काठमाडौं । चालू आर्थिक वर्ष २०८०–८१ को सुरुको आठ महिना फागुन मसान्तसम्म मुलुकको व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाख रुपैयाँ नाघेको छ । फागुन महिनामै १ खर्ब बढीको व्यापार घाटा बढेको हो । माघ मसान्तसम्म ८ खर्ब ११ अर्ब ११ करोड व्यापार घाटामा १ खर्ब १८ अर्ब ४९ करोडले बढेर ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाख बढी गएको छ ।
तर यो गत आवको सोही अवधिको तुलनामा २.५२ प्रतिशतले कम हो । गत वर्षको सोही अवधिमा नेपालले ९ खर्ब ५३ अर्ब ५८ करोड ९३ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको थियो ।फागुनसम्ममा ११ खर्ब ३० अर्ब ८४ करोड १ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । चालु आवको फागुन मसान्तसम्म आयात निर्यात दुबै घटेको छ । यस अवधिमा आयात २.६६ प्रतिशतले घटेको छ भने निर्यात पनि ३.९९ प्रतिशतले घटेको छ ।
भन्सार विभागका अनुसार फागुन महिनासम्ममा १० खर्ब ३० अर्ब २२ करोड २७ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवो आयात गरिएको छ । गत वर्ष वस्तु तथा सेवाको आयात १० खर्ब ५८ अर्ब ३८ करोड ५५ लाख रुपैयाँ बराबरको गरिएको थियो ।फागुन मसान्तसम्मको पहिलो आठ महिनामा पेट्रोलियम पदार्थको आयातमा १ खर्ब ८३ अर्ब १५ करोड ५३ लाख ७२ हजार रुपैयाँ बाहिरिन गएको छ ।
भन्सार विभागका अनुसार आठ महिनामा ८८ अर्ब ८८ करोड ९३ लाख १२ हजार रुपैयाँ बराबरको ८ लाख ४३ हजार १७० किलो लिटर डिजेल आयात भएको छ । डिजेल आयातमा सरकारलाई ३४ अर्ब २४ करोड ४ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन भएको छ । सबैभन्दा धेरै आयात हुने वस्तुको सूचीको शीर्ष स्थानमा डिजेल पर्ने गरेको छ ।फागुन मसान्त सम्म ४४ अर्ब ६३ करोड ६७ लाख ६८ हजार रुपैयाँ बराबरको ४ लाख ५० हजार ५१ किलो लिटर पेट्रोल आयात भयो । यसबाट सरकारलाई २५ अर्ब ७३ करोड ९० लाख २६ हजार रुपैयाँ राजस्व संकलन भयो ।
यसैगरी हवाई इन्धनमा १३ अर्ब ७५ करोड २१ लाख ७९ हजार रुपैयाँ बाहिरिन गयो । गत आठ महिनाको अवधिमा १ लाख २७ हजार ४७८ किलो लिटर हवाई इन्धन भित्रियो । यसबाट सरकारलाई १ अर्ब ९५ करोड ५३ लाख ७२ हजार राजस्व संकलन भयो ।
यस्तै एलपी ग्यासमा ३५ अर्ब ८७ करोड ७१ लाख १२ हजार रुपैयाँ बाहिरिएको विभागको तथ्यांकले देखाएको छ । आठ महिनामा ३४ करोड ७२ लाख ३८ हजार ९२२ किलो एलपी ग्यास आयात भयो । यसबाट सरकारलाई ६ अर्ब ६९ करोड २५ लाख २७ हजार रुपैयाँ राजस्व सरकारलाई प्राप्त भयो ।
भन्सार विभागका अनुसार फागुन महिनासम्ममा १० खर्ब ३० अर्ब २२ करोड २७ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरिएको छ । तर मुलुकको वर्षौ देखिको चिन्ताको विषय निर्यात भने १ खर्ब ६१ करोड ७४ लाख रुपैयाँको भयो ।