काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज फागुन २७ आइतबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....
अपर तामाकोशीको हकप्रद सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । यस कम्पनीले जारी गरेको १०० प्रतिशत हकप्रद सूचीकरण गरिएको नेप्सेले जनाएको छ।
३ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार नेपाल एसबीआई बैंक, आरएसडीसी लघुवित्त र मुक्तिनाथ विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ ।नेपाल एसबीआई बैंकको ३.७५% बोनस सेयर अर्थात ३७ लाख ९५ हजार २३५.७६ कित्ता सेयर सूचीकृत भएको छ ।आरएसडीसी लघुवित्त वित्तीय संस्थाको ८.६५ बोनस सेयर अर्थात ७ लाख ४७ हजार ८२८.६५ कित्ता सेयर सूचीकृत भएको हो । मुक्तिनाथ विकास बैंकको पनि ९.७५% ले हुने ६२ लाख ६० हजार ३७७.७६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा , बैंक–वित्तीय संस्था बन्द हुने
काठमाडौँ । ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । यस दिन सरकारी कार्यालय सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब बजार मंगलबार बिहान ११ बजेमात्र खुल्नेछ ।
माघसम्ममा भित्रियो ८ खर्ब ३९ अर्ब रेमिट्यान्स
काठमाडौं । चालु आर्थिक वर्षको माघ महिनासम्ममा विप्रेषण आप्रवाह (रेमिटेन्स) २१.६ प्रतिशतले बढेको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ७ महिनामा ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको हो ।
अमेरिकी डलरमा विप्रेषण पनि १९.१ प्रतिशतले बढेर ६ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो । यसअवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ४७ हजार १२ जना पुगेको छ ।
अमेरिकी लगानीकर्तालाई लगानी सम्मेनलमा सहभागी हुन अर्थमन्त्रीको अपिल
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी वैशाखमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनमा सहभागिता जनाउन अमेरिकी लगानीकर्तालाई आग्रह गर्नुभएको छ । नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनसँग आज अर्थमन्त्रालयमा भेटवार्ता गर्नुहुँदै अर्थमन्त्री पुनले अमेरिकाबाट बढीभन्दा बढी लगानीकर्ता आउने वातावरण बनाइदिन आग्रह गर्नुभएको हो ।
शेयर बजार : नेप्से परिसूचक २२ दशमलव १० अङ्कले बढ्यो ,२ अर्ब ९२ करोडको कारोबार
काठमाडौँ । आज नेप्से २२ दशमलव १० अङ्कले बढेको छ । आज २ कम्पनीमा सकारात्मक सर्किट लाग्दा २ अर्ब ९२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । हाइड्रोपावरबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् ।
यस दिन ३०४ कम्पनीको ७० लाख ४३ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २२ करोड ९३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानम रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः सोना मिनरल्स एन्ड आयल लिमिटेड र जोशी हाइड्रोपावर परेका छन् ।
नेरुडे र मिर्मिरे लघुवित्तले फागुन ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने
काठमाडौं । नेरुडे र मिर्मिरे लघुवित्त एक आपसमा मर्ज भएर फागुन ३० गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ । नेपाल राष्ट्र बैंकले कम्पनीलाई एकीकृत कारोबार गर्न फागुन २१ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २२ गते अन्तिम स्वीकृति दिइसकेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको ४२ हजार ९८२ कित्ता संस्थापक शेयर विक्रीमा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ४२ हजार ९८२ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको छ । कम्पनीले मधु सूदन शर्माको नाममा रहेको १४ हजार कित्ता र प्रेम राज पन्तको नाममा रहेको २८ हजार ९८२ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।यसको आवेदन कम्पनीको केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौंमा पेश गर्नुपर्नेछ ।
ग्रीन डेभलपमेन्ट बैंकले २ आर्थिक वर्षको साधारण सभा चैत २७ गते
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले २ आर्थिक वर्षको साधारण सभा एकैपटक बोलाएको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को वार्षिक साधारण सभा चैत २७ गते गर्ने भएको हो । सभामा शेयरधनीहरुलाई ३ दशमलव ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । सभाबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने र संस्थापक समूहबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव छ ।
फर्स्ट माइक्रोफाइनान्सको १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री खुला
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले आइतबार (फागुन २७ गते) देखि १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले आवेदन दिन सक्ने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जानकारी गराएको छ । कम्पनीले संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३१५ रुपैयाँ तोकिएको छ । यसमा बिक्री प्रबन्धक मुक्तिानाथ क्यापिटल, नारायणचौर, नक्साल काठमाडौंमा पुग्नेगरी आवेदन दिनुपर्नेछ । यसमा चैत १२ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धकले जानकारी गराएको छ ।
नेपाल राष्ट्र बैंकले २१ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले २१ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । बैंकले २८ दिन, ९१ दिन र १ वर्षको लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । मंगलबार फागुन २९ गते जारी हुने यस ट्रेजरी बिलका लागि आज आइतबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले २८ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो ।
आज महिला लघुवित्तको साधारण सभा
काठमाडौं । महिला लघुवित्तको वार्षिक साधारण सभा आज (आइतबार ) रहेको छ । सभा हिमालय दृश्य रिसोर्ट धुलिखेलमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले यस वर्ष लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । सभाले संस्थापक सेयरधनीबाट ४ जना सञ्चालक निवार्चन गर्नेछ । आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । सभा प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको छ ।
सुनको मूल्य नयाँ रेकर्ड , प्रतितोला १ लाख २६ हजार
काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख २६ हजार रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख २५ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । आइतबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १४ सय ७५ रुपैयाँ कायम भएको छ ।
यातायात सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न माग
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यातायात सुधार कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबिर महासेठ समक्ष माग गरेको छ ।
महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर नेतृत्वको टोलीले आज नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठलाई भेटेर देशभरको यातायात क्षेत्रको सुधारका लागि कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयनको माग गरेको हो ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीका कर्मचारीले आफूलाई सुम्पिएको जिम्मेवारी कानुनी परिधिमा रहेर निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
प्रहरी प्रधान कार्यालयको आज निरीक्षण गर्दै उहाँले प्रहरी कर्मचारीको वृत्तिविकासको सुनिश्चितता सङ्गठनले गर्नुपर्नेमा जोड दिनुभयो । गृहमन्त्री लामिछानेले भन्नुभयो, “कर्मचारीहरूको सरुवा, बढुवा तथा वृत्तिविकासका लागि आवश्यक पर्ने नीति र योजना बनाएर ल्याउनुहोस् । त्यसको कार्यान्वयनका लागि के कसरी गर्नुपर्ने हो सहजीकरण गर्न तयार छु ।” निर्धक्क भएर नीति र विधिको परिधिमा रहेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ठूलो जनशक्ति तल्लो तहका कर्मचारीहरूको भएको र उनीहरूको गुनासो सम्बोधन गर्न प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो ।
बदलिएको परिस्थितिअनुसार कार्यसम्पादन गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बदलिएको परिस्थितिअनुसार तयार हुने ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्न निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले सरकारको न्यूनतम नीति तथा कार्यक्रमअनुसार थप गतिशील भएर काम गर्न निर्देशन दिनुभयो । “बदलिएको परिस्थितिमा आउने नीति तथा कार्यक्रम हाम्रो कार्यालय, यस मातहतका सबै कार्यालय र सिङ्गो कर्मचारीतन्त्रलाई ‘गाइड लाइन’ हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “विगतको कार्यक्रमकै वरिपरि हुनेगरी चाँडै कार्यक्रम आउनेछ । सोहीअनुसार काम गर्नुपर्नेछ ।”
आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको छ । बैठकमा सांसदहरुले बजेटका सिद्धान्त र प्राथमिकता निर्धारण गर्दा मुलुकको विद्यमान अवस्थाको विश्लेषण, राष्ट्रिय आवश्यकता तथा आकांक्षाको पहिचान, वार्षिक नीति तथा कार्यक्रम र बजेटसँग सिद्धान्त र प्राथमिकताको तादम्यतालगायतका विषय उठाउनुभएको छ ।
पशुपतिनाथ दर्शनका लागि आएका साधुसन्तलाई बिदाई गरिँदै
काठमाडौँ । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिर दर्शनका लागि आएका साधुसन्तलाई आज दक्षिणासहित बिदाई सुरु गरिएको छ ।
आज बिहान ११ बजेदेखि साधुसन्त बिदाईको कार्यक्रम सुरु भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजुकुमार खत्रीले बताउनुभयो । उहाँका अनुसार साधुसन्तलाई विभिन्न वर्गमा वर्गीकरण गरी स्तरअनुसार दक्षिणा दिएर बिदाई गर्न लागिएको हो । उहाँले बाबाहरुलाई स्तरअनुसार रु एक हजारदेखि नौ हजारसम्म दिन लागिएको बताउनुभयो ।
चितवन मिल्क उद्योग एक महिनापछि पुनः सञ्चालनमा
चितवन । यहाँस्थित चितवन मिल्क उद्योग एक महिनापछि पुनः सञ्चालनमा आएको छ । प्रशोधन गरिएको धुलो दूध र नौनीले गोदाम भरिएपछि गत माघ २२ गतेदेखि उद्योग बन्द भएको थियो ।
किसानको दूध नबिकेपछि प्रशोधन गरिएका सामग्री सम्बन्धित संस्थाले लैजानेगरी उद्योग सञ्चालनमा ल्याइएको हो । आजबाट उद्योग सरसफाइ गरेर सञ्चालन गरिने उद्योगका प्रबन्धक दुर्गा पराजुलीले बताउनुभयो । बीस हजार लिटर दूध आइसकेको छ । उद्योग सञ्चालन गर्न ४० हजार लिटर दूध आवश्यक पर्दछ । धेरै संस्थाले फोन गरिरहेकाले थप दूध आउने भएपछि मेसिन तताउन थालिएको उहाँले जानकारी दिनुभयो ।
फर्मा एक्स्पोले चितवनको बजारमा भित्रियो रु ११ करोड बढी
चितवन । नेपाल औषधि व्यवसायी सङ्घले यहाँ आयोजना गरेको ‘नवौँ फर्मा एक्स्पो २०२४’ ले यहाँको बजार चलायमान बनाएको छ । स्वदेशी तथा विदेशी प्रदर्शक र अवलोकनकर्ताले यहाँको पर्यटनसँगै आर्थिक चलायमान बनाएको हो ।
सङ्घका अध्यक्ष महेश प्रधानले एक्स्पोका लागि भरतपुरमा तीन हजार हाराहारी आयोजक र प्रदर्शक बाहिरी जिल्ला र विदेशबाट आएको बताउनुभयो । उहाँका अनुसार नेपालका सबै औषधि उद्योग, तिनका बजार प्रतिनिधिलगायत भरतपुरमा आएका छन् । यसैरी नौ देशका प्रदर्शक र कतिपय देशका अवलोकनकर्ता समेत यहाँ आएका छन् ।