  • 669
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  फागुन २४ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज फागुन २४ बिहीबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    सर्वोत्तम सिमेन्टको आइपीओ भोलि बाँडफाँट हुने

    काठमाडौं । सर्वोत्तम सिमेन्टको आइपीओ भोलि (फागुन २५ गते) बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार बिहान १० बजे नक्साल काठमाडौंमा आइपीओ बाँडफाँटको तयारी गरिएको छ ।  सर्वोत्तमको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा १९.३२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १० लाख १२ हजार ३८४ जनाले कुल ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि आवेदन दिएका छन् ।

    हिमालयन एभरेष्ट ,जीवन विकास र युनाइटेड अजोडको बोनस सेयर  नेप्सेमा सूचीकृत 

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हिमालयन एभरेष्ट इन्सुरेन्स, जीवन विकास लघुवित्त र युनाइटेड अजोड इन्सुरेन्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।
    जीवन विकास लघुवित्तको १६ लाख ५४ हजार ८४७ कित्ता बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । यसले वितरण गरेको १४ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो । युनाइटेड अजोड इन्सुरेन्सको १९ लाख ५४ हजार ३२० कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसले सेयरधनीलाई १०.२६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

    अर्थमन्त्रीलाई सेयर बजारको स्वागत , लगानीकर्ता खुसी, बजारमा छायो हरियाली 

    काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनलाई सेयर बजारले स्वागत गरेको छ । अर्थमन्त्रीकारूपमा नियुक्त भएको दोस्रो दिनमा सेयर बजार बढेर अर्थमन्त्री पुनलाई स्वागत गरेको हो ।  सेयर बजार बिहीबार  नेप्से सूचक १३.५१ विन्दुले बढेर २०३०।५५ अंकमा आएको छ । एउटा कम्प्नीमा सकारात्मक सर्किट लाग्दा ३ अर्ब १९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये १० वटा समूह बढेका छन् । ३ वटामात्र घटेका छन् ।अर्थमन्त्री पुनले सेयर बजारप्रति सकारात्मक धारणा राखेका थिए । उनले सेयर बजारमा भएका नीतिगत कुरालाई करेक्सन गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।अर्थमन्त्री पुनले आफूले ६० लाख सेयर लगानीकर्ताको हितमा काम गर्ने बताउँदै अहिलेको अवस्थामा लगानीकर्ताको मनोवल बढाउने काम गरेर सेयर बजारलाई विगतमा जस्तो हेरेर नहुने धारणा राखेका थिए ।

    प्रि ओपन सेसनमा ३.९१ अंकले बढ्यो नेप्से

    नेपाल स्टक एक्सेञ्ज (नेप्से) प्रि ओपन सेसनमा ३.९१ अंकले बढेको छ । नेप्से ०.१९ प्रतिशतले बढेर २०२०.९४ अंकमा पुगेको छ । प्रि ओपन सेसनमा २१ लाख ५३ हजार १९४ रुपैयाँको ४ हजार ५५८ कित्ता शेयर किनबेच भएको छ ।प्रि ओपन सेसनमा ४१ कम्पनीको शेयर निबेच हुँदा २७ कम्पनीको शेयर बढेको छ भने ९ कम्पनीको शेयर घटेको छ ।

    सुनको मूल्यमा नयाँ रेकर्ड, आज तोलाको १ लाख २५ हजार रुपैयाँ 

    काठमाडौं । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार तोलामा १ लाख २३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार थप १ हजार ५ सय बढेर १ लाख २५ हजार रुपैयाँ कायम भएको हो ।
    मंगलबार तोलामा १ लाख २३ हजार रुपैयाँ कायम भएको कीर्तिमान बनेको मूल्यमा बुधवार र बिहीबार थप बढेर उच्च बिन्दुमा पुगेको हो ।यस्तै बिहीबार तेजाबी सुन पनि तोलामा १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

    रुसी सेनामा कार्यरत नेपालीलाई स्वदेश फर्काउन विदेशमन्त्री लाभारोभलाई अनुरोध

    काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपाली नागरिकका समस्या, ज्यान गुमाएकाको शव स्वदेश ल्याउन, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र रुसी सेनामा कार्यरत नेपाली नागरिकलाई स्वदेश फर्काउन सहजीकरण गर्न आफ्ना रुसी समकक्षीसँग आग्रह गर्नुभएको छ ।

    उपप्रधानमन्त्री श्रेष्ठले रुसी महासङ्घका विदेशमन्त्री सर्गेइ लाभरोभसँग आज भएको टेलिफोन वार्तामा त्यस्तो आग्रह गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । कुराकानीका क्रममा रुसका विदेशमन्त्रीले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीलाई  परराष्ट्र मन्त्रालयको पदभार ग्रहण गर्नुभएकामा बधाई दिँदै शुभकामना व्यक्त गर्नुका साथै व्यापार, पर्यटन, संस्कृतिलगायत विभिन्न क्षेत्रमा नेपालसँग सहकार्य गर्न इच्छुक रहेको बताउनुभएको थियो ।

    चौधरी पार्टीको अध्यक्ष हुन नमिल्ने आयोगको निर्णय

    काठमाडौँ ।निर्वाचन आयोगले सर्वोच्च अदालतबाट ज्यान मुद्दामा दोषी ठहर गरिएका रेशमलाल चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष हुन अयोग्य हुने व्याख्या गरेको छ ।
     
     नागरिक उन्मुक्ति पार्टीले गत पुस २७ गते कैलालीमा महाधिवेशन गरी साविककी रञ्जिता श्रेष्ठको अध्यक्षतामा रहेको केन्द्रीय समितिमा चौधरीलाई अध्यक्ष घोषणा गरेकामा आयोगले त्यसलाई अद्यावधिक गर्न अस्वीकार गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राजनीतिक दलसम्बन्धी ऐनले तोकेको योग्यताबमोजिम अदालतको फैसलाका आधारमा चौधरी दलको अध्यक्ष हुन योग्य नहुने निर्णय गरिएको जानकारी दिनुभयो ।

    ३३७ जनालाई ठगेको अभियोग लागेका तामाङद्वयलाई थुनामा राख्न आदेश

    काठमाडौँ । वैदेशिक रोजगार न्यायाधिकरणले वैदेशिक रोजगार कसुरमा विकास बाइवा भन्ने सुजन तामाङ र अर्जुन तामाङ भन्ने कर्मा तामाङ पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।न्यायाधिकरणका अध्यक्ष कृष्ण गिरी, सदस्यद्वय निशा बानियाँ, उद्धबप्रसाद पुडासैनीको इजलासले निजहरूविरुद्ध तीन सय ३७ जनाको किटानी जाहेरी परेको तथा  रु पाँच करोड ५० लाख भन्दाबढी रकम हिनामिना गरेकाले पुर्पक्षका लागि पठाउने आदेश गरेको हो । यूरो विइङस एजुकेसन कन्सल्ट्यान्सीको नाउँमा तामाङद्वयले वैदेशिक रोजगारीमा माल्टा, क्रोएसिया, क्यानडा, पोल्याडलगायत देशमा पठाइदिन्छौँ उक्त रकम ठगी गरेका थिए ।

    प्रश्न मात्रै होइन, समाधान खोज्न सरकारमा आएका हौँः सांसद परियार

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आफ्नो पार्टी प्रश्न गर्न मात्रै नभई उक्त प्रश्नको समाधान खोज्न सरकारमा सहभागी भएको बताउनुभएको छ । 

     

    प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा धारणा राख्दै उहाँले भन्नुभयो, “प्रश्न गर्न सजिलो छ । जब समाधान गर्ने बेला आउँछ, त्यतिबेला राजनीतिक पार्टी भाग्नुहुँदैन ।” 

     

    आफ्नो पार्टी विगतमा अन्य पार्टीले गरेको जस्तो गल्ती गर्न नआएको भन्दै सांसद परियारले मुलुकको मुहार परिवर्तन गर्ने विश्वासका साथ सरकारमा सहभागी भएको बताउनुभयो । “जुन दिन पार्टीले चाहेको काम गर्न सकिँदैन, त्यो दिन सत्ताबाट हट्नेछौँ”, उहाँले भन्नुभयो ।

    तनहुँको बुल्दीखोलामा पाँच करोडको लागतमा पक्की पुल बन्दै

    दमौली । तनहुँको व्यास नगरपालिका–२ र १ करङकाठ जोड्ने बुल्दीखोलामा पक्की पुल निर्माण हुने भएको छ । पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । व्यास नगरपालिकाले धादिङको ज्वालामुखी कन्स्ट्रक्सनसँग बुल्दीखोलामा पुल निर्माणका लागि बुधबार सम्झौता गरेको हो । 

    बुल्दीखोलामा पुल निर्माणका लागि गत पुस ३ गते विद्युतीय बोलपत्र आव्हान भएको थियो । अनलाइनमार्फत पेस भएका तीन फर्मका विद्युतीय बोलपत्रमध्ये नगरपालिकाको स्वीकृत विभागीय लागत अनुमान मूल्यअभिवृद्धि कर र कन्टिजेन्सी बाहेक रु पाँच करोड ८२ लाख ४० हजार नौ सय ४९ मा  बोलपत्र दर्ता गराएको ज्वालामुखी कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले राससलाई जानकारी दिनुभयो ।

    संसद्मा महिला तथा सामाजिक मामिला समितिको प्रतिवेदन पेस

    काठमाडौँ ।प्रतिनिधिसभाको आजको बैठकमा महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन, २०७९र८० पेस भएको छ । सभाको आजको बैठकमा समितिका सभापति किरणकुमार साहले उक्त प्रतिवेदन पेस गर्नुभयो ।

     

            त्यसअघि बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो ।

    एमसिए–नेपालले अघि बढायो १८ किमी लामो सीमापार विद्युत् प्रसारण लाइनको काम

    काठमाडौँ ।  एमसिए–नेपालले विद्युत् प्रसारण आयोजनाअन्तर्गत निर्माण गर्न लागेको ३१५ किमी लामो प्रसारण लाइन सञ्जालबाट १८ किमी लामो बुटवल–गोरखपुर विद्युत् प्रसारण लाइन खण्डलाई छुट्याएर प्राथमिकताका साथ अगाडि बढाउने निर्णय गरेको छ ।

    एमसिए–नेपालको सञ्चालक समितिको मङ्गलबार बसेको ४०औँ बैठकले सो निर्णय गरेको एमसिए–नेपालले जनाएको छ । यस सीमापार खण्डसम्बन्धी कामलाई तीव्रता प्रदान गर्दा नेपाल र भारतबीचको सीमापार ऊर्जा व्यापार सम्झौताअन्तर्गतको दायित्व निर्वाह गर्न सहयोग पुग्ने ठहर सञ्चालक समितिले गरेको छ ।

    सरकारलाई प्रभावकारी बनाउन जोखिम उठाएरै समीकरण परिवर्तन गरेँ : प्रधानमन्त्री (पूर्णपाठ)

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका कामलाई प्रभावकारी बनाउन आफूले जोखिम उठाएरै सत्ता समीकरण परिवर्तन गरेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफ तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे धारणा राख्दै उहाँले कार्यक्षमता प्रमाणित नभए वा देशमा सकारात्मक परिवर्तन ल्याउन र आशा जगाउन नसके पद ओगटिनरहने घोषणा नै गरेको र आफ्नो प्रतिबद्धतामा गठबन्धनका केही घटकबाट अपेक्षित साथ नपाएको बताउनुभयो ।

     

    “म सरकारको गतिसँग असन्तुष्ट छु भनेर मैले पटक–पटक भनिरहेकै हुँ । मसँग दुई विकल्प थिए, औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएरै भए पनि आफ्नो राजनीतिक प्रतिबद्धताअनुसार, राष्ट्र निर्माणमा लाग्ने ? मैले दोस्रो विकल्प रोजेँ”, प्रधानमन्त्री दाहालले भन्नुभयो । कसैलाई आफ्नो कदम अस्थिरता र गतिशीलता लागे पनि उक्त कदम देश र जनताको हितमा रहेको बताउनुभयो । आउँदा दिनमा सरकारका काम र परिणामबाट उक्त विषय प्रमाणित हुने उहाँको भनाइ छ ।

     

    “सरकारका रूपमा हामीले विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल नगरेका होइनौँ तर म तीव्रता चाहन्थेँ । औसत उपलब्धिको आत्मप्रशंसाको पिँजडामा अटाउने अवस्थामा म थिइँन र छैन”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “साथीहरूले व्यक्तिका रूपमा त मलाई माया गर्नुभयो तर परिवर्तन, सुशासन र समृद्धिको तीव्र आकांक्षा बोकेको प्रधानमन्त्रीका रूपमा मलाई न्याय गर्नुभएन ।”

    यस्ता छन आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    काठमाडौं । आज बिहीबार बसेको सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निणृय गरेको छ । नयाँ सत्तागठबन्धनमा एमाले, माओवादी, रास्वपा र नेकपा एस सहभागी भएपछिको यो पहिलो मन्त्रिपरिषद् बैठक हो । आजको मन्त्रिपरिषद् बैठककले सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय रेखा शर्मालाई नेपाल सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको छ ।यस्तै  संयुक्त राष्ट्रसंघको commission on the status of women (CSW) को ६८ औं सत्रमा भाग लिन माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीलाई स्वीकृति निर्णय गरेको छ ।

    भन्सार छली चोरी पैठारी भित्र्याइएका सामान बरामद

    लुम्बिनी ।  रुपन्देही प्रहरीले भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी ल्याइएको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले बुधबार रुपन्देहीको कालिदह नाकाबाट भन्सार छली नेपाल भित्र्याइएको प्याज र जिल्लाको धकधही क्षेत्रबाट विभिन्न उपभोग्य सामान बरामद गरेको छ ।

     

    प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१ कालिदहबाट एक सय ४० बोरा प्याज बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो । उक्त प्याज मोटसाइकल र साइकलमा ढुवानी गरी गोदाम गरिरहेका अवस्थामा बरामद गरिएको उहाँले जानकारी दिनुभयो ।

     

    बरामद गरिएका चार मोटरसाइकलमध्ये एउटा भारतीय नम्बरप्लेट र तीन नेपाली नम्बरप्लेटका छन् । त्यस्तै सातवटा साइकल बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको प्याज, मोटरसाइकल र साइकल आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा पठाइएको प्रनाउ भट्टले बताउनुभयो ।

    एनआरएनए मध्यपुर्व संयोजक राजेन्द्र अर्याल (जोन)साउदी अरबका लागि पर्यटन दूतमा नियुक्त

    साउदी अरव । नेपाल सरकारले एनआरएनए मध्यपुर्व संयोजक राजेन्द्र अर्याल ९जोन० लाई साउदी अरबका लागि पर्यटन प्रवर्द्धक ९ पर्यटन दूतमा ० नियुक्त गरेको छ । अर्याल नेपाल सरकारको फागुन १३ गतेको मन्त्रिस्तरीय निर्णयबाट सो पदमा नियुक्त गरिएको स‌ंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता हेमराज तामाङद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।
    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्याललाई फागुन १७ गते विज्ञप्ति जारी गरेर सदभावना दूत नियुक्त गरेको हो । उनलाई सदभावना दूत निर्देशिका पहिलो संसोधित दफा ३ उपदफा १ बमोजिम सो पदमा नियुक्त गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    जसपाले आज मन्त्रीको टुङ्गो लगाउने

    काठमाडौँ ।  जनता समाजवादी पार्टी (जसपा)नेपालले सरकारमा सहभागी हुने मन्त्रीबारे टुङ्गो लगाउन केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज बिहान ८ बजेका लागि बैठक बोलाइएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार जसपा १५ सङ्घीय सांसद रहेका र जसपाले सरकारमा सहभागी हुने निर्णय यसअघि नै गरिसकेको छ ।

    चीनको आर्थिक विकासले नेपाललाई यस कारण फाइदा पुग्छ 

    काठमाडौँ । छिमेकी मुलुक चीनले गरेको आर्थिक विकासले नेपाललगायतका छिमेकी मुलुकलाई फाइदा पुग्नसक्ने बताइएको छ । चाइना मिडिया गुप्रको आयोजना तथा नेपाल–चीन युवामैत्री सङ्घको सहआयोजनामा बुधबार यहाँ आयोजित ‘चीनको आर्थिक विकास र छिमेकी देशका लागि नयाँ अवसर’ विषयक अन्तक्र्रियामा वक्ताहरूले चीनको आर्थिक विकासले अन्य छिमेकी मुलुकलाई फाइदा पुग्ने बताएका हुन् ।

     

     
     

     


     

     

     

     

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस