Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् चैत १ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८०, चैत १ बिहीबार

  • 750
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् चैत १ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज चैत १ बिहीबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    विनियोजन विधेयकले समाजवाद निर्माणको लक्ष्य समेट्नुपर्छ : पूर्वअर्थमन्त्री शर्मा

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले सामाजिक न्यायमा आधारित समाजवाद निर्माणको आधार तय हुने गरी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतालाई संशोधन गर्न आग्रह गर्नुभएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले सरकार पुनःगठन भएको अवस्थामा उठेका विषय र अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउन आग्रह गर्नुभयो ।

    शेयर बजार : नेप्से परिसूचक २७ दशमलव ८४ अङ्कले घट्यो,  ३ अर्ब ९४ करोडको कारोबार 

    काठमाडौँ । आज नेप्से परिसूचक २७ दशमलव ८४ अङ्कले घटेको छ ।  आज ३ अर्ब ९४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।३ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।
    यस दिन ३०३ कम्पनीको १ करोड १४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५० करोड ८९ लाखभन्दा बढीसहित कारोबार रकममा अपर तमाकोशी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र सोना मिनरल्स एन्ड आयल लिमिटेड परेका छन् ।

    नेपालको लगानी सम्मेलनप्रति स्वीट्जरल्याण्डको निजी क्षेत्र आकर्षित

    काठमाडौँ ।आगामी वैशाखमा हुने लगानी सम्मेलनमा स्वीट्जरल्याण्डबाट उल्लेख्य मात्रामा लगानीकर्ता नेपाल आउने भएका छन् । बिहीबार अर्थमन्त्री वर्षमान पुन अनन्तसँगको शिष्टाचार भेटमा नेपालका लागि स्वीस राजदूत डेनिएल मेउलीले लगानी सम्मेलन सफल पार्न स्वीटरजरल्याण्डका तर्फबाट सबै प्रकारको सहयोग रहने बताइन् ।

    दूतावासले नेपालको लगानी सम्मेलनमा सहभागी हुन आग्रह गरेको र स्वीट्जरल्याण्डको निजी क्षेत्र नेपालमा लगानी भित्र्याउन इच्छुक रहेको जानकारी उनले दिइन् । ‘नेपालमा क्रमशः लगानीको वातावरण बन्दै गएकाले हामीले हाम्रा निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई नेपालमा लगानी ल्याउन भनेका छौं’, उनले भनिन्, लगानी सम्मेलनमा स्वीट्जरल्याण्डका व्यवसायीको उत्साहपूर्ण सहभागिता रहने जानकारी गराउन चाहन्छु ।’

    ८ महिनामा सरकारले उठायो ६ खर्ब ३९ अर्ब राजस्व

    काठमाडौं । चालु आर्थिक वर्षको ८ महिना सम्ममा सरकारी वित्त घाटामा रहेको छ । यो अवधिसम्म सरकारको आम्दानीभन्दा खर्च धेरै भएकाले कुल सरकारी वित्त घाटामा रहेको विश्लेषण गरिएको हो । फागुनसम्ममा सरकारले कुल ६ खर्ब ३९ अर्ब रुपैयाँ राजस्व उठाएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षका लागि लिइएको राजस्व लक्ष्य अहिलेसम्ममा ४४.९२ प्रतिशत उठेको हो ।फागुनसम्ममा सरकारको अन्य आम्दानीसहित कुल आम्दानी ६ खर्ब ६३ अर्ब रुपैयाँ छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा सरकारको खर्च भने ८ खर्ब १ अर्ब भएको छ । चालु आर्थिक वर्षमा सरकारले लिएको कुल खर्च लक्ष्यमध्ये अहिलेसम्मको खर्च ४५.७७ प्रतिशत हो ।

    नबिल बैंकले ५ अर्ब रुपैयाँको अग्राधिकार  सेयर र डिबेन्चर बिक्री गर्ने 

    काठमाडौं । नबिल बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर अग्राधिकार सेयर र डिबेन्चर बिक्री गर्ने भएको छ । बैंकको बिहीबार बिहान बसेको सञ्चालक समिति बैठकले प्रतिकित्ता १०० रुपैयाँको दरले ५ करोड कित्ता अर्थात ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर बिक्री गर्ने निर्णय गरेको छ । बैंकले ८% लाभांश दर कायम गरी अग्राधिकार सेयर बिक्री गर्ने जानकारी गराएको छ ।सञ्चालक समितिले नियमनकारी निकायहरुको स्वीकृति लिएर ८ वर्ष अवधिको ८५ ब्याजदर भएको ‘८५ नबिल डिबेन्चर २०८९’ पनि जारी गर्ने निर्णय गरेको छ ।

    मेडिकेयर हस्पिटल लिमिटेडको १२ प्रतिशत हकप्रद शेयर विक्री खुला

    काठमाडौं । मेडिकेयर हस्पिटल लिमिटेडले १२ प्रतिशत हकप्रद शेयर चैत १ गतेदेखि विक्रीमा ल्याएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड १७ लाख ८५ हजार ७०० रूपैयाँको आधारमा ४ लाख ८२ हजार १४३ कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो ।यो हकप्रद शेयर चैत ५ गतेसम्म विक्रीमा रहनेछ ।हकप्रद शेयर खरीदका लागि मेडिकेयर हस्पिटल लिमिटेडको रजिष्टर्ड कार्यालय चावहित, काठमाडौंबाट आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था छ ।

    सेन्ट्रल फाइनान्सको साधारण सभा चैत २३ गते

    काठमाडौं । सेन्ट्रल फाइनान्सले चैत २३ गते सत्रौं वर्षिक साधारण सभा बोलाएको छ । सभा सेन्ट्रलको केन्द्रीय कार्यालय, कुपण्डोल ललितपुरमा बिहान १० बजे सुरु हुनेछ । कम्पनीले यो वर्ष लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको छ।सभा प्रयोजनार्थ कम्पनीले चैत ९ गते बुक क्लोज गर्ने भएको छ । आज चैत ८ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

    युनाइटेड मोदी हाइड्रोपावरको साधारण सभा चैत २९ गते ,  हकप्रद सेयर जारी गर्ने प्रस्ताव 

    काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको चैत २९ गते वार्षिक साधारण सभा बस्ने भएको छ । साधारण सभा, कालिमाटी ब्यांकेट, कालिमाटीमा बिहान ११ बजे सुरु हुनेछ । चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव  पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । यस हाइड्रोपावरको चुक्ता पुँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँ रहेको छ ।साधारण सभा प्रयोजनका लागि यस कम्पनीले चैत ७ गते बुक क्लोज गर्ने भएको छ ।

    सुन र चाँदीको मूल्य बढ्यो , प्रतितोला रु एक लाख २५ हजार

    काठमाडौँ ।  नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ ।

     

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु आठ सय बढेर प्रतितोला रु एक लाख २५ हजार आठ सय  कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार थियो ।

     

    त्यसैगरी तेजावी सुनको मूल्य पनि प्रतितोला रु आठ सयले वृद्धि भई प्रतितोला रु एक लाख २५ हजार दुई सय कायम भएको छ । बुधबार तेजावी सुनको मूल्य प्रतितोला रु एक लाख २४ हजार चार सय थियो ।

    विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पुनःलेखन गर्न एमालेको आग्रह

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारका तर्फबाट प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले समाजवाद र समृद्धिको बाटो पहिल्याउन नसक्ने खालको भएकाले पुनर्लेखन गर्न आग्रह गर्नुभएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाई आर्थिक मन्दीबाट मुलुकलाई मुक्त गरी रोजगारी र उत्पादन बढाउने ढङ्गले पुनःलेखन गर्न आग्रह गर्नुभएको हो । यसअघिको सत्ता गठबन्धनका तत्कालीन अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त प्राथमिकता पेस गर्नुभएकामा हाल नयाँ अर्थमन्त्री नियुक्त भएको स्थितिमा पनि यसलाई तदअनुरुप बनाउन उहाँको आग्रह रहेको छ ।

    प्रतिनिधिसभा बैठकः गृहमन्त्रीको नियुक्तिमा प्रधानमन्त्रीबाट जवाफ माग

    काठमाडौँ ।प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेको नियुक्तिका विषयमा सरकारसँग जवाफ माग गरेको छ । 

     

    आजको बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले सांसद बद्रीप्रसाद पाण्डेलाई बोल्न समय दिनुभएको थियो । सांसद पाण्डेले अनुसन्धानमा जोडिएका व्यक्ति सरकारमा पुगेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले सो विषयमा निष्पक्ष छानबिन हुनेमा आशङ्का व्यक्त गर्नुभयो ।

    मोबाइल खोसेर भाग्ने चार जना पक्राउ

    भैरहवा ।गत माघ २९ गते मायादेवी गाउँपालिका–३ बरेवा बस्ने १९ वर्षीय राजु भरलाई पल्सर मोटरसाइकलमा आएका दुई युवाले अति आवश्यक परेको भन्दै मोबाइल प्रयोग गर्न दिन आग्रह गरेपछि उहाँले निजहरुलाई आफ्नो मोबाइल दिनुभयो । मोबाइल पाउने वित्तिकै पल्सर मोटरसाइकलमा रहेका ती युवा मोटरसाइकल कुदाएर भागे । 

     

    जिल्ल पर्नुभएका राजु तत्काल नजिकैको प्रहरीलाई मोटरसाइकलको विवरण र ती युवाको हुलियासहित आफूलाई परेको समस्याको बारेमा जानकारी गराउनुभयो ।

    प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित ११ जमानीमा छुटे

    काठमाडौं । प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित ११ जमानीमा छुटेका छन । कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा पक्राउ परेका प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपानेसहित ११ जना हाजिर जमानीमा छुटेका हुन ।

    उनीहरुलाई प्रत्यक दिन सीआईबीमा उपस्थित हुने गरी हाजिरी जमानीमा बैंकर एशोसिएसन, प्रभु बैंकका सीईओ र परिवारको जिम्मा जमानतमा छाडिएको छ ।  उनीहरुलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीले २८ फागुनमा  जिल्ला अदालतबाट अनुमति लिएको थियो । सीआईबीले १५ माघमा न्यौपानेसहित सेञ्चुरी बैंकका पूर्वसीईओ तुलसी गौतम, कर्मचारी राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेतलाई पक्राउ गरेको थियो ।

    जिप दुर्घटना अपडेट: एक बच्चासहित सातको मृत्यु

    टक्सार । धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार दुर्घटनामा परी एक बच्चा, तीन पुरुष र तीन महिलाको मृत्यु भइसकेको छ । 

     

    को१ज २५९३ नम्बरको जिप आज १ः३० बजेतिर उदयपुरको बेलका–७ बाखाकुवामा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकालाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । जिपमा १४ जना सवार थिए । ओरालो सडकमा क्षमताभन्दा बढी यात्रु भएकाले पनि दुर्घटनामा भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

    अध्यक्षसहित नौ जनाविरुद्ध  भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चङ्खेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । चङ्खेली–३ ब्याफु खानेपानी मर्मत योजनाका सन्दर्भमा भ्रष्टाचार गरेको अभियोगमा उनीहरुमाथि आयोगले आज मुद्दा दायर गरेको हो । 

     

    आयोगले तत्कालीन अध्यक्ष बुढाविरुद्ध रु पाँच लाख १५ हजार बराबरको बिगो दाबी गरेको छ । यस्तै प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्लीमगर र सवइन्जिनियर हर्कधन बुढाविरुद्ध पनि समान बिगो दाबी गरिएको छ ।

     

     
     
     
     
     
     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस