Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् फागुन २९ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८०, फागुन २९ मंगलबार

  • 663
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् फागुन २९ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज फागुन २९ मंगलबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    बैंकर मनोज न्यौपानेसहित ११ जनालाई थप ५ दिन हिरासतमा  राख्न उच्च अदालतको अनुमति

    काठमाडौँ ।  उच्च अदालत पाटनले कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा पक्राउ परेका प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपानेसहित ११ जनालाई थप ५ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।
    सीआईबीले १५ माघमा न्यौपानेसहित सेञ्चुरी बैंकका पूर्वसीईओ तुलसी गौतम, कर्मचारी राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान, र सुनिल बस्नेतलाई पक्राउ गरेको थियो ।

    नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तको शेयर कारोबार बुधबारदेखि  रोक्का हुने

    काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार बुधबारदेखि रोक्का हुने भएको छ ।‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ मा भएको व्यवस्था बमोजिम शेयर कारोबार रोक्का गर्न लागिएको हो । 

    नेरुडे र मिर्मिरे लघुवित्त एक आपसमा मर्ज भएर फागुन ३० गतेबाट नेरुडे मिर्मिरे लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु हुँदैछ ।दुवै संस्था मर्ज भएपछि ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’को नामबाट कारोबार हुनेछ । दुवै कम्पनी १ः१ सेयर स्वाप अनुपातमा मर्ज भएर एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।

    प्रभु महालक्ष्मी लाइफले १७ प्रतिशत हकप्रद जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले १७ प्रतिशत  हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ः०.१७ अनुपातमा ७३ लाख ३ हजार २०० कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको छ  । यसले प्रतिकित्ता १०० रुपैयाँको दरले ७३ करोड ३ लाख २० हजार रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्ने लागेको छ  । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको हकप्रद सेयरमा सिद्धार्थ क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको काम गर्नेछ ।

    माउन्टेन इनर्जी र नेसनल लघुवित्तको बोनस सेयर मूल्य नेप्सेमा समायोजन

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा माउन्टेन इनर्जी नेपाल र नेसनल लघुवित्त वित्तीय संस्थाको बोनस सेयरमा मूल्य समायोजन भएको छ । 
    नेसनल लघुवित्तको ७.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । मंगलबारको अन्तिमा कारोबार मूल्य १२२० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको नेप्सेले जनाएको छ । समायोजन पश्चात यसको भाउ ११३४ रुपैयाँ ८८ पैसा कायम भएको छ । 
    माउन्टेन इनर्जी नेपालको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजनपछि भाउ ५५७ रुपैयाँ ३९ पैसा कायम भएको छ ।मंगलबारको अन्तिमा कारोबार मूल्य ६४१ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको छ ।

    अर्थतन्त्रलाई लयमा फर्काउने प्रयासमा थिएँः डा महत

    पाटन । निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्कटमा रहेको अर्थतन्त्रलाई अर्थमन्त्रीका हैसियतले आफूले अथक प्रयासका साथ लयमा फर्काउने प्रयास गरेको बताउनुभएको छ । आज कांग्रेस केन्द्रीय कार्यालय ललितपुरमा पत्रकार सम्मेलन गरी नेपाली कांग्रेसका प्रवक्ता समेत रहनुभएका डा महतले अर्थतन्त्रका सूचकहरु नकारात्मक नरहेका र यसका लागि आफूले मेहनत गरेको पनि प्रष्ट पार्नुभयो । 

    “मैले अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्दा मुलुकको अर्थतन्त्रको अवस्था शिथिल थियोे, मेहनतका साथ लयमा ल्याएका थियौँ । नेपाल राष्ट्र बैंक, एसियाली विकास बैंक (एडिबी)र विश्व बैंकलगायतले प्रकाशित गरेका तथ्याङ्कबाट पनि यो स्पष्ट हुन्छ”, उहाँले भन्नुभयो, “अर्थमन्त्रीको जिम्मेवारी लिँदा मूल्यवृद्धि आठ दशमलव पाँच प्रतिशत रहेकोमा अहिले त्यो पाँच प्रतिशतमा सीमित छ ।”

    शेयर बजार : नेप्से परिसूचक  ५८ दशमलव ५८ अङ्कले बढ्यो ,  ४ अर्ब ५५ करोडको कारोबार

    काठमाडौँ । आज नेप्से नेप्से परिसूचक  ५८ दशमलव ५८ अङ्कले बढेको छ । आज ४ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन ३०५ कम्पनीको १ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।आज  ३७ करोड १९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः सोना मिनरल्स एन्ड आयल लिमिटेड र सन नेपाल लाइफ इन्सुरेन्स परेको छ । 

    लुम्बिनी विकास बैंकको  बोनस सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लुम्बिनी विकास बैंक लिमिटेडको १३ लाख ५३ हजार १२८.५१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको ४ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको छ । 

    यसपटक आरम्भ चौतारी लघुवित्तले लाभांश नदिने

    काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८० मा लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको सोमबार (फागुन २८ गते)बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । संस्थाले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।

    मितेरी डेभलपमेन्ट बैंकको ३ लाख २५ हजार कित्ता सेयर बिक्री खुला

    काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनी सुलिन श्रेष्ठको नाममा रहेको ३ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले बुधबारबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ, घरान १२, सुनसरी वा यस कम्पनीको सेयर रजिष्ट्रार प्रभु क्यापिटल कमलादी, काठमाडौंमा आफूले के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन पर्नेछ ।

    प्रि ओपन सेसन : नेप्से सूचक १२.९६ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १२.९६ विन्दुले बढेको छ । यससँगै सूचक २०६५.५२ अंकमा आएको छ । ३४ लाख ८३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६१ कम्पनीको ७ हजार ४ सय ९० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १ सय १३ वटा कारोबार भएको छ ।

    माउन्टेन इनर्जी र नेसनल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं  ।  माउन्टेन इनर्जी नेपाल र नेसनल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज मंगलबार (फागुन २९ गते)अन्तिम दिन रहेको छ  ।
    माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत वर्षको नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । सभा, अम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौंमा बिहान साढे १० बजे सुरु हुनेछ । 
    नेसनल लघुवित्तले गत वर्षको नाफाबाट ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७.५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ ।सभा धुलिखेल लज रिसोर्ट धेलिखेल, काभ्रेपलाञ्चोकमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ ।

    कति छ त आज सुन-चाँदीको मूल्य ?

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ १ लाख २६ हजार रुपैयाँ कायम रहेको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख २५ हजार ४०० रुपैयाँ कायम रहेको छ ।आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले बढेर १४ सय ८५ रुपैयाँ कायम भएको छ ।

    ‘स्पञ्ज आइरन’ र ‘बिलेट’को भन्सार महसुल अध्ययन गर्न उपसमिति गठन

    काठमाडौँ ।उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले ‘स्पञ्ज आइरन’ र ‘बिलेट’को भन्सार महसुल एवं अन्तःशुल्कका बारेमा थप अध्ययन र उद्योगको अवलोकन गर्न उपसमिति गठन गरेको छ । आजको प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सात सदस्यीय उपसमिति गठन गरेको हो । 

     

    उपसमितिको सदस्यहरूमा कृष्णकुमार श्रेष्ठ, गणेश पराजुली, गीता बस्नेत, दुर्लभ थापा, रेखा यादव, लक्ष्मी महतो कोइरी र सूर्यमान तामाङ हुनुहुन्छ ।

    एसियाली विकास बैंकका देशीय निर्देशकद्वारा अर्थमन्त्री पुनसँग शिष्टाचार भेट

    काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) को नेपालका लागि देशीय निर्देशक आर्नो कोशवाले अर्थमन्त्री वर्षमान पुनसँग शिष्टाचार भेट गर्नुभएको छ । अर्थ मन्त्रालयमा आज भएको भेटमा द्विपक्षीय साझेदारी मजबुत बनाउने र सम्भावित आयोजनामा लगानीका लागि थप सहकार्य गर्ने विषयमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ । भेटका क्रममा निर्देशक कोशवाले एडिबीको लगानीमा निर्माण भएर पहिरोका कारण क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको सुरुङको पुन ः डिजाइनको काम अन्तिम चरणमा रहेको जानकारी दिनुभयो । विश्व बैंकसँगको वित्तीय साझेदारीमा एडिबीले निर्माण गर्न चाहेको जलासययुक्त दूधकोशी जलविद्युत् आयोजना र माथिल्लो अरुण जलविद्युत् आयोजनाको काम चाँडै सुरु हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

    मन्त्रिपरिषद् निर्णय : प्रधानमन्त्री कार्यालयका सचिव अर्याललाई गृह मन्त्रालयमा सरुवा

    काठमाडौँ । सरकारले २०८१ वैशाख २० देखि २३ गतेसम्म जर्जियाको तिबिलिसीमा आयोजना हुने एसियाली विकास बैंकको ५७औँ वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई अनुमति दिने निर्णय गरेको छ । 

     

    यही फागुन २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले कालीगण्डकी रिडी १३२ केभी प्रसारण लाइन आयोजनाको लागि जग्गा प्राप्ति गर्न क्षतिपूर्ति निर्धारण समितिको अध्यक्ष र सदस्य तोक्ने निर्णय भएको जानकारी दिनुभयो ।

    राष्ट्रियसभाको गरिमा बढाउन लाग्छुः नवनिर्वाचित अध्यक्ष दाहाल

    काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले उक्त सभाको गरिमा र महत्व बढाउन आफूले पहल गर्ने बताउनुभएको छ ।

     

    सभा अध्यक्षमा निर्वाचित भएपछि बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले यस संस्था अत्यावश्यक संस्था हो भन्ने मान्यता स्थापित गर्न भूमिका खेल्ने बताउनुभयो । 

     

    “राष्ट्रियसभाले गर्नुपर्ने सबै दायित्व र भूमिकालाई पूरा गराउन म सबै दलसँग आवद्ध सदस्यलाई एकतावद्ध बनाएर लैजान प्रतिवद्ध छु । त्यसमा सफल हुन्छु भन्नेमा मलाई आत्मविश्वास पनि छ’’, अध्यक्ष दाहालले भन्नुभयो, “म त्यहीअनुसार अगाडि बढ्छु ।”

    कर्णाली पुल केही समयका लागि बन्द, वैकल्पिक बाटो अपनाउन आग्रह

     कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले कर्णाली पुल केही समयका लागि बन्द गरिएकोले  वैकल्पिक बाटो अपनाउन  आग्रह गर्नुभएको छ ।

    उक्त पुलमा सोमबार साँझ   भएको आगलागीबाट आंशिकरूपमा क्षति भएकाले आज बिहान क्षतिको स्थलगत निरीक्षणपछि उहाँले पुलबाट तत्काल सवारी साधन सञ्चालन नगर्न तथा वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गर्नुभएको हो । उहाँले टीकापुर भएर हुलाकी राजमार्ग प्रयोग गर्न सम्बद्ध सबैमा आग्रह पनि गर्नुभएको छ ।

    सरकारलाई सफल बनाउन पाँच दलबीच सहमति

    काठमाडौ । सत्ता गठबन्धनमा रहेका पाँच राजनीतिक दलबीच नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा पुनर्गठित वर्तमान सरकारलाई सुदृढ र सफल पार्ने सहमति भएको छ । 

     

    सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने पाँच राजनीतिक दलका शीर्ष नेतृत्वको बैठकले उक्त सहमति गर्दै राष्ट्रियसभाको रिक्त रहेको अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो ।

     

     
     
     
     
     
     
     
     
     
     
     

    प्रतिक्रिया दिनुहोस