Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् भदौ ३१ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८१, भदौ ३१ सोमबार

  • 141
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् भदौ ३१ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज भदौ ३१ सोमबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल

    काठमाडौँ ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानी फिर्ताका लागि सार्थक पहल गर्न कर्मचारी सञ्चय कोषलाई निर्देशन दिनुभएको छ । कोषको ६३औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले लगानी गरेर चित्त बुझाउने मात्रै नभई सुक्ष्म निगरानी र कोषको हित प्रभावित नहोस् भन्नेतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो । 

     

    “सरकारको ‘जमानी’ मा लगानी गर्ने अवसर पाउनुभयो, कुनै संस्थामा २७ अर्बभन्दा बढी लगानी उठ्न बाँकी छ । सरकार जमानी बसेको छ भनेर ढुक्क भएर बस्नु हुन्छ कि लगानी उठाउनका पहल गर्नुहुन्छ रु”, अर्थमन्त्री पौडेलले प्रश्न गर्नुभयो, “लगानीले कस्तो प्रतिफल दिएको छ भन्नेलाई सुक्ष्म ढङ्गले हेर्नुपर्छ । बढीभन्दा बढी प्रतिफल सुनिश्चित गर्ने र सञ्चयकर्ताले अधिकतम् लाभ प्राप्त गर्नेतर्फ ध्यान दिनुपर्छ ।”

    भगवती हाइड्रोपावरको शेयर मूल्य नेप्सेमा समायोजन

     

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमवार भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीकोे शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । 

     

    नेप्सेले कम्पनीको ४ प्रतिशत प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू। ९१८ दशमलव ३७ कायम भएको छ ।

    सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन पेस भएको छ ।

     

    समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ पेस गर्नुभएको हो । मुलुकको समग्र वित्तीय प्रणाली र सहकारी क्षेत्रमा देखिएका समस्याका सम्बन्धमा कानुन विपरीत बचतकर्ताहरुको बचत रकम दुरुपयोगबारे संसदीय छानबिन समितिको माग भएबमोजिम गत जेठ १५ गते सात सदस्यीय संसदीय छानबिन विशेष समिति गठन भएको थियो ।

    अधिकांश धितोपत्र दलालको टिएमएसमा समस्या, कारोबार प्रभावित

    काठमाडौँ । आज बिहान अधिकांश धितोपत्र दलाल (ब्रोकर) कम्पनीको अनलाइन कारोबार प्रणालीमा समस्या देखिएको छ ।

     

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को अनलाइन कारोबार प्रणाली ९नेप्से अनलाइन ट्रेडिङ सिस्टम(नट्स) मा पहुँच पुर्‍याउनका लागि ब्रोकरहरुले प्रयोग गर्ने ‘डाइरेक्ट नट्स एक्सेस’ (डिएनए)लगइन हुन नसक्दा समस्या देखिएको हो । यद्यपि, के–कस्तो प्राविधिक कारणले डिएनएमा लगइन हुन सकेन र ब्रोकरहरुको कारोबार व्यवस्थापन प्रणाली ९टिएमएस० मा समस्या देखियो भन्ने अझै खुलेको छैन ।

    शेयर बजार : नेप्से परिसूचकमा ५७.०३ अंकले घटेर २५८०.७६ बिन्दुमा, ७ अर्ब ३६ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा ५७.०३ अंकले घटेर २५८०.७६ बिन्दुमा आएको छ ।आज  ७ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।आज सबै समूहका सूचक घटेका छन् ।

     


    यस दिन ३१२ कम्पनीको १ करोड ७० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३१ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सीइडीबी हाइड्रोपावर अग्रस्थानमा आएको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः सानिमा रिलायन्स लाइफ र नेपाल फाइनान्स परेका छन् ।

    लान्द्रुक मोदी जलविद्युत आयोजनामा ६ बैंकले १२ अर्ब २० करोड लगानी गर्ने

    काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको मुख्य लगानीमा  निर्माण हुने ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । सो आयोजनामा माछापुछ्रे बैंकको नेतृत्वमा ६ वटा बैंकले लगानी गर्ने गरी वित्तीय व्यवस्थापन सम्पन्न भएको हो । 

    आयोजनामा माछापुछ्रेसहित ग्लोबल आइएमई, एभरेष्ट, एसबीआई, कृषि विकास बैंक र लुम्बीनी विकास बैंक समेतको लगानी रहनेछ । आइतबार आयोजनाको प्रवर्धक कम्पनी अन्नपूर्ण विद्युत विकास प्रालिका कार्यकारी अध्यक्ष बटु लामिछाने र माछापुछ्रे बैंकको तर्फबाट बिनित कुमार झा ले लगानी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

    राष्ट्रपति पौडेलद्वारा संसद्को चालु अधिवेशन अन्त्य

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालु अधिवेशनको अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सिफारिस अनुसार सोमबार राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य गरेका हुन् ।

    ‘नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संसद्को चालु अधिवेशन अन्त्य गरिएको छ’-राष्ट्रपति कार्यालयबाट प्रकाशित विज्ञप्तिमा भनिएको छ ।

    सरकारको ध्यान राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरतामा केन्द्रित छः उपप्रधानमन्त्री पौडेल

    लुम्बिनी । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको ध्यान राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरतामा केन्द्रीत रहेको बताउनुभएको छ ।  बुटवल उद्योग वाणिज्य सङ्घको ७१औँ साधारणसभाको आज बुटवलमा उद्घाटन गर्नुहुँदै उहाँले वर्तमान सरकार गठनसँगै आम नागरिकमा आशा र भरोसा सञ्चार भएको बताउनुभयो । 

     

    उपप्रधानमन्त्री पौडेलले सरकार राजनीतिक स्थायित्व, विकास र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढेकाले आम नागरिकसँगै उद्योगी–व्यवसायीमा समेत आशाको सञ्चार भएको दाबी गर्नुभयो ।  मुलुकका दुई ठूला पार्टी नेपाली कांगे्रस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले० नेतृत्वको समीकरण र सहयात्राले निरन्तरता पाउनेसमेत उहाँको भनाइ थियो । “वर्तमान समीकरण र सहयात्रा बाँकी कार्यकाल वा पूरा अवधिसम्म जान्छ, राजनीतिक स्थिरतासँगै नीतिगत स्थिरतामा पनि सरकारको ध्यान केन्द्रित रहेको छ”, उपप्रधानमन्त्री पौडेलले भन्नुभयो ।

    हिमालय उर्जा विकास कम्पनीले असोज ७ गतेदेखि अवितरित हकप्रद शेयर लिलामीमा विक्री गर्ने

    काठमाडौं । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले असोज ७ गतेदेखि १४ गतेसम्म अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री गर्ने भएको छ । कम्पनीले शतप्रतिशत हकप्रद शेयर जारी गर्दा विक्री हुन नसकेको १४ लाख ४६ हजार ३५९ कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको हो ।

     

    कम्पनीले ९९ लाख कित्ता हकप्रद शेयर विक्री खुला गर्दा ८४ लाख ५३ हजार ६४१ कित्ता हकप्रद शेयर मात्र विक्री भएको हो । लिलामीमा आउने शेयरको मूल्य १०० रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी तोकिएको मितिभित्र विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय नक्साल, काठमाडौं र नबिल बैंकको शाख कार्यालयहरू विराटनगर, जनकपुर, भक्तपुर, पोखरा, कोहलपुर, सुर्खेत र महेन्द्रनगरमा बोलपत्र पेश गर्नुपर्नेछ ।

    ह्याम्स हस्पिटलको साधारण सभा असोज २३ गते , लाभांश प्रस्ताव पेश हुने

    काठमाडौ । हस्पिटल फर एडभान्स्ड मेडिसिन एन्ड सर्जरी लिमिटेड (ह्याम्स)ले लाभांश प्रस्तावसहित असोज २३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको कार्यालय, बुढानिलकण्ठ नगरपालिका वडा नं-९ मा दिउँसो २ बजे सुरु हुनेछ । सभामा कम्पनीले लाभांश प्रस्ताव पेश गर्नेछ ।सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

    आँखुखोला जलविद्युतको १७ लाख ५० हजार कित्ता सेयर लिलामीमा आउने

    काठमाडौं  । आँखुखोला जलविद्युत कम्पनीले बिक्री खुला गरेको १५०% हकप्रद सेयर आइतबार  बाँडफाँट भएको छ । यस कम्पनीले १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा १ करोड २ लाख ४९ हजार ७५२ कित्ताका लागि मात्र आवेदन परेको छ ।  

     

    यसआधारमा १७ लाख ५० हजार २४८ कित्ता हकप्रद बिक्री हुन नसकेको देखिन्छ । बिक्री नभएको बाँकी सेयर आँखुखोलाले अब लिलामीमा ल्याउनेछ ।

     

    कुमारी बैंक लिमिटेडको ४ लाख ३७ हजार ९४८ कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक तर्फको कुल २४ लाख ३७ हजार ९४८ कित्ता शेयर विक्रीमा ल्याएको छ । कुल कित्ता शेयरमध्ये कम्पनीले २४ लाख २२ हजार ५४८ कित्ता अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

     

    १५ हजार ४०० कित्ता शेयर खरीदका लागि भने विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन पेश गर्न सक्नेछन् । विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्रीमा आएको शेयर खरीदका लागि आगामी ३५ दिनभित्र र अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने शेयरका लागि असोज १६ गतेभित्र आवेदन पेश गर्नुपर्नेछ । अन्य व्यक्ति तथा संस्थाका लागि समेत विक्रीमा आएको २४ लाख २२ हजार ५४८ कित्ता शेयर खरीदका लागि भने असोज २ गतेदेखि आवेदन पेश गर्नुपर्नेछ ।

    आज भगवती हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने  अन्तिम दिन

    काठमाडौं । भगवती हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज भदौ ३१ गते सोमबार अन्तिम दिन हो । साधारण सभा तथा लाभांश प्रयोजनको लागि यस कम्पनीले असोज २ गते बुक क्लोज गर्दैछ । असोज १ गते इन्द्रजात्राको अवसरमा सरकारले उपत्यकामा सार्वजनिक विदा दिएको छ । यसदिन सेयर बजार पनि बन्द हुन्छ । 

    भदौ ३१ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न र सभामा सहभागिता जनाउन सक्नेछन् । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर सहित १०.७३ प्रतिशत नगद लाभांश गरी कुल १४.७३ प्रतिशत लाभांश वितरण गर्दैछ ।

    सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बोनस सेयर घोषणा

    काठमाडौ । सानिमा रिलायन्स लाइफ इन्सुरेन्सले लाभांश घोषणा गरेको छ । यस कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई १८.३८११ प्रतिशत बोनस सेयर घोषणा गरेको हो । यस कम्पनीको आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

    प्रि ओपन सेसन : नेप्से सूचक १.८२ अंकले घट्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.८२ विन्दुले घटेको  छ । यससँगै सूचक २६३५.९६ अंकमा आएको छ । ३८ लाख ६७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५३ कम्पनीको ५ हजार १ सय ७९ कित्ता सेयर कारोबार भएको छ ।

    २६ कम्पनीको भाउ बढेको छ भने २२ वटाको मूल्य घटेको छ ।

    आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण, अमेरिकी डलरको मूल्य बढेन

    काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य आज घटबढ भएको छैन । 

     

    अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । आइतबार पनि यही मूल्य कायम भएको थियो ।आजका लागि युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैया ३५ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ एक पैसा कायम गरिएको छ । आइतबार भने युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैँया ४९ पैसा र बिक्रीदर एक सय ४९ रुपैँया १६ पैसा कायम गरिएको थियो ।

    तल्लो अरुण आयोजनाबाट प्रभावितका लागि मुआब्जा वितरण गरिने

    किमाथाङ्का । सङ्खुवासभाको खाँदबारी नगरपालिकामा निर्माण हुन लागेको छ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट प्रभावितका लागि रु एक अर्ब ४० करोड मुआब्जा वितरण गर्नेभएको छ । 

     

    छ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण आयोजनाले दुई सय ६८ घरपरिवार प्रत्यक्ष रूपमा प्रभावित रु एक अर्ब ४० करोड मुआब्जा वितरण गर्ने सतलज कम्पनीले जनाएको छ । तल्लो अरुण जलविद्युत् आयोजनाबाट दुई सय ६८ परिवार प्रत्यक्ष रूपमा प्रभावित हुने सतलज कम्पनीका सिइओ अरुण धिमानले बताउनुभयो । 

    कूल छ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण परियोजना सङ्खुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा मुख्य संरचना रहनेगरी निर्माण हुनेछ । आयोजनाबाट सङ्खुवासभाको चिचिला गाउँपालिका, खाँदबारी नगरपालिका तथा भोजपुरको साल्पासिलिछो गाउँपालिका–१ र षडानन्द नगरपालिका प्रभावित हुने आयोजनाले जनाएको छ ।  

     

     

     

     

    प्रतिक्रिया दिनुहोस