Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

डाइलासिस मेसिन नहुँदा एक लाख बढी तिर्न बाध्य


नया सडक

२०८०, चैत २ शुक्रबार

  • 459
    Shares

  • डाइलासिस मेसिन नहुँदा एक लाख बढी तिर्न बाध्य

     

    चितवन । सरकारले मिर्गौलाका बिरामीलाई निःशुल्क डाइलासिसको व्यवस्था गरेपनि मेसिन पर्याप्त नहुँदा बिरामीले मासिक रु एक लाखसम्म तिर्न बाध्य भएका छन् । चितवनसहित छिमेकी जिल्लाबाट यहाँ आउने बिरामीले निःशुल्क सेवा दिने मेसिन अभावमा निजी अस्पतालमा महँगो शुल्क तिर्न बाध्य भएका हुन् ।

     

    भरतपुर, बकुलहर रत्ननगर अस्पताल र चितवन मेडिकल कलेजमा निःशुल्क डाइलासिस सेवा भए पनि कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल ९पुरानो मेडिकल कलेज० मा भने बिरामीले महँगो शुल्क तिर्न बाध्य भएका मिर्गौला पीडित सरोकार समाज चितवनका अध्यक्ष जीवनाथ पराजुलीले बताउनुभयो । निःशुल्कमा पालो नपाउँदा चर्को मूल्यमा डाइलासिस गराउन बाध्य भएका उहाँको भनाइ छ ।

     

    पराजुलीका अनुसार कलेज अफ मेडिकल साइन्सेसमा सुरुमा गएका बिरामीले एक पटकमा रू आठ हजार तिर्नुपर्ने हुन्छ । हप्ताको तीन पटकसम्म डाइलासिस गराउनुपर्नेले मासिक रू एक लाखभन्दा बढी तिर्नुपर्ने उहाँले बताउनुभयो । यसका अतिरिक्त अन्य परीक्षण गर्नुपर्दा, आउजाउ तथा बसाइँ खर्चलगायत लगायत सबै बिरामीले बेहोर्नु परेको उहाँको भनाइ छ ।

     

    पुराना बिरामीले आवश्यक कागजात पेस गरेपछि एक पटकको रू पाँच हजार तिर्ने गरेका मिर्गौला पीडित सरोकार समाजका अध्यक्ष पराजुलीले जानकारी दिनुभयो । “धेरै पुराना तीन जना बिरामीले भने एक पटकमा रू तीन हजार तिर्ने गरेका छन्”, उहाँले भन्नुभयो । 

     

    पराजुलीले डाइलासिस मेसिन थपेर सबैलाई निःशुल्क हुनुपर्नेमा जोड दिनुभयो । सो मेडिकल कलेजमा विसं २०७८ असोज अघिसम्म डाइलासिस निःशुल्क हुने गरेकामा अहिले शुल्क तिर्नुपरेको उहाँको भनाइ छ । अस्पतालमा १२ मेसिनमध्ये अहिले आठ वटा मात्र सञ्चालनमा रहेको अस्पताल प्रशासनले जनाएको छ ।

     

    जिल्लामा सबैभन्दा बढी भरतपुर अस्पतालमा १७ मेसिन सञ्चालनमा छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीले २४सै घण्टा र बिदाको दिनमा डाइलासिस सेवा प्रदान गरिँदै आइएको जानकारी दिनुभयो । 

     

    चितवन मेडिकल कलेज ९सिएमसी० शिक्षण अस्पतालमा चार वटा सञ्चालनमा छन् भने थप पाँच मेसिन सञ्चालनको तयारीमा छन् । बकुलहर रत्ननगर अस्पतालमा १० वटा मेसिन सञ्चालनमा छन् ।

     

    भरतपुर महानगरपालिका–१२ की हिरामती लामाले दुई दिन बिराएर अस्पताल जानुपर्दा पीडा हुने गरेको बताउनुभयो । अस्पतालमा आलोपालो गरिने हुँदा रातिको समयमा कुरेर डाइलासिस गराउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।रासस

     

    प्रतिक्रिया दिनुहोस