Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् चैत २ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू..


नया सडक

२०८०, चैत २ शुक्रबार

  • 534
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् चैत २ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू..

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज चैत २ शुक्रबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    सरकार र लघुवित्तपीडित सङ्घर्ष समितिबीच छ बुँदे सहमति, विरोधका सबै कार्यक्रम फिर्ता

    काठमाडौँ । आन्दोलनरत लघुवित्त पीडित र सरकारबीचको वार्ता ६ बुँदे सहमतिमा टुंगिएको छ । पीडितहरुको तर्फबाट पुनाराम (मनिराम) ज्ञवाली र सरकारी वार्ता टोलीको तर्फबाट वार्ता संयोजक नारायण प्रसाद रिसालले शुक्रबार सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । सरकार र लघुवित्त पीडितबीच लघुवित्त कम्पनीहरुलाई सेवामुखी संस्था बनाउन आवश्यक अध्ययन गर्ने सहमति भएको छ ।

    दुग्ध किसानले पाउनुपर्ने रकम तत्काल भुक्तानी गर्न अर्थमन्त्रीको निर्देशन

    काठमाडौँ । अर्थ मन्त्रालयले दुग्ध किसानलाई दिन बाँकी भुक्तानी तत्काल गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आज राजस्व सचिव डा रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्काल किसानको भुक्तानी दिने प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

     

    उक्त निर्देशन दिनुअघि अर्थमन्त्री पुनले कृषिमन्त्री ज्वालाकुमारी साह, कृषि सचिव डा गोविन्प्रसाद शर्मा र पशुपक्षी विकास सचिव डा रेवतीरमण पौडेलसँग छलफल गर्नुभएको थियो ।

    धितोको मूल्याङ्कनभन्दा अधिक कर्जा प्रवाह प्रकरणमा दोस्रो चरणको अनुसन्धान सुरु

     

    काठमाडौँ । धितोको मूल्याङ्कनभन्दा अधिक कर्जा प्रवाह प्रकरण (बैंकिङ कसुर)मा मुछिएका १० बैंकरमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) दोस्रो चरणको अनुसन्धान सुरु गरेको छ । 
    सिआइबीका प्रवक्ता, प्रहरी उपरीक्षक होविन्द्र बोगटीले नेपाल राष्ट्र बैंककै विज्ञ टोलीबाट सो प्रकरणमा मुछिएका १० बैंकरको सम्बन्धमा पहिलो चरणको अनुसन्धान सकेर दोस्रो चरणको अनुसन्धान थालिएको जानकारी दिनुभयो ।

    माथिल्लो मैलुङखोलाको शेयरको लकइन वैशाख २ गतेदेखि सकिने

    काठमाडौं । माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडको ७५ हजार कित्ता शेयरको लकइन वैशाख २ गतेदेखि सकिने भएको छ । सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये सामूहिक लगानीकोषको स्वामित्वमा रहेको उक्त शेयर कात्तिक ३ गतेदेखि लकइनमा रहेको थियो ।वैशाख २ गतेपछि सामूहिक लगानीकोषको स्वामित्वमा रहेका यी शेयर कारोबार गर्न योग्य हुनेछन् ।

    झ्यामोलोङ्गमा हाईड्रोपावरको साधारण सभा चैत २४ गते ,  आईपीओ निष्कासन गर्ने प्रस्ताव

    काठमाडौं । झ्यामोलोङ्गमा हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ ।सभा पोखरा, कास्कीमा विहान ११ बजे सुरू हुनेछ । सभाले कम्पनीको पूँजी बृद्धिको प्रस्ताव पारित गर्दै आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा आईपीओ जारी गर्न स्वीकृति प्रदान गर्नेछ । सभामार्फत गत आर्थिक वर्ष ०७९र८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पनि स्वीकृत हुनेछन् । चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।

    सेन्ट्रल फाइनान्सको  साधारण सभा चैत २३ गते

    काठमाडौं । सेन्ट्रल फाइनान्सले चैत २३ गते सत्रौं वर्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय, कुपण्डोल ललितपुरमा बिहान १० बजे सुरु हुनेछ । यसपटक कम्पनीले लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको छ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा छलफल हुनेछ । सभा प्रयोजनार्थ कम्पनीले चैत ९ गते बुक क्लोज गर्ने भएको छ ।

    सानिमा जीआइसी इन्सुरेन्सको साधारण सभा चैत २९ गते

    काठमाडौं ।  सानिमा जीआइसी इन्सुरेन्सले चैत २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले साधारण सभामा ५० करोड रुवैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्दैछ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ ।साधारण सभामा कम्पनीको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

    दीपेश पुन पक्राउ

    काठमाडौँ । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङका छोरा दीपेश पुन पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष टोलीले उनलाई शुक्रबार राजधानीको टोखाबाट पक्राउ गरेको हो ।  प्रहरी प्रधान कार्यालय उच्च स्रोतले सुन तस्करी प्रकरणमा मुछिएका पुनलाई नियन्त्रणमा लिएको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको जनाएको छ ।

    सीआईबीको प्रमुख परिवर्तन,ज्ञवालीले पाए जिम्मेवारी

    काठमाडौँ । प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को नेतृत्व परिवर्तन गरेको छ । एआईजी किरण बज्राचार्य सुन तस्करी प्रकरणमा कारबाही सिफारिस भएसँगै मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले उनको ठाउँमा श्यामलाल ज्ञवालीलाई पठाउने निर्णय गरेको हो ।बैठकले सुनको अवैध पैठारी (तस्करी)नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग, २०८० ले २०८० चैत १ गते माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनको गम्भीर अध्ययन गरी तत्काल कार्यान्वयनको प्रक्रियामा लैजाने निर्णय पनि गरेको छ  । बैठकपछि सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले बज्राचार्यको प्रहरी प्रधान कार्यालयको कार्यालय कार्यविभागमा सरुवा गरिएको जानकारी दिइन् । ज्ञवाली भने प्रधान कार्यालयको कार्यविभागमा कार्यरत थिए ।

    सुन तस्करीमा संलग्नलाई कानुनी दायरामा ल्याउन सांसदको माग

    काठमाडौँ ।  सांसदहरुले सुन तस्करीमा संलग्नलाई कानुनी कारबाही गर्न, सहकारीपीडितको समस्या समाधान गर्न, वैदेशिक रोजगारीमा जानेलाई निःशूल्क तालिमको व्यवस्था गर्नेलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

     

          प्रतिनिधिसभाको आजको बेठकको विशेष समयमा बोल्दै उहाँहरुले सुन तस्करी, सहकारी ठगीलगायत गतिविधिलाई नियन्त्रण गर्दै सुशासन प्रवद्र्धनमा सरकार अग्रसर हुनुपर्ने माग गर्नुभयो ।

    रौतहटमा शिव मनी ट्रान्सफरका सञ्चालकलाई गोली हानी लुटपाट ,३ भारतीय पक्राउ

    काठमाडौं । रौतहटको एक मनी ट्रान्सफरमा पेस्तोलसहित आएका व्यक्तिहरूले रकम लुटपाट गरेका छन् । रौतहट परोहा ९ मा रहेको शिव मनी ट्रान्सफरमा सञ्चालक २६ वर्षीय नितेश साहलाई गोली हानी लुटपाट गरिएको हो ।

    कन्चटमा गोली लागेका साहलाई वीरगञ्जको न्यूरो अस्पतालमा उपचारका लागि लगिएको छ ।लुटपाटमा संलग्न भएको आशंकामा ३ जना भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लुटेराहरू भारतीय नम्बर प्लेटको अपाची बाइकमा आएको प्रहरीको भनाइ छ ।

    कामपाले सुरु गर्‍यो प्राचीन नाम पुनरुत्थान कार्य

    काठमाडौँ ।काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका स्थानका प्राचीन नाम पुनरुत्थान गरेर प्रचलनमा ल्याउने प्रक्रिया थालेको छ । 

     

    धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व भएका टोल, बस्ती, मठ, मन्दिर, बहाल, वही, धारा, सत्तल, पाटीहरुको अध्ययनबाट प्राचीन नाम खोजेर संस्कृतिविद्, पुरातत्वविद्, भाषाविद् तथा इतिहासविद्सँग नाम पुष्टि गर्ने काम सुरु भइसकेको  कामपाले जनाएको छ ।  

     

     
     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस