Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् चैत ४ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८०, चैत ४ आइतबार

  • 549
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् चैत ४ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज चैत ४ आइतबार।  यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    सभापोखरी हाइड्रोपावरको साधारण सभा चैत २४ गते , आइपीओ जारी गर्ने

    काठमाडौं । सभापोखरी हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको छ । सभा चैत २४ गते अरिकल इभेन्ट्स, महाराजगंज, काठमाडौंमा दिउँसो ३ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा छलफल  गर्नेछ । आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

    शेयर बजार : नेप्से परिसूचक १० दशमलव ६२ अङ्कले घट्यो , ३ अर्ब ३८ करोडको कारोबार

    काठमाडौँ । आज नेप्से नेप्से परिसूचक १० दशमलव ६२ अङ्कले घटेको छ ।  आज ३ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।  यस १३ मध्ये ३ वटा समूहको सूचकमात्र बढेको छ । 
    यस दिन ३०४ कम्पनीको ८४ लाख ६ हजार कित्ता सेयर कारोबार भएको छ । ४१ करोड ६४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः सोना मिनरल्स एन्ड आयाल र अपर तामाकोशी हाइड्रोपावर परेका छन् ।

    अर्थतन्त्र शिथिल छ, तर सङ्कटमा छैन : अर्थमन्त्री पुन

    काठमाडौँ ।अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र केही शिथिल देखिएको भए पनि सङ्कटको अवस्थामा भने नपुगेको बताउनुभएको छ । नागरिक लगानी कोषको ३४औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले अर्थतन्त्र सङ्कट बाहिर रहेको दाबी गर्नुभयो ।

     

    नेपालको बाह्य क्षेत्रमा निकै सुधार देखिएको अर्थमन्त्री पुनको भनाइ छ । यद्यपि सार्वजनिक वित्तको क्षेत्रमा भने केही संरचनागत समस्या अझै बाँकी  रहेको उहाँले स्वीकार्नुभयो । मुलुकको अर्थतन्त्र धराशायी भएको भनेर नकारात्मक प्रचार बढी हुँदा बजारमा त्यसको असर देखिएको उहाँको भनाइ छ ।

    नेपाल औषधि लिमिटेडले आजदेखि थप तीन औषधि उत्पादन गर्दै

    काठमाडौँ । नेपाल औषधि लिमिटेडले आजदेखि थप तीन प्रकारका औषधि उत्पादन सुरु गरेको छ । लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले आजदेखि सेन्ट्रिमाइन, एमजीट र एमजिट–डिएफ नामका औषधि उत्पादन सुरु गरेको जानकारी दिनुभयो । 

     

    तीनै वटा औषधि ट्याबेलटमा छन् । एउटा औषधि दैनिक डेढलाख ट्याबलेट उत्पादन गर्ने उहाँको भनाइ छ । यसअघि लिमिटेडले जीवनजल, सिटामोल, फोलिक एसिड, हेमाडायलासिसका दुई प्रकार ९झोल र प्याकेटमा०, ग्लिसिरिन, डिस्ट्रिल वाटर र स्यानिटाइजरलगायत उत्पादन गरिरहेको थियो ।

    यसपटक आशा लघुवित्तले लाभांश नदिने

    काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको शुक्रबार  बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । संस्थाले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ६ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले संस्थापक सेयरधनी बोध प्रसाद त्रिपाठीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । बैंकको रजिष्टर्ड कार्यालय, बानेश्वर काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।

    वोमी लघुवित्त र नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी बिक्री खुला

    काठमाडौं ।  एनआइसी एसिया बैंकले आजदेखि आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त र नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । 
     बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्तको ७५ हजार ३०५ कित्ता सेयर लिलामीमा ल्याएको छ । यसमा लगानीकर्ताले न्यूनतम २४५ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यस्तै, बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर पनि लिलामीमा ल्याएको छ । यसमा लगानीकर्ताले न्यूनतम ७५३ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । 
    दुवै कम्पनीको सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । दुवै कम्पनीको सेयरमा चैत १३ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।

    ९ किलो सुन तस्करी र ६० किलो सुन प्रकरणमा फेरि अनुसन्धान फेरि गरिने

    काठमाडौं । भेपमार्फत भएको ९ किलो सुन तस्करी र ६० किलो सुन प्रकरणमा फेरि अनुसन्धान फेरि गरिने भएको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित आयोगले दिएको प्रतिवेदनका आधारमा फेरि अनुसन्धान गरेर पूरक अभियोग लैजाने भएको  जानकारी सार्वजनिक गरेका हुन् ।

    थप अनुसन्धानका लागि जिम्मेवारी प्राप्त भइसकेको छ, त्यसको कार्यान्वयनका लागि गृहकार्य  थालिसकिएको  उनले भने ।

    उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र एआईजी ज्ञवालीलाई मन्त्रालयमा बोलाएर प्रतिवेदन कार्यान्वयनमा लैजान निर्देशन दिएका थिए ।

    अर्थमन्त्री परिवर्तन भए ,तर वीरगञ्ज भन्सार कार्यालयमा रोकिएन बेथिति र असुली 

    काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले आयातकर्ता व्यापारी तथा उद्योगीहरूलाई चरम दुःख दिइरहेको वीरगञ्जका  व्यापारीहरूले बताएका छन् ।
    वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीकै निर्देशनमा प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगाना र  प्रमुख भन्सार अधिकृत केशवराज ओलीले व्यापारी तथा उद्योगीहरूलाई अनावश्यक दुःख दिने गरेको व्यापारीहरूले बताएका हुन् ।

    प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले औद्योगिक कच्चा पदार्थ ,उद्योग स्थापना गर्न आवश्यक  मेसिन र मेसिनरी सामानको आयात गर्दा समेत बिल बिजक भन्दा बाहेकको मौखिकरूपमा अतिरिक्त मूल्यांकन गरी उद्योगी /व्यापारीहरूलाई दुःख दिने गरेको परवानीपुर क्षेत्रका एक उद्योगीले नयाँ सडकलाई बताए ।प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले उद्योगी तथा व्यापारीहरूसँग अतिरिक्त रकम भन्सार एजेन्ट र  प्रमुख भन्सार अधिकृतहरू, अधिकृतहरू तथा बिचौलियाहरूबाट असुल्ने गरेको स्वयम् वीरगञ्ज भन्सार कार्यालयका एक अधिकृतले नयाँ सडकलाई बताए ।

    एक घण्टाभित्रमा श्रम स्वीकृति दिने व्यवस्था गर्न श्रममन्त्री अर्यालको निर्देशन

    काठमाडौँ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रमा श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली ९फेमिस० को सुधार गर्न निर्देशन दिनुभएको छ । 

     

    आज फेमिस प्रणाली आपूर्तिकर्ता, मन्त्रालयको सूचना प्रविधि शाखा र परामर्शदातासँग छलफल गर्दै मन्त्री अर्यालले आगामी शुक्रबारदेखि एक घण्टाभित्र श्रम स्वीकृति दिने गरी प्रणालीको सुधार गर्न निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

    वन अधिकृतसहित २४ जनाविरुद्ध मुद्दा दायर

    काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । वडाअध्यक्ष, उपभोक्ता समितिका पदाधिकारी लगायतलाई प्रतिवादी बनाइ आज विशेष अदालत, काठमाडौँमा मुद्दा दर्ता दायर गरिएको हो ।  

     

    आरोपितले रु ११ लाख ९६ हजार ६ सय ९५ बराबरको सरकारी सम्पत्ति हानि नोक्सानी गरेको आरोपपत्रमा उल्लेख छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसूर गरेकाले हानिनोक्सानी भएको बिगो असुल उपर मागदाबी लिई मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

    तारेभीर जंगलमा गाडिएकी युवतीको आरोपित हत्यारा पक्राउ

    काठमाडौं । प्रहरीले  गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभीर जंगलमा  हत्या गरी गाडिएकी युवतीको आरोपित हत्यारालाई पक्राउ गरेको छ ।
    स्थानीय १८ वर्षीया सुष्मा लामाको हत्या आरोपमा पक्राउ प्रहरीले गोकर्णेश्वर नगरपालिका–३ कै २१ वर्षीय रुपेन्द्र लामालाई पक्राउ गरेको हो ।
    उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार आरोपित हत्यारालाई सार्वजनिक ग¥यो ।२४ फागुनको दिउँसो साढे ४ बजेतिर तारेभीरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा दुई वटा हात मात्रै देखिएको र अन्य भाग पुरिएको अवस्थामा मानिसको शव स्थानीयहरूको नजरमा आएपछि प्रहरीलाई खबर भएको  थियो ।

    पर्यटकीय राजधानीको विकासका लागि सहयोग हुन्छ : प्रधानमन्त्री

    गण्डकी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताउनुभएको छ । 

     

    पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आज आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत सहरका रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिने विश्वास दिलाउनुभयो ।

     

    “पोखराको विकास निर्माणमा विद्यमान तथा सम्भावित समस्या समाधानका लागि समेत यथोचित पहल तथा समन्वय गरिनेछ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “पर्यटकीय राजधानीको सुदृढ पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट आवश्यक साझेदारी र सहयोग प्राप्त गर्न तथा निजी क्षेत्रका लगानीकर्ताहरूबाट आकर्षित गर्न सरकारले आवश्यक पहल गर्नेछ ।” उहाँले आगामी महिना आयोजन गर्न लागिएको लगानी सम्मेलनले समेत यस कार्यमा महत्त्वपूर्ण सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

    वसन्तपुरमा चीर ठडाएर फागुपूर्णिमा प्रारम्भ

    काठमाडौँ । वसन्तपुरमा आज बिहान होलीको ‘चीर’ ठड्याएर फागुपूर्णिमा (होली)को विधिवत् रुपमा प्रारम्भ गरिएको छ । परापूर्वकालदेखि मानन्धर समुदायले चीर ठडाएर फागुपूर्णिमाको पूजा गरी होलीको सुरुआत गर्ने परम्परा छ ।

     

    स्थानीय तीर्थलाल तन्डुकारले आज बिहानै चीरको पूजा गरी होलीको प्रारम्भ भएको बताउनुभयो । यसै दिनदेखि काठमाडौँवासीहरु चीरको पूजा गरी आशीर्वाद लिने चलन छ ।

    सुन तस्करी जाँचबुझ प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्रीको निर्देशन

    काठमाडौं ।  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी काण्डमा दोषी देखिएकालाई कारबाही गर्न निर्देशन दिएका छन् । आतबार आईजीपी वसन्तबहादुर कुँवर र सीआईबी प्रमुख श्यामलाल ज्ञवालीलाई गृह मन्त्रालयमा बोलाएर पूर्वसभामुख कृष्णबहादुर महरा सहित सबै ओरोपितलाई कारबाही गर्न निर्देशन दिएका हुन् ।सुन तस्करी सम्बन्धमा छानबिन गर्न जाँचबुझ आयोगले भेपमार्फत् भएको सुन तस्करीमा दोषी देखिएको भन्दै पूर्वसभामुख कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिश गरेपछि गृहमन्त्रीले कारबाही प्रकृया अघि बढाएका हुन् । 

    भारतले लगाएको प्लाइउड निर्यात रोक हटाएपछि नेपाली प्लाइउडको भारत निकासी फेरि सुरु

    काठमाडौ । नेपालका प्लाइउड निर्यातकर्ताका लागि भारतमा निर्यात गर्न पाउने अवसर प्राप्त भएको छ । भारतले लगाएको ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआईएस) गुणस्तर चिन्हको नीति हटाएपछि नेपालबाट हुने प्लाइउड निकासी फेरि सुरु भएको हो ।  

    भारतको उद्योग तथा वाणिज्य मन्त्रालयले शुक्रबार राजपत्र प्रकाशन गरी  आगामी एक वर्षसम्म नेपालबाट आयात हुने प्लाइउडका सामग्रीमा बीआईएस आदेश जारी नहुने घोषणा गरेको थियो ।  नेपाली प्लाइउड निकासीको अवरोध अन्त्य भएको नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरेले धारणा सार्वजनिक गरेका हुन् ।

    माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख महारा विरुद्ध हुने कारबाही अगाडि बढाउन निर्देशन 

    काठमाडौं । माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा विरुद्ध हुने कारबाही अगाडि बढाउन  गृहमन्त्री रवि लामिछानेले प्रहरी नेतृत्वलाई निर्देशन दिएका छन् ।

    गृहमन्त्री लामिछानेले आतबार आईजी वसन्तबहादुर कुँवर र सीआईबीका एआईजी श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएर महरा विरुद्ध हुने कारबाही गर्न निर्देशन दिएका हुन्  ।

    सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले  महराविरुद्ध  मुद्दा चलाउन सिफारिस गरे अनुसार कारबाही गर्न निर्देशन दिइएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

     

     
     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस